बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देशद्रोहीकी आमा

देशद्रोहीकी आमा


  • म्याक्सिमम गोर्की
  • फाल्गुन १ २०७७, शनिबार

आमाका बारेमा जति जे गुणगान गरे पनि त्यो थोरै नै हुन्छ ।
कैयौँ सातादेखि शत्रुपक्षका सेनाहरूले यस शहरलाई फलामको पिंजरामा थुने सरी बन्दी बनाइराखेका थिए । शत्रु पक्षकाले आफ््नो किल्लामा राति बालेका आगाका राता लप्काहरू औँसीको जस्तो कालो अँध्यारोमा शहरको पर्खालमा ठोक्किँदा असङ््ख्य राता आँखाहरू लामबद्ध भएजस्तो देखिन्थ्यो । आगाका हुर्हुराउँदा विनाशकारी लप्काका घुर्कीपूर्ण उत्तालमा आँखा पर्दा बन्दी शहरका वासिन्दालाई विषादपूर्ण सोचले घुम्लुङ््ग छोप्दथ्यो ।
पर्खालका चरहरूबाट वा पर्खाल माथिबाट हेर्दा शत्रु सेनाको घेराउ झन झन बलियो र कसिलो बन्दै गएको जस्तो भान हुन्थ्यो । आगाका वरिपरि मडारिइरहेका काला छायाँहरू, कैयौँ युद्धघोडाहरू दौडँदाको टापको आवाज, हतियारहरूको खन्द्रयाङखुन्द्रुङ, शत्रुहरूको अट्टहास र जित्छौं भन्ने आत्मविश्वासका साथ शत्रुद्वारा गाइएको विजयगान । यसभन्दा बढी पीडादायी अरु थोक हुन्छ र ?
सिङगो शहरलाई आफ्नो पवित्र जल पिलाउने गरेका नदीहरू मानव शवले भरिभराउ थिए । पर्खालका आडका अङगुरका लहलहाउँदा लहराहरू शत्रुसेनाले छ््यान्नब्यान्न पारेर आगो लगाइदिएका थिए । फलपूmलका बगैँचा पनि नाश पारिदिएका थिए । सहर अब सबैतिरबाट फुङ््ग उडेको उजाड,उच्चाट र विरक्तिलो देखिन्थ्यो । शत्रु सेनाहरू तोप र बन्दुकले सुसज्जित भई गोलावारुद प्रहार गर्दै दिन प्रतिदिन सहरतिर नजिक झन नजिक लम्किरहेका थिए ।
सहरका युद्धसेनाका ससाना टोलीहरू भोको सहरको ससाना र साँगुरा सडकहरूमा ऊर्जा र उत्साहहीन मुद्रामा गस्ती गरिरहेका थिए । घाइतेहरूको चित्कार, नारीहरूको विलौना र बालबालिकाहरूको रोदन घरका झ््यालबाट निस्कँदै व्योममा फिँजिएको थियो । शत्रुले सुन्ला कि भन्ने त्रासले मानिसहरू साउतीको स्वरमा कुरा गर्थे, टुक्राटाक्री वाक्य बोल्थे, छिसिक्क आवाज आउँदा पनि शत्रु आइ पो हाल्यो कि भनी झस्केर कान ठाडा पार्थे ।
रात त अझ कष्टप्रद हुन्थ्यो । रात्रिको निरवतामा मानिसहरूको चित्कार र आर्तनादहरू झनझन टडकारो सुनिन्थ्यो । टाढाका डाँडाकाडाबाट काला छायाँहरू लुकीचोरी चाल मार्दै लुसुक्क शहरका भत्केका पर्खालतिर लस्केको देखिन्थ्यो । शत्रुको क्याम्पलाई ओझेलमा लुकाउँदै पहाडका गल्छीहरूबाट तरवारको प्रहारले क्षतविक्षत भएको ढालझैं लाग्ने कान्तिहीन चन्द्रमा बिस्तारै माथि आकाशमा उक्ल्यो ।
