तिमी राम्री छौ भनेर भन्न पनि सक्दिन तिम्रो आँखामा आँखा जुधाएर । निदाएका आखाँहरु पनि तिमीलाई बिर्सन सक्दैनन् र त तिमी बेला बेलामा सपना बनेर आउँछौ । भो अब त सम्झिनन् भन्दा पनि मैले सम्झिने मान्छे तिमी नै हौ । बगैंचाभरि फुलेका फुलहरु हेर्दै तिमीलाई सम्झदै मुस्कुराउनुको मज्जा पनि बेग्लै हुन्छ । कल्पनाको संसारमा आफूलाई मन परेका मान्छेहरुलाई मात्रै सजाउन पाइन्छ । जो आफूलाई मन पर्दैनन् उनलाई समेट्नै पर्दैन । त्यसैले त मलाई कल्पनामा रमाउने बानी परेको छ ।
यस्तै यस्तै कुराहरु समेटेर मैले डायरी भरिसकेको थिएँ ।
सबै जना आफ्नो बारेमा लेख्छन् तर मैले उस्कै बारेमा लेखेरै डायरी भरिएको थियो । त्यसो त डायरीको नाम नै उसैको नामबाट राखेको थिएँ ‘सन्ध्या’ ।
यदि वैज्ञानिकहरुले प्रत्येक मान्छेले धेरै उच्चारण गर्ने शब्द थाहा पाउने मेसिन बनाए भने मेरो ओठले उच्चारण गर्ने नाम सन्ध्या नै हुन्थ्यो होला ।
‘तिमी त यो साँझभन्दा पनि नशालु छौ । मदिरा पिउनै पर्दैन । ‘रत्नपार्क माथिको पुलमा साँझपखको रौनक सधैजसो हेर्न लायक देखिन्छ । म उस्को आँखा हेरेर बोलेको थिए ।
उस्को मन्द मुस्कानले ओठमा गुलाब फक्रीहाल्यो । प्रायःजसो आँखामा गाजल र ओठमा लिपिस्टिक छुटाउदिन थि । ठुला ठुला आँखा; सर्लक्क परेको शरीर, गोरो गोलो अनुहार; फुकै छोडेको कपाल बेला बेलामा अगाडी–पछाडि मिलाईरहन्थी । जुन कपडा लगाउँथी नि लाग्थ्यो उस्कै लागि छुट्टै कम्पनीले पठाएको हुनुपर्छ ।
साँझ छिप्पिँदै थियो । पुलमा मान्छेहरुको चहलपहल घट्दै थियो । बाटोमा सार्वजनिक माईक्रो बसभन्दा निजी गाडीहरुको चाप बढेको थियो ।
‘अब त अध्यारो हुन थाल्यो ।’ सन्ध्याले बिस्तारै ओठ चलबलाई ।
‘तिमी छौ नि त जुन जस्तै ।’
‘कसरी हुनु म त ‘सन्ध्या’ साँझ हुँ । जति छिप्पिँदै जान्छ त्यति नै भयानक हुन्छु ।’
‘तिमी त दिन र रातको चञ्चलता हौ । यहाँ सबै रमाउँछन् । चरादेखि मान्छे सम्मको थकान मेटिन्छ । हरेक दिन मान्छेहरू साँझलाई कुरिरहन्छ । मैले जस्तै ।’
‘मेरो बुद्वुलाई गफ गर्न खुब आउँछ है ।’
‘मलाई पनि त साँझ मनपर्छ त्यो भन्दा पनि धेरै सन्ध्या मन पर्छ ।’
‘म त्यति राम्री छुँ र ?’ लजाएका आखाँहरु मेरो अनुहार भरि घुमाउँदै प्रश्न गर्थी ।
‘त्यो भगवानले बनाएको हैन तिम्लाई । भगवानले यति राम्रो बनाउनै जान्दैन । तिमी त आफैं बनेकी हौ ।’ मैले उस्को प्रश्नभन्दा पनि फरक जवाफ दिन्थेँ ।
