शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

चन्द्रमा जस्तै चम्किला चन्द्र

चन्द्रमा जस्तै चम्किला चन्द्र


  • दिवस गुरुङ
  • पुष ६ २०७७, सोमबार

नेपालको प्रकृति संरक्षणको इतिहासमा महत्वपूर्ण योगदान दिनेहरुमध्ये एक सम्झनालायक व्यक्ति हुन् स्व. डा. चन्द्र गुरुङ । उनले बसालेको संरक्षणको जगमा अहिले कैयौं उदाहरणीय उपलब्धीहरु हासिल भइसकेका छन् । जनजाति अधिकार आन्दोलन स्थापित हुनु र ‘विकेन्द्रीकरण’ तथा ‘संघीयता’ जस्ता नाराहरु नेपालमा लोकप्रिय हुनुपूर्व नै उनले यसका स्वाद नेपालीहरुलाई चखाइसकेका थिए, संरक्षणका कदमहरुमार्फत । ‘भैहाल्छ नि’ भनेर हरेक कुरालाई हल्काफुल्का रुपमा लिने उनको आदतले हुन पनि धेरै उपलब्धीहरु भैपनि हाल्यो ।
विशेषतः संरक्षणको इतिहासमा एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र) र केक्याप (कञ्चनजंगा संरक्षण क्षेत्र)को स्थापना र यसमार्फत थपेको संरक्षणको नयाँ आयम । यसको मुख्य श्रेय जान्छ त केवल उनलाई नै । केक्याप जनसमुदायलाई हस्तान्तरण गर्न उनीसँगै अन्य नामी २४ जना व्यक्तित्वहरु ताप्लेजुङको घुन्सा पुगेका थिए । योजना मुताविक कार्य सम्पन्न त भयो तर उनीहरु कहिले फर्केर आएनन् । घुन्सानजिक पहाडमा ठोकिएर सबै जना सवार रुसी एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा नेपालको इतिहासमा प्रकृति संरक्षणमा लागि परेका धुरन्धर व्यक्तित्वहरुको एउटै चिहान भयो । सेप्टेम्बर २३, २००६ अर्थात् त्यो कालो दिन ।
वन संरक्षण र व्यवस्थापनमा अहोरात्र लागिपरेका उनले आफ्नै पारिवारिक जीवनलाई भने व्यवस्थापन गर्न सकेनन् । यसमा उनी चुके नराम्ररी । पारिवारिक झमेलाले उनलाई अन्तिमसँग गिथोलिरह्यो । खैर, खुलापन र स्पष्टवादिताका लागि नामी एक बर्हिमुखी वातावरणविद् र संरक्षणकर्मी उनी हामीमाँझ नरहे पनि उनका योगदानहरु जुगौजुग सम्झिरहनेछन् । गुणगुनाइरहने छन् । अमर रहनेछ उनको नाम ।
उनको बाल्यकाल :
सन् १९४९ मा जन्मेका थिए उनी । जन्मथलो, कास्कीको उत्तरमा अवस्थित सुन्दर सिक्लेस गाउँ । रतनसिंह र कृष्णकुमारी गुरुङका छैटौ सन्तान थिए उनी । उनका बुबा सिक्लेसका मुखिया । त्यसैले उनलाई ‘कान्छा मुखिया’ भनेर बोलाइन्थ्यो गाउँमा । अन्नपुर्ण र लमजुङ हिमालको काखमै बित्यो स्वर्णीम बाल्यकाल उनको । छोराहरुलाई पढाउनु पर्छ भन्ने ज्ञान बुबा र आमा दुबैमा थियो । त्यसैले चन्द्र र उनका दाई तोत्रमान गुरुङ पोखरा झरे, पढाईका लागि । उनीहरु पोखरा जाँदा उनका बुबाले एक जना मानिसलाई साथमा पठाएका थिए । उनीहरुलाई बाटो देखाउन हैन, उनीहरुभन्दा पहिला गएर बाटामा आइपर्ने बाधाहरु पन्छाउन । यसबाट पनि प्रष्ट हुन्थ्यो, उनीहरुप्रति बुबाको अगाध माया अनि स्नेह ।
शिक्षादिक्षा :
