फेरि रञ्जनाको आँखा खुलेको थियो । फेरि घामको पहिलो सुकोमल किरणले उसलाई झस्काएको थियो । उसले सोधेकी थिई– “म अहिले कहाँ छु ?…”
“तपाईं अहिले अस्पतालमा हुनुहुन्छ…”
“म को हुँ…”
यसको जवाफ कहीँबाट आएन । रञ्जनाले मनको कुनै कुनामा सोची– यसपालि पनि यो नश्वर देह त्याग गर्न सकिन्छ । सोच्ता न सोच्तै ऊ बेहोस भई । वातावरण मौन देखियो । प्रहरीले लिन लागेको बयानको कागज आफ्नै ब्यागमा राख्यो । रञ्जनाका त्यहाँ उपस्थित केही छिमेकीका आँखामा फेरि अविश्वासका रेखा देखिए । तिनीहरू चाहन्थे यसपालि पार भई जावस् । यौटी अधबैंसे बूढीले विस्तारै कुरा खोली– यस पटकसमेत पाँच पुग्यो होला । सन्तानको नाममा यौटी कान्छी छोरी हो । जेठी छोरी अर्काको घरमा गइसकी ।
“लोग्ने छैन ?…” कसैले प्रश्न गर्यो ।
“लोग्ने मरेको पनि पाँचै वर्ष भयो । यो छोरी पनि गर्भे टुहुरी हो– पाँचैमा हिँड्दै होली…” त्यही बूढीले कानेसाउतीमा जवाफ दिई । अनि त्यही बूढीले यौटा चकलेट त्यस सानु केटीलाई दिई र आफ्नो गुनासो पोखी– “यही सानी छोरीको अनुहार हेरेर पनि त्यसले यस्तो पापी काम गर्न नहुने ।”
ढोका खुल्यो । नर्स, डाक्टर र प्रहरी एकैपटक भित्र पसे । डाक्टरले नर्सलाई प्रश्न गरे– “रोगीको अवस्था कस्तो छ सिस्टर ?”
“अगि एकपटक होस् आएको थियो । अहिले फेरि छैन । डाक्टर साहेबले एकपटक राम्ररी हेरिदिनु हुन्छ कि ?…” नर्सले अनुरोध गरी ।
डाक्टरले रोगीको छाती र अन्य भागहरू जाँचे । एकैछिनमा निर्णय सुनाए– “फेरि होस् आउन सक्छ । फिप्टी–फिप्टीको अवस्था छ । हिजो मैले लेखिदिएको औषधि नै चालु राख्नू । बाँकी भगवानको कृपा ।”
डाक्टरले तिनै महिलालाई सोधे– “तपाईं यिनको को हो ?”
“म माइजू हुँ…र छिमेकी पनि । हरेक वर्ष यिनले यस्तै कुकर्म गर्छिन् र म दुःख पाइरहन्छु डाक्टर साहेब । लोग्ने मोटरसाइकल एक्सिडेन्टमा परेर गए । यो सानी छोरी हो– अञ्जु । डाक्टर साहेबलाई नमस्कार गर नानी ।”
उसको यत्ति कुरा नसकिँदै डाक्टर बाहिर गए । अञ्जुले सकी–नसकी जोडेको हात बीचमै थामिए । अञ्जु अगाडि बढेर बेडको छेउमा कराई– “मम्मी ! मेरी मम्मी ! अब उठ्नुहोस्– हाम्रो घर जाऊँ ।”
पानी परे पनि बाहिर गर्मी नै थियो । माइजूले झ्याल खोली र बाहिर हेरी । सहर भन्नु धुवाँ र धुलो मात्र थियो । कालो बादल टाढा कतै मडारिइरहेको देखेर उसले सोची– ‘फेरि पानी पर्लाजस्तो छ । छाता नलिई आइयो, अब के हुने हो ? राति कुरुवा को पठाउने ? बर्बादै भो बा !’
धेरै परका खाली र नांगा डाँडाहरू हेरेर उसले तिनलाई दन्त्यकथाको राक्षसले दाह्रा निकालेर सहरलाई निल्नै लागेको सत्यलाई स्वीकारी । यी सबै भ्रम थिए । उसले झ्याल बन्द गरी र लामो हाई गरी । निद्रा लाग्ला जस्तो भो । ‘राति निद्रा परेको होइन…’, उसले आफैंभित्र सोची ।
सत्यचाहिँ उसको अगाडि थियो– भान्जीको मृत्युसँगको अनवरत् संघर्ष । उसले धेरैपल्ट धेरै किसिमले मर्न चाहिँ । लोग्ने मरेकै वर्ष भर्खर जन्मेकी छोरीलाई छातीमा बाँधेर टोलको इनारमा हामफालीदिई । बिहान सखारै पानी लिन जानेहरूले हल्लीखल्ली गरे । टोलका सारा लागेर जिउँदै आमाछोरीलाई बाहिर निकाले । तैपनि अनेकौँ झन्झटहरूले छाडेनन् ।
ती हिजोका दिनहरू थिए ।
टोलमा रञ्जनाले आत्महत्या गर्न खोजेको कुरा आगो झैँ फैलियो । उसलाई स्कुलमा काम दिनुहुन्न– केटाकेटी बिग्रन्छन् भन्ने हल्ला पनि हावा झैं फैलियो । अनि रञ्जनाको टाउको कहिल्यै ठाडो भएको देखिएन । ऊ सधैँ केही बिर्सिरहेकी जस्ती, सधैँ केही सम्झिरहेकी जस्ती भई । उसको स्फूर्ति र चञ्चलता कहीँ कतै हराएको थियो । उसले हाँसेको कहिल्यै देखिएन– सधैँ गम्भीर र शून्यवत् !