‘म त साँझ हुँ । कति नै बेर रहन सक्छु र खै राम्री भएपनि नराम्ररी भएपनि ।’ मन विचार गरेरै छाड्ने जसरी कुरा गर्थी कहिलेकाहीँ त ।
‘तिमी हरायौ भने तन थाक्ने बेलासम्म हैन मन नथाक्ने गरी खोज्ने छु । धेरै सोच्दिन मैले जे मनमा आयो त्यही गर्छु ।’ प्रेम गर्नेहरुसँग बहानाहरु धेरै हुनछन् अनि बहानाभन्दा पनि धेरै चाहना हुन्छ । कल्पनाको धरातल बनेको नै प्रेमीहरुको लागि हो । कतिपय कुरा आँखाहरु बोल्छन् । केहि कुराहरु ओठले खोल्छन् । कहिलेकाहीँ ओठले ओठभित्रै गएर खोतलिदिन्छ ।
‘खोज्दा पनि भेटिईन भने ।’
‘जबसम्म तिमी छौ नि तबसम्म म जिवित रहन्छु मेरो प्रेम जिवित रहन्छ । प्रेम वाइफाइ जस्तो हैन रेन्जभित्र टिप्ने नत्र नटिप्ने यो त हर्ट टु हर्ट कनेक्सन हो, जहाँ पनि टिप्छ अनि सर्च गरिहाल्छ ।’
आखाँबाट प्रेमिल आँशुहरु खसाली अनि कसेर मलाई अंगालो हाली । उस्को र मेरो ओठको पनि त नाता थियो । ओठले ओठलाई चुम्बकले जस्तै आर्कषण गर्यो अनि छोएर छाडीहाल्यो ।
बागबजारको पद्म कन्या क्याम्पस नेरबाट सन्ध्या छुट्टीई । मैले उभिएरै परसम्म हेरिरहेँ । चोकनेरै पुगेर सन्ध्याले पछाडि फर्केर हेर्दै मुस्कुराउदै साँझ जस्तै बिलाएर गई ।
मनले धेरै परपर फड्को मारिरहेको थियो…
मनले धेरै परपर फड्को मारिरहेको थियो । मलाई त त्यहाँ जानुछ जहाँ कोही पनि पुगेका छैनन् । अनि दिल खोलेर मुस्कुराउनु छ । साँझ बिहान सँगै बसेर । सन्ध्याको मन र मेरो जिवन एकआपसमा परिपूरक बनाउन मन छ । जे छैन नि त्यहीँ कुराको अभावले सताईरहन्छ जिन्दगीमा ।
रात कसरी बित्छ त्यो उज्यालो दिनले महसुस गर्दैन तर बिहानले पर्खिएर बसेको हुन्छ ।
‘म भोलि कलेज आउँदिन ।’ म्यासेन्जरमा हिजो बेलुकीदेखि नै सन्ध्याको म्यासेजले कुरेर बसेको रहेछ । यक्टिभ आवरअघि सन्ध्या अनलाइन थिइन् । उस्को म्यासेज पढेपछि मेरो मुड पनि अफलाइन भयो । कलेज जान मन लागेन । मन नलागी नलागी भएपनि कलेज हिँडे । सधैं जसो मलाई कुरेर बस्ने ठाउँमा आँखा दौडिए तर सन्ध्या थिइन् । कलेजमा चिनेका धेरै साथीहरु थिए र पनि म एक्लै महसुस गरेको थिए । त्रिचन्द्रको गेटनेरै पुग्दा राजिब भेट भयो । घर पुर्वतिर हो भन्थ्यो । कलेज मै आएर चिनेको । सुरु सुरुमा संगै बसिन्थ्यो तर सन्ध्यासँगको चिनजानपछि नै उ सँगको सम्बन्ध पातलिएको थियो । आजसँगै बस्ने निश्चित नै थियो ।
कतिपय कुराहरु भेटिदैन भन्ने थाहा हुँदा–हुँदै पनि खोजिरहन मन लाग्छ त्यसैले होला आँखाहरु भौतारिएका थिए । बिहानभरि क्लास बसेँ तर केही पढिएन ।
‘मेरो मन फलाम जस्तो छ । तिमी पगाल्न सक्दैनौ ।’