सहरका बासिन्दाहरू हारगुहार नपाएर निराश त थिए नै, श्रमले थकितगलित र भोकले हत्तुहैरान पनि थिए र तिनको मुक्तिको सम्भावना दिनहुँ क्षीणतर हुँदै गएको थियो । मानिसहरू भयभित आँखाले आकाशको चन्द्रमालाई हेर्दथे,पर्वतशृङ््खलाका धारिला डाँडाहरूलाई तथा गल्छीका काला उदरहरू देखेर झन सन्त्रस्त हुन्थे र शत्रुको किल्लाको हल्लीखल्लीले त तिनको सातै जान्थ्यो । आँखाले देख्ने हरेक वस्तुले तिनलाई मृत्युकै सन्देश दिन्थ्यो । तीउपर शान्त्वना प्रकट गर्नका लागि कठै त्यो आकाशमा एउटा ताराधरि थिएन ।
घरहरूमा साँझबत्ती बाल्न उनीहरू डराउँथे । सडकहरू पनि घनीभूत अन्धकारमा डुबेका हुन्थे । कालो पहिरनमा परिवेष्टित एउटी नारी अन्धकारपूर्ण सडकमा यसरी घुमिरहेकी देखिन्थी जसरी कुनै माछो समुद्रको अँध्यारो पिँधमा तैरिइरहेको हुन्थ्यो । सुईहरूको घुमाइमा चुपचाप रहेका घडीझैँ त्यो नारी पनि चुपचाप यताउता घुमिरहेकी थिई । उसलाई देखेर नगरका मानिसहरू अँध्यारैमा पनि साउतीका स्वरमा एकअर्कालाई डराईडराई सोध्थे,‘यै हो त्यो आइमाई ?’ वा ‘त्यही आइमाई हो यो ?’
‘त्यही त हो नि !’एउटाले विश्वस्त गराउँदै भन्थ्यो ।
उसलाई देख्नासाथै उनीहरू लुक्थे, अथवा, टाउको निहु¥याएर उसका छेउबाट छिटोछिटो सरक्क बाटो काटदथे । रमनमा हिँडेका सिपाहीहरू उसलाई सजग गराउँदै भन्थे,‘तिमी फेरि सडकमा निस्क्यौ, मोन्ना मरियाना ? आफ्नो ख्याल गर । होश गर, तिमी मारिन पनि सक्छयौ । नगरबासीहरू तिमीदेखि रिसाएका हुनसक्छन । अनि कसले तिमीलाई मा¥यो, त्यो कुरो पत्ता लगाउन कसैले चासो नराख्नसक्छ ।’ ऊ केही बेर अडिन्छे, उनीहरूका कुरा सुन्छे । रमनका सिपाही अरु केही नभनी अगाडि बढछन । हतियारले सुसज्जित ऊतिर कसैले ध्यानै दिएका थिएनन । औँसीको जस्तो अँध्यारोमा एक्लै छोडिदिएका थिए उसलाई । निर्जन सडकमा ऊ घुमिरही, यताबाट उता, त्यताबाट यता । वल्लो सडकबाट पल्लो सडकमा र पल्लोबाट वल्लोमा गर्दै कालो अँध्यारो सहरको कालो दुर्भाग्यझैँ घुमिरहेको थियो । रातको निरवता विथोलिरहेको बालख बच्चाहरूको रोदनक्रन्दन, आर्तहरूको चित्कार, शत्रुबाट मुक्तिको उद्देश्यले गरिएको प्रार्थना र भजन तथा विजय र मुक्तिको आश मारिसकेका सिपाहीहरूको गस्तीको समवेत पदचापहरूले त्यस महिलालाई संयुक्त रुपमा पछयाईरहेका थिए ।
