पर्वत, ७ माघ– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा बुधवार थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएका बुधवारका पाँच फरक–फरक विज्ञप्तिमा तीन जनाको मृत्यु भएको र थप ४३ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ ।
निर्देशनालयका अनुसार मृत्यु भएकाहरूमा कास्कीको पोखरा महानगरपालिका–२९ की ३५ वर्षिया महिला रहेकी छिन् । पुस २९ गते सङ्क्रमणको पुष्टि भएकोमा ती महिलाको उपचारको क्रममा बुधवार बिहान छ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनमा निमोनिया र हेपटाइटिसको समस्या रहेको थियो । यस्तै स्याङ्जाको बिरुवा गाउँपालिका–५ की ७० वर्षिया महिलाको पनि उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै बुधवार बिहान सात बजे उपचारको क्रममा मृत्यु भएको छ । मङ्गलवार मात्र सङ्क्रमणको पुष्टि भएको ती महिलामा निमोनियाको समस्या रहेको थियो । यसै गरी मङ्गलवार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१३ मा ५५ वर्षिय पुरुषको मृत्यु भएको थियो । पुस २६ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मङ्गलवार साँझ छ बजे मृत्यु भएको हो । उनमा निमोनिया र मिर्गौलाको समेत समस्या रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सय दुई पुगेको छ ।
बुधवार थप ४३ जनामा सङ्क्रमणको पुष्टि
निर्देशनालयका अनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरेर बुधवार थप ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
निर्देशनालयले जारी गरेको बुधवारको दोस्रो विज्ञप्तिमा तनहुँको भिमाद नगरपालिका–६ का एक जना पुरुषमा, कास्कीको पोखरा महानगरपालिका वडा नं. ३, ४, ८, ११, १४, १७ र २५ का १८ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ । तेस्रो विज्ञप्ति अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिकाका तीन जनामा, व्यास नगरपालिकाका एक जनामा, भानु नगरपालिकाका पाँच जनामा, बागलुङको बागलुङ नगरपालिकाका दुई जनामा, कास्कीको पोखरा महानगरपालिकाका पाँच जनामा र पर्वतको कुस्मा नगरपालिकाका एक जनामा सङ्क्रमण रहेको पाइएको छ । यसै गरी चौथो विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका पाँच जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या १५ हजार दुई सय ६५ पुगेको छ ।





