स्थानः चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ । समय साँझ पख । चामे खेतमा काम गरेर लखतरान भई धुस्रे–फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ ।)
चामेः गौंथली ! ए गौंथली !(जवाब नआउंदा ढोकाबाट भित्र चियाउंदै) कहाँ मुंटी? ए गौंथली !
(एक छिनपछि हस्यांग र पÞmस्यांग गर्दै पल्लो घरबाट गौंथली आएर गाग्रो टिपेर पंधेरोंतिर पानी भर्न गई। त्यो देखेर चामे अझै आगो भयो ।)
चामेस (रीसले एक्लै फत्फताउन लाग्यो) राँड ! यतिन्जेल भात पकाएको पनि छैन, कामबाट पोई भोकाएर आउँछ भन्ने त्यसलाई थाह छैन । दिनभरी तन्नेरीहरुसित मस्किएर अहिले ठिक्क पार्छे । पख तँलाई !
(एकछिनपछि गौंथली काखीमा गाग्रो च्यापेर पिढ़ीमा पुग्न के लागेकी थिई चामेले चुल्ठोमा समाएर आँगनतिर मुण्ट्याउंदै गाली गर्न लाग्यो ।)
चामेः राँड ! दिनभरी जन्तीसँग आँखा झिम्क्याएर बसी अहिले स्वाँग पार्छेस् ।
(गौंथली ढुन्मुनिनदै आँगनमा लड़ी । आफ्नो कसूर भएकीले पहिले त केही भनिन । चोईटिएको खपटा बटुल्न खोजदै थिई चामेले फेरी एक लात कस्यो ।)
गौंथलीस (कर्कला स्वरमा चिच्याई) आइय्या… मार्यो नि ! बज्जियाको कोड़ सल्केको हात ।
चामेः (अझै जाक्किएर) मुख चलाउँछेस ! जा ! कहाँ जाञ्छेस जा । एकछिन नबस मेरो घरमा ।
गौंथलीस (अझै जोडले चिच्च्याउँदै) तेरो घरमा बस्दिन । बाबु आमा राँड़ाराँडीका आँखा फुटेर कसाईको हात सुम्पे, यस्ता कंगाली मोराको जोई भएर बस्नुभन्दा डुबेर मर्नु जाती ।
चामेः राँडले आफ्नो बाबु त खुब ढनाढ्य छ भन्ठानेकी होली । गाउँलेको हलो नजोती साँझ बिहान खान पुग्दैन, माइतीको धाक लाउँछे
चामेः (चामे र गौंथलीको झगड़ा सुनेर रमिता हेर्न आएको केटाकेटीहरुतिर झम्टिनदै)मोरा हो यहाँ के को रमिता छ र हेर्न आएको ? तिमेर को घरमा काम छैन?(केटाकेटीहरु चामेलाई जिस्क्याऊदै भाग्छ)
(झमक्क पर्न लागेकोछ। गौंथली एकपट्टी सुक्सुकाउँदै छे, अर्कोपट्टी चामे मुड््कीको सिरानी लाएर दुवै भोकै सुते ।)
(भोलीपल्ट बिहानै कामतिर गएको चामे साँझमा भोकले लखतरान भएर आईपुग्यो । हलो कोदालो भीतामा सिउरिएर यता उता हे¥यो तर गौंथली कतै देखेन । मास्तिरबाट जूठे दमाइकी स्वास्नी पानी भर्न जाँदै थिई । चामेले सोध्यो ।
चामेः (अन्कनिंदै) भाउज्यू! गौंथलीलाई देखिनौ ?
जुठेकी स्वास्नीः (ओंठ लेब्र्याउँदै) कुट्न थालेपछि आँखा नदेखी कुटछौ । आइमाइ मान्छे भन्दैमा त्यसरी पशुलाई जस्तो कुटेपछि माइत नगएर कहाँ जाओस त ?