त्यतिबेला पोखरामा जम्मा दुइटा हाइस्कुल थिए, बहुउद्देश्यीय राष्ट्रिय विद्यालय र सैनिक बोर्ड व्यवसायिक तालिम विद्यालय । पछिल्लोको स्तर राम्रो पनि थियो । यस स्कुल अझै पनि त्यही ठाउँमा छ नै तर अहिले यो धेरै ठूलो मात्र भएको छैन, नामसमेत परिवर्तन भएको छ । अमरसिंह उच्च मावि । रतनसिंहले आफ्ना छोराका लागि छानेको स्कुल पनि यही थियो । हाइस्कुल त्यहीबाट उत्तीर्ण गरे उनले । उनी कडा मिहिनेत गर्ने तर साधारण नतिजा ल्याउने विद्यार्थी थिए । उनी औसतभन्दा माथि थिए तर उत्कृष्ट भने थिएनन् । अत्यन्तै मिजासिला, सहयोगी, चञ्चले तर बर्हिमुखी स्वभाव थियो उनको । उनी सबैका प्रिय थिए स्कुलमा । आँखामा राखेपनि नबिझाउने खालका ।
हाइस्कुल पछि उनी पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । उनले रोजे भूगोल विषय । जुन विषय भुलवश क्याम्पसमा राखिएको थियो । उनलाई पढाउने शिक्षिका थिइन्, अमेरिका मुलकी डोरोथी मिएरो । चन्द्रको जीवन सधैंका लागि बदल्ने र उनलाई पोखराबाट बाहिरको दुनियाँमा प्रवेश गराउने व्यक्ति उनै थिइन् । डोरोथीसँगै उनी कोलोराडो गए । त्यहाँ करिब ६ महिना कलेजमा पढे पनि । पुरै अमेरिका घुमे उनले । अनि उनी बेलायत पुगे । साथी माइकल बाट्येकोमा बसे अनि ‘हिप्पी मार्ग’हुँदै उनी एक वर्षपछि नेपाल फर्के । यसले उनको ज्ञानको दायरालाई मात्र फराकिलो बनाएन्, उनको हरेक क्षमताको वृद्धि भइसकेको थियो । डोरोथीसँगको उनको निकटता यति नजिकियो कि उनलाई धर्मपुत्र बनाइयो । अझ भनौं, उनलाई उत्तराधिकारी सुम्पियो डोरीथीले ।
सुमित्रा मानन्धरसँगको भेट :
त्रिभुवन विश्वविद्यालयमा उनी भूगोल विषयमा स्नातकोत्तर तह पढ्न थाले । त्यही सँगै पढ्ने सुमित्रा मानन्धरसँग उनी नजिकिए । यो सन् १९७६ तिरको कुरा थियो । उनी २७ वर्षका थिए भने सुमित्रा २२ की । उनीहरु नजिकिन धेरै समय नै लागेन । न चन्द्रको परिवारले स्वीकार्ने सम्भावना थियो सुमित्रालाई, न सुमित्राको परिवारले चन्द्रलाई । तर उनीहरु आखिर एक भएरै छाडे । तर विडम्बना यो लामो समयसम्म टिक्न सकेन । दुखद कुरा पछि फेरि पुरानै अवस्थामा फर्किए । अर्थात् अलगिए दुवै जना ।
पारिवारिक सम्बन्धमा उतारचढाव :
स्नातकोत्तर उतीर्णपछि उच्च शिक्षाका लागि चन्द्र बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा भर्ना भए । केही समयपछि सुमित्रा पनि एआईटीमा नै भर्ना भइन् । एआईटीमै एक क्याथोलिकमा शपथ र बौद्ध मन्त्रका साथ विवाह गरे तर सुमित्रा आएको तीन महिनामा नै चन्द्रको पढाई सक्कियो र उनी विद्यावारिधिका लागि होनोलुलुस्थित हवाई विश्वविद्यालयमा भर्ना भए । त्यहीं विद्यावारिधि गरिरहेका जापानी विद्यार्थी टोकिको साटोसँग उनी प्रेममा फसे । अनि पातलियो सुमित्रासँगको सम्बन्ध ।
हतारहतार स्नातक तह सिध्याएर सुमित्रा पनि होनोलुलु पुगिन् र त्यही विश्वविद्यालयमा भर्ना भइन् । धेरै समयपछि उनले चन्द्रको सम्बन्ध टोकिकोसँग रहेको थाहा त पाइन तर चन्द्र र टोकिकोको पहिलो सन्तान, छोरा योइचि जन्मिसकेको समेत उनले धेरैपछि मात्र थाहा पाइन् ।
