बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दीनानाथ शर्मा : व्यक्ति एक, व्यक्तित्व अनेक !

दीनानाथ शर्मा : व्यक्ति एक, व्यक्तित्व अनेक !

कवि दीनानाथ शर्माको जीवनी, व्यक्तित्व र कृतित्व


  • माधव शर्मा
  • फाल्गुन २९ २०७७, शनिबार

प्राकृतिक रमणीयताले भरिपूर्ण पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिण पूर्वी सुन्दर गाँउ अमलाचौरमा अवस्थित गहतेरा भन्ने ठाउँमा पिता शशिधर पाध्या र माता यशोदा पाध्याका प्रथम सन्तानका रूपमा वि.सं. २००३ साल साउन ४ गते शुक्रबारका दिन दीनानाथ शर्माको जन्म भएको हो । उनी दुई छोरा र तीन छोरीमध्ये जेठा छोरा हुन् । सामान्य किसान परिवारमा जन्मे हुर्केका शर्माको लालनपालन सामान्य ढंगबाट नै भएको पाइन्छ । घर परिवारमा रोजगारी नभएर आर्थिक विपन्नता भएता पनि प्रशस्त जग्गा जमिन भएका कारण समय र परिवेश अनुसार बाल्यकाल सुखमय नै बित्यो । रमणीय एवं ऐतिहासिक स्थान बलेवा भैरवस्थानको कोटसँगै रहेको अमलाचौरमा शर्माको बाल्यकाल विस्तारै अघि बढ्दै गएको पाइन्छ ।
शिक्षाको पहिलो खुड्किलो आफ्नो घर भएकाले सामान्य अक्षर घरमै सिके पनि मध्यम वर्गीय कृषक परिवारमा जन्मिएका उनले गाँउमा पठनपाठनका लागि उपयुक्त वातावरण नभएको हुदाँ निकै चुनौती बेहोर्नु परेको थियो । प्रारम्भमा गुल्मेली वेदान्ती वैष्णव गुरूबाट अक्षरारम्भ गरेका शर्माले डाँडाँखेते पण्डित भनेर चिनिने पण्डित छविलालसँग वैदिक ज्ञान हासिल गरेका थिए । शर्माले प्रारम्भिक औपचारिक शिक्षाको सुरुवात भने छिमेकी दाजु डिल्ली प्र. पौडेलको सहयोगमा १३ वर्षको उमेरबाट प्रारम्भ गरेका हुन् । उनले वि.सं. २०१७ साल भदौबाट पैयूँपाटामा स्थापना भएको त्रिभुवन मिडियम स्कुलमा कक्षा ५ मा भर्ना भई अंग्रेजी शिक्षाको अध्ययन प्रारम्भ गरेका थिए । उनले प्रारम्भिक चरणको अध्ययनमै आफ्नो कुशाग्ग्र बुद्धिका कारण प्रथम स्थान प्राप्त गरी पारिवारिक खुशी तुल्याएका थिए । त्यसपछि राष्ट्रिय बहुद्देश्यीय मा.वि पोखरामा अध्ययन सुरु गरेका शर्माको बालमस्तिष्कमा तत्कालीन शासन व्यवस्थामा राजा महेन्द्रले ‘कु’ गरेर पञ्चायतको घोषणा गरे लगत्तै नेपाली काङ्ग्रेस समर्थक आफ्ना गुरू घनश्याम मस्र्यानीको गिरफ्तारीले उनको राजनीतिक चेतनालाई तरङ्गीत् पार्नुका साथै अध्ययन कार्यलाई पनि प्रभाव पा¥यो । तत् पश्चात पुनः पैयूँपाटामै पढाइलाई निरन्तरता दिन पुगेका शर्माले कक्षा १० सम्म अध्ययन गरि परिस्थितिबस वि.सं. २०२३ सालमा बनारसबाट प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरी इन्टरमिडियट सम्मको अध्यायन पुरा गरेर त्रि.वि. बाट वी.ए. प्राइभेट र वी.एड. नियमित इनसर्भिस उत्तीर्ण गरेपछि वि.एल गर्दै गर्दा राजनैतिक कारणले जेल जीवन बिताउन बाध्य भए । शर्माको स्नातक गर्ने चाहना पूर्ण हुन सकेन ।
