गजलका माली भनिन्छ गजलकार ज्ञानुवाकर पौड्याललाई । र हुन पनि उनी नेपाली गजलका माली नै । मोतीराम भट्टपछि गजल लेखनलाई उपेन्द्रबहादुर जिगरहरूले अगाडि बढाउँदै लगे । तर बीचमा गजल लेखन परम्परा धमिलिएर गयो ।
जब २०३५ सालको असारमा ज्ञानुवाकर पौड्यालको गजल प्रकाशनमा आयो, त्यसउप्रान्त नेपाली गजल लेखनले गति समायो । आज नेपाली गजलले लिएको उचाइ कसैबाट लुकेको छैन । गजलका माली ज्ञानुवाकरले प्रारम्भमा कविता नै लेखे । उनका अनुसार आजभन्दा चालीस वर्षअघि नै उनले कवितामा कलम चलाउन थालेका हुन् ।
साहित्यमा अथाह रुचि भएका ज्ञानुवाकरले कविता लेखेपछि प्रकाशनको अपेक्षा राख्नु अस्वाभाविक थिएन । त्यसैले मधुपर्कमा प्रकाशनार्थ आफ्ना कविता पुर्याउन थाले । साहित्यिक रचना छाप्नका लागि त्यसबेला चर्चित साहित्यिक पत्रिका मधुपर्क नै थियो । त्यसबखत मधुपर्कमा रचना छापिनु भनेको नेपाली साहित्यमा स्थापित हुनुसरह नै हुन्थ्यो ।
ज्ञानुवाकरले एउटा कविता लेखे । मधुपर्कको कार्यालयमा गए । मधुपर्कका सम्पादक थिए भैरव अर्याल । भैरवले ज्ञानुवाकरको कविता लिएर पढे अनि त्यहीँ नै च्यातिदिए । ज्ञानुवाकर पौड्याल भन्छन्, “कविता अस्वीकृत हुने काम भैरव अर्यालले एकपटक होइन, ५(६ पटक नै गरे । ‘तपाईंको बेला भएको छैन…, कवितामा परिपक्वता छैन…, तपाईं कवितामा काँचै हुनुहुन्छ…, कवितामा तपाईंको भविष्य छैन…’ भन्दै उनले मेरैअगाडि मेरा सबै कविता ध्यारध्यारी च्यातिदिए । मेरो आँखाबाट तुरुक्क आँशु नचुहेको होइन । तर म के नै गर्न सक्थँे र !”
साहित्यप्रतिको अतिशय रुचिका कारण कविता कोर्न थालेका ज्ञानुवाकरले पटकपटक कविता अस्वीकृत भएपछि मधुपर्कमा कविता पुर्याउन छाडे ।
तर लेख्न भने छाडेनन् । आफ्नो मनका भाव कवितामा निरन्तर पोख्दै गए । लेख्दै गए । सुनाउँदै गए ।
ज्ञानुवाकरका अनुसार त्यसबेला उनी तत्कालीन शाही नेपाली सेनाको सम्भार रथी विभागमा कार्यरत थिए । बाहिरबाट झिकाइएका सामानहरू व्यवस्थित गर्नुपर्ने उनको काम थियो । त्यहाँ उनका हाकिम थिए महासेनानी भरतकेशर सिंह । अर्का हाकिम थिए जनकराज श्रेष्ठ ।
एक त आर्मी अफिस, त्यसमाथि पञ्चायती शासन व्यवस्था । तर पनि उनले आफूले लेखेका कविताहरू आर्मीका हाकिमहरूलाई सुनाउँदै गए । यसरी सुनाउँदा उनी कहिले ताली पाउँथे त कहिले गाली ।
त्यसबेला हाकिमहरूले हिमालका कविता लेख, देशभक्तिका कविता लेख नभनेका हैनन् । तर उनले आफूखुसी कविता लेख्दै गए ।
