कोरोना भाइरसको महामारी यता विश्वमा यसको उपचार र खोपमा व्यापक अध्ययन र अनुसन्धान सुरुभएको छ । फलस्वरूप खोपमा केही सफलता हात पारेका छन् । अहिलेसम्म ५९ खोपहरू विभिन्न चरणमा अध्ययनका क्रममा छन् । सिमित परिक्षण अवधिको कारण कुनै पनि खोपको पुर्ण रूपमा सफल परिक्षण भई कोरोनाकै लागि भनेर किटान भने गरिएको छैन, तर पनि कोरोनाले विश्वब्यापी रूपमा परेको प्रभावलाई न्युनिकरण गर्न र कोरोना महामारीलाई नियन्त्रणमा लिन सकिन्छ की भन्ने आशाले विभिन्न देसका खोप तथा भ्याक्सिनहरू उत्पादन गरेकोले आपतकालिन रूपमा बिश्व स्वास्थ संगठनले प्रयोग गर्न पाउने अनुमति दिएका छन् । कुनै नयाँ खोपको प्रयोग सुरु हुँदा त्यो लगाउने कि नलगाउने भन्ने विषयमा डर पैदा हुनु स्वाभाविक नै हो । तर सबै खोपहरूले विभिन्न मुख्य चरणका परीक्षणहरू पार गरेर मात्र स्वीकृति पाएको हुनाले यिनले संक्रमणको जोखिमलाई कम भने अवश्य गर्दछ ।
खोप के हो ?
खोपले भाइरस, रोग वा संक्रमणसँग लड्न शरीरलाई तयार गर्छ । अन्य सामान्य खोप लगाए झैँ कोभिड–१९ को खोप लगाउँदा पनि खोप लगाएको ठाउँमा अलिकति दुख्ने र घाउ भएको जस्तो हुन सक्छ । यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्वको पहिचान गर्न सघाउँछ । यसले एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ तर मानिसहरूले केही असर अनुभव गर्न सक्छन् । अस्थायी खालको ज्वरो र दुखाइको महसुस हुनसक्छ । त्यसपछि तपाईँको शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमताको विकास हुन्छ ।
कोभिड–१९ को खोप लिन जरुरी छ ?
यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरसविरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ ।
तपाइले खोप कहिले पाउनुहुन्छ ?
सबै नेपालीलाई पुग्ने गरी खोपको परिमाण एकैपटक उपलब्ध हुन नसक्ने भएकोले यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रुपमा सबैलाई क्रमशः दिइनेछ । नेपालमा कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकिकरण गरिएको हो । यो प्राथमिकिकरण विश्व स्वास्थ्य संगठनको सिफारिशको आधारमा पनि गरिएको हो ।
पहिलो प्राथमिकतामा हाम्रो जीवन र स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई राखिएको छ । कोरोना भाइरस रोग संक्रमण हुने र अरुलाई पनि संक्रमित गराउने सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा नै अवरुद्ध हुन गई हामी सबै स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने भएकोले पनि स्वास्थ्यकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिएको हो ।
उनीहरूसँगै एम्बुलेन्स चालक तथा सहचालकहरू, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, वृद्धाश्रममा कार्यरत कर्मचारीहरू, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरूलाई यसै प्राथमिकतामा राखिएको छ ।
दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका महिला तथा पुरुषहरूलाई राखिएको छ । यो उमेर समुहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ । साथै, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोग भएका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ । दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारहरूलाई पनि यसै चरणमा खोप लगाइने छ ।
तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ । नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्थावा खोप केन्द्रबाट निशुल्क दिइन्छ । तर १८ वर्ष मुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भैरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन ।
कोरोना संक्रमण निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?
लगाउनै पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने संभावना रहेकोले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन र थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ ।
खोप लिएपछि पनी फेरी कोरोना संक्रमण हुन्छ ?
हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भीडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ ।
कसले लगाउनु हुँदैन ?
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरुले लिनुहुँदैन । साथै, यसखोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहुँदैन । यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपकोअनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।
स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ ?
हुन्छ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनुझनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।
यो खोप कत्तिको सुरक्षित छ ?
सुरक्षित छ । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो ।
यो खोपको कति मात्रा लगाउनुपर्छ ?
कम्तिमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।
यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?
खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझै पनि यकिन भएको छैन ।
यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुश हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै आफै ठिक भएर जान्छन् ।
के यो खोपको दीर्घकालिन असरहरू पनि छन् ?
कोभिड–१९ नयाँ खोप भएकोले यसका हुनसक्ने दीर्घकालिन असरहरूका बारेमा थप समयपछि मात्र थाहा हुन्छ । ढुक्क हुनपर्ने कुरा केहो भने अनुमति प्राप्त सबै खोपहरू विभिन्न चरणको क्लिनिकल परीक्षणमा सुरक्षित पाइएको छ ।
के पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं त ?
पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ । पहिलो मात्रा लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरू ः दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेला बेलामा साबुन पानीले मिचीमिची हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ ।





