बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चराले किन ढाँट्छ ?

चराले किन ढाँट्छ ?


  • विनयकुमार कसजू
  • चैत्र ७ २०७७, शनिबार

पहाडबाट पार्वती र उनका आमाबुबा दशैँको छुट्टीमा चितवनको जंगल घुम्न गएका थिए । उनीहरू एउटा हात्तीमा चढेर बाक्लो जंगलमा गैँडा, भालु र चराहरू देखिन्छ कि भनेर टाढाटाढासम्म हेर्दै थिए । घाम ढल्कन लागेको थियो । भाँतीभाँतीका चराहरू कराइरहेका थिए । माहुतेले खुट्टा र हातको इसाराले हात्तीलाई गैंडा भएको बाक्लो घाँसे जंगलतिर हाँक्दै थियो । उनीहरू चराको स्वर सुन्दै र रुख बिरुवाहरू हेर्दै माहुतेसँग ती चरा र रुख बिरुवाहरूको नाम सोद्धै अगाडि बढ्दै थिए ।
अचानक उनीहरूले आफूले चिनेको चराको स्वर सुने । कोइली चरी
‘काफल पाक्यो, काफल पाक्यो’ भनेर कराइ रहेकी थिई । त्यो सुनेर पार्वतीले माहुतेसँग सोधिन्,‘माहुते दाइ यहाँ काफल पाइन्छ ?’
माहुतेले पार्वतीको प्रश्न बुझेन । उसले उल्टै सोध्यो, ‘काफल भनेको के हो नानी ?’
पार्वतीले भनिन्,‘चराले ’काफल पाक्यो, काफल पाक्यो’ भनेको तिमीले सुनेनौ ?’
‘ए त्यो चराको कुरा ? त्यसले ’त टुरिस्ट आयो टुरिस्ट आयो’ पो भनेको हो त । तपाईँहरू हात्ती चढेर आएको देखेर टुरिस्ट आयो भनेर उसले अरुलाई थाहा दिएको हो नि ।’माहुतेको कुरा सुनेर पार्वती छक्क परिन् । उनले त चराले काफल नै भनेको सुनिरहेकी थिइन् । माहुतेले कसरी टुरिष्ट भनेको सुन्यो ? उनले बुझ्न सकिनन् । उनले अझै ध्यान दिएर कोइली चरीको स्वर सुन्न र वास्तवमा के भन्न खोजेको हो भनी निधो गर्न खोज्दै थिइन् ।

माहुतेले भन्यो,‘त्यो चराले धेरै कुराको जानकारी लिन्छ । यो जंगलमा आउने सबैसित उसले ’को हो को हो’ भनेर सोध्छ । टुरिस्ट भनेर चिनेपछि उसले जंगलमा टुरिस्ट आएको कुरा अरु चरा र जानवरलाई थाहा दिनेगर्छ । उसको कुरा सुनेर जंगलका बाघहरू लुक्न जान्छन् । गैँडाहरू होशियार हुन्छन् । अरु जानवर र चराहरू पनि मानिसहरूबाट जोगिन बाक्लो जंगलभित्र पस्छन् ।’
कोइलीले त पार्वतीको गाउँमा काफल पाक्यो भनेर सुनाउँछ । उसको स्वर सुनेपछि पार्वती साथीहरूलाई लिएर वनमा काफल टिप्न जाने गर्छिन् । तर त्यही चराले यहाँ आएर कसरी टुरिस्ट आयो भनेको होला ? पार्वतीको मनमा धेरै बेरसम्म कुरा खेल्यो । अनि उनले आमासँग सोधिन्,‘हाम्रो गाउँमा कराउने कोइली चरी र यहाँको कोइली चरी उही होइन र आमा ? किन त्यसले हामीकहाँ काफल पाक्यो भन्छ अनि यहाँ टुरिस्ट आयो भनेको ?’
पार्बतीको कुरा सुनेर आमाले हाँस्दै भनिन्, ‘छोरी कोइली चरीले न त काफल पाक्यो भन्छ न त टुरिस्ट आयो भन्छ । त्यो त हामीले सुन्दा त्यस्तो लागेको मात्रै हो । चरा र जानवरहरूको कुरा सुनेर मानिसहरूले आफूलाई काम लाग्ने वा मन पर्ने अर्थ निकाल्छन् ।’

