पर्वत, २२ मंसिर– गण्डकी प्रदेशमा सोमबार थप ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको कुल संख्या १२ हजार सात सय ७४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाइफ केयर एन्ड डाइग्नोष्टिक प्रा.लि, चितवन मेडिकल कलेज चितवन, क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका स्वाब परीक्षणबाट उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो ।
निर्देशनालयको पहिलो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिको विभिन्न वडाका २४ जनामा, स्याङ्जाको पुतलीबजार नगरपालिका–२ का एक जनामा, १३ एक जनामा, तनहुँको व्यास नगरपालिका–५ का एक जनामा र शुक्लागण्डकी नगरपालिका–७ का एक जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
यस्तै दोस्रो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ७, १०, ११, १२ र १७ मा गरेर आठ जना, पर्वतको बिहादी गाउँपालिका–४ मा एक जना, स्याङ्जाको गल्याङ नगरपालिका–१ मा एक जना र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा एक जना थपिएका छन् । निर्देशनालयको तेस्रो विज्ञप्तिमा थप २५ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ । उनीहरू कास्कीको पोखरा महानगरपालिकाका २१ जना, मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत लमजुङका एक जना र तनहुँका तीन जना रहेका छन् ।
यसैगरी चौथो विज्ञप्तिमा चार जिल्लाका २४ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ । उनीहरू गोरखाको पालुङटार नगरपालिकाका दुई जना, लमजुङको बेशीसहर नगरपालिकाका तीन जना, सुन्दरबजार नगरपालिकाका दुई जना र दोर्दी गाउँपालिकाका एक जना रहेका छन् । तनहुँको आवुखैरेनी गाउँपालिकाका एक जनामा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकाका चार जनामा, कावासोती नगरपालिकाका चार जनामा, मध्यविन्दु नगरपालिकाका एक जनामा र गैँडाकोट नगरपालिकाका छ जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ ।
थप एक जनाको मृत्यु
स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको फलेवास नगरपालिकाका–५ देवीस्थानका ३८ वर्षीय पुरुष रहेका छन् । मङ्सिर १९ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा आइतबार राती पौने एक बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । उनमा निमोनियाको पनि सङ्क्रमण रहेको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ७१ पुगेको छ ।