“रन्जना ! हुने कुरा भइसक्यो । तिमीले आँसुकै समुद्र बगाए पनि सुरेन्द्र फर्कंदैन । अझ तिम्रो उमेर छ । सपनाहरू छन् र आकांक्षाहरू छन् । कि अर्को सुरेन्द्र हामी खोजौँ ?…” माइजूका यी कुरा सुनेर ऊ ह्वाँ–ह्वाँ रून लागी । मानौँ भर्खरै सुरेन्द्र मरेको हो । माइजूलाई फकाउन धेरै गाह्रो भयो ।
“तपार्इं पनि मलाई यस्तो ठान्नुहुन्छ माइजु’ भनेर ऊ अझ धेरैबेर रोइरही ।
अनि फेरि यस्तो दिन आयो ।
कोठाको सिलिङमा रञ्जनाले झुन्डिएर देहत्याग गर्न चाही । साथी छोरी सुतेकी थिई । आफ्नै पटुकीको पासो लगाएर उसले यस असार संसारलाई छाड्न चाही । तर उसका बाँच्ने दिनहरू सायद बाँकी थिए । छोरी ब्युँझेर रोई । पटुकी आफंै चुडिएर ऊ भुइँमा पछारिई । अनि सारा झ्याल ढोकाहरू बन्द गरेर ऊ धेरै दिन रोई मात्र रही ।
रञ्जनाले आँखा खोलेजस्तो लाग्यो । माइजू दौडेर बेडको छेउमा पुगी । उसको विगतको सानु तन्द्रा असमयमा टुुंगियो । ढोका खुल्यो र फेरि नर्स भित्र पसी । उसले रञ्जनाको जाँचबुझ गरी । सेलिन पानी फेरि दिई र संक्षिप्तमा भनी– “होस् आउला जस्तो लाग्छ । पहिलेको भन्दा प्रेसर बढेको छ ।”
अञ्जुले कुरा मोडी– “हजुरमम्मी ! मलाई भोक लाग्यो ।” माइजूले ब्यागबाट एक प्याकेट बिस्कुट झिकेर दिई– “ल यो खाँदै गर नानु ! तेरी आमालाई सन्चो हुँदै छ क्या ।”
‘यसपल्टचाहिँ यसलाई बचाउन पाए… अब यसलाई मकहाँ नै राख्छु– एकैछिन छाड्दिनँ । पहिला नै बुद्धि पुगेन’, माइजूले मनमा यस्तै केही सोची र बाहिर हेरी– साँझ पर्न लागेजस्तो ।
त्यही साँझसँगै विगतका अरू साँझहरू पनि आए । झुन्डिएर मर्न नसक्नुका घटनापछि रञ्जना पागल भएकी थिई । जसलाई देखे पनि ठूल्ठूला आँखाले हेर्थी र गाली गर्थी– तिमीहरूले नै मेरो लोग्नेलाई मारेका हौ । किन लाज पचाएर मेराअगाडि आउँछौं ।
अनि टोलका सारा युवाहरूलाई हकार्थी– तिमीहरू मलाई फकाउन आएका । मेरो लोग्ने मरेको छ भनेर यसरी हेपेर आँखा लडाउँछौ । कहिले त रञ्जना खुकुरी निकालेर सडकमा निस्कन्थी र कराउँथी– मलाई षड्यन्त्र गरेर मार्न खोज्नेहरूलाई म मुला झैँ काटेर देखाउँछु ।
भान्जी रञ्जना अब टोलकै समस्या भएकी थिई– माइजूका मात्र होइनन् । उसका लागि कत्ति स्वास्नी मरेका विधुरहरूसँग हात जोडियो । कतिपय अविवाहित बूढा–कुमारहरूसँग रञ्जनाको जिम्मेवारी लिने अनुनय गरियो । तर रञ्जनाको मानसिक असन्तुलन र भ्रमले कुनै कुरा पनि कहिल्यै अगाडि बढ्न सकेन । हरेक प्रस्तावमा ऊ डाँको छोडेर रून्थी । न केही कुरा हो भन्थी । न होइन, पर्दैन भन्थी । टोल छिमेक र नातागोताका सारा केरकार र प्रयत्नहरूलाई ऊ सहज रूपमा टार्थी– ‘होइन, तपार्इंहरूले मलाई के ठानेको ? म त्यति पतित भइसकेँ ।’
अनि समस्याहरू अरू बढ्थ्यो । कहिले तीस–चालीस स्लिपिङ ट्याबलेटहरू खाएर रञ्जना तीन दिन, तीन रात बेहोस हुन्थी र सबै हैरान हुन्थे । कहिले मुसा मार्न ल्याएको औषधिलाई आफ्नो भविष्य बनाउँथी । यसरी हरेक वर्ष माइजूले खपेकी थिई– रञ्जनाको देहत्यागको यो निरीह यात्रा ।