लेखक

मानिसले आफ्नो पाठा काटेर खाओस् भनेर बाख्रीले पाठापाठी व्याएको पनि होइन । मानिसले आफ्नो स्वार्थको लागि तिनीहरूलाई पालेको हो ।

‘त्यसो भए त्यो कोइली चरीले काफल पाक्ने बेलामा काफल पक्यो, धान रोप्ने बेलामा बिऊ कुहृयो, अनि कोही मानिस आउँदा को हो को हो भनेर किन भनेको त ? त्यसले हामीलाई भनेकै होइन त आमा’, पार्वतीले सोधिन् ।
‘कोइली मात्रै होइन अरु चरा र स्याल, बाघ भालुजस्ता जानवरहरू पनि कराउँछन् । तर मासिलाई सुनाउन वा हामीलाई केही भन्नको लागि तिनीहरू कराएका होइनन् । कोइलीले कहिले को हो को हो, कहिले बिऊ कुहृयो, कहिले काफल पाक्यो भनेर बोली र भाका फेरेझैँ अरु चरा र जानवरहरूले पनि भाका फेर्छन् । बर्षा याममा भ्यागुता कसरी कराउँछ ? दशैँ आउने बेलामा दशैँ किराको कस्तो तीखो स्वर सुनिन्छ ? तिमीले हेक्का गरेकी छौ ?’ आमाले बुझाउन खोज्दै भनिन् ।
‘त्यसो भए पुतली, मौरी, चरा, खरायो नाचेको गाएको हामीलाई खुसी पार्न होइन त आमा ?’, पार्वतीले जान्न खोजिन् ।
‘पुतली र मौरीजस्ता किराहरूले फूलको रस खोज्न जाँदा हामीलाई तिनीहरू नाचेजस्तो लाग्छ । चराले आफ्नोसाथी खोज्दा वा चल्लालाई डाक्न खोज्दा तिनीहरूले गीत गाएजस्तो लाग्छ । साँच्चै भन्ने हो भने तिनीहरूको बोली र कामसँग मानिसको कुनै सरोकार नै छैन । मानिसले आफ्नोलागि तिनीहरूसँग सरोकार राखेका हुन् ।’ आमाले स्पष्ट पारिन् ।
‘हामीले चारा ख्वाएको हुनाले कुखुराले हामीलाई फुल दिन्छ । गाईले दूध दिन्छ होइन र आमा ?’ पार्वतीले शंका पोखिन् ।

आमाले मुसुक्क हाँस्दै भनिन् । ‘छोरी, कुखुराले हाम्रो लागि फुल पारेको होइन । उसले त सन्तान बढाउन फुल पारेको हो । तर मानिसले उसको फुल खाइदिन्छ । तैपनि कुखुराले यो कुरा बुझ्न सक्तैन र खुरुखुरु फुल पारिरहन्छ । त्यस्तै गाईले पनि आफ्नो बाच्छाबाच्छीको लागि दूध दिएको हो हाम्रो लागि पक्कै पनि होइन । हामीले त बाच्छाबाच्छीको भाग खोसेर खाइदिएको हो । मानिसले आफ्नो पाठा काटेर खाओस् भनेर बाख्रीले पाठापाठी व्याएको पनि होइन । मानिसले आफ्नो स्वार्थको लागि तिनीहरूलाई पालेको हो ।’
आमाको कुरा सुनेर पार्वती छक्कै परिन् । उनलाई चितवनको जंगलमा घुम्न होइन यहाँका जीवजन्तुहरूलाई दुःख दिन आएजस्तो लाग्यो । चरा र जानवरहरू उनीहरूसँग डराएर कराउँदै भाग्न लागेकोजस्तो लाग्यो । उनी आमाको काखमा घोप्टिएर एक छिन चुपचाप बसिरहिन् । अनि रुन्चे स्वरले आमालाई भनिन्, ‘आमा अबदेखि म कुखुराको फुल, दूध अनि मासु खान्न है ?’पार्वतीको कुरा सुनेर आमालाई पिर प¥यो, किनभने पार्वतीले कुनै काम गर्छु वा गर्दिन भनिन् भने त्यो पूरा नगरी छाडदिनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->