बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

योजनावद्ध विकासको आधार तयार हुनेछ

योजनावद्ध विकासको आधार तयार हुनेछ


  • तारानाथ आचार्य
  • मंसिर २४ २०७७, बुधबार

जिल्लाका दश स्थानीय तहमध्ये ताराखोला गाउँपालिका संस्कृति, परम्परा, उत्पादन र आय स्रोत बिल्कुलै फरक छ । आलु, भाँगो, निगालो र ढुंगाले ताराखोलाको परिचय बोल्छन् । सदरमुकाम बागलुङ बजारबाट भौतिक दुरीका हिसाबले औसतमा नजिक भएर पनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा यो गाउँपालिकामा धेरै कामहरु गर्नुपर्ने अवस्थाका छन् । स्थानीय तहको पुनसंरचना हुनुपूर्व यहाँको विकासमा गाउँविकास समितिहरुले मात्रै गरेको प्रयासले ताराखोलाको विकास सम्भव थिएन् । एक मिटरसमेत कालोपत्रे सडक नभएको, विद्यालय, स्वास्थ्य चौकीका भवन बनाउनुपर्ने, सडकहरुको विस्तार गर्नुपर्ने, आम्दानीका स्रोतसँग जोडिनु पर्ने र एक हिसाबले भन्दा गाउँपालिकाको आमुल परिवर्तन गर्नुपर्ने अवस्थामा लामो समयको सुन्यतालाई तोडेर नयाँ संरचनासँगै जनप्रतिनिधि निर्वाचित भएर आएको करिब साढे तीन वर्ष अवधि बितेको छ । यो बिचमा ताराखोलाले कतिपय जिल्लामा नै चर्चा कमाउने काम गरेको छभने कतिपय काम आँटेर पनि हुन सकिरहेका छैनन् । के ताराखोला मुहार फेर्ने सुरसारमा छ ? ताराखोलाको विकास बाधक के हुन् ? यहाँका नागरिक आत्मनिर्भर बन्न सक्छन् ? यी र यस्तै विविध विषयमा ढोरपाटन सहकर्मी तारानाथ आचार्यले गाउँपालिका अध्यक्ष प्रकाश घर्तिसँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको संपादित अंश ।

कसरी बिते साढे तीन वर्ष ?

– सामाजिक, आर्थिक रुपान्तरण र विकासका लगि नेपालमा विभिन्न समय र परिस्थितिमा विभिन्न प्रकारका राजनीतिक आन्दोलनहरु भएका छन्, जसको परिणाम स्वरुप उपलब्धीको रुपमा थुप्रै उतारचढावको बीचबाट ढिलै भएपनि नेपालमा नयाँ संविधान बन्ने वातावरणको सृजना भयो र संविधान कार्यान्वयनको प्रक्रियासँगै देशमा संघीय शासन प्रणालीमा तीन तहको सरकारमध्य स्थानीय तहको सरकार नेतृत्व गर्ने पहिलो अवसर प्राप्त भयो । नेपालमा संघीयताको अभ्यास पहिलोपटक हुँदै गर्दा स्थानीय सरकार सञ्चालनको लागि आवश्यक भौतिक संरचना, जनशक्ति, कानुन तथा कार्यविधिहरु नभएको अवस्थामा स्थानीय सरकार सञ्चालनको पहिलो वर्ष आवश्यक कानुन निर्माण, भौतिक संरचना निर्माण र गा.पा.को जनशक्ति व्यवस्थापनमा रह्यो ।
कृषि तथा पशुपालनमा व्यवसायीकता प्रर्वद्वन गरिएको छ । जनतालाई दैनिक जीवनयापनमा सहयोग गर्ने साना सडक, सीपमूलक तालिम, खानेपानी सिंचाई इत्यादि आयोजना कार्यक्रमहरु सञ्चालन गरिएका छन् । समग्रमा गाउँपालिकामा स्थानीय सरकारको नजिकबाट अनुभूति हुनेगरी सेवा प्रवाह र विकास कामहरु गरिएको छ । र, सोही अनुसारका नीतिगत, संस्थागत पूर्वाधार तयार गरिएको छ ।

के जनतासामु गर्नुभएका प्रतिवद्धताहरु पुरा भए ?

