म्याग्दी, २० कार्तिक– सन् १९९१ को मे महीना । भारतका अरु सवै राज्यमा प्रचण्ड गर्मीले मानिसहरुलाई सताएको भएपनि जम्मु कस्मिरको कारगिल क्षेत्रमा भने हिउँ पग्लिने र जाडो कम हुने क्रम जारी नै थियो ।
जम्मु कस्मिर क्षेत्रका मानिसहरु आआफ्नो दैनिकीमा व्यस्त थिए । भेडाका बथानसंगै घोडाका लस्करहरु चरिरहेका त्यहाँका हरिया खर्क आफ्नै लयमा प्रकृतिको नियमानुसार हराभरा हुँदै थिए ।
त्यसै समय अर्थात् सन् १९९१ को मे महीनामा भारत र पाकिस्तान दुवै देशको विवादित क्षेत्र जम्मुकस्मिरमा (उनकै भाषामा) पाकिस्तानी उग्रवादीहरुको प्रवेश भएको खवर भारत सरकारले गुप्तचरहरुमार्फत प्राप्त गरेपछि ७ आसाम राइफल रेजिमेन्टका सुवेदार पदमवहादुर क्षेत्री (रावल) को नेतृत्वमा १७ जना सैनिकको टोली कारगिल क्षेत्रमा खटायो । र, क्षेत्रीको नेतृत्वमा भारत सरकारले ‘रक्षक अप्रेशन’ नामक अभियान कारगिल क्षेत्रमा संचालन ग¥यो ।
म्याग्दीको रत्नेचौरका पदमबहादुर क्षेत्री सानैदेखि निडर र बहादुर त थिए नै,त्यसमाथि आफ्नै नेतृत्वमा पाकिस्तानी उग्रवादीहरु विरुद्ध भारत सरकारले अप्रेशन नै संचालन गरेपछि उनको जिम्मेवारी झनै बढ्यो ।
‘रच्नेचौरको भूगोलमा खेलेको बुर्कुसी र लडिबुडी कार्गिलको टुकडा भन्ने गाउँको भूगोलमा मज्जाले काम लाग्यो, ७२ वर्षिय रावलले भने, ‘दुश्मनसंग लढ्दा मैले त झलझली आफ्नै गाउँको भिरालो जमिन र रातोमाटो पो सम्झिएको थिएँ त ।‘
सन् १९९१ मे ५ तारिखका दिन आफ्नो जीवनको सबैभन्दा अविष्मरणीय दिन भएको रावल बताउँछन् । उनका अनुसार सोही दिन रावल नेतृत्वको भारतीय फौज (आसाम राइफल रेजिमेन्ट) ले ३८ जना पाकिस्तानी उग्रवादीहरुलाई मारेर जम्मु कस्मिरलाई पाकिस्तानीहरुको नियन्त्रणमा हुनबाट जोगाएको थियो ।
त्यस युद्धमा ७२ जना पाकिस्तानी सैनिकहरु हताहत भएका रावलले दावि गरे । रावलले भने ‘तर,बिबिसीले ३८ जना पाकिस्तानी मारिएको भनेर समाचार प्रशारण गरेपछि हताहत हुने पाकिस्तानी सैनिकको संख्या ३८ मा नै सीमित भएको थियो ।रावल एक्लैले ९ जना पाकिस्तानी सैनिकहरुलाई मार्नुका साथै पाकिस्तानी सैनिकहरुबाट १ सय ३ थान हातहतियारहरु खोसेका थिए । युद्ध समाप्त भएपछि बिबिसीले रावलको अन्तर्वार्तासमेत लिएको थियो ।
रावलका अनुसार त्यति धेरै पाकिस्तानी सेनाहरु मारिदा आफ्नो तर्फका जम्मा ३ जना सैनिकहरुले विरगति प्राप्त गरेका थिए ।
रावलले पाकिस्तानी सैनिकसंग देखाएको बहादुरीको कदर गर्दै भारत सकारले सन् १९९२ मा रावललाई कीर्ति चक्रद्धारा सम्मानित गरेको थियो । कीर्ति चक्र भारतको सैनिक क्षेत्रतर्फको परमवीर चक्र पछिको दोस्रो ठूलो सम्मान हो । परमबीर चक्र सैनिक सेवामा महत्वपूर्ण योगदान पुर्याएका सैनिकहरुलाई मरणोपरान्त दिइन्छ भने कीर्ति चक्र सैनिकको जीवनकालमा नै दिइन्छ ।
