बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोनाले समाजसेवामा देखाएको मार्ग

कोरोनाले समाजसेवामा देखाएको मार्ग


  • विजय नेपाली
  • पुष २२ २०७७, बुधबार

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट हर–कोही डराएकै छन् । कोरोना लाग्ने डरले आफन्तलाई नै नभेट्ने अवस्थामा अपरिचित व्यक्तिसामु जाने त परको कुरा । तर, पोखरामा भने एक ८ वर्षकी बालिका जस्ले कोरोनासंग जुधेर समाज सेवा अर्थात् कोरोना रोकथाम न्युनिकरणको लागि एकचित्त लागिपरिन आफ्नो ज्यानको माया नमानी । सरल स्वाभावकी प्रियन्सा रेग्मीले ५ वर्षको उमेरदेखिनै रकम जम्मा गर्थिन । उनले सोच्थिनकी भविष्यमा केही संकट आउन सक्छ भनेर । यतिमात्र होइन आफुलाई दिएको रकम जम्मा गर्दा पछि आफैलाई केही गर्न सक्छु भन्ने सोचले सम्हालेकी थिइन् । उनको पाँच वर्षको उमेरदेखि जम्मा गरेको रकम गत चैत्रसम्म १५ हजार भएको थियो । शिशु निकेतन कक्षा ३ मा अध्यन गर्ने उनले सोचेको सायदै थिएन की यति चाँडै रकम निकाल्छु भनेर । कोरोनाले लकडाउन हुँदा सरकारले मास्क नलगाउनेलाई कार्वाही गरेको र कुटेको देख्दा उनको मन थाम्न सकेन अनि आफ्नो बुबालाई भनिन् अनि माक्स वितरण गर्न थालिन् । उनै प्रियन्सा रेग्मीसंग ढोरपाटन सहकर्मी विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश ।

कोरोना भाइरससंग जुध्दै कोरोनाविरुद्ध लाग्ने सोच कसरी आयो ?
– लकडाउन थियो कोरोना महामारी आएको छ । प्रहरीले पक्राउ पनि गरेको छ । मैले त्यो नागरिकले कोही लगाउन नजाने चुँडिएको हुनसक्छ, कोही किन्न जान लाएको हुन सक्छ । धेरै कारण हुन्सक्छ । कतिपयलाई बाध्यता नै छ तर प्रहरीले नबुझेर कार्वाही गर्नुभयो । त्यो चाहिँ मलाई एकदमै नराम्रो लाग्यो त्यसकारण मैले मास्क वितरण गरे । सबैसंग पैसा पनि त हुँदैन । यस्तो कोरोना महामारी छ झन् लकडाउनले नेपालीहरु कति टाट पल्टेका छन् । कोरोनाको पहिलो उपचार नै मास्क हो । मास्कपछि शैक्षिक सामग्री वितरण गरेँ ।

महामारीको समयमा पनि मास्क बाँड्दै हिँड्नु भयो परिवारलाई के भन्नुभयो र कसरी गर्नुभयो ?
– पहिले त म पनि डराएकी थिए तर मलाई केही गर्नु थियो, सबैले मास्क किन्न पनि सक्ने अवस्था थिएन नि ! महामारीले सबै बन्द हुँदा गरिबहरुको हालत कस्तो थियो ? हामीसंग पो छ र पुग्यो, नहुनेलाई त गाह्रो थियो नि । त्यो मात्र होइन कोहीले मास्क नपाएको वा किन्न जान लागेको पनि त हुन सक्छ घरमै त कस्ले ल्याइदिन्थ्यो । मैले बुबालाई भने– ‘बाबा म मास्क बाँड्छु ।’ बुबाले मलाई भन्नुभयो– ‘यस्तो बेला कहाँ बाहिर जानु ? जान हुन्न ।’ बाबामम्मीलाई कन्भिन्स गराए कि म मास्क वितरण गर्छु भनेर । वहाँहरुले पनि थप्नुभयो अनि मास्क काठमाण्डुबाट झिकाए । अनि वितरण गरे ।

महामारीको बेला मास्क किन्ने रकम चाहिँ कहाँबाट आयो ?
– मलाई लाग्थ्यो कि भविष्यमा संकट आउन सक्छ भनेर । त्यसैले सानैदेखि सम्हालेर राख्थेँ । थोरै खन्थँे चक्लेट पनि । म संग १५ हजार जम्मा भएको थियो । मैले सानैदेखि आफ्नो पैसा जोगाउने गर्थेँ । मम्मीले पनि मेरो पैसा जम्मा गरिदिनुभएको रहेछ । १५ हजार जम्मा भएको रहेछ त्यतिले मात्र त केहि हुने थिएन । अनि बुबालाई पनि मागे, बुबाले पनि दिनुभयो ३० हजारको मास्क किनेर बाँडेँ ।

