पारि अन्नपूर्ण र लमजुङ हिमालमा झलमल्ल घाम लागिसकेको थियो । गाउँमुनि मादी खोला एकनासले सुसाउँदै थियो । पुस महिनाको चिसोले लगलग कमाउँदै थियो । त्यसैले घरबाहिर निस्कन सजिलो थिएन । घरघरका आँटीबाट निस्केको धूवाँ गाउँमाथि मडारिएको थियो । बिहानैदेखि घरपरिवारका सदस्यहरू अगेनामा गोलो भएर आगो ताप्दै थिए ।
घाम बिस्तारैबिस्तारै सिक्लेस गाउँको बीचैमा आयो । यसै पनि ढिलो घाम लाग्ने हाम्रो गाउँ ताङतिङमा, पुसमा त दश बजेअघि घामको अनुहारै देखिँदैन । पुस पन्ध्रको स्योकै (साथीसँग पैसा उठाएर खाने भोज) कार्यक्रम अनि साथीसँगीसँगको नाचगानले रात बितेको थाहै भएन । बिहान चार बजेतिर आएर कौसीमा सुतेँ ।
आमाले पाँच बजेतिर उठाउनुभयो । त्यो समय गाउँ प्रायः सबै कुरामा आत्मनिर्भर थियो । एक हल गोरु, दुहुनो भैंसी, आठदश भेडा, पन्ध्रबीस मुरी धान र पाँचदश मुरी कोदो सबैको घरघरमा हुन्थ्यो । कसैले धानकोदो बेसाए कुरा काट्ने धेरै भेटिन्थे । त्यसैले कुनै घरले धानमकै नपुगे रातिराति किनेर ल्याउने चलन थियो । अहिले जस्तो खुलेआम किन्ने चलन थिएन ।
त्यतिबेला घरलौरी गाईभैंसी पाल्ने चलन थियो । त्यसैले गाउँको आर्थिक अवस्था राम्रो थियो । हामीजस्ता केटाकेटी विद्यालय गए पनि बिहानबेलुका घरमा खेतीपाती र घाँसदाउरा गर्न सघाउँथ्यौं । बिहानै बासी भात खाई डोको बोकेर कम्मरमा आँसी र खुर्पेटो भिरेर गाउँमुन्तिर पुग्थ्यौं । कहिले मादीको किनारैकिनार कुन्द्रोचें, कहिले क्युरुती, कहिले गैरीमै र कहिले ओलोंतिर घाँसदाउरा गथ्र्यौं । विद्यालयबाट फर्केपछि पनि घाँसदाउरा गर्न वनजंगल जान्थ्यौं । यसरी हामी सधैं काममा व्यस्त हुन्थ्यौं ।
बिहानबेलुका घाँसदाउरा गरिएन भने बाबाआमा रिसाउनुहुन्थ्यो । शनिबार र बिदाका दिन पनि हामी काम गर्न सघाउँथ्यौं । विद्यालयमा औपचारिक पढाइ मात्रै हुन्थ्यो । जीवनलाई चाहिने सीप, सामाजिकीकरण, नैतिक मूल्य र मान्यता हामी घरपरिवार र समाजबाट सिक्थ्यौं । मेरा बाजे र बुबा सेनाको जागिरबाट सेवानिवृत्त हुनुभएको थियो । बाबाले पढाइको महत्व बुझ्नुभएको थियो । त्यसैले उहाँले हामीलाई अध्ययनमा जोड दिनुहुन्थ्यो । हाम्रो गाउँठाउँ भनेको एउटा खुल्ला विश्वविद्यालय हो । तिनताका त झन् उपयोगी जीवनको पाठ्यक्रम पढ्थ्यौं हामी । जीवन जिउने कला, सीप र आफ्नो जीवनको सपना हामीले सानैमा निर्धारण गरिसकेका हुन्थ्यौं ।
दायाँ हातले घाँस झार्दै थिएँ । अचानक आँसी उछिट्टिएर बायाँ हातमा बजारियो । हातबाट भलभली रगत आयो । मलाई बेस्सरी पीर लाग्यो, ‘मेरो शरीरमा चोट लाग्यो । लौन अब मेरो लाहोर जाने ‘बाटो’ बन्द हुने भयो ।’आँसीको दुखाइभन्दा मनको दुखाइले बेस्सरी रोएँ, म ।
हामी दौंतरीका बीचमा भविष्यमा के बन्ने, कसरी जीविकोपार्जन गर्ने जस्ता कुराबारे छलफल चल्थ्यो । त्यसैअनुसार योजनाका बुट्टे रुमाल बुन्थ्यौं र त्यसलाई पूरा गर्न अघि सथ्र्यौं ।
हाम्रो गाउँ अन्नपूर्ण हिमाल र लमजुङ हिमालको दक्षिण ढलो तमूहरूको उद्गमस्थल क्होंलसोथर नजिकै पर्दछ । हाम्रो गाउँमा सदियौंदेखि तमु समुदाय बसोबास गर्दै आएका छन् । बालबालिकाको पढाइलेखाइ, संस्कार र पेशामा उनीहरू बाँचेको समाजको संस्कृति, भाषा, रहनसहन जस्ता ‘लुकेको पाठ्यक्रम’ले प्रभाव पार्छन् ।