त्यही सहरकी बासिन्दा त्यही आमा आफ्नो छोराको बारेमा र आफ्नो देशको बारेमा सोच्दछे । उसको सहरलाई नष्ट पार्ने शत्रुसेनाको नाइके हो उसको आफ्नै प्यारो सुन्दर र हृदयहीन छोरा । एउटा समय यस्तो थियो,उसलाई आफ्नो छोरा उपर गर्व हुन्थ्यो । आफू जन्मेको, हुर्केबढेको देश र माटोको सेवा गरोस भन्ठानेर उसले आफ्नो छोरोलाई सेनामा भर्ति गराएकी थिई । छोरो सेनामा भर्ति भइसकेपछि उसलाई आफ्नो छोरा उपर झन गर्व भएको थियो—उसले देशलाई एउटा योद्धा उपहार दिएकी भन्ठानेकी थिई उसले । गुमानले ऊ गदगद थिई । उसको छोराले आफू जन्मेको र ऊ पनि जन्मेकी देशको, माटोको सेवा गर्ने छ भनेर । धेरै भएको छैन । अस्ति भर्खरको कुरो जस्तो लाग्छ । उसको शरीरको केस्राकेस्रामा यही सहर बसेको थियो । यस शहरको एकएक ढुङगा, एक एक घरले उसलाई आफ्ना अग्रजहरूको, पूर्खाहरूको सम्झनाले तरोताजा बनाइदिन्थ्यो । सहरका यी घरहरू जसले बनाएका थिए तिनको स्मृति आलो बनाइदिन्थ्यो । यो नगरको रक्षकको रूपमा उभिएको यो अग्लो पर्खाल तिनैले बनाएका थिए । यो माटो –धरती जहाँ उनीहरूको कला, सङ््गीत मौलाएको थियो । उनीहरूका आशा आकाङ््क्षा यही माटोमा हुर्के बढेका थिए । तर अब यो हृदयले एकजना प्रिय व्यक्ति गुमाइसकेको थियो । त्यसलाई माया मार्ने प्रयासमा उसको मन रुँदारुँदै छियाछिया भएको थियो । उसले आफ्नो हृदयको तुलोमा आफ्नो छोरा र देशप्रतिको प्रेमलाई तौली । तुलोको कुन चाहिँ तावा (पलडा) धेरै गह्रौँ छ –त्यो निक्र्यौल गर्न उसलाई निकै सकस भयो । त्यसैले ऊ रातभरि सडकमै घुमिरही –गह्रौँ मन बोकेर । कतिले त उसलाई चिनेनन पनि, चिन्नेहरू कतिपय त डरले लुके । धेरैले उसलाई मृत्युको साक्षात अवतार ठाने किनकि मृत्यु त तिनीहरूका लागि सङघारमै आइपुगेजस्तो भएको थियो । ढिलोचाँडो मान्छेले उसलाई चिने नै तर देशद्रोहीकी आमा भनेर । अनि त मान्छेहरू मुन्टो परक्क बटारेर फर्कन्थे, तर्केर छेउ लाग्थे ।
सहरको निर्जन क्षेत्रमा उसले एकदिन एउटी महिलालाई एक्लै एउटा शवको छेउमा घँुडा मारेर हलचल समेत नगरी बसिरहेको देखी । ऊ यसरी बसिरहेकी थिई –लाग्थ्यो ऊ धरतीकै एउटा अंश हो । अनुहार आकाशतिर फर्काएर त्यो आइमाई प्रार्थना गर्दै रहिछ । उसको अनुहार गहिरो दुःखमा निर्लिप्त थियो । पछिल्तिरको पर्खालको आडमा पहरा दिइरहेका सिपाहीहरू थिए । उनीहरू मसिनो स्वरमा कुरा गर्दै थिए तर तिनका हतियारहरू चाहिँ ढुङ््गाहरूमा टयाङटयाङ गर्दै समवेत स्वर निकालिरहेका थिए ।
देशद्रोहीकी आमाले सहानुभूतिपूर्वक सोधी,‘तपाईँको पति .. ?’
‘होइन ।’
‘तपाईको भाइ. ?’