मानिस सामाजिक प्राणी हो । सामाजिक जीवनका विभिन्न अपरिहार्य तत्वमध्ये विवाहलाई पनि महत्वपूर्ण मानिन्छ । शर्मा वामपन्थी राजनीतिमा लागेका व्यक्ति भएका कारण अन्तरजातीय विवाह गर्ने चाहना भएता पनि कुल परम्परा र वैदिक विधान अनुसार चन्द्रकला आचार्य (सरला शर्मा)सँग २३ वर्षको उमेरमा विवाह गरे । विवाहपछि राजनीतिक झण्डा बोकेर पञ्चायत विरोधी नेता, सामाजिक अगुवा तथा शिक्षक भएर हिडेको लोग्नेलाई सहयोग गर्दै सरलाले आफ्नो कृषक जीवनलाई सार्थक तुल्याएकी थिइन् । श्रीमान्का सम्पूर्ण बाधाअड्चनको सामना गर्ने अर्धाङ्गिनी सरला र शर्माबाट तीन छोरी र दुई छोराको जन्म भएको छ ।
बालबालिकाको पहिलो पाठशाला घर हो । हरेक मानिसले घरपछि समाज, वातावरण आदिबाट धेरै कुरा सिक्ने अवसर पाउँछ । साहित्य लेखनमा शर्मा निश्चित व्यक्तिका निश्चित कृतिबाट मात्रै प्रभावित नभई जीवनका कटु यथार्थपरक भोगाइ, सामाजिक र राजनीतिक पक्षहरूबाट पनि लेखनमा आकृष्ट भएको पाइन्छ । यसै गरी प्राकृतिक सौन्दर्यता, जीवन भोगाई, शासक वर्गको जीवन चरित्र, शासन पद्धति, निम्न मध्यमवर्गीय एवं मजदुर वर्गका साथमा सर्वहारा वर्गका पीडा तथा वेदनाका मार्मिक अभिव्यक्तिहरू उनका साहित्यिक लेखनका केन्द«बिन्दु मानिन्छन् । साहित्यिक क्षेत्रलाई उत्तर आधुनिकताले नराम्रोसँग गाँजेको परिवेशमा सामाजिक रूपमा देखिएका यथार्थपरक घटनाक्रम, राजनैतिक परिस्थितिका साथै वर्गीय द्वन्द्व पनि कवि मनमा साहित्य सिर्जनाको धरातलका रूपमा प्रस्फुटन भएको बुझिन्छ । यिनै परिवेशबाट शर्मालाई साहित्य लेखनको प्रेरणा मिलेको पाइन्छ । प्रारम्भिक साहित्य लेखनको प्रेरणा भने शर्माले भोजपुरे गुरू भनेर परिचित शिक्षक पूर्णप्रकाश नेपालबाट पाएका थिए । उनी साहित्य लेखनको सुरूदेखि नै पूर्वीय साहित्यका आदिकवि भानुभक्त, वी.पी., सम र देवकोटाबाट बढी नै प्रभावित थिए भने अन्तर्राष्ट्रिय साहित्यकारतर्फ राहुल, प्रेमचन्द, लुसुन, गोर्की र टाल्सटाय जस्ता साहित्यकारलाई प्रेरणाका स्रोत बनाएका शर्मालाई चिन्तन धाराका हिसाबले माक्र्स, लेनिन र माओको सिद्धान्त अनुशरण योग्य लागेको छ । मानव चेतनाभित्र र बाहिरको वस्तुगत यथार्थप्रति अगाध प्रेम गर्ने शर्माले आफ्ना कृतिमार्फत सामाजिक विभेद र उत्पीडनमा पारिएका गरिखाने वर्गको पक्षमा उभिएर आफ्ना अभिव्यक्तिहरू बुलन्द पारेका छन् ।
