शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

हिउँमय पुनहिल

हिउँमय पुनहिल


  • दिवस गुरुङ
  • पुष २० २०७७, सोमबार

लुङतुङ डाँडा (३२१० मि.) अर्थात् पुनहिल । बिहान ६ः५८ बजे थियो सुर्योदयको समय । सुर्योदयको निर्धारित समय अगावै साढे छ बजे पुनहिल पुगेका थियौं हामी । चैत बैशाखमा लालीगुराँसले ढकमक्क हुने ठाउँ । अहिले भने हिउमय थियो वातावरण । आँखाले देखुन्जेल हिउँ नै हिउँ । जहिँतहीँ हिउँकै साम्राज्य । हिमालमा हिउँ, भुइँमा हिउँ, रुखका हाँगाहरुमा हिउँ, छेउको चिया पसलको छाप्रोभरि हिउँ । यस्तो लाग्थ्यो, प्रकृतिले हाम्रै स्वागतका लागि भुइँमा सेताम्य मोतीका दानाहरुको लमतन्न च्यादर बिछ्याइदिएकी थिइन् ।
कुरा ठ्याक्कै एक वर्षअघिको हुँदा हो । भर्खर नयाँ वर्षको उल्लासमय । चीनको हुवान प्रान्तमा कोरोना भाइरस फैलिसकेको थियो, विस्तारै यसको त्रास फैलिदै थियो विश्वभर । अलिअलि त्रासकै माझ तय गरेको त्यस यात्राको फ्ल्यास ब्याक ।
छ्याङ्ङ खुलेको आकाश अनि हिमाल । उस्तै खुलेको थियो घुम्न आउनेहरुको मन पनि । गाढा सुन्तला रंगले पूर्वी क्षितिज ढाकिन थाल्यो । सुर्योदय हुने लक्षण थियो त्यो । अनि तानियो सबैको ध्यान पूर्वैतिर । कोही मोबाइल त कोही क्यामरामा सुर्योदय कैद गर्न आतुर देखिन्थे । केहीछिनमै प्रतिक्षाको घडी समाप्त भयो । घामको पहिलो किरणले अन्नपूर्ण साउथलाई चुम्बन गरेसगैँ सबैमा उमंग छायो । एकैछिनमा धौलागिरी अनि माछापुच्छे« पनि मुस्कुराउन थाले । अनि संगै मुस्कुराए पर्यटकहरु । शरीरमा छुट्टैै उर्जा बढेको भान भयो । पदयात्राको तेस्रो दिन बिहान पुनहिलको माहोल थियो योे ।
अन्नपूर्ण आधार शिविर पदयात्रा गर्ने योजना हिंकु केभ र देउराली जाने बाटोमा गएको हिम पहिरोले पूरा हुन सकेन । पोल्यान्डबाट आएका साथीहरु– माइकल र मार्ता पदयात्रा नगरी आफ्नो देश फर्कने मुडमा थिएनन् । त्यसैले बन्यो पाँच दिने पुनहिल घोरेपानी पदयात्रा ।
केही वर्ष पहिलेसम्म नयाँपुलबाट नै पदयात्रा सुरु हुन्थ्यो । अहिले भने नयाँपुल, सुदामे, हिले हँुदै उल्लेरीसम्म सडक पुगिसकेको छ । पदयात्रा गर्ने गोरेटो बाटोलाई भत्काएर सडक बनाएँ, चौतारा भत्काएर बस स्टप बनाएँ । गोरेटो मात्र भत्किएन त्यहाँ, संगै भत्कियो आफ्नै गाउँठाउँमा पर्यटन व्यवसाय गर्ने कैयौंका सपनाहरु । केही वर्षअघिसम्म चराको चिरबिर आवाज अनि नदी सुसेल्दाको आनन्द लयसंगै सिढी उक्लनुको मज्जा बेग्लै हुन्थ्यो । अहिले भने स्वाद फरक भेटिन्छ । मोटरको कालो धुवाँ अनि अत्यास लाग्दो धुलो । त्यसैले बिरेठाँटीको चेक पोष्टमा पदयात्राको इन्ट्री गरेसंगै हामी बसमा सुदामेहुँदै तिखेढुंगा पुग्यौं ।
