प्रस्तुत ढोरपाटन सहकर्मीले दिपक कोईरालासँग गरेको छोटो संवाद ।
गण्डकी प्रदेश सरकारको तीन बर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ?
– अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश काजगमा बलियो प्रदेश हो । हामीले नीति निर्माणमा कुनै कसर बाँकी राखेको जस्तो लाग्दैन् । कागजमा जसरी व्यवस्थाहरु भएका छन्, त्यो हिसावले वास्तविकतामा काम हुन सकेन् । एक बर्षे, बहुबर्षे महत्वकांक्षी योजनाहरु बने तर ती योजनामा काम गर्ने परिपाटीनै बसेन् । भाषण गर्नका लागि मात्रै योजना भए । नीति राम्रा बनेका छन् । अन्य प्रदेशको तुलनामा नीति र योजना बनाउने कुरामा राम्रो प्रस्तुती देखियो तर नतिजा आउनेगरी काम हुन नसकेकै कारण स्रोत साधन भएर पनि गण्डकी प्रदेश कमजोर जस्तो देखियो ।
काम हुन नसक्नुमा समस्या के देख्नुभयो ?
– पहिलो कुरा त स्रोत छ भनेर प्रदेश सरकार मख्ख परेर बस्यो । काम गर्ने शैलीमा परिवर्तन नै हुन सकेन् । योजना ठुला ठुला बनाउने तर काम गर्न नपर्ने परिपाटीले समस्या भयो । हाईपोथेसीसले मात्रै रिजल्ट आउँदैन्थ्यो । यहाँ भयो त्यस्तै । अर्को समस्या भनेको नीतिगत हो । कर्मचारीतन्त्र फेरीनै चाहेन । त्यही तन्त्रकै कारण काम हुन सकेनन् । जस्तो सार्वजनिक खरिद ऐन हेरौं । जसका कारण कैयौं समस्याहरु आए । पुरानै शैलीका कानुन र बाझिने खालका कानुनले काम गर्न नदिएको जस्तो लाग्छ । त्यसलाई चिरेर जान प्रदेश सरकार सकेन् । सुरुमा स्थापनाको समय भयो, नयाँ संरचना भएकाले समस्याहरुनै रहे । पछि कोभिड महामारीको मार परेको देखिन्छ । महामारीलाई अवसरको रुपमा लिनु पर्दथ्यो तर सरकारले त्यसो गर्न सकेन् । प्रदेशको प्रगति नहुनुको कारण संघ पनि हो । संघले नै प्रदेशलाई प्रशासनीक इकाईको रुपमा हेर्दा कसरी बिकास सम्भव हुन्छ ? आन्तरीक आम्दानी नभएको प्रदेश सरकार संघकै भर पर्नुपर्ने बाध्यात्मक समस्या पनि बिकासको बाधक हो ।
गण्डकी प्रदेशको गर्व गर्नलायक केही काम छ ?
– केही काम राम्रा पनि छन् । दुई÷चार वटा कामले प्रदेशलाई चिनाउँछ भन्ने मलाई लागेको हो । पहिलो कुरा उज्यालो प्रदेश कार्यक्रम जुन छ, त्यो प्रभावका हिसावले निकै महत्वपूर्ण कार्यक्रम हो । काम के कति भैरहेका छन्भन्ने मुल्यांकन गर्नुपर्ने बिषय हो । एक घर एक धारा कार्यक्रम, पालिका मुकाम र जिल्ला सदरमुकाम जोड्ने सडक बिस्तारको काम महत्वपूर्ण काम हुन् । तर यसमा पनि आमधारणा हेर्दा मन्त्रीका गाउँमा मात्रै बजेट, सडक भएमा मात्रै बिकास भएको मान्ने लगायतका गुनासा र आमसर्वसाधारणको धारणा भने नकार्न सकिन्न । काम गर्ने परिपाटीका कारण राम्रा कार्यक्रमहरुमा समेत सरकार अलमलिएको जस्तो लाग्छ ।
बाँकी दुई बर्षमा अपेक्षा के गर्नुहुन्छ ?
– अव राजनीतिक स्थिरता रहने मैले देखेको छैन् । संसद बिघटनको प्रभाव तलसम्म परेको छ । प्रदेशको काम गर्नुपर्ने मुख्यमन्त्री राजनीतिक बिबाद मिलाउनमा व्यस्त हुनुहुन्छ । मन्त्रीहरु पार्टीको काममा तल्लिन यो अवस्थामा अवको दुई बर्षमा हुनसक्ने कामको अपेक्षा गर्न सकिन्न । अर्को महत्वपूर्ण कुरा बाँकी दुई बर्षको लागि यो सरकार रहन्छ वा रहँदैन भन्ने नै मुख्य कुरा हो । सरकार परिवर्तन भए अपेक्षा पनि स्वभाविक हिसावले परिवर्तन हुन्छन् ।