(जुठे दमाईकी स्वास्नी पंधेरोंतिर लागी । चामेलाई देखेर भोकाएकी भैंसीले आँई गरे । भैंसीलाई घाँस हालेर पाडो छोड़ेपछि गबुवा लिएर दूध दुहुन बस्यो ।)
चामेः –च्व..च्व..गर्दै) आ राम्री ! तेरी मालिक्नीलाई त भोकै राखेर माइत जाकिन प¥यो के गर्छेस बा ?(भन्दै एक दुई सर्को दुहेको थियो, भैंसीले उपिÞm्रएर एकलात हान्यो । चामे गोबरमा जोतिन पुग्यो । दिनभरि भोकै खेतमा काम गरेर आएको चामे रीसले आगो भयो । छेउमा सिउरिएको लौरो टिपेर भैंसी कुट्न थाल्या े। भैंसीले दाम्लो छिनाएर कोकलेको मकैबारी सोतर पा¥यो पल्लो घरमा मारूनी नाचदै गरेको कोकलेलाई देखेर भैंसी अझै तर्सिएर ठाड़ों पुच्छर लाएर वल्लो छेऊ र पल्लो छेऊ कुद्यो । वर्षदिन खाने अन्न भैंसीले सोतर पारेको देखेर कोकलेले चामेलाई एक झापट कस्यो । माथिबाट कोकलेकी आमाले सरापदै थिइन् )
कोकलेकी आमाः चामे मोराको बाँझो होस । मोरालाई छेरौटीले लान नसकेको, हिजो स्वास्नी कुटयो आज भैंसी कुटेर अर्काकों वर्षदिन खाने कमाई बिगा¥यो । कसैको नभाको रिस । बजियाले बहादुरी देखाएको होला । पोहोर धनवीरेले लात्ताले खाँदेर वर्षदिन थला परेको बिस्र्यो क्यारे ! बलियो छु भन्दो हो । परचक्रीलाई कुटन सक्ने पो सक्ने, आफ्नो स्वास्नी र किलामा बाँधेको भैंसीलाई कुटने के कुटने ? साँझ प¥यो कि एउटा न एउटा बिठ्याई गरेर गाउँमा रडाँको मच्च्याउँछ ।
(भोलीपल्ट चामे बिहानै पंधेरोंबाट गाग्रोमा पानी लिएर आएको देखेर जुठे दमाईकी स्वास्नीले गिज्याइन )
जुठे दमाईकी स्वास्नीः आइयु.. नि ! लोग्ने मान्छेले पानी बोकेको कस्तो नस्वाएको ।
चामेः (स्वास्नी प्रति रीस पोख्दै) के गर्नु भाउजू ? राँडलाई माइततिर गाडि़हाले, आफूले नबोकेर कसले बोकिदिन्छ त ?
जुठेकी स्वास्नीः (सम्झाऊँदै) कुट्न थालेपछि आँखा नदेख्ने, विचरी नभागेर के गरोस त?
चामेः आपÞm्नु मुखले, छुरा जस्तो मुख छ, नकुटेर के गर्नु ?
जुठेकी स्वास्नीः (जिस्क्याउंदै) मुखाले भएकी अलिकति त कुटेरै पनि हो व्यारे !
चामेः (ठुस्किन्दै) चुप लाग ! पोर दशैमा जुठेदाईले एकचोटी तिमीलाई कसरी कुटेथे, खोई त एकवचन फर्कायौ ?
जुठेकी स्वास्नीः(ओंठ लेब्र्याउंदै) अन् एकचोटी भन्छौ, अहिले पो भक्ति भैरहेछन, अघि अघि त नकुटेको दिनै हूँदैनथ्यो । बेलुकी भोटेगाउँदेखि जाँड खाएर आए अनि एउटा निहूँ झिकेर कुट्न थाले, झन चाडवाड़को दिनमा त के भन्नु‘ नखाएको दिनै हूँदैनथ्यो । दुई चार दिन झरी–बादल भो कि आजकल पनि जीउ दुख्छ । तर आफूले त यो उमेर भो कहिल्यै मुख फर्काएको थाह छैन ।
चामेः (गजक्क हूँदै) हो त नि, के कुटेर मुखाले भएकी भन्छ्यौ त ? तिम्रा जस्तै सुबानी भए पूजा गरेर राख्ने थिएँ ।
जुठेकी स्वास्नीः (ओंठ पल्टाउंदै) भो भो सर्काउनु पर्दैन । जे भए पनि स्वास्नी जैरीसँग टेक गरेर हुँदैन, कति दिन पानी पंधेरों गरेर बस्ने ? भोलीनै खुरुक्कै लिन जाऊ ।
चामेः (घमण्ड देखाऊँदै) भो ज्ञान जानेर आउँछे भने घर छदैछ, लिन त पोड़े भए जाऊंला ।
(एकदिन बिहान चामे पिँढीमा बसेर तमाखू खाँदै थियो, मास्तिरबाट छोरो बोकेर जुठे र उसकी स्वास्नी पल्लो गाउँ लुगा सिउन जाँदै गर्दा चामेलाई देखेर खिज्याए)
जुठेः के मेलो छ कान्छा ?