‘मेरो मन चुम्बक जस्तै तिम्रो मनमा टाँसिएर बसेको छ ।’
‘तिमी पनि म जस्तै भयौ भने हामीहरु बिच विकर्षण बढ्नेछ ।’ उ फिस्स हाँस्दै बोली । साँच्चै फलाम फलामसँग मिल्दैन । आफ्ना आफ्नाहरुसँग मिल्दैनन् ।
बरु खिया लाएर सकिन्छन् फलाम जस्तै ।
‘मैले नै पहिले तिमीलाई चुम्बक बनाइसक्ने छु ।’ कुराकानी चुम्बकमा गएर अडियो । भृकुटीमण्डपको ठेलाको चटपट उ खुब रुचाउँथी । मलाई पनि बानी पारेकी थिई । चटपटे मुखमा राख्दै बच्चाले झै सवाल गरिरहेकी थिई । आँखालाई बेला बेलामा तलमाथि घुमाई रहि । मलाई उसका आँखा औधी मन पर्छन् ।
‘म त क्षत्रीकी छोरी हुँ ख्याल गर नि फेरि ।’ आफ्नो साहस जातबाटै जनाई हालि । म पनि के कम बोली हाले ।
‘म त फेरि बाहुनको छोरा हुँ नि ।’ हिमाल जस्तै सेता दाँत देखाउँदै मुसुक्क मुस्कुराइ । उ मुस्कुराइ रहँदा मैले संसार भुलिदिन्छु मात्र उस्लाई सम्झेर । मान्छे के भएर जल्छन् मलाई थाहा छैन तर मेरो लागि उस्का आँशुभन्दा प्रज्वलनशिल पदार्थ अरु केहि छैन । उस्को आँखाको आँसुले मेरो मन जलिहाल्छ ।
‘तिमी थोरै पनि मुस्कुरायौ भने म सजिलै तिम्रै ओठको बारे कविता लेख्दिन्छु ।’ उस्को ओठमा पर्पल कलरको लिबिष्टिक खुब सुहाउँथ्यो । उस्ले ओठलाई बन्द गरिहाली ।
‘ल अब चाहिँ नहाँसेको कविता लेख है ।’ हाँस्दिन भन्दा भन्दै पनि हासिँहाली, म पनि हाँसे एकछिन पछि चुपचाप भयौ । कोहि पनि बोलेनौँ । नबोली नबोली हिड्यो भने जो पनि अन्जान जस्तो भैदिने । नबोल्दा पनि म उस्कै बारेमा कल्पना गरिरहन्छु । उस्का ठूला ठूला आँखाहरु मेरा आँखा छोप्ने गरी डुल्छन् । उस्को ओठले पनि मेरो गालामा छाप लगाईरहन्छ । कपालका रौंहरु मेरो मनलाई बहकाई रहन्छन् ।
हामी तिनीहरुको बारे धेरै सोच्ने गर्छौँ जो दिलको करिब हुन्छन् । त्यसैले त मैले उस्कै बारे सोचिरहन्छु । उस्को अनुहारमा हेरेँ, उस्ले पनि हेरि फेरि मुस्कुराई ।
‘तिमी आज कलेज किन आइनौ ।’ पहिलेनै सोध्नु पर्ने प्रश्न बल्ल चुहिइयो ।
‘ममी घरमा हुनुहुन्थेन त्यसैले ।’
‘तिमी नभए त कलेज पनि अधेरो देखिने रैछ । साँझ पो मिठ्ठो हुन्छ । रात त डरलाग्दो ।’
‘ओहो ! भनेपछि आज पनि पढ्नु भएन ।’
‘मलाई पढाउने मान्छे तिमी नै थिइनौ कसरी पढ्नु ।’
उ साँकेतिक शैलीमा नै जवाफ फर्काइ । लाज माने झैँ गरि । फुल जति सर्माउछ नि उति नै सुन्दर देखिदो रहेछ । लालीगुराँसमा जस्तै लाली चढेको थियो गालामा ।
मलाई जति प्रेम गर्छे नि त्यो भन्दा नि धेरै हक जमाउन खोज्छे उ ।
…..