एकपटक ज्ञानुवाकरलाई साहित्यकार वासु रिमाल यात्रीले अनुवादमा हात हाल्ने सल्लाह दिए । उनले ‘अनुवाद गर्न थाले विश्व साहित्य पढिने, बुझिने र आफ्नो लेखन पनि परिमार्जित हुने’ बताए ।
वासु रिमाल यात्री जनकपुरबाट प्रकाशन हुने विदेह (द्वैमासिक) पात्रिकाको सम्पादक थिए । यात्रीले यो उपाय सुझाएपछि ज्ञानुवाकरले बाल्जाकको एउटा कथा अनुवाद गरे । उनले अनुवाद गरेको त्यो कथा विदेहमा छापियो । त्योसँगै ज्ञानुवाकरले भियतनामी र जापानी कविताहरू अनुवाद गर्दै प्रकाशन गर्न थाले ।
यसरी उनले अनुवाद साहित्यमा केही समय बिताए । त्यसैबीचमा उनले शंकर लामिछाने र विन्दिया प्रधानका पुस्तकहरूको समीक्षा गर्दै त्यो पनि प्रकाशित गरे ।
अनि उनले सुरु गरे मुक्तक लेख्न । उनले लेखेका मुक्तक हरिभक्त कटुवालको सम्पादनमा प्रकाशित हुने पत्रिका बान्कीमा छापियो । मुक्तक लेखन र प्रकाशनको निरन्तरताले ज्ञानुवाकरलाई ऊर्जा दिँदै गयो । त्यसपछि उनका रचनाहरू विभिन्न पत्रिकामा प्रकाशित हुन थाल्यो ।
यसबीचमा ज्ञानुवाकर आफूले भैरव अर्याललाई नभेटेको बताउँछन् । उनी भन्छन्, “यसो कहिलेकाहीँ कुनै कार्यक्रममा भेट हुँदा नमस्कार गर्थें तर उनलाई भेटिनँ । खै ! भैरव अर्याललाई भेट्ने आँटै आएन ।”
यसैबीचमा ज्ञानुवाकरले गजल लेख्न सुरु गरे । नगेन्द्रराज शर्माले अभिव्यक्ति द्वैमासिकमा ज्ञानुवाकर पौड्यालको पहिलो गजल प्रकाशित गरे । त्यसपछि भने ज्ञानुवाकरलाई सबैले ‘रेस्पोन्स’ गर्न थाले ।
२०३५ सालको असारको अभिव्यक्तिमा गजल छापिएपछि मधुपर्कका सम्पादक नारायणबहादुर सिंहले पौड्यालको लेखनीमा चासो दिए । र उनले रचना पनि मागे ।
त्यसपछि नै हो मधुपर्कका सम्पादक नारायणबहादुर सिंहले ज्ञानुवाकरलाई भनेको, ‘तपाईंको गजल मनपर्यो । चार–पाँचवटा गजल दिनुस् । मिलाएर छाप्छु ।’
ज्ञानुवाकरले पनि केही गजल मधुपर्कका सम्पादक सिंहलाई दिए । र, दुई–तीन अंक बिराएर ज्ञानुवाकरका गजल मधुपर्कमा छापिए ।
ज्ञानुवाकर भन्छन्, “नारायणबहादुर सिंहले बेलाबेलामा मधुपर्कमा गजल छापिदिए । त्यसअघि पनि रूपरेखामा बालमुकुन्ददेव पाण्डे र उत्तम कुँवरले मेरा दुई–तीनवटा गजल छापिदिएका थिए ।”
ज्ञानुवाकरको जागिर आर्मीमै थियो । हाकिमहरूलाई कविता, मुक्तक र गजल सुनाउने क्रम जारी थियो । उनको रचनामाथि हाकिमहरूले कहिले तारिफ गर्थे त कहिले गाली पनि । ज्ञानुवाकर भन्दै थिए, “अहिलेका नेताजस्ता फटाहा हुन् र सेनाका हाकिम ? त्यो बेलामा उनीहरूको माया पनि सक्कली हुन्थ्यो । रिस पनि सक्कली हुन्थ्यो । तर माया पनि अति नै गर्थे ।”