सानै उमेरदेखि साहित्यिक क्षेत्रमा लागेका शर्माका थुपै कविता, निबन्ध, नियात्रा र फुटकर लेख रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनको सिर्जनाको संसार कविता र निबन्धमा मात्र सीमित छैन । सैद्धान्तिक वैचारिक र दार्शनिक चिन्तन विवेचन गरी पस्किएका पाँचवटा राजनीतिक कृतिहरू समेत छन् । शर्माले राजनीतिक यात्राको क्रममा राजनैतिक वैचारिक लेख ‘सशस्त्र सङ्घर्षबारे विश्व सर्वहारा दृष्टिकोण’ (२०५६) पुस्तक प्रकाशन गरेकै कारण पार्टी कार्वाहीमा परेका थिए । राजनैतिक परिवेशका कारण प्रकाशनार्थ पठाएको पहिलो कथा सङ्ग्रह प्रेसबाटै जफत भएको थियो भने, उनका अन्य प्रशस्त कथा, कविता र सिर्जनाहरू द्वन्द्वकालमा नष्ट भएको जानकारीमा आउँछ । कवि शर्माका प्रकाशित पुस्तकहरूबाहेक हालसम्म कैयन फुटकर लेख रचनाहरू विभिन्न दैनिक एवं साप्ताहिक पत्रपत्रिकामा प्रकाशित छन् ।
साहित्यिक क्षेत्रमा अग्रस्थानका कवि एवं निबन्धकारको छवि बनाउन सफल शर्मा राजनीतिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सक्रिय एवं बौद्धिक व्यक्तित्व हुन् । वर्तमान समयमा राष्ट्रिय सभा सदस्य रहेका कवि शर्माले वि.संं. २०२२ साल चैत्रमा त्रिभुवन मा.वि. पैँयूपाटामा मासिक ९० रुपैँया तलब पाउने गरी शिक्षण पेसा सुरु गरेका थिए । त्यसपछि क्रमशः पृथ्वी प्रा.वि. अमालाचौर, बिजुवा प्रा.वि पैँयूथन्थाप, अमर नि.मा.वि बिहुँ, जनता मा.वि. सर्कुवा, बाग्लुङमा अध्यापन गराएका थिए । त्यसैगरी वि.सं. २०२९ सालमा लक्ष्मी नारायण नि.मा.वि अमलाचौरमा प्रधानाध्यापक भए । त्यसै समयमा दुईवर्षे इनसर्भिस डिप्लोमा गरेपछि वि.सं. २०३३ सालबाट पुनः त्रिभुवन मा.वि पैँयूपाटामा अंग्रेजी पढाएका थिए ।

माधव शर्मा (लेखक)

शिक्षण पेसालाई गौण बनाएर वामपन्थी राजनीतिमा सक्रिय रहेका शर्मा वि.सं. २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको संस्थापक सदस्य बनेर शिक्षक हकहितको पक्षमा सक्रिय भूमिका खेलेका थिए । वि.सं. २०३६ सालमै जेलजीवन बिताउन बाध्य भएका शर्मालाई वामपन्थी राजनीति गरेको आरोपमा त्रिभुवन मा.वि सञ्चालक समितिको सिफारिसमा जिल्ला शिक्षा समितिले १८ बर्षे स्थायी जागिरबाट बर्खास्त ग¥यो । शर्माले वि.सं. २०४० साल माघमा आफ्नै गाउँ अमलाचौरमा रहेको पृथ्वी प्रा.वि.लाई पृथ्वी मा.वि.मा रूपान्तरण गरे, त्यसपछि अस्थायी अनुमतिको लडाइमा सघाएको भन्दै पञ्चायती शासकले डिल्ली प्रसाद शर्मालाई जिल्ला शिक्षा अधिकारीबाट बर्खास्त गरेको थियो । लगत्तै पृथ्वी मा.वि. अमालाचौरमा पढाउन पुगेका शर्माले वि.सं. २०४२ साल वैशाख २ गतेसम्म पढाएका थिए । त्यसपछि वामपन्थी राजनीति गरेको भनेर राज्यले देशव्यापी वारेन्ट जारी गरिसकाले वि.सं. २०४२ देखि ०४६ सम्म शर्माले भूमिगत जीवन बिताएका थिए । शिक्षक, विद्यार्थी र अभिभावक बीचमा इज्जत र सम्मान कमाउन सफल शर्मा पेशागत जीवनमा शिक्षक, समाजसेवी र वामपन्थी राजनीतिका सक्रिय नेता मात्र नभएर साहित्यले अगुवाई गर्छ युगको, साहित्य रसिक हराभरा छ, कला र सौन्दर्य यसको आत्मा हो, राजनीति चैते धुप हो, वसन्तको बहार साहित्य हो, भनेर परिभाषित गर्ने साहित्यिक व्यक्तित्व हुन् ।