अन्य ठाउँबाट सहयोग आएन ?
– मलाई धेरै ठाउँबाट सहयोग गर्छु भनेर भन्नुभयो देश विदेशबाट रकम पठाउँछु, के मा पठाउ भनेर पनि भन्नुभयो मैले कसैबाट पनि लिइन् ।

विदेशबाट सहयोग आउँदा पनि किन नलिनुभएको त ?
– अब महामारीले सबैलाई असर गरेको हो नि त । मैले समाज सेवा गर्न लागेको हुँ, चन्दा होइन । आखिर विदेशमा पनि त दुःख गर्न नै जानुभएको हो नि, वहाँहरुको सहयोग म कसरी लिन सक्छु ? यहाँ हुनेहरुको पनि त आफ्ना बाबुनानीहरु छन् नि ? त्यसैले लिइन् । मैले राज्यसंगै मागेपछि चाहिँ केही व्यक्तिसंग समेत लिए ।

मास्कपछि फेरी शैक्षिक सामग्री पनि वितरण गर्नुभयो कसरी योजना बन्यो ?
– सर्वप्रथम त विद्यार्थीको जीवन सबैलाई थाहै छ । स्कुल गयो आयो पढ्यो दिनभरी, ९ बजेदेखि ४ बजेसम्म पढेको पढ्यै । अचानक लकडाउन भयो । म पसलमा एक्लै बसेको थिए । एक्लै बस्दा चाहिँ त्यहाँ म जस्तै दुईजना साथी आउनुभयो । मेरै लेभलको । कपी माग्नुभयो । मैले ५०–६० को युज गर्छु नि त अनि मैले त्यही देखाएँ । अलि सस्तो देखाउनु भन्नूभयो अनि मैले ३० रुपैयाँको देखाएँ । त्योभन्दा सस्तो खोज्नुभयो मैले २० को देखाएँ । अब त्यो भन्दा सस्तो कपी कहाँ हुन्छ र ? वहाँलाई त्यो पनि महँगो लाग्यो । अनि मैले सोधँे तपाईको बुबाले के गर्नु हुन्छ ? भनेर । हाम्रो बुबाआमा नै हुनुहुन्नभन्दा मलाई निकै दुःख लाग्यो । मलाई मेरो बुबा–आमाले सबै पु¥याई दिनुभएको छ । साइकल छ, ट्याब, सबैथोक छ । अरु म जस्तो साथीहरुसंग पढ्ने इच्छा भएर पनि पूरा गर्न नपाएकाहरुलाई । कापीकलम पनि वितरण गरेँ ।

त्यस्तो महामारीमा फेरी फुडबैंक पनि खोल्नुभयो नि ?
– मास्क र कपीकलम त वितरण गरेँ अनि मान्छे रोगले भन्दा भोकले भौतारिनुभएको । अनि मैले फुडबैंक खोले । दशैँ आयो । मैले अघिल्लो दशैँसम्म राम्रा राम्रा कपडाहरु लाउथँे । मीठो खाएको थिएँ । यो वर्ष भने नयाँ कपडा नकिनेर मजस्ता अरु साथीको लागि नयाँ कपडा किनेँ र वितरण गरँे । मैले त लाएकै छु । किन्न नसक्ने मजस्ता साथीहरुलाई दिएँ । अनि मैले १६ वर्ष मुनिकाले चुरोट, खैनी, बिडी सेवन नगर्नुस् है भन्ने अभियानमा छु । त्यो पनि अपराध नै हो नि । मैले एक जना हजुरआमालाई साधेँ तपाईले चुरोट खान कहाँबाट सिक्नुभयो नि ? उहाँले भन्नूभयो मेरो बाबाले चाहिँ चुरोट खानुहुन्थ्यो अनि किन्न पठाउनुहुन्थ्यो । बालेर ल्याउन भन्नुहुन्थ्यो । आगोमा बाले अनि निभ्थ्यो । अनि मैले ताने तब मात्र सल्कियो ९ वर्षबाट सिके ।’ हामीले सिकेपछि लत लाग्छ अनि फसिन्छ कुलतमा । सानैदेखी नसिके बानी लाग्दैन ।

आफ्नो ज्यान नै जोखिममा राखेर किन काम गर्नुभयो ? महामारी सकिएपछि पनि त गर्न सक्नुहुन्थ्यो नि ?
– बैशाख अन्तिमतिर मास्क वितरण सुरु गरे । म बाँच्नुको कुनै अर्थ छैन, किन भने अब अरु नागरिक बाँच्दा देशलाई फाइदा हुन्छ । कोही मुख्य मानिस नै हुनुहुन्छ के । वहाँहरुलाई बचाएँ भने यो समाजको लागि केही योग्दान गर्न सक्नुहुन्छ । म एक्लैले गर्नु र धेरैले गर्नुमा फरक हुन्छ ।