उनले नौ वर्ष आर्मीमा काम गरे । त्यसपछि मात्रै जैनेन्द्र जीवनले भनेपछि उनी रेडियो नेपालका जागिरे भए ।
गजल र मुक्तक लेखनलाई प्राथमिकतामा राख्दै आएका ज्ञानुवाकरले भैरव अर्यालले अस्वीकृत गरेका कवितालाई पुनर्लेखन वा परिमार्जन भने गरेनन् । त्यसका लागि आफ्नो मनोबल नपुगेको उनी स्वीकार्छन् । त्यसैले पनि गजल र मुक्तक उनको प्राथमिकतामा पर्यो ।
गजलका माली ज्ञानुवाकरले लेखनको बीउ गजल नै भएको बताए । ज्ञानुवाकरका अनुसार उनको पिताजीको खेतीपाती (मौजा) कैलालीको एउटा गाउँमा थियो । काभ्रेको कालापानीबाट उनका पिताजी मौजा पाएर कैलाली गएका थिए । त्यसबेला कैलाली जाँदा–आउँदा लखनऊ भएर जानुपर्थ्यो । अर्को बाटो थिएन । गाउँ पुग्न चार दिन लाग्थ्यो ।
भारतीय भूमिको लखनऊ भएर गाउँ जाँदा गजलका किताबहरू पढ्न थाले । उनी भारतीय गजलकार दुश्यन्त कुमारका गजलबाट निकै प्रभावित भए । त्यसपछि उनले पनि नेपालीमा गजल लेख्न थाले ।
लखनऊ आऊजाऊले उनलाई गजल, कब्बाली र मुजराले धेरै आकर्षित गरेको थियो । उनी बरेलीमा कहिलेकाहीँ मुजरा सुन्न पनि जान्थे ।
पान खाए सैयाँ हमारो साँवली सुरतीया होठ लाल लाल
हाय हाय मलमलका कुरता मलमलके कुरते पर छिँट लाल लाल ।
यस्ता गीतमा खुब मुजरा चल्थ्यो । र मौका मिल्दा उनी पुग्थे मुजरा हेर्न ।
गजल र मुक्तक लेख्न थालिसकेको लामो समय बितिसके पनि कतिपय ठाउँमा कविता सुन्न मात्र सहज हुने उनको अनुभव छ । त्यसबेला कविता सुनाउने आँट भने आउँथेन । माधव घिमिरे, लीलाध्वज थापालगायत कतिपय वरिष्ठ कवि भएको ठाउँमा आफूलाई कविता मुक्तक र गजल वाचन गर्न कठिन हुने उनको भनाइ छ ।
ज्ञानुवाकर भन्छन्, “अहिलेका केटाहरू त पाँचवटा कविता वा मुक्तक मधुपर्कले छापिदियो भने ‘मेरो इन्टरभ्यु लिइदिनुपर्यो’ भन्न आउँछन् । मैले लेख्न थालेको ४५ वर्षपछि तपाईं मसँग कुरा गर्दै हुनुुहुन्छ ! अहिलेका कविमा कस्तो व्यग्रता ? वास्तवमा अहिले कविहरू सस्ता भए ।”
नेपाली गजल र मुक्तकका क्षेत्रमा आफूले पाएको माया र सम्मानले आफूलाई यसै क्षेत्रमा लागिरहन प्रेरित गरेको ज्ञानुवाकर बताउँछन् । र यही मायाले आफूले रेडियो नेपालमा जागिर खाएको, गरिमा मासिकसँग जोडिएको स्वीकार गर्छन् ।
उनी भन्छन्, “धेरै मानिसलाई आत्महत्या गर्नबाट जोगाएको छ साहित्यले । नेपाली साहित्यमा भैरव अर्याल, नकुल सिलवाल र भरत भुर्तेलबाहेक अरू कसैले आत्महत्या गरेनन् । तिनले आत्महत्या गर्नुको कारण पनि अरू नै हो, साहित्य होइन । अर्थात् विशमतासँग लड्न सिकाउने भनेकै साहित्य हो ।”