शर्मा उमेरले ७३ वसन्त पार गरिरहदा समय अनुसार विभिन्न किसिमका सेवामा आपूmलाई सरिक तुल्याउदै आएका छन् । वि.सं.२०२२ सालदेखि अनवरत रूपमा शिक्षण पेसामा लागि परेका उनले शिक्षाको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण छ । बाल्यकालदेखि नै साहित्यिक क्षेत्रमा रूचि राख्दै आएका शर्माले १८ वर्ष शिक्षण पेसा अँगाली वाम राजनीति, सामाजिक अगुवा एवं सफल साहित्यकारका रूपमा सुपरिचित छन् । साहित्यिक क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई ‘राष्ट्रिय निबन्ध तारा पुरस्कार–२०७३’, ‘स्रष्टा सम्मान–२०७४’, ‘उत्तमशान्ति पुरस्कार–२०७४’, ढोरपाटन राष्ट्रिय दैनिकद्वारा प्रदान गरिने– ‘नेपाली भाषा साहित्य सिर्जना पुरस्कार–२०७३’, ‘सत्यमोहन जोशी शताब्दी पदक–२०७४’, ‘रत्नश्रेष्ठ पुरस्कार तथा सम्मान–२०७५’, ‘संविधान सभा पदक–२०७६’ आदि पुरस्कार तथा सम्मानपत्रले सम्मानित गरिएको पाइन्छ ।
व्यक्तित्वको कुरा गर्दा सधै सफा सुग्घर र हसिँलो अनुहार देखिने शर्मालाई कोमल हृदय भएका मिलनसार र मृदुभाषी व्यक्तित्वका रूपमा चिनिन्छ । आफ्नै स्वदेशी उत्पादनलाई विशेष ग्राह्यता दिनुपर्छ भन्ने शर्माले साधकीय जीवन ज्यूँन मन पराउँछन् । जीवनमा अनेकौं हण्डर र ठक्कर खाएका शर्माले आफ्नो सङ्घर्षशील जीवनचर्याबाट कहिल्यै हरेस् खाएनन् । “दुश्मनका अगाडि कायर बनेर कायलनामा कहिल्यै नगर्नु बरू मरेर जानु” भन्ने आमाको महान् भनाइले उनलाई सधै डटिरहन साहस मिल्यो । शर्माले जीवनलाई दुःख, सुखको संगम, आँशु र हाँसोको दोभान र सङ्घर्षको पर्याय मान्दछन् । उनी भन्छन् आफू अलि उदार र खुला प्रकृतिको भएकाले जीवनमा धेरै शत्रु कमाउनु परेको छैन । बाल्यकालदेखि नै निरन्तरको अभ्यासले साहित्य लेखनमा बढी केन्द्रित बनेका शर्माको रूचि पछिल्लो समय साहित्य लेखन मै आकृष्ट भएको पाइन्छ ।
स्रष्टा जन्मेको देश, बाचेको समय र खाइखेली हुर्केको परिवेशबाट उसको सिर्जना अनुप्राणित हुन्छ । ऊ आफ्नो देश, काल र व्यक्तित्व भन्दा पर गएर सिर्जना र कल्पना गर्न सक्दैन, यसको तात्पर्य सर्जकले आफूले जे भोग्छ र जस्तो अनुभव गर्छ त्यसैबाट पैदा हुने अनुभूतिलाई कल्पनाको रसायनबाट कलात्मक अभिव्यक्ति दिएपछि मात्र एउटा सुन्दर रचना तयार हुन्छ । शर्माले भौतिकवादी दर्शनको पक्षपाति भएर मानवचेतना भित्र र बाहिरको यथार्थप्रति विश्वास राख्र्दै सामाजिक विभेद र उत्पीडनमा पारिएका सर्वहारा गरिखाने वर्गको कित्तामा उभिएर लेखिने कलात्मक अभिव्यक्ति, अनुुभूतिको सुन्दर र शिष्ट प्रस्तुति नै साहित्य हो, साहित्य जीवन दर्शक र सौन्दर्य हो भन्दछन् ।