– हामीले निर्वाचन हुनुभन्दा पहिला चुनावी नारा तथा राजनीतिक घोषणापत्रमा विकासका तथा समृद्धिका लागि जुन खालका प्रतिवद्धताहरु जनाएका थियौ । राज्यको सिमित स्रोत र साधनको बीचबाट त्यसलाई पुरा गर्ने आधारहरु तयार गरेका छौँ । राजनीतिक परिवर्तनपछि जनताका आशा तथा अपेक्षाहरु धेरै छन् । तर ती आशा र अपेक्षाहरुलाई पुरा गर्ने स्रोत साधन सिमित भएकाले त्यसलाई पूरा गर्नको लागि तत्कालिन तथा दिर्घकालिन योजनाहरु निर्माण गरेर पूरा गर्नको लागि प्रतिवद्ध भएर निरन्तर लागिरहेका छौँ । आशा छ जनतासामु गरिएका हाम्रा प्रतिवद्धताहरु कतै पनि खेर जान दिने छैनौ ।

गाउँपालिकाको स्रोत विकासको लागि के/के काम गर्नुभयो ?

– स्थानीय सरकार सञ्चालन ऐनले तोकेबमोजिम करका दायराहरुलाई फराकिलो बनाइ आन्तरिक आयलाई बढाउन व्यवस्थित गर्नको लागि गाइघाट झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गरि पर्यटन शुल्क उठाउने, गाउँपालिका क्षेत्रमा सञ्चालित हाइड्रोपावर सञ्चालनको लागि सहजिकरण गर्ने, गाउँपालिकाबाट अन्यत्र निकासी हुने वस्तुलाई निकासी करको दायरामा ल्याउने, व्यवसाय करको दायरा बढाउने होमस्टे सञ्चालन गर्ने, पालिका क्षेत्रमा तामाखानी लगायतका अन्य खानीजन्य वस्तुको उत्पादनको वातावरण निर्माण गर्ने, औद्योगिक ग्राम निर्माण प्रक्रिया अगाडी बढाउने, वातारण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र सार्वजनिक, नीजि साझेदारी ऐन, २०७७ सभाबाट स्वीकृत भई नीजि क्षेत्रसँगको साझेदारीमा गाउँपालिकाको दिर्घकालिन स्रोतको नीतिगत पूर्वाधार तयार गरिएको छ । संविधानले तोकेका कर, दस्तुरहरुको कार्यान्वयन गरिएको छ ।

रोजगार सृजना हुने कुनै कार्य भए त ?

– गाउँपालिकामा कृषि आधुनिकिकरण तथा पशु व्यवसायको माध्यमबाट कृषि व्यवसाय प्रर्वद्वन ऐन स्वीकृत गरी विभिन्न पकेटक्षेत्र निर्माण गरी प्रत्यक्ष आयमुलक कामको माध्यमबाट रोजगारीको पर्याप्त अवसर सिर्जना गरिएको छ । जसमा धेरै कृषक दाजुभाई तथा दिदिबहिनीहरु आवद्ध हुनुहुन्छ । औद्योगिक ग्राम निर्माण कार्यको थालनी भएको छ । स्लेट ढुङ्गा खानी, तथा अन्य खानीहरुलाई व्यवस्थित गरि कानुनको दायरामा ल्याई रोजगारी सृजना गर्ने कार्य भइरहेको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ५ वटा होमस्टे स्थापना भई सञ्चालनमा रहेका र यसै आर्थिक वर्षदेखि एकिकृत नमुना कृषि फर्म, पशुपालन, करिव ३००० ओखरका बिरुवा रोप्ने कार्यक्रम रहेको छ । प्रत्येक वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामुदायिक आयोजनाहरु सञ्चालन गरी युवाहरुलाई १०० दिनको रोजगारी प्रत्याभुती गरिएको छ । गा.पा. क्षेत्रभित्र रहेका जडिबुटीहरुको पहिचान गरी प्रशोधन तथा बिक्री गर्ने कार्यक्रमको लागि यसै आ.व मा बजेट विनियोजन गरिएको छ । माथि उल्लेखित कार्यक्रमहरुबाट केही युवाहरुले तत्काल रोजगारी प्राप्त गरेका र निकट भविष्यमा नै पर्याप्त रोजगारी सृजना गर्ने मजबुद पुर्वाधार तयार गरिएको छ ।

गाउँको पहिचानसँग जोडिएका क्षेत्र कुन–कुन हुन् सो क्षेत्रको विकासका लागि के गर्नुभयो ?