सन्ध्याको फोनले मोबाइल थर्कियो ।
‘तपाईंहरु जो मसँग एड्जस्ट हुन सक्नु हुन्न नि प्लिज मसँग टाढा हुनुस् तर मलाई तनाव नदिनुस् ।’
भर्खरै फेसबुकमा स्टाटस अपडेट गरेको थिएँ । त्यहि स्टाटसको रिजल्ट थियो सन्ध्याको फोन ।
पहिलै रिगँमा फोन उठाँए ।
‘किन ! आज अफसेट छौ हो ?’ उस्को स्वर धेरै मधुरो सुनियो ।
‘हैन हैन केही भा छैन ।’ खासै खुलेर जवाफ दिइनँ तर पनि आँ गरे अलंकार बुझिहाल्थी । म पनि धेरै अन्र्तमुखी स्वभावको मान्छे थिए । कसैले सामान्य कुरा गर्यो भने पनि मनमा छोइहाल्थ्यो । काँडा जस्तै बेला बेलामा चस्किरहने । जे कुरा पनि हल्का रुपमा लिने क्षमता ममा थिएन ।
‘कोठाभित्र गुफ्फिएर बस्छौ जतिखेर पनि । बाहिर निस्कन फ्रेस भै हाल्छौ ।’ खुसी सामान्य साना साना कुराहरुबाट नै मिल्छ । तिनै साना साना खुसीका दानाहरु टिपेर गलामा सजाउन सिपालु थिई सन्ध्या ।
घडी हेरेको बल्लबल्ल चार बज्दै थियो । बेला न कुबेला कता निस्कनु । चिनेकोले बाहिर केटीसँग संगै देखे भने शँका गरिहाल्छन् । छोरो राजधानी छिरेपछि बिग्रने हो कि भन्ने बाआमाको आसंका पनि सावित हुने डर बढेको थियो ।
‘म एक्लै कता निस्कनु तिमी पनि आउ ।’ प्रेमिका हुनु एउटा फाइदा एक्लै घुमिरहनु पर्दैन । प्रेम जति गाढा हुँदै जान्छ । जिन्दगीमा फिकापन बढ्दै जाने पक्का भएर नै हो एक्लै रहन नसक्ने गरी कमजोर भइदोरहेछ ।
‘हस् ! बाबा हस् ! –मेरो एजेन्डा पारित भयो । बागबजार तरकारी बजारको अगाडिपट्टी भेट्छु भन्दै फोन राखेँ ।
उस्को घर कालिकास्थान थियो । मेरो रुमबाट २० मिनेटमा पुगिन्थ्यो ।
पुतलीसडक सडक रोड नेरै आँखा ओछ्याएर उभिएको थिए । केटीहरुले कुराउन र बहाना बनाउन निकै सिपालु हुन्छन् । पर्खिएर बसेको समय एकदमै लामो महसुस भै दिन्छ ।
ब्लु जिन्स र ब्लाक टिसर्ट माथि सेतो आउटरमा मेरो छेउमा उभिएकी थिई सन्ध्या । शिरदेखि पाउसम्म हरेक अंगहरुले आफ्नो आफ्नो आकार लिएका थिए । खै आज त ध्यान कता गयो गयो । मेरो प्रेमको अतिक्रमण ओठसम्म मात्रै पुगेको थियो तर आज मन नै उरन्ठाउलो बनेको थियो ।
माया गर्नेहरु भेट्दा न हाइ भन्नु पर्छ न ह्यान्डचेक नै गर्नुपर्छ । आँखाले आँखामा हेर्यो मुसुक्क हाँस्यो पुगिहाल्यो । म पनि त उस्तै थिए । सन्ध्या आएर आडमा उभिइ मलाई गर्मीको महसुस ह्वात्तै भयो । उ नै हट हो कि म धेरै चिसा हुँ म बुझ्नै सकिन ।
‘काठमाडौं मल जाऊँ है । मलाई सपिङ गर्नु छ ।’ सन्ध्या हाँस्दै मेरो मुखमा हेरि । केटीहरु किन जहाँ पनि आफ्नै फाइदा खोज्ने मलाई फ्रेस बन्नुभन्दा पनि आफैँलाई ड्रेस पो चाहिएको रछ । मनमनै सोचेँ ।
हुन्छ भन्ने इसारामा मुन्टो मात्र हल्लाए ।
‘सपिङ स्पेसल ?’ मैले अन्जान सवाल गरेको थिएँ ।
‘पोखरा जाँदै छु नि म भोलि ।’
‘मलाई किन नभनेको त ।’
‘बाबा ममीसँग परिवार नै जाँदै छौ त्यसैले ।’
‘के म तिम्रो परिवारभित्र पर्दिन ।’ मलाई निहुँ खोज्न सजिलो भयो ।
‘तिमी त म भित्रै छौ । परिवार भनि त्यति टाढा लैजानै मन लाग्दैन ।’ चित्त बुझेझै गरी म मुस्कुराए । उस्को चाल मयूरको भन्दा फरक थिएन । मलाई पछि देखेपछि रोकिइहाल्थी ।
सुन्धारा माइक्रोबस स्टेसन नै थियो । कति यात्रुहरु गन्तव्यको पर्खाइमा थिए, चाहेँ नजिक नै किन नहोस् । मेरो पनि गन्तव्य भनेकै सन्ध्या थिई उसँगै म थिएँ । खलासी पनि आफ्नो रुटका सबै ठाउँका नाम एक्कै सासमा भनिहाल्छ । कस्तो नबिर्सेको होला ?