सामाजिक एवं राजनीतिक सिलसिलामा विभिन्न स्थानको दौडाहाका क्रममा आँखै अगाडि देखिएका भाव र रहस्यका साथै सामाजिक विसंगति, वर्गीय विषमता, शोषणको विरोध, सर्वहारावर्गप्रति सहानुभूति र मानवीय जीवनका यथार्थपरक घटनाक्रममा केन्दि«त रहेर कविता लेख्ने शर्माको कविता यात्राको प्रस्थानबिन्दुका रूपमा आफै सम्पादक रहेको धवलागिरी छात्र मण्डल वनारसको साहित्यिक पत्रिका ‘सिर्जना’मा ‘गुलाबप्रति’ कविता वि.सं. २०२३ मा प्रकाशन भएको हो । शर्माले हालसम्म सैद्धान्तिक, वैचारिक र दार्शनिक चिन्तन विवेचन गरी पस्किएका पाँचवटा राजनैतिक कृतिहरूसहित पाँच निबन्ध सङ्ग्रह, १ नियात्रा सङ्ग्रहका साथमा १ कविता सङ्ग्रह गरी दर्जनको संख्यामा कृतिहरू प्रकाशन गरेका छन् भने केही कथा र कविता सङ्ग्रहहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् । यसरी हेर्दा शर्मालाई एक सशक्त कवि एवं साहित्यिक व्यक्तित्वको रूपमा हेर्न सकिन्छ ।
दीनानाथ शर्मा कवि, निबन्धकार तथा नेपाली राजनैतिक एवं सामाजिक व्यक्तित्वका रूपमा समेत परिचित नाम हो । उनले विभिन्न साहित्यिक, सामाजिक र राजनीतिक पदीय जिम्मेवारीमा रहेर नेपाल र नेपाली साहित्यका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । पूर्णतः राजनैतिक क्षेत्रमै आफ्नो जीवनलाई व्यस्त बनाएका शर्मामा वि.सं. २०१५ सालबाटै राजतैतिक चेतना जागृत भएको पाइन्छ । वि.सं. २०२३ सालबाट सार्वजनिक रूपमा साहित्यिक क्षेत्रमा देखा परेका शर्मा १८ वर्ष शिक्षण पेसामा कार्यरत रहि शिक्षा क्षेत्रको उन्नतिका लागि वि.सं. २०३६ सालमा नेतृत्वदायी शिक्षक आन्दोलन गरे ।
बागलुङको कम्युनिस्ट आन्दोलन स्थापना र सङ्घर्षमा अग्रपंक्तिका सक्रिय नेता समेत रहेका शिक्षक शर्मा तत्कालीन समयमा मसालका सक्रिय नेता थिए । सामन्तीका किर्ते तमसुक च्यात्ने, रक्सी विरोधी अभियान चलाउने, स्थानीय सामन्ती शासकहरूलाई कार्वाही गर्ने, जनतालाई सङ्गठित गर्ने, राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने, माक्र्सवादी अध्ययन सामग्री प्रचार गर्ने, प्रेम विवाह गराउने जस्ता कार्यमा लाग्दै पार्टीभित्र र बाहिर सङ्घर्ष गर्दै आएका शर्मा सन् १९८७ मा मुम्बैमा भएको रीमको दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा सङ्गठन इन्चार्ज र नेकपा (माओवादी)मा प्रवेश गरेपछि कम्पोसाको संयोजक भएका थिए । त्यस लगत्तै वि.सं २०४३ मा काठमाण्डौमा पार्टी इन्चार्ज बनेका उनी वि.सं. २०४६ मा पञ्चायत विरोधी आन्दोलनमा सक्रिय रहे, वि.