भोलिपल्ट उज्यालो नहुँदै माइजू अस्पताल पुगी । रञ्जनाले आँखा खोलेकी थिई अर्थात् उसको केही होस खुलेको थियो । “माइजू आइपुग्नुभो…” रञ्जनाले सानो स्वरले स्वागत गरी ।
“तिमीलाई कस्तो छ भान्जी नानी ! म त डराएकी थिएँ– के कसो होला भनेर । यसरी तिमीसँग दोहोरो कुरा गर्न पाइएला भन्ने आश मारिसकेकी थिएँ । धन्य भगवानको कृपा !…” उनले भनिन् ।
रञ्जनाका आँखाहरूमा केही हरिया रङहरू पोतिएको माइजूले देखिन् । वास्तवमा तिनी मायालाग्दी भएकी थिइन् । माइजूले विस्तारै सम्झाई– “यस्तो सातजन्म नरक परिने काम तिमी किन गर्छौ रञ्जु ! तिमीलाई के चाहिन्छ भन– हामी मामा–माइजूले पूरा गरिदिन्छौँ । तिम्रा आमा–बाले हामीलाई जिम्मा लगाएर गएका थिए । हामीले त्यो कर्तव्य पूरा गर्नुपर्छ, भगवानले हामीलाई के भन्लान् ।”
अनायास माइजूलाई रुन आयो । उनले केही गरे आँसु थाम्न सकिनन् । ती आँसुसँगै उनले हात जोडिन्– “‘बिन्ती छ रञ्जु ! अमर त कोही छैन । एक दिन त सबैले जानैपर्छ । तर यस अञ्जुका लागि पनि तिमीले यस्तो पापको बाटो लिनु हुँदैन ।”
माइजूलाई लाग्यो– रञ्जना ध्यानपूर्वक उनका शब्द–शब्द सुनिरहेकी छिन् । रञ्जनाका आँखामा आँसु टलपलाए । वास्तवमा उनी रोइरहेकी थिइन् । माइजूलाई संसारका सारा रञ्जनाहरू यसरी नै रोइरहेका छन् भन्ने लाग्यो । उनले दुबै आँखा छोपिन् । तर पनि अनायास उनले सम्झाइरहिन्– “रञ्जु ! तिमी आखिर के चाहन्छौ ? आफ्नो मनको कुरा नढाँटी, नलुकाई हामीसँग भन बा । कुनै डर वा धक मान्नु पर्दैन भान्जी नानी । तिमी हाँसीखुसी बाँचेको हेर्न मात्र चाहन्छौँ हामी । तिम्रा र हाम्रा जोरीपारी कत्ति हाँसिरहेका छन्, तिमीलाई थाहा छ ?…।”
“माइजू ! भूल भइहाल्यो– माफ माग्छु । यसपटक मलाई जसरी पनि बचाउनुहोस्…जसरी पनि…। जत्ति नै खर्चबर्च परे पनि…। आइन्दा यस्तो पाप मबाट हुने छैन । मलाई विश्वास गर्नोस् माइजू । अञ्जुलाई अब म पूरै टुहुरी बनाउन चाहन्नँ ।” किन किन रञ्जनाका स्वर लरबराए । तै पनि उसले बर्बराई– मलाई धेरै बाँच्न मन छ । मलाई अञ्जुलाई ठूली मान्छे बनाउन मन छ ! अब म उसको बिहे गराएर मात्र मर्छु ।
‘मलाई जसरी पनि बचाउनुहोस्… मलाई बाँच्ने मोह धेरै जागेर आयो… म बाँच्छु…बाँच्छु…बाँच्छु…डाक्टर !’ रञ्जना चिच्याउन खोजी, तर सकिन । माइजूले रञ्जनालाई हेरी, उसको अवस्था ठीक थिएन । ती अगिका रसिला आँखाहरू शून्य हुन लागेका थिए । रञ्जनाका हात–खुट्टाहरू एक्कासि हिउँ झैँ चिसा भइसकेका थिए ।
यौटा नाटकको अन्तिम पर्दा लागेजस्तो माइजूलाई लाग्यो । उनले हतारसँग नर्सलाई बोलाइन् । डाक्टर तुरुन्तै देखापरे र रञ्जनालाई जाँचेर साधारणसँग भनिदिए– “सी इज डेड्– आई एम सरी– तिनी गइसकिन् ।”
“डाक्टर साहेब ! रञ्जना गइसकिन् । तिनलाई अब बाँच्ने ठूलो इच्छा थियो डाक्टर साहेब….” माइजूले रूँदै भनिन् ।
बाहिर आकाशमा कागहरू नराम्ररी कराए ।