काठमाडौं मलमा सपिङ सकाएर बाहिरियौ । सन्ध्याको बानी अरु केटीको भन्दा फरक थियो । सामान धेरै चाल्दैन थि । शरीरमा मिल्ने भए भै हाल्यो । ब्लु कलर औधी मन पराउँथी । जे लगाए पनि मिलीहाल्ने ज्यानै उस्तै ।
मन्दिरमा जानेहरु सबै माग्नेहरु नै त हुन् । फरक यति नै हो कि धन भएकाहरु मन्दिरभित्र पसेर माग्छन् । धन नभएकाहरु मन्दिर परिसरमा नै माग्छन् । मलाई यस्तै लाग्थ्यो । हामी शहिद गेट कटेर भद्रकाली मन्दिर परिसरमा पुग्यौ । सन्ध्या एक हप्ताको लागि पोखरा जाँदै थिई । उस्को आँखामा उत्सुकता र खुसी एकै साथ दौडिएको थियो । म भने उस्को खुसीमा पनि निराश थिए । उ भोलिबाट सँगै हुँदिन भनेर हो कि मैले उ सँगै हुँदा पनि एक्लै छु कि जस्तै लाग्थ्यो ।
‘किन नबोली बसेको हँ ?’ सन्ध्याको मधुरो स्वर मेरो कानभित्र गुन्जियो ।
‘तिमी पनि त बोलेकी छैनौ ।’ हाँसे जस्तै गरे ।
लाग्यो मेरो मनले जे सोचेको छ उस्ले पनि त त्यहि सोच्दै होली । उनको र मेरो मन एउटै छ । धड्कन एउटै छ । विश्वास पनि त उस्तै छ ।
मेरो हात समाएर काँधमा टाउको टेकाएकी थिई सन्ध्याले । मैले उस्को मुटुको धड्कन महसुस गरिरहेको थिएँ । सन्ध्या मेरो एकदमै नजिक थिई । मेरो शरीरको कोष कोषले उस्को स्पर्श गरेको थियो ।
……..
‘म त थानकोट पुगिसकेँ ।’ सन्ध्याले म्यासेज पठाएकी रहिछ । म देशको राजधानीमा थिए तर पनि किन किन मलाई मेरो राजधानी पोखरा सरे जस्तो लाग्यो जब सन्ध्या पोखरा जाँदै थिई । जुन ठाउँलाई देशको मुटु मानिन्छ नि त्यो राजधानी हो । सन्ध्या पनि त मेरो राजधानी थिई ।
‘मलेखुमा खाजा खाँदैछु । मुग्लिनमा आधा घण्टा रोक्यो । बाटोभरि खुब गर्मी भो ।’ उ बेला बेलामा ठाउँ ठाउँको अपडेट दिइरहन्थी । लाग्थ्यो म नै पोखरा जाँदैछु उसँगै ।
प्रेम पर्यो भनेर भनिरहनु पर्दैन । प्रपोज गर्न पनि भ्यालेन्टाइन डे चाहिन्न । प्रेम त बेमौसमी खेती हो जति खेर पनि नयाँ नयाँ स्वाद पाइन्छ तर बेला बेलामा एग्जाम भने दिइरहनु पर्छ । क्यामेस्ट्रिका जस्ता सजिला रियाक्सन हुदैनन् । इट इज सो कम्प्लिकेटेड ।
दिन ढल्किदै थियो । सन्ध्याले पोखरा पुगे भनेको पनि धेरै बेर भएको थियो । कोही छ भनेर एक्लो महसुस हुनु र एक्लै भएर एक्लो महसुस हुनुमा धेरै अन्तर रहेछ । मसँग दिन थियो रात थियो उस्तै साँझ पनि थियो तर सन्ध्या थिइन् । प्रेम गर्नेहरुले जब नजिक हुन्छन् नि सबथोक दिन्छन् तर टाढा गए भने रुन लायक पनि छोड्दैनन् ।
प्रेममा परेको मान्छेले परिवार भुल्छ भन्छन् । तर यो कुरा म मान्दिन । प्रेममा परेको मान्छेले त झन् परिवारमात्रै सम्झिन्छ । सन्ध्याको अनुपस्थितिमा बाबाममीको याद खुब आएको थियो ।
‘तिमी कस्ती भएर गयौ त पोखरा ?’ म्यासेन्जरमा अनलाइन देखेपछि म्यासेज सेन्ड गरेँ !