– ताराखोला धार्मिक, सांस्कृतिक, प्राकृतिक रुपमा अलग पहिचान भएको गाउँपालिका हो । गा.पा क्षेत्रमा मगर बस्तीको बाहुल्यता रहेको र प्रत्येक वडामा फरक फरक किसिमको चाडपर्व, मेला, धार्मिक संस्कार आयोजना गर्ने प्रचलन रहेको छ । जस्तै असारे मेला, भदौरे मेला, साउने सक्रान्ती मेला, भुष पोल्ने पर्व, पुत्र बढाई, हरिबोधनी एकादशी मेला, बैकुन्ठे चतुर्दशी पर्व आदी ।
गाउँपालिका १३०० मि. देखि ३५०० मि. सम्मको उचाइमा फैलिएकोले अग्लो स्थानमा गइ दृश्यावलोकन गर्नेदेखि गाइघाट झरनाको दृश्यवलोकन गर्न सकिने अवस्था छ । करिब ३५०० मि. उचाइमा रहको डुडेलेक र ३२०० मि. उचाइमा रहेको घुम्टेलगायत कालीलेक लगायतका दृश्यावलोकन गर्न सकिने पहाडहरु रहेका छन् । यहाँ उत्पादन हुने भाँगो, प्राङ्गारिक आलु, स्लेट ढुङ्गा, जडिबुटी, जलविद्युत इत्यादी यहाँका पहिचानका क्षेत्रहरु हुन् । डुडेलेकमा साइकल लेनको निर्माण गाइघाट झरनामा अत्याधुनिक सुविधासहितको रेष्टुरेन्ट, पार्क निर्माण स्विमिङ पुल, ज्याकुजी, कालीलेकमा पदमार्ग र होमस्टेमा अनुदान तथा घुम्टे पर्यटन गुरुयोजना निर्माण, जडिबुटी प्रशोधन र आलुजोन कार्यक्रम सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम सञ्चालनलगायत पूर्वाधार निर्माण गापाले नीतिगत रुपमा र कार्यक्रमगत रुपमा लगानी गरेको छ । फरक संस्कृती भएको समुदायमा परम्परागत संस्कृतिको जगेर्ना गर्न प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरिएको छ ।

वैदेशिक रोजगारीमा अधिकांश युवा यो गाउँपालिकाबाट बाहिर छन् । उनीहरुको विप्रेषण सदुपयोग गर्ने केही नीति छ ?

– वैदेशिक रेमिट्यान्सहलाई संकलन गरि पर्यटन, कृषि, जलविद्युत र उद्योग क्षेत्रमा लगानी गर्ने वातावरण निर्माणको लागि नीतिगत रुपमा व्यवस्था गरिएको छ । साथै सार्वजनिक नीजि साझेदारीमा पर्यटन, उद्योग र कृषि क्षेत्रमा लगानी गरी विप्रेष्ण सुदुपयोग गर्ने योजना रहेको छ । सोही बमोजिम विदेशमा रहेका दाजुभाइ दिदीबहीहरुसँग छलफल भईसेकेको छ र आशा छ त्यसको लागि यो आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने उद्देश्य रहेको छ र सफल हुने कुरामा म विश्वस्त रहेको छु ।

गाउँपालिकाले बनाउन सक्ने कानुन निर्माणमा किन ढिलाई ?

– गाउँपालिकाको लागि आवश्यक पर्ने ३० वटाभन्दा बढी कानुनहरु बनिसकेका छन् र काम गर्दै जाँदा आवश्यक देखिएका कानुनहरु गाउँसभामा विधेयक प्रस्तुत गरी कानुनहरु बनाइ अगाडी बढ्ने गरिएको छ ।

अहिले गाउँपालिकाको अवस्था के हो ? सडक, खानेपानी, सिंचाई, पूर्वाधार र कृषि तथा पर्यटनमा लगानी गर्न सक्नुभएन भन्ने छ नि ?

