बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संसार चियाउने आँखीझ्याल : देश देशावर

संसार चियाउने आँखीझ्याल : देश देशावर


  • दिवस गुरुङ
  • पुष २७ २०७७, सोमबार

कोरोना कहरले सुस्ताएको थियो नेपालको पठन संस्कृति । बजारमा त्यति धेरै नयाँ पुस्तकहरु आएनन् । फाट्टफुट्ट मात्र मात्रै थिए । धेरै त अनुवादित पुस्तक नै आए, थोरै आफ्नै सृजनाका । तिहारपछि बजारमा आएको जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’ ले राम्रै चर्चा बटुल्यो । धेरैले रुचाए यो पुस्तक । पछिल्लो पञ्चासे यात्रा तय गर्दा मसँगै यात्रारत थियो यो पुस्तक । पढेपश्चात केही लेखौ लेखौ लाग्यो । यो लेख नितान्त मेरो विचार हो । आफ्नै व्यक्तिगत बुझाइ हो पुस्तकप्रति ।
पुस्तकका लेखक एक सफल उद्यमी हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य समेत रहेका उनको विशेष रुचिको विषय हो साहित्य । पहिलो नियात्रा संग्रह सरसरती संसारले पनि राम्रै पाठक बटुलेको थियो । रहरै रहरमा लेखिएको ठान्छन् उनी पहिलो पुस्तक । अझ धेरै मिहिनेतका साथ परिस्कृत रुपमा पस्केको पुस्तक ठान्छन् उनी देश देशावरलाई ।
विषयवस्तु ः
यात्रा गर्ने र त्यसलाई लिपिबद्ध ढंगले पस्कन रुचि राख्ने लामिछानेले हालसम्म विश्वका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन् । उनी विषयवस्तु बटुल्नकैलागि घुमेका भने हैनन् । कति पारिवारिक घुमघाम त कति व्यपार व्यवसायको सिलसिलामा र कति एनआरएनएमा आबद्ध हुँदा संस्थाको तर्फबाट । यसमा उनले २० वटा विषयसूचीलाई दुईसय दस पृष्ठमा आफ्ना यात्रा अनुभवहरु समेटेका छन् । हरेकमा फरक फरक स्वाद चखाएका छन् । कति रोचक किस्साहरु त कति जानकारीमुलक ज्ञानहरु । कति प्रेरणादायी त कति कारुणिक कथा व्यथाहरु । लाग्छ, एकै बसाईमा समेत यस पुस्तक पढ्न सकिन्छ ।
पहिलो यात्राको शीर्षक छ, ‘कङ्काल सम्याएर उभिएको विकास’ । अर्थात रुवान्डामा उनको यात्रा अनि रुवान्डाको कथा । कुनै समय जातीय द्वन्द्वको दलदलमा फसेको रुवान्डामा सय दिनको नरसंहारको शृंखलामा १० लाख मानिसहरु मात्र मारिएका थिएनन्, करिब २० लाख मानिसहरु विभिन्न देशको शरणमा पुगेका थिए । अझ भनौं शरणार्थी भएका थिए । तर करिब दुई दशकको छोटो समयावधिमा यसले फेरेको विकासको मुहार अनि विभिन्न अप्रत्यारिलो परिवर्तनहरु देख्दा लेखक छक्क मात्र पर्दैनन्, उनी यसलाई नेपालसँग दाज्न पुग्छन् । दस वर्षे जनयुद्ध अन्त्य भएको एक दशक भन्दा बढी भइसक्दापनि त्यतिबेलाका आशालाग्दा सपनाहरु सपनामै यथावत रहेको तितो अनुभव उनी पस्कन्छन् । करिब करिब शून्यमा झर्न लागेको त्यहाँको भ्रष्टाचार, प्लास्टिकमुक्त शहर अनि विकासका लहरहरु नेपालमा पनि छाइदिए, कस्तो होला ? उनी त्यसै त्यसै सपनामा हराउँछन् ।
अनि दोस्रो अध्यायमा पु¥याउँछन् पाठकलाई, तान्जानियाको यात्रामा । क्रिस्चियन र मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको यस देशमा धार्मिक एकता अनि अमनचयन लोभलाग्दो रहेछ । तर यसको इतिहास खोतल्छन् उनले । कुनै समय धार्मिक द्वन्द्वग्रस्त दुई देशलाई सिंगो देश बनाई एकताको शुत्रमा बाध्ने काम गरेका थिए जुलियस नेरेरेले । पछि उनी तान्जानियाकै पहिलो राष्ट्रपति समेत बने । यसले देशमा गतिलो शासकको जरुरत पर्छ भन्ने सन्देश उनले दिन खोजेका छन् ।
