पञ्चासे अर्थात् पवित्र पञ्चधाम । २ हजार ५ सय १७ मिटरमा अवस्थित एक पवित्र संगम स्थल । जति उचाई छ यसको, त्यसको कैयौं गुणा चुलिएको छ यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय तथा जैविक महत्वको उचाई । कुनै दिनताका गुमनाम यस विकट लेक अहिले समयसँगै आम मानिसको रोजाइँको गन्तव्य बनेको छ । अध्ययन अनुसन्धानका लागि होस् वा घुमघामका लागि । धार्मिक आस्था बोकेर होस् वा हप्ताभरिको कामको ह्याङ्ओभर मेटाउने ‘विकयान्ड डेस्टिनेसन’ । सबैको गन्तव्य बनेको छ पञ्चासे । अनि सबै उक्लन्छन् पञ्चासे ।
जे होस् आममानिसको जनजिब्रोमा झुन्डिरहने यस नामसँगै जोडिएर आउने अर्को नाम हो, स्व. गोपाल गुरुङ । पञ्चासेका परिकल्पनाकार हुन् उनी । अर्थात् पञ्चासेका पिता । पञ्चासेको गुणगान गाइरहँदा उनलाई नसम्झिदा न्यायोचित नहोला । पञ्चासेलाई यस उचाईसम्म ल्याउनमा उनको देन अतुलनीय छ । जीवनको अन्तिम घडीमा समेत उनी केवल पञ्चासेकै चाँसो गरिरहन्थे । त्यसैले दिल खोलेर प्रशंसा गर्नै पर्छ उनको योगदानको खातिर ।
बाल्यकाल :
वि.सं. २०१४ वैशाख २५ गते जन्मेका हुन् उनी । जन्मस्थान, पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं १४ । अर्थात् आर्थर डाँडाखर्क गाउँ । उनका बुबा आइ बहादुर गुरुङ तत्कालीन पञ्चायतकालमा लगातार १७ वर्ष गाउँका प्रधानपञ्चको जिम्मेवारी समालेका व्यक्ति थिए । त्यसैले उनमा बुबाको धेरै आनीबानी मिल्दाजुल्दा थिए । सानैदेखि अति शान्त, मिलनसार अनि तीष्ण बुद्धिका थिए उनी, ठ्याक्कै बुबाजस्तै । गाउँकै लेकबेसी, उकालीओराली अनि भञ्ज्याङ चौतारीमा बित्यो उनको स्वर्णीम बाल्यकाल ।
शिक्षादिक्षा :
गाउँकै पञ्चकोशी नि.मा.वि.मा उनले प्रारम्भिक शिक्षा हासिल गरे । माध्यमिक तहको शिक्षा भने ठूलीपोखरीमा अवस्थित जनता सुर्दशन मा.वि.बाट । त्यहींबाट वि.सं. २०३२ सालमा उनले एस.एल.सी उत्तीर्ण गरे अनि उच्च शिक्षाका लागि हानिए राजधानी । आर. आर. क्याम्पसबाट आइ. ए. र राजनीतिशास्त्रमा बी.ए.सम्मको औपचारिक शिक्षा हासिल गरे उनले । त्यसपछि भने उनी गाउँ फर्के । गाउँ फिरेसँगै बुबाको पदछाप पछ्याउँदै उनी समाजसेवा अनि राजनीतिमा होमिए । दुवैमा उत्तिकै सफलता मात्र हासिल गरेनन् उनले, गाउँमा छुट्टै ‘इमेज’ बनाउन उनी सफल भएँ । आँखैमा राखे पनि नबिझाउने खालका । र त उनी आज हामीमाझ नभएपनि उनलाई सबै सम्झिरहन्छन् । गुनगुनाइरहन्छन् उनका योगदानहरुलाई ।
राजनीतिमा सफलताका खुड्किलाहरु :
बुबाको राजनीतिक पदछापहरु पछ्याउँदै उनी पढाई पश्चात राजनीतिमा होमिएका थिए । एक शिक्षित युवा उनी । उनलाई ज्ञान थियो, देशमा राजनीति राम्रो भए मात्र सु–सम्पन्न समाज अनि राष्ट्रको कल्पना गर्न सकिन्छ । नभन्दै उनी वि.सं. २०४३ सालको निर्वाचनबाट तत्कालीन आर्थर गाउँपञ्चायतको प्रधानपञ्च भएर गाउँ हाँके । एक कुशल राजनीतिज्ञ थिए उनी, यो सब उनले गरेका योगदानले प्रष्ट पार्दथ्यो गाउँमा । उनकै कार्यकालमा गाउँलाई सडक सञ्जालले जोड्ने सवालमा होस् वा विद्यालयको स्तरोन्नति, स्वास्थ्य संस्थाको विकास होस् वा खानेपानी, बिजुली वा सिँचाई । सबै सम्पन्न भएको थियो सकुशल । त्यसैले त उनी सबैका प्रिय थिए गाउँमा ।