चामेः (पुर्पुरोमा हात राखेर) बसिबसाऊ छ दाई ।
जुठेः (जिस्क्याउंदै) स्वास्नी माइत धपाइहालिस् । अब एक्लै मौज गर बस।
(जुठे दमाई गएपछि चामेले धेरैबेर पुर्पुरोमा हात राखेर सोंच्यों, जूठेको लोग्ने स्वास्नीको खुबै पिर्ती थियो । दुवै लोग्नेस्वास्नी दुःख–सुखको कुरा गर्दै माझीगाउँतिर लुगा सिउन जाँन्थे । साँझमा जुठे विवद्युतको सरि रूप लिई गगनमा उडनु भया झट तसै भन्दै विराटपर्वको सिलोक हाल्थ्यो, स्वास्नी जूठोभाँडो गर्दै सुन्थी । जुठे बिरामी पर्दा गाउँतिर धामी–झांक्री खोज्दै हिँंडथी तर चामेकी स्वास्नीले यतिका दिन कहिले राम्रो मुखले बोलेको छैन । गौंथली माइत गएपछि भैंसीले लातीले हानेर गोबरमा पछारिएको, भैंसीले गर्दा कोकलेको कुटाई खानु परेको, आफैले जुठो चूल्हो नगरे भोकै बस्नु परेको, दिनभरी खेतमा काम गरेर घर आई आफै पानी पंधेरों गर्नु पर्दा यस्तो छुसी जीवन जिउनुभन्दा खरानी घसेर हिंडनु जाती भन्ने सोच्यो । तर, खरानी घसेर पो के गर्नु ? दशघरको कुकुर नभुकाए खान पाइँदैन । त्यति मात्र कहाँ हो र आजकल फेटा गूँथेको हट्टाकट्टा साधु देख्यों भने कोदाली खन्नुको गाह्रोले जोगी भएको भन्छन । अब जे भए पनि घरको स्वास्नी स्वास्नीनै हो । स्वास्नी नभएको घर साह्रै शुन्य लाग्न थाल्यो । विचार ग¥यो । मुखाले नै भए पनि काममा साह्रै जाँगरिली थी । भैंसीलाई घाँस ल्याउंथी, साँझ बिहान एक गाँस पकाएर खान दिन्थी । आए आऊँली नआए नआउली, एकपल्ट लिन जानै प¥यो । मनमनै विचार ग¥यो अनि ससुराली जान तर्खर भयो । मैलो भए पनि पनेलाको दौरासुरुवाल लाएर कुच्चिएको कालो बिर्खे टोपी टकटकाउंदै गनगनाउन लाग्यो )
चामेः (कुच्चिएको टोपी सोझ्याऊँदै) राँडको ढंग हेर, माल पाएर चाल पाए पो हून्छ । आफ्नो बाबु बराज्युले कैले बिर्खे टोपी लगाएको भए पो थाहा पाऊँथी । बाबु खांडीको टोपी लाएर भांग्राको गादो पारेर हिंँड़छ, छोरी किन गतिली हुन्थी ?बाहुनले च्याउ खाए पो स्वाद थाह पाउथ्यो ।(टोपी सोझ्याएर छड्के पारेर लगाएपछि दौरामाथि ईस्टकोट लाएर हिंड्यो । ससुरालीको घर मुन्तिर पुगेपछि एकैक्षण चौतारामा बिसाएर पसीना पुछ्यो, माथि वनपाखामा घाँसको भारी बिसाएर वनै रन्काई गौंथली गीत गाऊँदै थिइ ।‘ उँड़ी जाऊँ भने म पंछी होइन बस्न त मन छैन’
चामेः (गौंथलीको गीत सुनेर रन्किदै) घाँस खान नपाएर भैंसीको पेट गाइनेको सारङी जस्तो भैसक्यो, राँड यहाँ बसेर वन रन्काउछे ।
(केही बेरपछि चामे उकालो लाग्छ । ससुरालीको आँगनमा पुग्दा चामेको गोड़ा गह्राँै भएर आयो। सासु जुठ्यानमा ताप्के मस्काउन लाग्दै थिई, ससुरा पींढ़ीमा बसेर तमाखू खान लागेका थिए । टाढैबाट सासुलाई ढोग ग¥यो । प्रत्युतरमा सासुले पनि जुठै हातले ढ़ोगिन । ससुराले चामेलाई देखेर ढोग्न निहुरिए, चामेले दुवै गोड़ा जोड़ीदियो । केही बेरपछि गौंथली पनि घाँसको भारी बोकेर आई । चामेलाई देखेर गौंथली खुशी भई । छिटको फरिया लाएकी, हातमा बाला,गलामा प्वांलोको माला, पुष्ट छाती, निधारमा पूर्णेको जून झैं सिन्दूरको ठूलो टीको लाएकी गौंथलीलाई देखेर चामे तृप्त भयो । त्यस रात चामेलाई पींढ़ीमै ओछ्यान लगाइयो । रातभर उपियाँले