बिच बाटोमा पर्छन् सुन्दर लाम्दावाली र सुदामे गाउँहरु । केही वर्षअघिसम्म पर्यटकहरुले खचाखच हुने यहाँका होटलहरु सुनसान छन् अहिले । अव्यवस्थित सडक विस्तारले एक त पर्यटकहरुको बसाईलाई छोट्याउँदै गएको छ त अर्कोतिर बिच बाटोमा पर्ने होटल व्यवसायीहरुको व्यवसाय धरापमा परेको छ । बाटोमा बाध्य भएर माक्सले अनुहार छोपेर पदयात्रा गर्दै थिए पर्यटकहरु । प्राकृतिक सुन्दरतामा रमाउन आएका पाहुनाहरुलाई धुलो चखाएर पठाउनु कतिको न्यायोचित हुन्छ, सरोकारवालाहरुको कहिल्यै ध्यान गएन । म विकास विरोधी हैन, तर विकासको नाममा पदयात्रा गर्ने गोरेटोहरु मास्नु उति सान्दर्भिक कुरा होइन । मनभित्र यस्तै कुन्ठाहरु थपिदै जान्छन् हरेकपल्ट यहाँ आउँदा । यस्तै गुनासाहरुसगँ एक्लै बर्बराउँदै कति बेला तिखेढुंगा पुगिएछ पत्तै भएन ।
तिखेढुंगा (१४८० मि.)बाट उल्लेरीको नाकै ठोकिने उकालो । उकालो अघिको दुइटा झोलुंगे पुल । पुलबाटै देखिने नजिकैको झरनाले जो–कोहीलाई त्यही भुलाउँछ । थकान मार्दै उकालो चढ्नुको छुट्टै मज्जा । रङ्गीबिरङ्गी चराहरु क्यामेरामा कैद गर्दा थकान बिर्सिएको आभाष हुन्थ्यो । जति उकालो लाग्यो, उति खोला छेउको तिखेढुंगा अनि हिलेगाउँ उस्तै लोभलाग्दो । अनि मनै हर्ने पहेलै फुलेका तोरी बारीहरु ।
एक त अन्नपूर्ण आधार शिविरमा हिम पहिरोको प्रभाव र अर्कोतिर कोरोना भाइरसको असर सुनसान बाटाघाटाले प्रष्ट बुझिन्थ्यो । २० लाख विदेशी पर्यटकहरु भित्र्याउने सपनासहित नेपाल सरकारले पर्यटन वर्ष मनाइरहँदा यस्ता प्रकोपहरुले कति असर पु¥याएको छ, लेखाजोखा गर्नैपर्छ । थकान मार्दै उल्लेरी करिब साढे १ घण्टामा पुगियो । आज हाम्रो बास उल्लेरी प्रताप होटलमा ।
उल्लेरी (१९६० मि.) । चिटिक्क परेको सानो बस्ती थियो कुनैताका । केही वर्ष पहिला स–साना होटलहरु भएको यस ठाउँ कंक्रिटमय बनेको छ अहिले । चार पाँचतले अग्ला होटलहरु ठडिदै छन् । मौलिकता झल्कने होटलहरु बनाउन सके कति गज्जब हुँदा हुन् । नयाँपुलबाट उल्लेरी सडकले जोडेसगैँ पर्यटकहरु उल्लेरीमा बास बस्न रुचाउँदैनन्, सिधैं पहिलो दिनमै घोरेपानी पुग्छन् । करोडौं लगानी गरेर होटलहरु निमार्ण गर्ने व्यवसायीहरुले केही रकम पदयात्राको बाटो बनाउनमा खर्च गर्न खै कुन्नि किन कन्जुस्याइँ गर्छन् । यस्तै हो भने केही वर्षामा यहाँका होटलहरु सुदामे र लाम्दानीका होटलहरु जस्तै सुनसान नबन्लान् भन्नेमा दुई मत छैन ।