शालिन स्वभाव, दूरदर्शिता, इमान्दारिता अनि कर्तव्यनिष्ठ एक व्यक्तित्व । यी उनलाई सुहाउने उपनामहरु थिए । त्यसैले त उनले फेरि निरंकुश पञ्चायती व्यवस्था ढलेपश्चात वि.सं. २०५३ देखि २०५८ सम्म गा.वि.स. अध्यक्षको पद सम्हाल्ने अवसर पाएका थिए । तर पछिल्लो समयमा देशको राजनीतिबाट आजित भएका उनी राजनीतिमा त्यति सक्रिय भएर लागेनन् । बरु समाजसेवाको पक्षलाई मलजल गर्दै उनी निरन्तर गाउँको विकास अनि गाउँलेको उत्थानमा लागिरहे । डटिरहे अन्तिम साससम्म ।
पञ्चासेसँगको मोह :
करिब पञ्चिस वर्ष पहिले । पञ्चासे एक गुमनाम अनकन्टार लेक मात्र थियो । गाउँलेहरु कहिलेकाहीँ घासँपातका लागि मात्र जान्थे । न आममानिसमा पञ्चासेको महत्व नै ज्ञात थियो त न पञ्चासेको प्रचासप्रसार । भन्छन् नि ‘अन्डिस्करभर्ड हिडन प्याराडाइज’ ।
गुरुङको गाउँ आर्थरबाट कस्सिएर हिँडे पञ्चासे दुई तीन घण्टामा उक्लिन्थ्यो । पञ्चासेको सुन्दरता देखेर उनी यति लालायित भएका थिए कि उनले २५ वर्ष पहिले पञ्चासेको खुला चौरमा वृक्षारोपण कार्य गरेर पञ्चासे संरक्षणको पाइला सारेका थिए । त्यसपछिका वर्षहरुमा उनको निरन्तर लामो अथक प्रयासबाट आजको पञ्चासेको बाटो कोरिएको हो ।
उनी फुर्सद मिल्थे कि पञ्चासे उक्लिहाल्थे । मठमन्दिर, तालतलैया अनि बाटोघाटो सरसफाईमा आफै तल्लीन भएर लाग्थे उनी । आफै गा.वि.स अध्यक्ष हुँदाताका समेत पञ्चासेको एकीकृत विकास र गुरुयोजना निर्माणमा लागेका थिए । पञ्चासेलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्न नेपाल पञ्चधाम पञ्चासेको स्थापनामा उनको अहंम् भूमिका रह्यो । लगत्तै संस्थाले धर्मशाला मठमन्दिरको निमार्ण, कोटीहोम लगाउने, गोरेटो बाटो सुधारजस्ता कार्यहरु गरेर पञ्चासेको चमक बढाउने कार्य पनि ग¥यो ।
त्यसताका यस क्षेत्रकै चौतर्फी विकासका लागि तत्कालिन जिल्ला विकास समिति र वन कार्यालयको संयुक्त सहकार्यमा विभिन्न विकास बजेटहरु विनियोजन भएको थियो । यतिले मात्र पञ्चासेको सशक्त विकास हुन सम्भव नठानेपछि पञ्चासे क्षेत्र विकास समितिको स्थापनामा उनी तल्लीन भएर लागे । अनि बन्यो यस क्षेत्रको गुरु योजना । विस्तारै उनका सपनाहरुले मुर्त रुप लिन थाले । पञ्चासेमा विकासका कदमहरु सर्दै गए । पञ्चासे उजेलिँदै गयो । सँगै उजेलियो उनको मन पनि ।
स्थानीय निकायदेखि सिंहदरबारसम्म उनी पञ्चासेकै विकासका एजेन्डाहरु बोकेर दौडधुप गरिरहन्थे । कहिल्यै थाकेनन् उनी । लागिरहे निरन्तर । अहोरात्र । समयसँगै पञ्चासेको विकास क्रम र प्रचारप्रसार पनि बढ्दै गयो ।
जैविक विविधताले भरिपूर्ण पञ्चासे खुला पाठशाला हो, उनी यहीँ ठान्दथे । जुन यथार्थ पनि थियो र हो नै । अझ भनौं, पञ्चासे वन्यजन्तु, चराचुरुङ्गी र बोटबिरुवाको धरोहर क्षेत्र नै हो । स्वर्ग हो यो क्षेत्र । सुनाखरीको त राजधानी नै हो पञ्चासे । यहाँ कुल १४३ प्रजातिका सुनाखरीहरु पाइन्छन् । अझ दुई प्रजाति त केवल पञ्चासेमा मात्र पाइन्छ रे । लालीगुराँस संरक्षणकै लागि संरक्षण प्लटहरु बनाइएका मात्र छैनन्, विभिन्न अध्ययन र अनुसन्धानका लागि पाठशाला बनेको छ पञ्चासे । वार्षिक कैयौं देशी विदेशी अनुसन्धानकर्मी पञ्चासेको काँखमै हराउँछन् अनुसन्धानमा । उति बेला उनले वृक्षारोपण गरिएको क्षेत्र अहिले पञ्चासेकै नमुना सामुदायिक वन बनेको छ ।
