स्याङ्जा, २९ असोज– फेदीखोला गाउँपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिईएको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्याङ्जा प्रहरीले फेदीखोला प्रहरी चौकीको सहयोगमा ३० लिटर घरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने ३ हजार ७ सय ७० लिटर कच्चा बरामद गरेको हो ।
फेदीखोला गाउँपालिका–२ माथिल्लो खड्केटारी र तल्लो खड्केटारीबाट अवैध मदिरासहित मदिरा बनाउन प्रयोग गरिने सामग्री बरामद गरेर नष्ट गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । अवैध घरेलु मदिराबाट समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु घटन सक्ने भएकोले अवैध मदिरा उत्पादन गर्ने ठाउँहरुको पहिचान गरेर कार्बाही गर्ने प्रक्रियालाई कडाइका साथ अगाडी बढाएको जनाएको छ ।




