स्याङ्जा, १ कार्तिक– वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने बताएका छन् । वालिङ नगरपालिका ८ बसपार्कमा रहेको डिप बोरिङ लिफ्टिङ खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख खाँणले नगरभित्रका शहरी क्षेत्रमा एकद्वार प्रणालीबाट खानेपानी वितरण थाल्ने समेत बताएका छन् ।
नगरपालिकाको शहरी र ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै खानेपानी ऐन र कानून निर्माण गरेर कार्यान्वयनमा लैजाने तयारी भईरहेको जानकारी दिदै नगरप्रमुख खाँणले भने, ‘नगरपालिकाले नगरभित्रका विभिन्न छ ठाउँमा डिप बोरिङमार्फत सफल रुपमा खानेपानी निकालिएको छ । यसलाई अझै बिस्तार गरेर अब कम्तिमा पनि ३० वर्षका लागि स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउँछौं ।’ वालिङ नगरले निर्माण गरेको डिप बोरिङको ब्यवस्थापन वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गर्नेछ ।