– गाउँपालिकाको भौतिक पूर्वाधार विकासमा प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको छ । वडा नं. ४ को वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने वडा १ र ३ को ठेक्का प्रक्रियाको लागि तयारी भइरहेको छ । बहुउद्देश्य सभाहलको निर्माण तथा सम्पन्न भई सञ्चालनमा आइसकेको छ । ताराखोला अस्पतालको शिलन्यास सम्पन्न भइ निर्माणको लागि ठेक्का प्रक्रिया अगाडी बढेको छ । गाउँपालिका स्तरीय खेल मैदान निर्माणको लागि डिपिआर तयार भई क्रमागत रुपमा कार्य भइराखेको छ । गापाभित्रका अधिकांश विद्यालयको भवन निर्माण, घेराबारलगायतका कार्यहरु भएका छन् । स्वास्थ्य सेवातर्फ प्रत्येक स्वास्थ्य चौकीमा ल्याव सञ्चालनको लागि आवश्यक जनशक्ति परिचालन गरी सेवा प्रवाह गर्ने, वर्थिङ सेन्टरमा बेवी वार्मर मेसिन जडानको तयारी गरिएको छ । यही आर्थिक वर्षको पुष महिनाबाट गापाको आफ्नै एम्बुलेन्स सञ्चालनको तयारी भइसकेको छ ।
सडकतर्फ हटिया, हरिचौर, तारा, म्याग्दी सडक प्रेदश सरकारको सहयोगमा ९ कि.मी. कालोपत्रेको काम भइरहेको छ । त्रीशुली घुम्टी माझखर्क खरिखोलाहुँदै अर्गलसम्मको १० कि.मी. सडक कालोपत्रे हुने गरी प्रदेश सरकारको सहयोगमा ठेक्काको काम अगाडी बढेको छ । रीजालचोक, अमरभूमी, अर्गल, तारा, म्याग्दी सडक कालोपत्रेको लागि संघीय सरकारसँग अनुरोध गरी सम्भवत यही आर्थिक वर्षमा योजना कार्यान्वयन हुने अपेक्षा गरिएको छ । संघ र प्रेदशबाट समपुरक आयोजना घुस्मेली सभाहल सम्मको सडक, भातखाने डाँडादेखि १ नं. वडा कार्यालय सम्मको सडक र तारागाउँदेखि सिप सम्मको सडकको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया सम्पन्न भइ काम अगाडी बढ्ने तयारीमा छ । मालारानी घाट र दलामचौर घाट मोटरेवल पुलको डिपिआर यसै वर्षमा हुनेछ र घुस्मेली घाटको मोटरेवल पुल ठेक्का प्रक्रिया अगाडी बढेको छ भने अधिकांस टोल बस्तीमा पुग्ने कच्ची सडक निर्माण भएकोमा अगामी वर्षमा स्तरोन्नतीको कार्यलाइ अगाडी बढाइने छ ।
वडा नं. १ को भुस्कात खानेपानी योजना र ३ नं. वडाको केही टोलबाहेक अरुमा खानेपानीका आयोनाहरु प्रेदश सरकारबाट सञ्चालन भइ सम्पन्न भइसकेको छन् । अर्गल सिँचाइ योजनाको ठेक्का प्रक्रिया अगाडी बढिसकेको छ भने कृषि र पर्यटन क्षेत्रमा पर्याप्त मात्रामा लगानी भइ परिणाममूखी कार्य भइरहेको छन् । यद्यपी त्यसलाई परिचालन गर्ने जनशक्तिको अभाव देखिएको छ ।

कर्मकाण्डी कामबाट उपलव्धी देखिने काम कहिले गर्नुहुन्छ ?

– सुरुको आ.व मा हाम्रा योजना तथा कार्यक्रमहरु कर्मकाण्डी देखिन पुगेका होलान तर दोस्रो वर्षबाट योजनाबद्ध विकासका लागि अभियान थालनी गर्यौ । त्यसको लागि हामीले भिलेज प्रोफाईल, आवधिक योजना निर्माण र मध्यमकालीन खर्च संरचना बनाइ वार्षिक नीति तथा कार्यक्रमलाई परिणाममुखी बनाउने प्रयत्त गरेका छौँ । यो कार्यकालको अन्त सम्ममा हामीले गरेका सम्पूर्ण कार्यहरुको परिणाम आउने कुरामा आशावादी रहेका छौ ।
कुनैपनि सरकार संचालन भइसकेपश्चात नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउनु महत्वपूर्ण कुरा हो । हरेक नागरिकलाई सुशासनको अनुभुती दिलाउन सकिएन भने अपार्दशिता, अनियमिता, अराजकता कायम हुनुको साथै सरकारप्रति नागरिकको विश्वसनीयता गुम्न गइ विकासले अपेक्षीत गति लिन नसक्ने हुँदा हामीले जनतासँग जनप्रतिनिधी कार्यक्रम, सार्वनिक सुनुवाइ, लेखा प्रणालीलाई सुत्र सफ्टवेरमार्फत, सामाजिक सुरक्षालाई बैङ्किङ प्रणालीमार्फत, ठेक्का प्राणालीलाइ भ्(दष्ममष्लन मार्फत गर्ने पालिकाले गर्ने हरेक कार्यको ध्भदकष्तभ तथा ँबअभदययप बाट जानकारी गराउने, राजश्व प्रणालीलाई व्यवस्थित गर्न कार्यहरु गरिएको छ र सिङ्गो पालिकालाई नै डिजिटल प्रणालीमा लैजाने कार्य अगाडी बढेको छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्ने सन्दर्भमा गाउँपालिकाले के–के काम गरेको छ ?