‘मेरो छोरा । मेरा पति तेह्र दिनअघि युद्धमा मारिएका थिए । आज मेरो छोरो पनि सहिद भयो’, अनि फेरि आफ्नो टाउको घुँडाका बीचबाट उठाउँदै माथि आकाशतिर हेर्दै मसिनो स्वरमा भनी,‘देवी म्याडोनाले सब हेरिरहेकी छिन । म उनलाई धन्यवाद दिन्छु ।’
‘किन ?’ सोधी उसले ।
अर्की भन्न थाली,‘ऊ आफ्नो देशको लागि लडदालडदै सम्मानपूर्वक मरेको हो । ऊ असाध्य कमलो मनको भएको हुनाले मलाई डर लागिरहेको थियो –कतै ऊ पनि ईश्वर र मानवताको शत्रुसमान मरियानाको छोराले झैँ आफ्नाहरूलाई धोखा दिएर कतै वैरीपट्टि त लागोइन ? हुन सक्छ उसकी आमा मरियानाको कोखमै कुनै त्रुटि थियो होला र त ..।’ मर्माहत मरियाना दुबै हातले आफ्नो अनुहार छोप्दै अर्कोतिर हिँडी । भोलिपल्ट ऊ नगर रक्षाका लागि तैनाथ सैनिकहरू समक्ष नगरद्वारमा पुगी र भनी,‘मेरो छोरो तपाईँहरूको वैरी हो त्यसैले कि त मलाई मारिदिनुस कि त मेरा लागि ढोका खोलिदिनुस ता कि म शहरबाहिर ऊनिर जान सकुँ ।’
‘तिमी एउटा मानिस हौ । तिम्रा लागि आफ्नो देश महान हुनुपर्छ । तिम्रो छोरो हाम्रा लागि जस्तो वैरी बनेको छ –तिम्रा लागि पनि ऊ त्यस्तै वैरी हो ।’उनीहरूले उसलाई सम्झाउन खोज्दै भने ।
‘म उसकी आमा हुँ । म उसलाई माया गर्दछु त्यसैले उसले जे गर्दछ त्यसका लागि मलाई पनि दोषी मानिन्छ नै ।’ उसले जिरह गरी ।
उसको कुरा सुनेर सैनिकहरूले मुखामुख हेरे र तुरून्तै आपसमा सरसल्लाह गरेर सबैको राय बुझेपछि नाइकेले ऊसँग भन्यो,‘तिम्रो छोराले गरेको अपराधका लागि तिमीलाई मार्नु कदापि न्यायसङ्खत होवोइन । हामीलाई थाहा छ– यस्तो जघन्य अपराध गर्नका लागि तिमीले उसलाई प्रेरित गरिनौ । हामी तिम्रो पीडालाई बुझ्न सक्दछौँ तर अब शहरलाई तिम्रो दरकार पनि छैन । हुन त तिम्रो छोराले पनि तिमीलाई बिर्सिसकेको छ । त्यसैले तिम्रो वास्ता नगरेको होला । शैतान न ठहरियो । यदि तिमी त्यसको कर्तुतको लागि आपूmलाई जिम्मेवार ठान्छयौ भने त्यही नै तिम्रो लागि सजाय पनि भयो । यस्तो सजाय त मृत्युभन्दा झन भयावह हो नि ।’
‘अँ, हो त ।’ स्वीकारोक्तिमा उसले भनी,‘यो त मृत्यु भन्दा पनि डरलाग्दो भयो ।’
र उसलाई शहरबाट बाहिर भौंतारिन जान तथा हण्डर खानका लागि उनीहरूले ढोका खोलिदिए । छोराले रक्तरञ्जित पारिदिएको आफ्नो त्यो मातृभूमिबाट ऊ पर जाँदै थिई । ऊ सुस्तसुस्त हिँडिरहेकी थिई । परसम्म पुग्दा पनि नगरद्वारबाट सैनिक सुरक्षाकर्मीहरू ऊ गएको हेरिरहेका थिए । धेरै पर पुगेर सानो कालो छायाँजस्तो हो कि हो कि जस्तो हुञ्जेलसम्म पनि तिनीहरूले उसलाई हेरिरहेथे । तर मरियानाका पाइलाहरू आफ्नो देशको माटोबाट अलग्गिन मानिरहेका थिएनन, त्यसैले ती अघि बढन