हाम्रोमा सके जति छोरा मान्छे सबैले लाहोर अर्थात् मुग्लान गएर धन कमाएर ल्याउने चलन थियो । यही लाहोर जाने संस्कृतिले हाम्रो बालमस्तिष्कमा खालि ‘लाहोर’ र ‘लाहुरे’ शब्द अनि मुग्लान जाने कल्पनाको रिल फनफनी घुम्थे । चोटपटक लागेर अंगभंग भयो भने लाहुरे भइन्न भन्ने डरले हामी आफ्नो जीउको खूब ख्याल गथ्र्यौं । जीवनमा एउटा स्थायी जागिर खाएर परिवारको सामान्य गुजारा चलाउने सोच्नु नराम्रो कुरा पनि त होइन ।
लुगलुगे कपाउने पुसे जाडामा बिहानै उठ्न निकै गाह्रो हुन्थ्यो । त्यो दिन आमाले एकाबिहानै उठाइदिनुभयो । म, गोरे भाई, मिममाया दिदीलगायत धेरैजना नाम्लो बोकेर गाउँबाट ओरालो झ¥यौँ । हामी कैरीमैमा पुग्दा पण्डित टोलका दाजुदिदीहरू त घाँसदाउराको बडेमान भारी बोकेर फर्किंदै हुनुहुन्थ्यो ।
हामीलाई पर्नु पीर प¥यो । घाँस काटेर घर आइवरी स्कुल जानु थियो । त्यसैले हतारहतार मादी नदीमाथिको पाखा ओंलोमा पुग्यौं र रूखमा चढेर घाँस झार्न थाल्यौं । म टाँकीको रूखमा चढेर घाँस झार्न थालें । रातमा भएको साथीसँगीको उटपटयाङ कुराकानी र स्कुल जान ढिलो हुन्छ कि भन्ने कुरा मनमा खेल्दै थियो । म दायाँ हातले घाँस झार्दै थिएँ । अचानक आँसी उछिट्टिएर बायाँ हातमा बजारियो । हातबाट भलभली रगत आयो । हात धेरै दुख्न थाल्यो । मलाई बेस्सरी पीर लाग्यो, ‘मेरो शरीरमा चोट लाग्यो । लौन अब मेरो लाहोर जाने ‘बाटो’ बन्द हुने भयो ।’आँसीको दुखाइभन्दा मनको दुखाइले बेस्सरी रोएँ म । भर्ती हुने बेला मेडिकलमा फेल बनाउला भने डरले बालमस्तिष्कमा डेरा जमाइरह्यो ।
त्यहाँबाट रुँदैरुँदै आधा भारी घाँस बोकेर उकालो चढ्दै घर पुगें । सबै कुरा आमालाई बताएँ । उहाँ त बेस्सरी हाँस्नुभयो । उहाँले पीर नगर बाबू, उपाय धेरै छन् भन्दै सम्झाउनुभयो, ‘राम्रो पढ्नू । बाबुबाजेजस्तै लाहोरमै जानुपर्छ भन्ने छैन ।’ मलाई भने आफ्नो सपना टुटेको त्यो बिहानी देखेर दिक्क लाग्यो । त्यतिबेला गाउँमा स्वास्थ्यचौकी थिएन । त्यही झारफुक र जडीबुटीको प्रयोग गर्ने चलन थियो । भीरबाट जम्मा गरेर ल्याएको शिलाजित, पदमचाल, जटामसी, र निरमसीले बिरामीको उपचार गरिन्थ्यो ।
आमाले पदमचाल पकाएर दिनुभयो । शिलाजितका केही टुक्रा खाएँ । थोसुको वैद्य बाजेले स्थानीय बोटबिरुवा पिसेर बनाएको जडीबुटी घाउमा लगाइदिनुभयो । त्यो दिन औधी दुःख लाग्यो । कहिल्यै विद्यालय नछोड्ने म विद्यालयमा अनुपस्थित भएँ । लाहुरे बन्ने सपना टुटेकाले त्यो बिहानीलाई धिक्कार्दै घरमै बसेँ ।
आफ्नो भविष्यको बाटो सम्झेर दुःख लाग्यो । पहिलो विश्वयुद्धमा बहादुरी देखाउने बाजे र बेलायती सेनामा निडरताकासाथ लड्ने बाबुको बाटो पछ्याउन नपाउने भएँ भन्ने पीडाले भतभती पोलिरह्यो ।
(कास्कीको उत्तरपूर्वी गाउँ ताङतिङमा अवस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङको शनिबार विमोचन हुने जीवनकथा ‘ताङतिङ : मेरोगाउँबाट )