ओठ चुच्चो गरेको सेल्फी पठाईहाली ।
‘तिम्रो ओठ चुच्चो पारेको कस्को लागि नि’ अर्थै नभएको प्रश्न गरे जस्तो लाग्यो सेन्ड भैसकेको म्यासेज डिलिट गर्न नमिल्ने । उस्को ताजापन त्यहि तस्बिरमा थियो । जब आफ्ना मान्छेहरु दुरीले टाढा हुन्छन् । प्रेम त गाढा होला त उस्का यादहरु तस्बिर बनेर घुम्छन् ।
‘तिम्रो लागि त हो जे गरेपनि हुन्छ ।’ हुन त हो उस्ले मलाई सबै किसिमका छुटहरु दिएकी थिई ।
सन्ध्याको ओठको लिपिस्टिक मेरो ओठमा धेरै पटक लेपिएको थियो र त लाज नै मान्दै न थि । उस्को फोटो जुम गरेर ओठमा टाँलिहाले ।
‘हेर कान्छी फोटोले काम चलाउन हाम्ले जानेका छम् ।’ म गर्नै पनि के सक्थेँ र ।
‘म नभए पनि काम चलाउन सक्छौँ त ?’ कति सजिलै भनिहालि । पहिले मेरो मुटु ढुङगामाथी राखेको थिएँ तर उस्ले त मेरो मुटुमाथि नै ढुंगा राखिदिई ।
‘बाँच्ने कुरा त छोडिदेऊ मलाई मर्न पनि तिमी चाहिन्छ ।’ मलाई प्रत्येक पत्थरको जवाफ फूलले दिने बानी परेको थियो ।
लभ स्टिकर टाँसेर पठाई । जब फेसबुकमा जटिल प्रश्न उठ्छ नि अनि स्टिकर टाँसिन्छ ।
जब कसैलाई प्रेम गर्न थालिन्छ नि त्यसपछि आफ्नै पनि औधी माया लाग्न थाल्छ ।
भावनात्मक कुरामा सन्ध्या पग्लिहाल्थी मैन जस्तै ।
भिडियो कलको घन्टी बज्यो । आँखा जुधिहाले । जब मायालुको अगाडि परिन्छ नि तब फेरि लब पर्न थालेको जस्तै हुन्छ । बच्चा जस्तै बनिहालिन्छ केहि नजाने जस्तो न बुझे जस्तो कस्तो कस्तो ।
‘कस्तो दुब्लाए जस्तो देखिएको । बिहानदेखि केही नखाइ बस्याछौ जस्तो छ ?’ जब कसैले सोध्छ नि तब दुई ओटा उत्तर आउँछन् कि आमा कि प्रेमिका । मेरा उत्तर दुई ओटै हुन्छन् ।
‘खाएको छु नि नपत्याए हेर ।’ ल्यापटपलाई किचन तिर घुमाईदिए । कोठाका सामानहरु लथालिंग अवस्थामा थिए । फोहोर र लथालिंग देखे सन्ध्या रिसाई हाल्थी ।
तर आज केही बोलिन । एकोहोरो हेरि मात्रै ।
‘तिमी पनि मसँगै भएको भए कति रमाइलो हुन्थ्यो है ।’ रुन्चे अनुहार बनाएर बसेकी थिई ल्यापटपको अगाडि । म चुपचाप थिएँ ।
‘मलाई त पोखरामा बस्न मनै लागेन । तिमी बिना मुस्किल छ पोखरामा ।’ सन्ध्याले मैले भन्दा पनि एक्लो महसुस गरेकी रहिछ । उस्को अनुहारले यस्तै भन्थ्यो ।
‘तिम्रो एक हप्ताको ट्रिप सफल बनाउनु बाबाममी सँगै त छौ ।’ मैले औपचारिक जवाफ फर्काए । उ मुन्टो मात्रै हल्लाई ।