पटक्कै मानिरहेका थिएनन । शहरको रक्षाका लागि लडदालडदै शहीद भएकाहरूको शव उपर श्रद्धाले शीर नमन गर्दै बाटामा भेटिएका हतियार पन्छाउँदै पछिल्तिर फर्केर उसले देशलाई शत्रुबाट जोगाउनका लागि लडिरहेका सिपाहीहरूतिर हेरी । उनीहरू आफूउपर प्रक्षेपण गरिएका हतियारहरू यताउति फ्याँकिरहेका थिए । आमाका लागि त ज्यान लिने हरेक हतियार डरलाग्लो नै हुन्छ । तिनी त जीवनको रक्षा गर्नेहरूको रक्षा गर्न चाहन्छिन् ।
हिँडदाखेरी उ निकै सतर्क भएर अघि बढदै थिई मानौं उसले आफूसँग एक शिशि पानी बोकेकी छ र हिड््दाखेरीे त्यो शिशिको पानी थोपोधरि नचुहियोस्् भनी ऊ चनाखी छे । सम्पूर्ण निराशा उसले आफूसँगै लगि दिई भनी जाँदै गरेकी उसलाई हेर्दै सैनिकहरूले सोचेका होलान । आधि बाटोतिर पुगेपछि उसले फेरि आफ्नो सहरतिर फर्केर हेरी । वैरीको शिविरबाट एउटी नारी आफूहरूतिर आउँदै गरेको देखेपछि प्रसन्न भएर तिनीहरूले उसको सोधखोज गरे ।
‘तिमीहरूको सेनापति मेरो छोरो हो ।’ आफूलाई चिनाउँदै उसले भनी । कसैले पनि उसमाथि शंका गरेनन । तिनीहरूले उसको अभिवादन गरे । स्वागतमा गीत गाए । उसको छोराको बखान गर्दै प्रशंशाका पुलहरू पनि ठड््याए । तिनीहरू सबैका कुराहरू उसले पालैपालो सुनीरही । कुनै आश्चर्य नमानीकन उसको शिर गर्वोन्मत भइ्ह््यो । अन्त्यमा पालो थियो –एउटा युवकको । जुन युवक उसको सम्मुख उभिएको थियो त्यसलाई त्यो जन्मनु भन्दा पनि नौ महिना अघिदेखि नै ऊ चिन्दथी । ऊ त उसकै एउटा अभिन्न खण्ड थियो । उसले भिरेका हतियारहरूमा पनि बहूमुल्य रत्नहरू जडिएका थिए । सबै थोक उसले कल्पना गरे अनुसारकै थियो –सुप्रसिद्ध, मूल्यवान र प्रशंशायोग्य ।
‘आमा !’ उसको हातमा म्वाई खाँदै सेनापतिले भन्यो,‘तिमी मनिर आयौ । म असाध्य हर्षित छु । अब तिमी मसँगै भयौ नि । देखौली, भोलि नै म त्यो सहरलाई आफ्नो अधिनमा पार्ने छु ।’
‘त्यो सहर जहाँ तिमी जन्मिएका थियौ ।’ आमाले उसलाई पुराना दिनको सम्झना गराई ।‘म जगतका लागि जगतमा जन्मेको हुँ र म जगतलाई आफ्नो उपस्थितिको आभाष गराउन चाहन्छु ।’ आफ्नो साहस ,शक्ति र सौर्यको अभिमान दर्शाउँदै उसले भन्यो,‘ मैले तिम्रा खातिर मात्र यस सहर उपर धावा नबोलेको थिएँ । यो त मेरो जिउमा शुल झैँ बिझिरहेको छ । मेरो यशको बाटोमा बाधक बनिरहेछ । अब त भोलि नै म मुर्खहरूको गुँडलाई तहसनहस पारिदिनेछु ।’‘
त्यही नगरलाई जहाँका हरेक ढुङ््गासमेतलाई तिम्रो बालपनको आलो सम्झना छँदैछ ।’ आमाले भनी ।
‘ढुङ््गाहरू बहिरा हुन्छन् । मानिसले तिनलाई बोल्ने योग्य बनाइदिएपछि मात्र ती सजिव बन्ने हुन । अब त शिखरहरूलाई मेरा बारेमा सुनाइनु पर्दछ । म त शिखरतिर लम्किरहेछु ।’