दोस्रो दिन बिहानै ओछ्यानबाटै देखिने अन्नपूर्ण साउथ र हिमचुलीको लोभलाग्दो दृश्य । हेरिरहुँ खालको । बे्रक फास्ट पछिको यात्रा घोरेपानी । करिब पाँच घण्टाको यात्रा । कस्सिएर हिँडे तीन घण्टाको बाटो । हरेकपल्ट यस पदयात्रामा आउँदा सडक झन् माथि विस्तार भएको प्रष्ट देखिन्थ्यो । पोहोर साल हिँडेको ढुंगाको गोरेटो अहिले मेसो लाउन सक्ने अवस्था थिएन । कति ठाउँमा त अव्यवस्थित सडक विस्तारले पहिरो निम्त्याएको थियो ।
करिब दुई घण्टाको यात्रामा पुगिन्छ नांगेठाटी (२४३० मि.) । पाँच छ वटा होटलहरु छन् यहाँ । कोही लन्च त कोही टि बे्रक गर्न यहाँ रोकिन्छन् । हामी भने ज्यान तन्काउँदै हट लेमन टि पिएर अघि बढ्यौं । कहिले लालीगुराँसको जंगल छिचोल्दै त कहिले सिंढी बाटो उक्लदै दिउँसो १ बजे घोरेपानी पुग्दा सुनसान थियो घोरेपानी । सिजनमा प्रायः भरिभराउ हुने होटलमा छिटफुट पर्यटकहरुको ओहोरदोहोर मात्र देखिन्थ्यो ।
दिउँसोको दुई बजे हामीले त्यही लन्च खायौं । फुर्सद उपयोग गर्न मुराकामीको ‘नरओइजियन उड’ को केही पानाहरु पल्टाएँ । होटलको डाइनिङबाट देखिने खुलेको निलगिरीले मनै लोभ्यायो । किताब थन्काएर लागे घोरेपानी एक चकर हान्न । जताततै हिउँको चाङ । बादलसंग लुकामारी खेल्दै गरेको धौलागिरीले सबैको मन तान्यो । करिब २५०० मिटर उचाइमा रहेको पोल्यान्डको अग्लो हिमाल ‘राइसी’ नियाल्ने उनीहरुले एकटक हेरिरहेँ । के धीत मर्दो हो र ? खुलेको आकाश, न्यानो घामको किरणले स्पर्श गर्दा शरीरमा छुट्टै उर्जा भरिएको भान भयो ।
नजिकको अग्लो भु–भागबाट वरपर नियाल्दा पहिले जस्तो आनन्द मिलेन मनमा । मुस्ताङ तातोपानी, सिखहुँदै घोरेपानी सडकले जोडिसक्यो । केही वर्ष पहिले थोराङ्ला पास गरेर सिखा, घोरेपानीहुँदै नयाँपुल निस्किने १ महिना दिनको राउन्ड अन्नपूर्ण पदयात्रा अहिले खुम्चिएर दस÷बाह्र दिनमा पुगिसकेको छ । उल्लेरी छोएको सडक केही महिनामा घोरेपानी आएसंगै सम्भवतः घोरेपानी पुनहिल पदयात्राले पूर्णविराम लाउन सक्छ । मनमा गुनासाहरुको चाङ थपिदै गएको थियो । बिहान आकाश अनि हिमाल खुल्ने कामना गरेर बिस्तारा तातो पार्न पट्टि लागे ।
घडीले बिहानको साढे पाँच देखाउँदै थियो । सबै लस्करै पुनहिल उक्लिन थाले । टाउकोमा हेड टर्च, हातमा टे«किङ स्टिक अनि हिउँमा हिड्न सहजताका लागि बुटमा क््रयाम्प अनिवार्य । माथि उक्लदै गर्दा खुलेको हिमालले सबैको थकान बिर्साइदिन्थ्यो । करिब ४५ मिनेटमा पुनहिल पुग्दा मनमा छुट्टै उर्जा मिल्यो । माछापुच्छे«देखि धौलागिरीसम्म लस्करै आँखाले देखुन्जेल हिमाल नै हिमाल ।