– कोरोना रोकथाम र नियनत्रणको लागि प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गरी विदेशबाट पालिकामा आउने दाजुभाइ तथा दिदीबहिनीहरुलाई चौध दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा रहने व्यवस्था गरियो । कोरोना पोजेटिभलाई सुरक्षित रुपमा जिल्लास्थित आइसोलेसनमा लैजाने र राख्ने कार्य गरियो । पालिकामा आउने मूख्य दुइ नाकामा हेल्थ डेस्क स्थापना गरी आवश्यक जनशक्ति व्यस्थापन गरियो । ५ शैयाको अस्थायी कोरोना अस्पतालको निर्माण गरी डाक्टर नर्सलगायतका आवश्यक जनशक्तिको व्यवस्था गरियो । लकडाउनको समयमा बिरामीहरुलाई निशुल्क औषधी वितरण गरियो । विपन्न परिवारहरुको लागि राहत स्वरुप स्थानीय रुपमा उत्पादित वस्तुहरु (खाद्यान्नहरु) वितरण गरियो । यस पालिकामा कोरोना नियन्त्रण तथा रोकथामको लागि सहयोग स्वरुप ताराखोला समाज जापानको आर्थिक सहयोग प्राप्त भयो भने गलकोट समाज जापानबाट एम्बुलेन्स सहयोग प्राप्त भयो । सहयोगी हातहरुलाई विशेष धन्यवाद दिन चाहन्छौ । हालसम्म गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण भएको छैन ।

अन्तमा अबको साढे एक वर्षमा ताराखाेला गाउँपालिका कस्तो होला ?

– साढे एक वर्षको अन्तमा यस गा.पा को योजनावद्ध विकासको आधार तयार हुनेछ । करिब ४० किमी सडकको कालोपत्रेको कार्य सुरुवात हुनेछ । अन्य सडकहरु स्तरोन्नति हुनेछन् । खानेपानीको सुविधा सम्पूर्ण नागरिकहरुमा पुग्नेछ । प्रत्येक नागरिकको घरमा विद्युत सेवा पुगी उज्यालो गाउँपालिका हुनेछ । औद्योगिक ग्रामको स्थापनासँगै विभिन्न उद्योगहरुको स्थापनाको आधार तय हुनेछ र आर्थिक आय आर्जनमा वृद्धि भई नागरिकको जिवनस्तरमा गुणात्मक परिवर्तन हुनेछ । अस्पतालको निर्माणसँगै स्वास्थ्य सेवामा व्यापक रुपमा पहुँच पुग्नेछ । उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरणको सृजना हुनेछ । नीजि स्रोत न्यून वेतनमा अध्यापनरत शिक्षकको समस्या समाधान गरिनेछ । सुशासनलाई प्रत्याभूती गर्ने वातावरणको सृजना गरिनेछ । पर्यटन पूर्वाधारमा फरकपना देखिनुपर्ने साथै रोजगारी आयआर्जनको थप मार्ग प्रसस्त हुनेछन् । जसले गर्दा समृद्ध ताराखोला र खुसी ताराखोलाबासीको चाहनाले मुर्तता पाउनु साथै समाजवाद उन्मुख आर्थिक विकासको ढोका खोल्न मार्गदर्शन गर्नेछ । गाउँपालिकालाई आधुनिक प्रविधिको सेवा प्रवाह गर्ने सरकारको रुपमा विकास गरिनेछ ।
तीन वर्षमा करिब १ अर्बभन्दा बढीको बजेट कार्यान्वयनमा ल्याइयो । गाउँपालिकामा आवश्यक नीतिगत पूर्वाधारहरु (वार्षिक बजेट, आवधिक योजना, मध्यमकालीन खर्च संरचना र आवश्यक कानूनहरु) तयार भएका छन् । गाउँपालिकामा महत्वपूर्ण पूर्वाधारहरु तयार हुदैछन् । औधोगिक ग्राम, सभाहल, प्रशासनिक भवन, वडा कार्यालयमा जोड्ने सडक पर्यटकीय पूर्वाधारहरु निर्माण गरिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->