यति ठुलो सोच भएपछि भविष्यमा आफैले पनि त केही गर्न सक्नुहुन्थ्यो नि ?
– म एकजना गए त के भयो र ? तर त्यत्रा नागरिक छन् । एकातिर एकजना नागरिक छ र अर्कोतिर धेरै नागरिक यस्तोमा आगो लाग्यो एक जनालाई मात्र बचाउन उचित कि धेरैलाई ? अरुलाई खत्तम गरेर म मात्र बाँचेको के अर्थ भयो र ? आम नागरिकको ज्युज्यान बचाउन म आफ्नो ज्यान दिनपनी सक्छु । आफू पनि सेफ छु ।

कोरोनाको बिचमा डटेर काम गर्दा कस्तो महसुस भयो ?
– कोरोनाविरुद्ध लड्दा एकदमै खुसी लाग्यो । मत बाँचेको छु तर अरुलाई पनि सहयोग गर्दा निकै आन्नद लाग्यो । अरुहरु संकटमा परेका छन् । म भने मोजमा त्यो त मजा आएन नि अरुलाई नि दिदाँ त्यो भयो मजा ! त्यसकारणले अरुहरुलाई दिदाँ राम्रो लाग्यो, मजा लाग्यो खुसी लाग्यो ।

राज्यको व्यवस्था कस्तो लाग्यो ?
राज्यको व्यवस्थाप्रति दुख लाग्यो । तर राज्यभन्दा पनि म नागरिकलाई नै दोषी देख्छु । राज्यको व्यवस्था देख्दा एकदमै नराम्रो लागेको छ । अब हामी आफै नागरिकले पनि के गर्छौ भने, हामीलाई कोरोना लाग्दैन भन्दै मास्क फुकालेर फालिहाल्छौ । मैले मास्क वितरण गर्दा पनि कतिजनाले फाल्नुभयो । फालेर हिडिराख्नुभएको थियो । पहिला चाहिँ कोरोना लाग्नुभन्दा पहिला केही पनि गर्नु हुन्न के । मास्क लाउनुहुन्न, हात राम्रोसंग धुनुहुन्न केही पनि पालना गर्नुहुन्न । रोग लागेपछि बल्ल सबै गर्नुहुन्छ । वहाँहरुले नियम मान्नुभएन भने त लागि हाल्छ नि । हाम्रो देशमा अक्सिजन, भ्यान्टिलेटर एकदमै कम छ । डाक्टरहरु, अस्पतालमा बेडहरु कम छ यो बुझ्नु जरुरी छ । हामी रोग लाग्नुभन्दा नै पहिला सुरक्षित हुनुनै उत्तम कुरा हो ।

मास्क दिँदासमेत फालेको देख्दा कस्तो लाग्यो ?
– मास्क फाल्दा निकै नराम्रो लागेको थियो । मैलेँ त्यस्तो भिडभाडमा मास्क बाडेको छुँ । मेरै बेफाइदा त हो तरपनी मैलँे बेफाइदामा फाइदा खोजेर हिँड्छु । अरुको फाइदामा मेरो फाइदा हेर्छु । निकै दुःख लाग्यो । मैलेँ मास्क लगाउने तरिकासमेत सिकाएँ । अनि बिस्तारै लगाउन थाल्नुभयो ।

कहाँ कहाँ मास्क वितरण गर्नुभयो ?
– मैलँे पोखराका मुख्य बजारक्षेत्रहरु पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सृर्जनाचोक, विरौटालगायत बजारमा एउटा क्याम्प बनाएर वितरण गरँे । मास्क लगाउने तरिका, सचेतना सबै सिकाएँ ।

अब के गर्ने सोँचमा हुनुहुन्छ ?
सर्वप्रथम त राज्यले केही गर्दैन आफै सुरक्षित हुनुपर्छ । अब मैले समाजसेवाकै लागि प्रेन्सा रेग्मी ट्रस्ट स्थापना गर्ने प्रोसेसमा छु । त्यतिमात्र होइन मैले खानेकुरा वितरण गर्दा एक जना आउनुभयो । मैले केही राशन मास्क दिए । नसकिदै फेरी आउनुभयो । यसले दिन्छ भनेर आउन थाल्नुभयो । त्यसो हुँदा लोभलाग्छ तर हामीले काम दियौ भने त मेहेनत गरेर खानुहुन्छ नि । भिख माग्न त लाज हुन्छ नि तर काम गरेर खान लाज लाग्दैन । आफ्नो कमाइ हो, आफ्नो मिहेनत हो चोरेको छैन ढाँटेको छैन । अब भने सोचेको छु कोहीलाई चटपटे, पानी पुरी, तरकारी पसल खोली दिने । विभिन्न व्यक्तिबाट आएको रकमले रोजगार तथा सानो व्यवसायतर्फ लगाइदिने सोचँमा छु । तिनीहरुबाट ५० रुपैँया उठाई अरुलाई पनि सहयोग गर्ने सोचँेको छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->