‘अनि मानिसहरू नि ?’ उसले सोधी ।
‘अँ आमा , तिनलाई मैले बिर्सेको छुइँन । मलाई तिनको निकै आवश्यकता छ किनकि वीरहरूको सम्झनालाई तिनले नै साजी राख्न सक्दछन् ।’
‘वीर त ती हुन् जो मृत्युका विरुद्ध जीवनका पक्षमा लडदछन्् र मृत्युउपर विजय प्राप्त गर्दछन्’उसले भनी ।
‘होइन । नगरलाई नष्ट गर्नेहरू’, प्रतिवाद गर्दै उसले भन्यो,‘नगर निर्माण गर्नेहरूझैँ नै महान हुन्छन् । रोम कसले बनाएथ्यो –एइनियसले वा रोमुलसले तर एलरिकको नाम सबैलाई थाहा छ किनकि उसले रोमलाई धुुलिसात पारिदिएको थियो ।’
‘हो, उसले सबै सर्जक नामहरू र तिनका कामहरूलाई पनि धुलाम्य पारिदिएको थियो ।’ आमाले फेरि उसलाई सम्झाउने प्रयास गरी ।
घाम डुबुञ्जेलसम्म ती दुई यसरी नै कुरा गरिरहेथे । अभिमान र दर्पयुक्त उसका कुराहरू जतिजति ऊ सुन्दै जान्थी उसको गर्वोन्मत्त शिर निहुँरिदै हुन्थ्यो ।
एउटी आमा निर्माण गर्दछे । ऊ जीवन दिन्छे र जीवनको रक्षा गर्दछे । यसैले ऊसँग विनाशको कुरो गर्नु भनेको उसैलाई समाप्त पारिदिनु हो । तर उसलाई के थाहा –ऊ आफ्ना अभिमानी वाणीहरूले आफ्नै आमाको अस्त्तित्वलाई निषेध गरिरहेछ । एउटी आमा जहिले पनि मृत्युको विपक्षमा उभिन्छे । मानिसहरूका घरहरूमा मृत्युलाई आमन्त्रण गर्नेहरूको विपक्षमा उभिन्छे । मृत्यु बाँडिहिँड््ने सँग आमा सदैव घृणा मात्र गर्दछे । तर बिचरो छोरो यो सत्य बुझ््न असमर्थ छ किनकि मानिसको हृदयलाई रुवाएर प्राप्त गरिने शीत कीर्तिका लागि उ उत्ताउलिएको छ । तर आमा जसरी जीवनको सृजना र त्यसको पालनपोषण गर्नका लागि निर्भयतापूर्वक लाग्दछे त्यसैगरी जीवन संकटापन्न हँुदा त्यसको रक्षार्थ कठोर र निर्दयी पनि बन्न सक्छे भन्ने कुरो उसको समझभन्दा पर थियो ।
उ शीर झुकाएर छोराको पालमा बसिरही । विभिन्न सुविधायुक्त त्यही पालको झ््यालबाट उसले त्यो शहर देखी जहाँ उसले जीवनमा पहिलो पटक आफ््नो उदरमा अर्को एउटा जीवन गर्भस्थ भएको सुखानुभूति बोध गरी । त्यही गर्भस्थ जीवन आज त्यो शहरलाई विनाश गर्न कम्मर कसेर लागेको छ ।
अस्ताउँदो सूर्यको किरणले सहरका भित्ताहरूमा रङ््ग छरियो मानो सिङ््गो सहर घाउ नै घाउले भरिएको छ । देख्दादेख्दै सहर कालो भयो । आकाशका ताराहरूको टिमटिममाई कुनै शवयात्रामा सामेल भएका मलामी हातहरूमा बलेका मैनबत्ती झैँ लाग्दथे ।
उसले ती अँध्यारा घरहरू देखी जहाँ मानिसहरू शत्रुका डरले साँझ बत्ती पनि बाल्दैनथे । शहरका साँघुरा गल्लीहरूमा दुर्गन्धित शवको खात पनि उसले देखी । घाइते बनी मृत्युको मुखमा पुगेकाहरूको आर्तनाद पनि उसको कानमा गुञ्जिरहेको थियो । मृत्यु पर्खदैँ गरेकाहरू मसिना स्वरमा आपसमा साउती मार्दथे । आपूmलाई प्रिय र नजिकको लाग्ने शहरका सब कुराहरू उसले आफ्नो सेनापति छोराको त्यही शिविरबाट हेरेकी थिई । उसको सेनापति छोरा उसकै निर्णय र आदेश पर्खिरहेको थियो । नगरतिर हेर्दै गर्दा उसको आत्माले भन्यो ,‘तिमी त नगरका सबैकी आमा हौ । ’