पञ्चासेकै विकासका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय योजनाहरु पञ्चासेमा ल्याउन उनी लागि पर्थे । पछिल्लो समय नेपालमै पहिलो पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इबिए) कार्यक्रम, हरियो वन कार्यक्रमजस्ता महत्वपूर्ण कार्यक्रमहरु पञ्चासे क्षेत्रमा सफलतापूर्वक सम्पन्नमा उनको अतुलनीय भूमिका रहेको थियो । जसअन्र्तगत जैविक विविधताको संरक्षण, पञ्चासेको प्रचारप्रसार साथसाथै स्थानीयको जीविकोपार्जनमा ठूलो आयाम थपेको थियो । जुन उनको सपना पनि थियो ।
नभन्दै केही वर्ष पहिले मात्र सरकारले पञ्चासेलाई नेपालकै संरक्षित क्षेत्रका रुपमा अनुसुची गरेको थियो । साथै यस क्षेत्रमा पाइने चराहरुको विविधता कारणले ‘महत्वपूर्ण चरावलोकन क्षेत्र’ का रुपमा पनि प्रस्तावित गरिएको छ । यो आफैंमा खुसीको कुरा पनि हो ।
विगत तीन दशकदेखि पञ्चासे क्षेत्रको संरक्षण र समग्र विकासमा उनले पु¥याएको योगदानका खातिर जति प्रशंसा र सम्मान गरेपनि कमी नै हुन्छ । उनलाई पञ्चासे संरक्षण पुरस्कार नगद रु. बाईस हजार दुई सय बाईस र दोसल्लाका साथ सम्मानित गरिँदा सिंगो पञ्चासे सम्मान भएको भान भएको थियो । साथसाथै विभिन्न पुरस्कार एवं सम्मानबाट उनी सम्मानित भएका थिए । विभिन्न संघसंस्थामा क्रियाशील भएर जीवनको अन्तिम समयसम्म पञ्चासेकै लागि समय व्यतित गरेका थिए उनले ।
वि.सं. २०७३ सालमा उनलाई मल्टिपल माइलोमा रोगले छोएको पत्ता भयो । जुन एक डरलाग्दो रोग थियो । पञ्चासेको काँखमा खुला आकाशमा रमाइरहने एक प्रकृतिप्रेमी विस्तारै अस्पतालको शैयामा थलिन थाले । अनि विस्तारै उनको संसार कोठामै सिमित रहन पुग्यो । लामो समय विस्तारमा थलिएपछि वि.सं. २०७६ श्रावन ९ गते उनी सदा सदाका लागि विदा भए । यो सँगै पञ्चासे क्षेत्रले एक कर्मठ र कर्तव्यनिष्ठ संरक्षक एवं अभिभावक गुमायो, आर्थरले एउटा कुशल समाजसेवी र राजनीतिज्ञ गुमायो र सिंगो नेपालले एक प्रेरणादायी व्यक्तित्व । उनको अभाव पञ्चासे क्षेत्रमा खड्किरहनेछ सधैं सधैं ।
पञ्चासे सुनाखरी गोपाल स्मृति पार्कको निर्माणः
उनको सपना थियो, पञ्चासेमा पाइने सुनाखरी र विभिन्न जैविक विविधताको संरक्षण र प्रर्वद्धनका लागि वनस्पति विज्ञानका विद्यार्थीका लागि शोधस्थलका रुपमा विकास गर्ने । जुन अधुरै रह्यो । उनकै सम्झनामा यहीँ मंसिर गते पञ्चासेमै पञ्चासे सुनाखरी गोपाल स्मृति पार्कको उद्घाटन गरियो, गण्डकी प्रदेशका उद्योग, वन वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले । उनले गुरुङको योगदानको कदर र प्रशंसा मात्र गरेनन्, गुरुङले बोकेका सपनाहरुलाई सरकारले छिट्टै मुर्त रुप दिने आश्वासन पनि दिएका थिए ।
अन्त्यमा,
गोपाल गुरुङले पञ्चासेलाई वास्तवमा पञ्चासेकै रुपमा चिनाउन खेलेको भूमिका अतुलनीय र प्रशंसनीय छ । लाग्छ, जति शब्द खर्चे पनि कमी नै हुन्छ । उनका पदछापहरुलाई पछ्याउँदै अबका पुस्ताले पञ्चासेको शिर अझ उँचो बनाउन सक्नुपर्छ । अनि मात्र उनको आत्माले शान्ति प्राप्त गर्नेछ । उनीजस्तै कैयौं कर्तव्यनिष्ठ एवं लगनशील संरक्षणकर्मी पञ्चासेको कोखले जन्माइरहँुन । अनि गर्व गरिरहने छ, सबैले उनीजस्तै व्यक्तिहरुलाई जुगौ जुग ।




