बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कौवा र मयुर

कौवा र मयुर


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७८, शनिबार

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’
उसले हाँसलाई भेटेर यो कुरा सुनायो । कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, ‘जबसम्म दुई रंगवाला सुगा देखेको थिइन, त्यति बेलासम्म त मलाई पनि म नै संसारको सबैभन्दा खुसी र सुन्दर छु, जस्तो लाग्दथ्यो । तर अहिले मलाई लाग्छ, त्यही सुगा संसारकै सबैभन्दा खुसी सुन्दर चरा हो ।’
त्यसपछि कागले सुगालाई पनि भेट्ने निश्चय ग¥यो । सुगाको नजिक गएर उसले भन्यो, ‘तिमी त कति खुसी होलाउ है ! सायद संसारकै सबैभन्दा सुन्दर र खुसी रहने पन्छी ।’ त्यसपछि सुगाले भन्यो, ‘मयूरलाई देख्नुअघि त म पनि यस्तै सोच्दथेँ । हरेक दिन खुसीसाथ बित्दथ्यो र सुखी पनि थिएँ । तर जब मयूरलाई देखेँ, त्यसपछि लाग्यो, ‘जाबो दुईवटा रंग भएको म त के सुन्दर ! सुन्दर त त्यो मयूर हो, जससँग दर्जनौँ रंगहरु छ । कति खुसी होला मयूर !’
सुगाको कुरा सुनिसकेपछि कागले मयूरलाई पनि भेट्न चाह्यो । मयूरलाई भेट्ने उद्देश्यले ऊ नजिकैको चिडियाघरमा पुग्यो । मयूरलाई हेर्न त्यहाँ सयौँ मानिसहरु झुम्मिएका थिए । देख्दा पनि निकै सुन्दर थियो त्यो मयूर । कागले एकछिन चुपचाप बसेर सबै गतिविधि नियाल्यो ।

मानिसहरु गइसकेपछि ऊ मयूरको नजिक गयो । अनि भन्यो, ‘तिमी त कति सुन्दर छौ । यति धेरै रंग तिम्रो शरीरमा छ । तिमीलाई देख्ने जो कोही पनि मोहित् हुन्छन् । कति खुसी छौ होला है ?’मयूर बोल्यो, ‘मलाई हमेशा लाग्थ्यो म नै संसारको सबैभन्दा खुसी र सुन्दर पन्छी हुँ । तर पछि महसुस भयो, मेरो यही सुन्दरताको कारण नै चिडियाघरमा थुनिएको छु । मैले यो चिडियाघरलाई निकै ध्यानपूर्वक नियालेँ ।म जस्तै अन्य धेरै सुन्दर पन्छीहरु यहाँ थुनिएका रहेछन् । तर, कौवालाई कतै देखिन । माथितिर हेरेँ कौवाहरु आफ्नै संसारमा मस्त थिए । जता मन लाथ्यो त्यतै पुग्थे, जे मन लाग्यो त्यही खान्थे ! त्यसपछि आजभोलि मेरो दिमागमा एउटा कुरा घुमिरहन्छ, ‘यदि म पनि कौवा भएर जन्मिएको थिएँ भने कति खुसी हुन्थेँ होला !’ मयूरको कुरा सुनिसकेपछि कौवाले निश्चय ग¥यो, ‘म नै सबैभन्दा खुसी रहने प्राणी हुँ ।’ त्यसपछि खुसी हुँदै फर्किएको कौवाले कहिले अरुसँग आफूलाई तुलना गरेन । अनि पहिलेजस्तै सुखसाथ बस्न थाल्यो ।

सन्देशः
यो कथाले निकै राम्रो शिक्षा दिएको छ । कौवा सोच्थ्यो हाँस सबैभन्दा खुसी छ, हाँसलाई लाग्थ्यो म त के हो र त्यो सुगा पो खुसी छ, उता सुगा मयूरको सुन्दरता देखेर मोहित थियो ।उसलाई मयूर नै सबैभन्दा खुसी छ जस्तो लाग्थ्यो । तर मयूरको नजरमा कौवा सबैभन्दा खुसी थियो । यसबाट के प्रस्ट हुन्छ भने अरुसँगको तुलनाले आफूलाई सधैँ दुःखी तुल्याउँछ । त्यसैले आफूसँग जे छ त्यसमा खुसी हुन सिक्नुहोस् । सारा समस्या र पीडाहरु विस्तारै हल हुँदै जानेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->