आकाशमा बादल पहाडका शिरहरू माथिबाट खोँच र टारहरूतिर, ध्वस्त हुँदै गरेको सहरतिर शिकारी चराहरूझैँ वेग हान्दै थियो ।‘बाक्लो अँध्यारो भयो भने हामी आजकै रात आक्रमण गर्न सक्छौं ।’ सेनापति छोराले तरवार वल्टाइपल्टाई गर्दै भन्यो,‘घामको चहकमा हतियारको चमकले आँखा तिर्मिर भएर निशानमा प्रहार गर्न गाह्रो हुन्छ ,कतिपय प्रहार त त्यसै खेर जान्छ ।’
आमाले भनी,‘आऊ बाबु , आफ्नो शिर मेरो छातीमा टेकाएर एकछिन आराम गर । संभ्ःm त, केटाकेटीमा तिमी कति दयालु थियौ । सबैजना तिमीलाई कस्तो माया गर्दथे ।’
आमाको आज्ञा शिरोधार्य गर्दै उसले आमाको न्यानो वक्षमा टाउको टेकायो र आँखा चिम्लदैँ आराममा लीन हुँदै भन्यो,‘मलाई यस निकै प्यारो लाग्छ । म तिमीदेखि पनि हुरुक्कै हुन्छु । म आज जे छु जस्तो छु त्यो सब तिम्रै देन हो ।’
‘र नारी !’ निहुरिएर छोराको मुहारमा हेर्दै उसले सोधी ।
‘ती त बग्रेल्ती छन । कतिपय पटक त जसरी सँधै मिठाइ खाँदा अमन हुन्छ मानिस तीबाट त्यसरी नै अघाउँछन् ।’
‘तिमीलाई केटाकेटी पनि मन पर्दैनन ?’ सोधी उसले ।
‘किन ? मारिनका लागि ? मैजस्तो कसैले तिनलाई मारिदेओस । त्यसले त मलाई निकै पीडा दिन्छ र बुढ््यौली र दूर्बलताका कारण म तीसँग साटो फेर्न पनि असमर्थ भइसक्नेछु ।’
‘तिमी अत्यन्त सुन्दर त छौ तर बिजुलीझैँ बाँझो छौ ।’उसले सुस्केरा काढदै भनी ।
‘अँ ,बिजुली झैँ’, ऊ हाँस्यो दुई अधरहरूमा । आफ्नी आमाको वक्षमा उसले बालकलेझैँ मुख लुकायो । आमाले आफ्नो कालो पहिरनले उसलाई केटाकेटीलाईझैँ छोपछाप पारी अनि उसको मुटुमा आफ्नो छुरी स्वाट््ट धसिदिई । थरर्र काँप्यो ऊ फत्रयाकफत्रयाक छटपटायो र एक छिनमा लल्याकलुलुक भयो । आफ्नो छोराको मुटु कहाँनिर धडकिरहेको छ भन्ने कुरो आमाभन्दा राम्ररी अरू कसलाई थाहा हुन्छ र । उसका शस्त्रहरू चौकिदार ( सेन्ट्री)हरूतिर हुत्याएर सहरलाई सम्बोधन गर्दै उसले भनी,‘ एकजना नागरिकको हैसियतले आफ्नो देशको लागि जे गर्न सक्थेँ मैले गरेँ । एउटी आमाको नाताले म अझ पनि मेरो छोरासँगै छु । अर्को सन्तानको आमा बन्नका लागि अब म निकै बुढी भइसकेँ । त्यसैले अब मेरो जीवनको कुनै अर्थ छैन ।’छोराको रगतमा लतपतिएको छुरी भएभरको बल लगाएर उसले आफ्नो छातीमा धसी । यसपटक पनि उसको निशाना एकदम ठीक ठाउँमा परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->