यता मोजाम्बिकमा कति सम्म भ्रष्टचार रहेछ, विमानस्थलमै उनलाई त्यहाँकै कर्मचारीबाट ठगिएको तितो अनुभवबाट प्रष्ट पार्छन् । करिब पाँच सय वर्ष पोर्चुगलको अधीनमा थियो मोजाम्बिक । बन्दुककै कारण आफ्नो देश स्वतन्त्र भएको भन्दै राष्ट्रिय झण्डामा एके फोर्टी सेभेन राइफल समेत राखिएको तथ्य रोचक लाग्छ नै । सँगै चिनिया लगानीले प्राय अफ्रिकी मुलुकहरुको मुहार फेरिएको यर्थाथ यस देशबाट थाहा पाइने कुरा उनले बताएका छन् ।
दादा इदी अमिन । युगान्डाका कुनै समयताका क्रुर, सनकी र तानशाही राष्ट्रपति । जसले मान्छेको मासु काँचै खाने गर्दथे । उनले करिब पाँचजना आफ्ना विरोधीहरुलाई मार्न लगाएका थिए रे । उनको शासन हुँदा देशको अवस्था कति सम्म नाजुक थियो, लेखक त्यसलाई खोतलेर पस्केका छन् युगान्डा यात्रापछि । सँगै उनी नाइल नदीको उद्गम स्थलमा अवस्थित भिक्टोरिया तालको प्रशंसा गर्न चुक्दैनन् ।
जति ठाउँ पुग्छन्, उनलाई घुमाउने गाइडको प्राय राम्रो तारिफ गर्छन् उनी । हुनपनि हरेक देशमा घुम्न जाने पर्यटकलाई देशबारे बुझाउने वास्तविक व्यक्ति गाइड नै हुन् । त्यसैले त गाइडलाई अघोषित दुत अर्थात एम्ब्यासडरको उपनाम पनि दिइन्छ । उनले आइसल्यान्डको थिङभेलिर राष्ट्रिय निकुञ्ज घुम्न जाँदाताकाको प्रशंसा यहाँ जोड्न चाहेँ । यो यस्तो निकुञ्ज हो जहाँ न जंगल छ न जीवजन्तु नै देख्न सकिन्छ । केवल उजाड नांगा डाँडा मात्र । तर गाइडहरु यति आकर्षक तरिकाले हरेक चिजको बखान गर्दा रहेछन् कि घुम्न आउनेहरु त्यो उजाड नांगा डाँडा नियाल्न समेत फुर्सद पाउँदैनन् । त्यसैले उनले कसैको भनाइलाई यसरी जोडेका छन्, ‘पर्यटन उद्योगमा के देखिन्छ, उति महत्वपूर्ण कुरा होइन, के देखाउन सकिन्छ, महत्वपूर्ण कुरा हो ।’
यता क्यारेबियन द्वीपको यात्रामा उनले बर्मुडा ट्रयांगलको तिलस्मी संसारको रोचक जानकारी पस्केका छन् । सँगै वर्णन गर्छन्, सेन्ट मार्टिन टापुको आश्चर्य कथा । जहाँ एउटा महानगर हुन पनि अपुग जनसंख्या भएको भूगोल फ्रेन्च र डचले शासन गर्दै आएको छ । शासक बन्ने महत्वाकांक्षाले हरेक व्यक्ति र देशले कमजोर देशलाई हेप्ने, शासन जमाउने अनि अन्त्यमा भाडभैलो सृजना गरेर देशलाई टुक्राउने तितो यर्थाथ बारे उनले धेरै पटक लेखेका छन् ।
यस्तै प्रशंसा उनले साइप्रस घुम्न जाँदा समेत जोडेका छन् । जहाँ निकोसिया सहरको बीचबाट नै अर्को राष्ट्र सुरु हुन्छ । कुनै समय सिंगो एउटा स्वधीन राष्ट्र थियो साइप्रस । सन् १८७८ मा बेलायतले हैकम जमायो । धेरै समयपछि सन् १९६० मा स्वतन्त्र त भयो तर हिन्दु र मुस्लिम धर्मावलम्बीबीच विवादको बिउ उमारेर । ‘फुटाऊ र राज गर’ भन्ने नीति जहींतहीं लागू थियो बेलायतको । अन्ततः सन् १९७४ मा साइप्रस टुक्रियो । अहिले साइप्रसको उत्तरी भूभाग टर्कीको अधीनमा छ । अझै साइप्रस पहिलेकै अवस्थामा पुग्न सकेको छैन । अनि उनले दुःख व्यक्त गर्दै भनेका छन्, ‘संसारमा टुक्रिएको शहर निकोसिया नै अन्तिम होस् । यस्तो दूर्दशा अब कतै कसैले भोग्न नपरोस् ।’
धेरै ठाउँका रोचक किस्साहरु सुन्दा अचम्म लाग्ने खालका छन् । हरेक हिन्दु धर्मवालम्बी ब्राहमणको घरमा तुलसीको मठ भएजस्तै हरेक फिनल्यान्डबासी अर्थात फिनिसको घरमा प्रत्येक व्यक्तिको भागमा एउटा साउना हुँदो रहेछ । अनि फिनल्यान्ड विश्वकै धेरै दूध खपत हुने देश । एक व्यक्तिले वर्षमा तीन सय ६५ लिटर दूध पिउने गर्दा रहेछन् । यता कोलोराडो नदीमा बनाइएको हुभर बाँधको किस्सा उस्तै रोचक । यसको निमार्णकालागि सात वर्ष लक्ष्य राखिएको रहेछ तर समय अगावै चार वर्ष एक महिनामै यो सम्पन्न भएको थियो । गाइडले उनलाई यसपछिको रोचक कारण बताएका थिए । यसको निमार्णका लागि हजारौं कामदारहरु बाहिरबाट मगाइएका थिए । अनि सबै पुरुष महिला नभएकै कारण उनीहरुले मदिरापान गरेनन्, फजुल समय खर्च गरेनन् अनि निर्धारित समयको झन्डै आधा समयमा काम सम्पन्न गरे । यस्तै रमाइला अनि रोचक किस्साहरुले पाठकलाई मोनोटोनस हुन दिदैन । पुस्तकले अन्तिमसम्म तानिरहन्छ ।
