बागलुङ, ३ वैशाख– केही समयदेखि संक्रमणको दर निकै घटेको गण्डकी प्रदेशमा परीक्षण दायरा बढाएसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रवार मात्रै प्रदेशका विभिन्न जिल्लाहरूमा गरेर एक सय आठ जनामा संक्रमणको पुष्टि भएको छ ।
निर्देशनालयका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माद्वारा जारी गरिएको शुक्रवारको पहिला विज्ञप्तिमा दुई जिल्लाका १६ जनामा संक्रमणको पुष्टि गरिएको छ । उनीहरू कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका १५ जना र बागलुङको बागलुङ नगरपालिका–१ का एक जना छन् ।
दोस्रो विज्ञप्तिमा तीन जिल्लाका ३२ जनामा संक्रमणको पुष्टि गरिएको छ । उनीहरू पोखरा महानगरपालिकाको विभिन्न वडाका–२३ जना, बागलुङको बागलुङ नगरपालिका सात जना र तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई जना रहेका छन् । यस्तै निर्देशनालयको तेस्रो विज्ञप्तिमा नवलपरासीको देवचुली नगरपालिकाका एक जना तथा कावासोती नगरपालिकाका दुई जना गरी तीन जनामा संक्रमण भएको जानकारी दिइएको छ ।
चौथो विज्ञप्तिअनुसार तीन जिल्लाका ११ जनामा संक्रमणको पुष्टि गरिएको छ । उनीहरू कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका पाँच जना, स्याङ्जाको वालिङ नगरपालिकाका पाँच जना र गोरखाको चुमनुम्ब्री गाउँपालिकाका एक जना छन्। पाँचौँ विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै १७ जनामा संक्रमणको भएको जानकारी दिइएको छ ।
यस्तै छैटौँ तथा शुक्रवारको अन्तिम विज्ञप्तिमा विभिन्न चार जिल्लाका २९ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ । थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका २५ जना, बागलुङको बागलुङ नगरपालिकाका दुई जना, म्याग्दीको मङ्गला गाउँपालिकाका एक जना र पर्वतको जलजला गाउँपालिकाका एक जना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या सत्र हजार ८४ पुगेको छ । कोरोना संक्रमण पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सात पुगेको छ ।