सं. २०५० सालमा मसाल समूहबाट विद«ोह गरी नेकपा (मसाल) विद«ोही समूह गठन गरे । वि.सं. २०५७ पुस ११ गते माओ जयन्तीका दिन नेकपा (माओवादी) सित पार्टी एकता भएपछि पोलिट्ब्यूरो सदस्य भएका नेता शर्मा वर्तमान राजनैतिक परिवेशमा नेकपाबाट राष्ट्रिय सभाका सदस्य भएर कार्यभार सम्हालेका छन् । अहिले जीवनको ७३ औं वसन्तमा दौडिरहेका शर्मा कम्युनिस्ट पार्टीमा लागेर सामाजिक एवं राजनीतिक क्षेत्रमा काम गर्न थालेको ५३ वर्ष भएको बताउँछन् । क्रान्ति निरन्तर चल्ने प्रक्रिया हो र चलिरहेको छ । म मेरो यात्रा अविराम दौडाइरहेको छु उनी भन्छन् नेपालमा क्रान्ति पूरा हुन अझै बाँकी छ । त्यसका लागि विगतमा भन्दा झनै सक्रिय बन्नुपर्ने आवश्यकता महशुस हुन्छ ।
शर्माले प्रारम्भिक चरणको अध्ययनका क्रममा भोजपुरे गुरूले परिचित पूर्णप्रकाश नेपालद्वारा साहित्यिक पे्ररणा प्राप्त गरेका थिए । पुरानो अर्थात आफ्ना बाजे बराजुको पालामा गाउँका शोषक सामन्ती केही व्यक्तिको मिलेमोतोमा जग्गा गुमाउनु परेको परिवेशका कारणले उनको परिवार तत्कालीन शासक वर्गप्रति असन्तुष्ट थियो । यी र यस्तै परिस्थितिका बिच सामाजिक असमानता, विकृति, विसङ्गतिका विरुद्ध लड्नु पर्छ भन्दै शर्मा सन् १९७९ मा कम्प्युनिस्ट पाटीको सदस्यता लिएर अगाडि बढेका थिए । यसरी राजनीतिक चेतनाको गहिरो छाप परेका शर्माले वि.सं. २०१७ सालदेखि लेखेका प्रशस्त साहित्यिक कृतिहरू द्वन्द्वकालमा सेनाद्वारा नष्ट गरिएको थियो । विद्यार्थी कालदेखिबाट नै साहित्यिक एवं राजनीतिक यात्रा प्रारम्भ गरेका शर्मा वि.सं. २०२८ मा केन्द्रीय न्युक्लियस चौममा सक्रिय भए, वि.सं. २०२६मा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सदस्य बने, शिक्षक आन्दोलनमा सक्रिय शर्मालाई पञ्चायती शासकले वि.सं. २०४१ मा स्थायी शिक्षकबाट बर्खास्त गरी देशव्यापी वारेन्ट जारी गरेपछि वि.सं. २०४२ वैशाखबाट भूमिगत जीवन बिताए । त्यसै समयदेखि नेकपा (मसाल)को केन्द्रीय नेतृत्वमा क्रियाशील शर्माले वि.सं. २०४६ मा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको गठन र चैत्र २४ को कार्यक्रममा भूमिगत नेतृत्व गरेका थिए । उनी वि.सं. २०४७ मा नेकपा (मसाल)को पार्टी प्रवक्ता, २०५५ मा पार्टीमा विद्रोह गरी नेकपा (मसाल) विद्रोही समूहको महासचिव, वि.सं. २०५७ मा नेकपा(माओवादी)सित पार्टी एकता गरी पोलिट्ब्यूरो सदस्यको जिम्मेवारीसहित जनयुद्धमा सामेल भएका शर्माले वि.सं. २०६०को सरकार र माओवादी वार्ताको आन्तरिक सहजकर्ताका साथै वि.सं. २०६३ पछि शान्ति वार्ता टोलीको सदस्य रहेर बृहत् शान्ति सम्झौता र अन्तरिम संविधान निर्माणलाई तार्किक निष्कर्षमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् ।