स्व. मेजर टेक बहादुर पुनलाई त्यतिबेला एकै दिनमा यसरी हजारौं पर्यटकले यहाँबाट दृश्यावलोकन गर्छन् भनेर कहिल्यै कल्पना गरेका थिएनन् होला । सुर्योदय र सुर्यास्त नियाल्न विश्वभर चर्चित छ पुनहिल । यहाँ पाइला नटेक्ने कमै देशका पर्यटकहरु होलान् । सन् १९२५ मा म्याग्दीको खिबाङ गाउँमा जन्मेका पुन पाँच वर्ष हुदाँ टुहुरा भए, त्यसलगत्तै उनकी आमाले अर्कैसँग बिहे गरिन् । मावली हजुरबा र आमाको काखमा हुर्केका उनले चौध वर्षको उमेरमा ब्रिटिस गोर्खा आर्मीमा भर्ती भएर प्रारम्भिक शिक्षा हासिल मात्र गरेनन्, तीस वर्षको उमेरमा ब्याचलर इन साइनस उत्र्तीण गरे । पछि इन्डियन आर्मीबाट अवकाश पश्चात उनले आफ्नो गाउँठाउँमा शिक्षा, स्वास्थ्य र कृषिमा जति योगदान पु¥याए, त्यो भन्दा ठुलो योगदान यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा पु¥याए ।
घोरेपानीबाट कस्सेर हिँडे आधा घण्टामा पुगिने लुङतुङ डाँडा । जो कोही हराउँछन् यहाँको सुन्दरतामा । त्यही उनी घण्टौं अन्नपूर्ण श्रृंखला, धौलागिरीसंगै खयर शिखर नियाल्दै सुर्योदय र सुर्यास्तको आनन्द लिन्थे । उनलाई लाग्यो, यो विश्वकै पर्यटकीय गन्तव्य हुन सक्छ । यस्तै सपना बुनी आफ्नै निजी खर्चमा उनले घोरेपानीदेखि पुनहिलसम्म गोरेटो मात्र बनाएनन्, आफैँ गाइड बनेर सुरुसुरुमा नेपाल घुम्न आउन पर्यटकहरुलाई त्यस डाँडासम्म पु¥याए । समयसंगै त्यस डाँडा केवल डाँडा मात्र रहेन, विश्वभरका पर्यटकहरुको सुर्योदय र सुर्यास्त नियाल्ने एक सुन्दर गन्तव्य बन्यो । उनको मृत्युपश्चात त्यहाँ उनको परिवार, शुभचिन्तक र सहयोगीहरुको संयुक्त सहयोगमा भ्यु टावर निमार्ण भयो । धीतमरुन्जेल दृश्यवलोकन गरेर उनै पुनलाई हृदयदेखि नमन गरी घोरेपानी फर्के ।
आजको गन्तव्य टाडापानी । घोरेपानीमा ब्र्रेकफास्ट पश्चात लागियो पूर्वतिर । लालीगुँरासको जंगलै जंगल । हिउँको उस्तै चाङ । करिब १ घण्टामा पुग्यौं देउराली भ्यु पोइन्टमा । त्यहाँबाट देखिने हिमश्रृंखलाहरुले बाध्य बनायो विश्राम लिन हामीलाई । सबै तस्विर लिनैमा व्यस्त थिएँ । कोही हिमालको त कोही पृष्ठभूमिमा हिमालसँगै आफ्नो । छुट्टै रौनक थियो त्यहाँ । देउराली पुगेपछि वनठाँटीसम्म ओरालो बाटो । जमेको हिउँको थुप्रोले झन् सकस बनायो हिँड्न । कति ठाउँमा त त्यहाँका होटल व्यवसायीहरु मिलेर डोरीसमेत टाँगेका रहेछन् । त्यही समात्दै बिस्तारै पर्यटकहरु ओलर्दै थिए ।