ज्ञानुवाकरका अनुसार नेपालीहरू पूर्वीय संस्कृतिका मानिस भएकाले भाषा साहित्यमा धेरै सम्पन्न थिए । तर पश्चिमाहरूले त्यो संस्कृति यताबाट लिएर गए । त्यसको अनुवाद गरे ।
ज्ञानुवाकर भन्छन्, “उनीहरूले मिहिनेत गरे र उचाइ पाए । तर हामी नेपालीहरू मिहिनेत गर्दैनौँ । अनि हामीले के नै पाउँछौं र । आधा भरिएको गाग्री छचल्किएजस्तै भइरहेका छौं हामी त ।”
कविता लेख्दालेख्दै पनि ज्ञानुवाकर गजल र मुक्तकमा रमाए । त्यसबेला उनका समकालीन कविहरू कवितामा सशक्त थिए । ती सशक्त कविहरूसँग कवितामा प्रतिस्पर्धा गर्र्नुभन्दा कविता विधाकै अर्को स्वरूपलाई आफूले अँगालेको स्वीकार्न ज्ञानुवाकर हिच्किचाउँदैनन् ।
उनी भन्छन्, “मलाई साहित्यकार इन्द्रबहादुर राईले सधैँ भन्थे ‘अर्काको बाटो नहिँड ज्ञानु । बाटो आफ्नै बनाऊ’ । उहाँले खुब माया गर्नुहुन्थ्यो मलाई । त्यसैले मैले पनि फरक बाटो बनाएँ र हिडेँ । वास्तवमा भिडमा चिनिनका लागि कि त पुड्को हुनुपर्छ कि त एकदम अग्लो हुनुपर्छ । कि त फरक बाटो समाउनुपर्छ । त्यसैले मैले गजल र मुक्तकको फरक बाटो समाएँ ।”
नेपाली गजल लेखनमा ज्ञानुवाकरले दिएकोे योगदानलाई सबैले स्वीकार्दै आएका छन् । आज पनि उनी गजलको विकास र विस्तारमा सक्रिय छन् ।
उनले एउटा प्रसंग उल्लेख गरे । उनका अनुसार केही महिनाअघि अभिव्यक्ति पत्रिकाले गजल विशेषांक प्रकाशन गर्यो । जसमा ९० वटा गजल प्रकाशित छ । जसमध्ये आठवटा गजल मात्रै बेकम्मा छ । २७ वटा गजल राम्रै छ । बाँकी गजल सबै उत्कृष्ट छन् । यति भन्दै उनले प्रतिप्रश्न गरे, “जबकि पहिले–पहिले कुनै पत्रिकाको गजल विशेषांक प्रकाशित गर्दा २० प्रतिशत मात्रै पूर्ण गजल हुन्थ्यो । यसलाई गजलको विकास भन्ने कि नभन्ने ?”
गजल लेखनमा आएको बाढी विस्तारै संग्लिएर गएको गजलका माली ज्ञानुको तर्क छ । गजलले स्तरोन्नति गर्दै आएको उनी खुसीसाथ बताउँछन् । विभिन्न महफिलहरूले यसलाई माथि उक्लिन सहयोग गरेको उनको भनाइ छ ।
गजल लेख्दा त्यसभित्र के–के चाहिन्छ भन्ने चेतना अहिलेका गजलकारमा रहेको उनी बताउँछन् । उनी भन्छन्, “तर एउटा तितोसत्य के हो भने, नेपाली गजलकारको क्षमता त पाँच सय वाटको हो, तर तिनको अहंकार हजार वाटको भइदिएको छ । त्यसैले गर्दा फ्युज हुने गरेको छ, नेपाली गजल । गजलमा देखिएको अहिलेको समस्या यही नै हो ।”