कम्युनिस्ट राजनीति नजिक रहेका शर्माले राजनैतिक दौडाहाकै क्रममा सैद्धान्तिक, राजनीतिक र वैचारिक लेख ‘सशस्त्र सङ्घर्षबारे विश्वसर्वहारा दृष्टिकोण’ प्रकाशित गरेका कारण पार्टीबाट कार्वाहीमा परेका थिए । यस्तै उनका ‘संसदीय चुनाव बहिष्कार र उपयोगको प्रश्न’, ‘युद्धविराम शान्ति वार्ता र अग्रगामी निकास सम्बन्धी विवादबारे’ ‘युद्ध र शान्ति बिचको द्वन्द्वात्मक सम्बन्ध’, ‘व्रmान्तिकारी विद्रोहका आधारहरू’ जस्ता राजनैतिक चेतना बुलन्दित भएका कृतिहरू प्रकाशित छन् भने ‘जीवन यात्रा र जीवन’ ‘अक्षरको खेती’ निबन्ध सङ्ग्रह, ‘तरङ्ग’ कविता सङ्ग्रह, ‘यात्रा र अनुभूति’ नियात्रा सङ्ग्रह, ‘हिम फुलेको रात’, ‘बाह्रखरीको बोटमुनि’, ‘कुलुङ्गाकी आमा’ निबन्ध सङ्ग्रहका साथमा विभिन्न गरिमा, मधुपर्क र गोरखापत्रलगायतका पत्रपत्रिकामा कविता, निबन्ध, संस्मरण र फुटकर लेख रचनाहरू प्रकाशित छन् ।
यसरी दीनानाथ शर्माको जीवनीगत काव्ययात्रालाई हेर्दा बाल्यकालमा प्रकृतिको रमणीयता, वसन्त ऋतुको उन्मादित भाव र उमङ्गले आफ्नो लक्ष्यलाई चरम उचाइमा पु¥याउने इच्छाका साथ अगाडि बढेको देखिन्छ । उनको लेखन कार्य विद्यार्थी कालबाटै प्रारम्भ भएको पाइन्छ । कम्युनिस्ट आन्दोलनमा सक्रिय शर्माले सामाजिक विषमता, वर्गीय विषमता, कुरीति, कुप्रथा, विकृति विसङ्गतिलाई आफ्ना रचनामा समाहित गरेका छन् । आत्मपरक निबन्ध लेखनमा बढि सक्रिय शर्माले विश्व राजनीतिक परिवेश चित्रणका साथमा राजनैतिक वैचारिक लेखन कार्यलाई समेत प्राथमिकतामा राखेको पाइन्छ । वि.सं.२०२३ सालबाट औपचारिक लेखन यात्रा सुरु गरेका शर्माका प्रारम्भिक कालका छिटपुट रचना सुरक्षित भए पनि वि.सं. २०२३ साल देखि वि.सं. २०५५ सालसम्मका कथा, कविता र निबन्ध अप्राप्य नै छन् ।
यसर्थ दीनानाथ शर्माको सिङ्गो साहित्यिक यात्रालाई नियाल्दा उनलाई स्वच्छन्दतावादी र प्रगतिवादी धाराका सशक्त प्रतिभा मान्न सकिन्छ । उनका कवितामा स्वच्छन्दतावादी मान्यता देशप्रेम, मानवतावाद, प्रकृतिप्रेम, भावनाको प्रधानता र सामाजिक विषयवस्तु समेटिएको पाइन्छ । यसैगरी परिवर्तनको चाहना, भविष्यप्रति आशावादिता, सामाजिक÷आर्थिक र राजनैतिक विषमता, वर्गविहीन समाजको अपेक्षा, शोषणको विरोध, विकृति विसङ्गति र मानवीय आडम्बरीपन, पुँजीपति वर्गको विरोध एवं व्यङ्ग्य प्रहार, सर्वहारा गरिखाने वर्गप्रति सहानुभूति, न्यायपूर्ण र समानतापूर्ण समाजको खोजीबाट प्रगतिवादी र राजनीतिक भ्र्रष्टता, मानवीय मूल्य र अस्मिताको खोजी आदि विषयवस्तुहरू कवितामा स्पष्ट पाइने हँुदा शर्मालाई प्रगतिवादी धाराका सशक्त कविको रूपमा चिन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->