समयसँगै पारिवारिक सम्बन्धमा खटपट आइरह्यो । सुमित्राबाट पनि छोरी र छोरा जन्मिए । तर चन्द्रको मन स्थिर थिएन । उनी न सुमित्रालाई छोड्न सक्थे त न टोकिकोलाई । एक दिन त चन्द्रले सुमित्रालाई पारपाचुके दिनका लागि पत्र हातमा थमाए तर सुमित्राले अस्वीकार गरिन् । र, कहिल्यै सुमित्रा पारपाचुके गर्न राजी भइनन् । जीवनकालको अन्तिम समय न उनी सुमित्रासँग समय बिताए, न टोकिकोसँग ।
संयोगले बनेका वातावरणविद् :
भूगोलमा विद्यावारिधि गरिसकेका गुरुङ वातावरण संरक्षणमा लागेर उनले अतुलनीय योगदान दिए । तर संयोगले उनी यस क्षेत्रमा होमिएका थिए । र, यसको श्रेय जान्छ, हेमन्त मिश्रलाई । सुरुमा अन्नपूर्ण क्षेत्रमा ‘राष्ट्रिय निकुञ्ज’को प्रस्ताव अघि बढेको थियो । यसको सम्भाव्यता अध्ययनका लागि गुरुङ पनि त्यस क्षेत्रका विभिन्न भेगहरु पुगेका थिए । चितवनलाई राष्ट्रिय निकुञ्जका रुपमा स्थापना गर्दा हजारौं स्थानीयहरुको बस्ती स्थानान्तरण गरेको यथार्थता उनलाई ज्ञान थियो । यहाँ त हजारौं हैन, लाखौं स्थानीयलाई हटाइनु पथ्र्यो । त्यसैले अन्नपूर्ण क्षेत्रका स्थानीयहरु राष्ट्रिय निकुञ्जको पक्षमा पक्कै छैनन् भन्ने भेउ उनले पहिल्यै पाइसकेका थिए ।
भर्खर संरक्षण क्षेत्रको अवधारणा आइरहेको थियो नेपालमा । संरक्षण क्षेत्रमा न स्थानीयलाई त्यहाँबाट हटाइन्थ्यो न उनीहरुलाई स्रोतसाधन उपयोगमा रोकावाट नै । बरु उल्टै स्थानीयलाई त्यस क्षेत्रको उपयोग र संरक्षणको अधिकार दिइन्थ्यो । त्यसैले उनले यसको प्रस्तावना पेश गरे र जुन स्वीकृत मात्र भएन । उनी पछि यसको प्रमुख भएर काम गरे । एक्यापमा ‘जनसहभागिता’ नारा लगाउन चन्द्र सफल मात्र भएनन्, उनी यसरी भिजे कि एक्यापमा बिदाको दिनमा समेत उनलाई फुर्सद हुँदैनथ्यो । अहोरात्र जनसेवामै उनी लागिरहे । समयसँगै उनको लोकप्रियता यति बढ्यो कि एक्याप भनेकै चन्द्र गुरुङ नै भन्ने भान पनि भएको थियो ।
यता महेन्द्र प्रकृति संरषण कोषको सदस्य सचिव थिए अगुवा वातावरणविद् हेमन्त मिश्र । उनी अमेरिका गएपछि यसको कार्यभार चन्द्र गुरुङले समाले । पछि लोमानथाङ र सिक्लेस कार्यालयमाथि बजेट हिनामिना र अनियामितताको मुद्दा पर्यो । यी मुद्दाहरु समयसँगै टुंगिए तर यसले एक्यापको कार्यमाथि शंका उब्जिन थाल्यो । इज्जत धमिलिन थाल्यो संस्थाको । उनको पदवाधि सकिनै लाग्दा उनलाई नै फेरि पदभार दिइनेछ भन्ने सबैको विश्वास थियो तर यो हुन सकेन । त्यस पदमा संरक्षण कार्यमा कुनै अनुभव नै नभएका जयप्रताप राणालाई नियुक्त दिइयो ।
जनयुद्धको असर :
एक्यापमा उनको समयवाधि सकिएको केही समयमै नेपालमा जनयुद्ध सुरु भयो । यसले ओरालो लागेको एक्याप झन् तहसनहस बनायो । कार्यालय मात्र जलाइएन, कर्मचारी पनि मारिए । यता सिक्लेसमा पनि माओवादीको आक्रामणले तीव्र गति लिएको थियो । गाउँ मुखियाले जनतालाई अत्याचार र अन्याय गरेको आरोप लगाइयो । उनी एक्यापमा हुँदाताका मृगको मासु र जडीबुटी तस्कर गरेको र आर्थिक हिनामिना गरेको आरोपमा उनलाई १५ दिनभित्र माओवादीको शरणमा आउन पत्र काटियो, नत्र भौतिक कार्वाही हुने बताइएको थियो । अर्थात् उनी मारिन पनि सक्थे । तर पछि त्यो पत्र फिर्ता लिइयो र उनी बाँचे ।