रावलले सैनिक जीवनमा भारतीय भूमी रक्षाका लागि गरेको योगदानलाई भारत सरकारले २९ वर्ष पछि पुनः स्मरण गर्दै रावलको नाममा आसाममा हालै सैनिक शिक्षालय स्थापना गरेर सम्मान गरेको छ ।
यही अक्टुवर १८ तारिखका दिन भारतको आसाम राज्यमा भारत सरकारले पदमबहादुर क्षेत्री सैनिक शिक्षालयको उद्घाटन गरेको छ । आफ्नो नाममा सैनिक शिक्षालय स्थापना भएको खबर पाउँदा अत्यन्त खुसी लागेको रावलले बताए । ‘मलाई त्यहाँको सैनिक उच्चालयले निमन्त्रणा गरेको थियो,रावलले भने ‘तर कोभिड १९ को जोखिम र प्रतिकुल समयका कारणले गर्दा म जान सकिन् ।‘

OLYMPUS DIGITAL CAMERA
खुसी र बधाईको लर्को
भारतीय सैनिकबाट सेवा निवृत भएपछि गाउँमा नै बनिबुतो र घरधन्दा गरेर दिन कटाइ रहनुभएका रावल आसाममा आफ्नै नामको सैनिक शिक्षालय स्थापना भएको खबर सामाजिक संजालहरुमा आएपछि भने निकै व्यस्त भएका छन् ।
खुसी साट्न र बधाई दिन कतिपय व्यक्तिहरु घरमा नै आउने गरेका छन् भने कतिपयले फोनबाट नै खुसी व्यक्त गर्दै बधाई दिने गरेका छन् ।
‘मलाई अहिले फोनमा बोल्दा बोल्दै दिन ढलेको पत्तै हुँदैन,रावलले भने‘भारतबाट सबैभन्दा धेरै फोन आउँछ, विदेशमा गएका आफन्तहरु,रिटायर्ड भारतीय सैनिक र अरु धेरै जनाले फोन गरेर बधाई दिनुभएको छ ।‘
गाउँमा खुसीयाली,आफन्तहरु दंग
रावलको गाउँ रत्नेचौरमा अहिले खुसीयाली छाएको छ । दशैंको रमाइलो वातावरणमा प्राप्त भएको खबरले रत्नेचौरवासी दंग परेका छन् । आफ्नै गाउँका एक अग्रजको नाममा भारतमा स्थापना भएको सैनिक शिक्षालयले पदमवहादुर रावलको मात्रै नभएर उहाँको जन्मगाउँ रत्नेचौर,जिल्ला र समग्र देशको नै प्रतिष्ठा उचो बनाएको स्थानीयले बताएका छन् ।
बेनी नगरपालिका वडा नं १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले पदमबहादुर क्षेत्री रावलले प्राप्त गरेको यो सम्मानले रत्नेचौर गाउँ र म्याग्दी जिल्ला मात्रै नभएर नेपाल नै गौरवान्वित भएको प्रतिकृया दिए ।
त्यसैगरी हाल काठमाण्डौंमा बस्दै आएका नाताले भान्जा पर्ने राम कार्कीेले भारत सरकारले पदमबहादुर रावलको नाममा सैनिक शिक्षालय स्थापना गरेर नेपालीको बहादुरी र इमान्दारिताको सम्मान गरेको बताए ।
रावलको पारिवारिक पृष्ठभूमि
रावलको पारिवारिक पृष्ठभूमि पनि सैनिक विरासतयुक्त छ । पदमबहादुर क्षेत्रीका हजुरबुबा स्व.रणबहादुर रावलले प्रथम विश्वयुद्धमा भारतीय सेनाका तर्फबाट बहादुरी प्रर्दशन गरेवापत मरणोपरान्त सन् १९१४ मा परमवीर चक्र प्राप्त गरेका थिए ।
बहादुर बाजेका बहादुर नाति भनेर कहिलएका पदमबहादुरका हजुरबुबा रणबहादुर रावलका दुईजना श्रीमती थिए । एउटी श्रीमतीबाट पदमबहादुरका बुबा प्रेमबहादुर रावल र अर्कीबाट लालबहादुर रावलको जन्म भएको थियो । प्रेमबहादुर रावलका दुईभाइ छोरा गोरखबहादुर रावल र पदमबहादुर रावल तथा लालबहादुर रावलबाट ७ भाइ छोरा जन्मिएका थिए । परमविर चक्र प्राप्त गरेका रणबहादुर रावलका ९ वटै नातिहरु भारतीय सेनामा भर्ति भएका थिए ।