यता होटल सनराइज लजका प्रोपाइटर राम गुरुङले गुनासो पोख्दै भने, “अन्नपूर्ण आधार शिविर जाने बाटोमा अत्याधिक हिउँ परेकै दिन यहाँ पनि उस्तै भयो । ओरालो बाटो, हिउँकोे चाङ । उस्तै जोखिम थियो । हिउँमा चिप्लिएर खोल्सामा पुगे पर्यटकहरुको बाँच्ने आशा न्युन थियो । यस्तो बेला एक्यापले कुनै ध्यान दिएन ।” उनले थपेँ, “उनीहरु त यहाँ आएनन्, आएनन् । करिब १ कि.मी.को मोटो रसी मात्र हामीलाई उपलब्ध गराइदिएको भए पनि हामी आफैँ जोखिमपूर्ण बाटोमा रसी टाँगिदिन्थ्यौं । पर्यटकबाट लाखौँ शुल्क उठाउने निकाय खै कसरी जिम्मेवार विहिन बन्न सक्छ । धन्न हामीले ठाउँ ठाउँमा आपैmले रसी टाँगेर यात्रा केही सहज बनेको छ । बिहान–बेलुका बाटोको हिउँ पन्छाउन पनि समुह बनाएर गइरहेकै छौँ त्यहाँ ।”
त्यसपछि ओरालो बाटो पछ्याउदै सानो खोल्सो कटेर उकालो लाग्नुपर्छ । कसिएर हिँडे ४५ मिनेटमा टाडापानी पुगिन्छ । आज हाम्रो बास त्यहाँको अन्नपूर्ण गेस्ट हाउसमा ।
छोम्रोङ पुग्दा थकान र भोकले शिथिल बनाएको थियो ज्यान । लन्च खाएर ओरालो बाटो हुँदै झिनुडाँडा पुग्यौं । होटलमा झोला बिसाउन नपाउँदै लाग्यौं हामी हट स्प्रिङतिर । मोदी खोलाको किनारमा छ तातोपानीको मुहान । त्यहाँका स्थानीयहरुले यसलाई व्यवस्थापित गरेर तीन वटा पोखरी बनाएका छन् । यसले एक त यहाँको ठाउँलाई प्रर्वद्धन गर्न मद्दत गरेको छ र अर्कोतिर एक रात झिनु डाँडामा पर्यटकहरु बस्न बाध्य बनाएको छ । चार दिनको थकान तातोपानी पोखरीमा बसेपछि हराएको महसुस भयो । शरीर चंगा भयो । भन्छन् नि स्वर्गीय आनन्द, हो त्यस्तै ।
अर्को दिन बिहानको ब्रेकफास्ट पश्चात हामी हिँडेर १ घण्टामा सिबै आइपुग्यौं । त्यहाँबाट नयाँपुलसम्म पहिला एक दिनभरको पदयात्रा गर्न सकिन्थ्यो । अहिले गाडी गुड्छन् पदयात्राको गोरेटोमा । त्यसैले त्यहींबाट जीपमा तीन घण्टामा पोखरा फि¥यौं । फर्कदा जीपमा धेरै कुराहरु खेलिरहे मनमा । नेपालमा वर्षेनी भित्रिने पर्यटकहरुको धेरै हिस्सा पदयात्राले ओगटेको छ तर अव्यवस्थित सडक विस्तार, अनावश्यक प्रतिस्पर्धा, कमजोर फोहोर व्यवस्थापनजस्ता जटिल समस्याले पदयात्रा पर्यटन धरासयी बन्दै गएको छ । यस्ता समस्यालाई समयमै समाधान गर्न सकिएन भने नेपालको अर्थतन्त्रमै ठुलो आँच पु¥याउँछ भन्नेमा दुई मत छैन । समयमै सरोकारवालाहरुको ध्यान जाओस् ।
जय पर्यटन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->