टोकेर चामेलाई निन्द्रै परेन । ‘त्यसदिन विचरी गौंथलीलाई किन कुटें हुँला, एकछिन गाउँको बिहे हेर्न गएको स्वास्नीलाई कुटने यस्तो छुसीले के स्वास्नी सुमर्नु ? अब घर गई भने कहिल्यै कुटने छैन, जुठे दमाईको भन्दा बढ़ता कदर गरेर राखिन भने अनि भन्नू ’ त्यसले मन मनै सोच्यो । त्यसदिन सम्झेर त्यसलाई पश्चाताप भयो। भोलिपल्ट बिहान सासु जूठेल्नामा भाँड़ा माझ्दै थिइन । ससुरा पर्खालमा अड़ेसिएर तमाखू सल्काउन लागेका थिए । गौंथली जुठोचुल्हो गर्दै थिई ।
चामेः (अलि संकोच मान्दै ससुरोतिर फर्केर) खेती कटाईको बेला छ,ससुरा, छोरी पठाई दिनु प¥यो ।
ससुराः (एकछिन तमाखूको नली गलामा अढ्याएर रिसाएको भान पार्दे) हुन त ज्वाइँ, गरीब र सरीब भनेर अनेक थरीको नाउँ राख्यौ अरे । गरीब भए पनि आजसम्म कसैको घरमा पोल्टो थाप्न गएको छैन । पाऊ पूजेर दिएको तिमीलाई नै हो, आफ्नो स्वास्नी राजी गराउ लैजाऊ, कसैले छेकेको छैन ।
गौंथलीः(ससुरासित कुरा गरेको चियाइरहेकी गौंथली मनमनै खुशी भई तरै पनि चामेसित घुर्की देखाउन डोकोनाम्लो बोकेर चामेलाई लामो जिब्रो देखाई वनतिर जान खोज्छे)
चामेः (गौंथली हिंडन लागेको देखेर पाखुरामा च्याप्प समात्दै) डोको नाम्लो भिरेर कता नि ? हिंड घर जाऊँ ।
गौंथली (घुर्की देखाउंदै) घर त मरे पनि जान्न ।
चामेः (फकाउने निहूँ गर्दै) घर नगएर कहाँ जान्छेस त ?
गौंथलीः (आँखा तर्दे) एउटा जीउलाई के जहीं गए पनि त भो नि । जोगिनी हुन्छु, जान्छु ।
चामेः भैंसीलाई घाँस कसले काटी दिन्छ र जोगिनी हुन्छेस् ?
गौंथली (ओंठ लेब्र्याउंदै) काट्नु क्या आफ्नो भैंसीलाई आफै घाँस ।
चामेः (फकाउंदै) धेरै नबौला, खुरुक्क घर हिंड ।
गौंथली (पुलुक्क मायालु नजरले चामेलाई हेर्दै) घर गएर फेरी निहुँ झिक्दै कुटदै गर्नलार्इ ।
चामे (कान समाएर) ई‘.! अब पोंडे भए केही गरूंला ।
गौंथलीः भो नापियो । (डोको नाम्लो थन्क्याउंदै घरभित्र पस्छे,सिंगार पटार भएर निस्कन्छे । सासुले सानु पोका र एक ठेकी दही राखिदिइन् । गौंथलीले पोकों बोकेर अघि लागिई, पछिपछि दहीको ठेकी बोकेर चामे सासुससुरालाई ढोगेर बाटो लाग्यो ।)
गौंथलीः (जिस्क्याउने बहाना गर्दै) आजकल भैंसीको दूध कति छ नि ?
चामेः बिहान बेलुकी गरेर एकपाथी ।
गौंथली (ओंठ लेब्र्याउंदै) इस्स‘..! नभाको कुरा .!
चामेः (भैंसीले लातीले हानेर चित परेको सम्झिँदै) अनि तेरो भैंसीलाई पुल्पुल्याएर दिए पो । त्यसले अस्ति एक लात हानेर गोबरमा उतानों परें। एक लौरों हिर्काएको के थिएँ दामलों छिनाएर कोकलेको मकैबारी सोतर,व्यर्थै कोकलेको कुटाई खान प¥यो ।
(चामेकों कुरा सुनेर गौंथली मुर्छा परी । झमक्क पर्न लाग्दा पंधेरोंनेर आईपुगेको थियो । मास्तिरबाट जुठेकी स्वास्नीले चामे र गौंथली जिस्किदै आएको देखेर गिज्याइन)
जूठेकी स्वास्नीः ओहो .. चखेवा र चखेवी । अघि–अघि दुलही पछिपछि दुलहा कति राम्रो सुहाएको ।
गौंथली ः (मुसुक्क हांस्दै) भो भो, नहाँस दिदी, फेरी कुन दिन कटाक्षे पर्ने हो ।
जूठेकी स्वास्नी (दुवैलाई पालै(पालो हेर्दै) उस्, चाटाचाट गर्नु पनि त बेर लाग्दो रहेनछ नि .,लोग्ने स्वास्नीको झगड़ा परालको आगो ।