फेरि उदाए चन्द्र :
चन्द्रले विश्व वन्यजन्तु कोष नेपालमा आफ्नो व्यावसायिक टेको फेला नपारेको भए एक्यापबाट बिदा लिएपछि उनलाई एकदमै पिरोल्थ्यो होला । तर उनी भाग्यमानी ठहरिए । अर्थात् १९९९ मा मिङ्मा नोर्बु शेर्पा अमेरिका लागेपछि नेपालको प्रतिनिधिमा उनलाई नियुक्त गरियो । यो नै उनको लागि सुनौलो अवसर सावित भयो ।
यस कोषमा पनि उनी थप जिम्मेवारी र अनुभवी भएर काममा तल्लीन भएर लागे । उनी ठूलो बजेट र सहयोग रकमसहितका महत्वाकांक्षी योजना हात पार्नतिर लागेका थिए । तिनैमध्येका एक थियो, कञ्चनजंगा संरक्षण क्षेत्र परियोजना (केक्याप) । यो परियोजना हात पार्न पनि ठुलै ढुंगा चपाउनु परेको थियो, उनीलगायत कोषले । किनकि यो परियोजना महेन्द्र प्रकृति कोषले आफ्नो पोल्टामा पार्न सक्थ्यो । केक्यापकै बजेट र सहयोगका लागि उनले व्यतित गरेको समय अतुलनीय थियो नै । उनको कडा मिहिनेत अनि परिश्रमले कोषले राम्रो प्रगति गर्दै पनि गयो ।
त्यसपछिको अर्को प्रशंसानीय उपलब्धी थियो, तराई भू–परिधि कार्यक्रम । छिन्नभिन्न अवस्थामा रहेका पर्यावरणीय टापुहरुलाई जोडेर वन्यजन्तुका लागि उपयुक्त बासस्थान बनाउने कार्यक्रम थियो यो । यो कार्यक्रम पर्सा वन्यजन्तु आरक्षदेखि शुक्लाफाँटा वन्यजन्तु आरक्षसम्म फैलिएको थियो । पछि त सन् २००६ मा नेपाल, भुटान र भारत संलग्न ‘पवित्र हिमालय भू–परिधि’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न कोष सफल भयो । यसरी उनले आफ्नो छुट्टै पहिचान त बनाउन सके नै, सँगै यस कोषको नाम उचो बनाउन सफल भए ।
त्यो कालो दिन :
सन् २००६ सेप्टेम्बर २२ गते । त्यो दिन चन्द्रका लागि विशेष दिन थियो । विशेष यस अर्थमा विश्व वन्यजन्तु कोषले सञ्चालन गर्दै आएको केक्याप क्षेत्र र त्यहाँको वनको पूर्ण स्वामित्व स्थानीय जनतालाई नै हस्तान्तरण गरिँदै थियो । उनमा छुट्टै चमक थियो । उस्तै उत्साह र उमंग । तर यो खुसी लामो समयसम्म टिक्क सकेन । भोलिपल्ट घुन्सामा एक कार्यक्रम आयोजना गरिएको थियो । ताप्लेजुङ बजारबाटै हेलिकप्टर उड्न अफ्ठ्यारो भएको थियो खराब मौसमले । बल्लतल्ल हेलिकप्टर उड्यो, घुन्सामा छोटो कार्यक्रम पनि सम्पन्न भयो । त्यसपछि फर्कने बेला घुन्साको नजिकैको पहाडमा हेलिकप्टर ठोकिक्यो र सबै २४ जनाको मृत्यु भयो ।
अन्त्यमा,
यसरी लामो समयसम्म नेपालको वातावरण र प्रकृति संरक्षणमा अहोरात्र खटिने एक महान योद्धाको अवसान भयो । उनले जति योगदान दिए, त्यो त अतुलनीय छ नै, त्यही बाटो पछ्याउँदै अघि बढेको नेपालको प्रकृति संरक्षणले समयसँगै राम्रा पाइलाहरु चाल्न सफल भयो । प्रकृति संरक्षणमा उनले दिएका सुनौला योगदानहरु सधैंसधैं चम्किरहने छ नै । र, गुनगुनाइरहेनछन् उनका योगदानहरुलाई । सम्झिरहनेछ उनलाई सिंगो नेपालले । र, अमर बन्नेछन् उनी ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->