रावलको सैनिक जीवन
१९ वर्षको कलकलाउँदो उमेरमा सन् १९६६ जनवरी १५ मा सेभेन (७) आसाम राइफल रेजिमेन्टमार्फत भारतीय सेनामा प्रवेश गरेका पदमबहादुर रावलको सैनिक जीवन विरता र बहादुरीको कथाले ओतपोत भएको छ ।
आसाम राइफलमा भर्ति भएपछि १४ महिनासम्मको कठोर ट्ेडिङ (तालिम) बाट उहाँले आफूलाई निखार्दै जस्तोसुकै परिस्थिति आए पनि कहिल्यै पछाडी नहट्ने कसम खाएको बताए ।
सन् १९६६ देखि २००२ सम्म ३६ वर्ष उनले भारतीय सेनामा रहँदा एक दर्जन भन्दा बढी युद्धमा लडेको र ती सबैमा विजय प्राप्त गरेको जानकारी दिए । सन् १९७१ मा पहिलो पटक पाकिस्तान विरुद्धको युद्धमा सहभागि हुँदाको अनुभव निकै रोचक रहेको उनले सुनाए । त्यस युद्धमा पूर्वि पाकिस्तानको केही भूभाग भारतले नियन्त्रणमा लिएको र पछि बंगलादेशमा मिलाइएको उनले जानकारी दिए ।
त्यसपछि सन् १९७६ मा नागल्याण्डमा उग्रवादीहरुसंगको भीडन्तमा सहभागि हुँदा कैयौं उग्रवादीहरु हताहत भएका र सयौं जना पहरोमा लर्किदै भागेको दृश्य अझै पनि स्मरणमा रहेको उनले सुनाए ।
त्यस्तै मणिपुरमा पनि उग्रवादीहरुसंग नै भिड्नु परेको र त्यहाँ आफ्नो पक्षका सेनाले हातहतियारहरु गुमाउनु परेको तर मानवीय क्षति भने नभएको उनले स्मरण गरे । सन् १९९० मा जम्मु कस्मिरमा पाकिस्तानी सेनासंगको युद्ध पनि उनले लढेका थिए ।
यी लगाएत अरु कैयौं युद्ध र अकल्पनीय भीडन्तहरुमा भारतीय सेनाको तर्फबाट नेतृत्व गर्दै लड्नु परेको उनले बताए ।
यस्तो छ रावलको सेवा निवृत्त जीवन
सन् २००२ मा भारतीय सेनाबाट सेवा निवृत्त भै गाउँमा नै बस्दै आएका रावलको दैनिकी अत्यन्त सरल र सादगीपूर्ण छ । कडा सैनिक अनुशासनमा जीवनका उर्जावान ३६ वर्ष विताउनुभएका रावल गाउँमा अत्यन्त सरल र मिलनसार व्यक्तिको रुपमा चिनिन्छन् ।
रावलको श्रीमती,एक छोरा,बुहारी, ३ छोरी ,एक नाति र एक नातिनीको सगोलको परिवार छ । उमेरले ७२ वर्ष पार गरिसकेका रावल अझै पनि फर्तिला र तन्दुरुस्त छन् ।
रावल सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय रहेका छन् । स्थानीय भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि लिएर अन्य विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व गरिसकेका रावल घरायसी कामहरुमा पनि रुचि राखछन् ।
रावलको इच्छा
देशको परिवर्तित राजनीतिक व्यवस्थासंग रावलको कुनै गुनासो छैन । यसलाई उनले जनचाहना र समयको मागको रुपमा बुझ्छन् । आफ्नो गाउँमा भएका विकास निर्माण र जनताले पाएका सेवा सुविधाप्रति उनी सन्तुष्ट छन् उनको एउटैमात्र चाहना भनेको गाउँमा व्यवस्थित अस्पताल भैदिए हुन्थ्यो भन्ने छ । रावलले भने ‘अरु सबै कुरा राम्रो छ, एउटा सुविधा सम्पन्न र व्यवस्थित अस्पताल भै दिए मेरो इच्छा पूर्ण हुनेथियो ।‘