कति यात्रामा उनी नोस्टाल्जिक भइदिन्छन्, अनि विगतमा फर्कन्छन् । आफ्नै गाउँठाउँ अनि बाल्यकालमा सम्झन पुग्छन् । धेरै अंशमा आफू जन्मेको चितवनको पदमपुरमा पुग्छन् । चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि आफ्नो बुबाको जन्मथलोबाट बस्ती स्थान्तरण भएर नयाँ पदमपुरमा आइपुग्दाको त्यो दुखद विगत उनी उकाउँछन् ।
सबल पक्ष :
लेखक कुनै पनि देशको इतिहास, राजनीति र आर्थिक नालीबेली खोतल्दैनन् मात्रै, सँगै त्यसलाई नेपालसँग तुलना गर्न रुचाउँछन् । अनि कल्पन्छन्, नेपालमा पनि यस्तै भइदिएको भए । हरेक ठाउँ घुम्नु अगावै त्यस ठाउँ बारे वृतान्तमा जानकारी बटुल्ने उनको बानीले यस नियात्रा धेरै विषयवस्तुलाई समावेश गर्न सफल भएको छ ।
लेखनशैली उस्तै सरल अनि चोटिलो । छोटा अनि रसिला वाक्य । थोरै पढ्दापनि धेरै जानकारी बटुल्न सक्ने खाले । त्यसैले पाठक पढ्दापढ्दै हराउँदैन । एक पछि अर्को कौतुहलताले तानिरहन्छ पाठकलाई ।
अर्को सबल पक्ष, उनी जहाँ जहाँ पुग्छन्, त्यहाँ रहेका भेटेका नेपालीहरुका सफलताका कथाहरु उनी पस्कन आतुर देखिन्छन् । जहाँ जहाँ पुग्छन्, उनी नेपाली खान्की, नेपाली पहिरन अनि नेपाली भाषा बोल्नेहरुको खोजी गर्छन् । यसले उनको मातृभूमिप्रतिको प्रगाढ मायालाई छर्लङ्ग पार्छ ।
कोरोना कहरको समयमा प्राय विश्वभर घुम्न ठप्प हुँदा अक्षर मार्फत विश्व घुम्ने सुनौलो अवसर हो यो । त्यसैले त लेखक अमर न्यौपानेले यसलाई शब्दले संसार घुमाउने पुस्तक रहेको बताएका थिए ।
‘यस पुस्तकबाट कुनै ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने तपाईले त्यो पाउनुहुन्न, तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवं ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ,’ लेखक स्वयंले पुस्तक विमोजन कार्यक्रम मै स्वीकारेका थिए ।
कमीकमजोरी :
हुन त दुई सय ५० पृष्ठको यस पुस्तकमा उनले हमेसा धेरै विषयवस्तुलाई जोड्ने प्रयास गरेका छन् । तर कति यात्राहरु अनि यात्रा विवरण यति छोटा छन् कि पाठकलाई उनी बिचैमा छोडिदिन्छन् । पूर्ण आनन्दबाट वञ्चित गराउँछन् पाठकलाई ।
हुन त उनी सफल उद्यमी अनि एक धनाढ्य व्यक्ति । प्राय यात्रामा उनी आफूले उपभोग गर्ने उच्चकोटीको यात्रा सुविधा वर्णन गर्छन् । यसले हामीजस्ता कम आयस्रोत भएका व्यक्तिहरुलाई घुम्नबाट निरुत्साहित पो गर्छ कि ?
अन्त्यमा,
देश देशावर वास्तवमा एउटै बसाइमा पुस्तकका अक्षरमार्फत विश्व चियाउने आँखीझ्याल हो । घुम्न रुचाउनेहरुकालागि त यो पथप्रदर्शक वा गाइड नै हो, अनि देशको राजनीति र आर्थिक क्षेत्रमा आवद्ध व्यक्तिहरुका लागि मार्गदर्शक । उनले पस्केका विभिन्न देशका उदाहरणहरु पछ्याउँदै नेपाल अघि बढ्न सके नेपालको विकास कुर्न धेरै समय पर्खिनु पर्दैन । पुस्तक पढ्दा पुगेका ठाउँहरुको स्मरणीय क्षणहरुलाई पूनःजागरित गराउँछ अनि नपुगेका ठाउँ पुग्न हुटहुटी थपिदिन्छ । त्यसैले यस पुस्तक एक पढ्न सबैलाई सुझाउँछु ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->