‘हामीहरु सँधै सँगै त हुन्छौ नि है ?’ सन्ध्याको अप्रत्यासित प्रश्नले म झस्किएँ । उसले आजसम्म पनि हाम्रो प्रेममा आशंका मिसाएकी थिइन । यो उस्ले गरेको सबाल हुँदै हैन । सायद उस्लाई अरु कसैले सोधेको हुनुपर्छ । मेरो सन्ध्या त्यति कमजोर थिइन । दुरी बढेको बेलामा प्रेम कमजोर महसुस गर्नु हुदैन ।
‘जब दुई प्रेमीहरुको बिच हावा बहन त डराउँछ भने हामी कसरी अलग हुनु ।’ उस्को र मेरो सम्बन्ध नै मौनतामा अडेको थियो । शुन्यता थियो जहाँ प्रेमबाहेक अरु केही थिएन । प्रेममा भएको शक्तिको अगाडि न्युटनको चालसम्बन्धि सिद्दान्त पनि फलप खान्छ ।
‘बाबा आउनुभो बाइ बाइ म गए हैं अहिले ।’ प्रेममा डर पनि हुन्छ रहर पनि हुन्छ । परिवारको आँखा छलेर प्रेम गर्नुको मज्जा नै बेग्लै हुन्छ ।
………….
‘हेलो ! तपाईं पुनर्योग शर्मा हैन ?’ मोबाइलले नचिनेको मान्छेको आवाज सुनाइदियो या मैले चिन्न सकिन ।
‘हजुर ! हजुर !! म पुनर्योग नै हो !’ मैले फोनमै स्पष्टीकरण दिए । कोही परिचित नै हुनुपर्छ अड्कल काँटे । केटीको आवाज थियो । एकछिन रोक्किएर आवाज आयो ।
‘मलाई चिन्नु भएन ?’ धेरै नै निकटको सम्बन्ध भएझैं कुरा गरि ।
‘चिन्न त चिने ठ्याक्कै याद भएन ।’
‘म सन्ध्याको साथी ।’ नाम भनिन तर मैले चिनिहाले ।
‘आज कताबाट सम्झियौ ?’ औपचारिक प्रश्नबाट नै सुरु गरेँ । ऊ खित्का छाडेर हासीँ हाली तर हाँसो मलाई मन परेन केहि उरन्ठेउलो लाग्यो । सन्ध्या हाँस्दा मनमग्न हुन्थें तर उस्को हाँसो मलाई मिठो लागेन ।
‘किन मैले फोन गर्नु हुदैन र ?’ झर्केको जस्तो आवाज सुनियो । सन्ध्याले बाहेक अरुले फोन गर्नै हुँदैन मलाई त भन्न मन लागेको थियो तर भनिन् ।
‘त्यस्तो भन्न मिल्दैन ?’
‘तपाईंको बुक मसँग रहिरयो त्यसैले फोन गरेकी ।’
‘रत्नपार्कको पुलमुनिको स्टेसनरीमा ‘पल्पसा क्याफे’ छाडिदिएकी छुँ लिएर जानु होला ।’ उपन्यास पढ्न मलाई खुब मनपर्छ, पढिरहन्छु । पल्पसा क्याफे सन्ध्याले नै मलाई गिफ्ट दिएकी थिइ । उ कहिलेकाहीँ सुनाउँथी तिम्रो र मेरो प्रेम पनि कतै दृष्य र पल्पसाको जस्तै बन्यो भने । मनमा डर पैदा गर्थी । प्रेम कहानी बिछोडमा टुंगिन्छ । पल्पसा जति सुन्दर थिई सन्ध्या पनि उस्तै थिई ।
पोखरा गएपछि सन्ध्यासँगको बोलचाल पातलो भएको थियो । उ पनि व्यस्त नै थिई । फोन ग¥यो काटिहाल्थी । अनि म्यासेज पठाउँथी । कहिले बाबासँग छु कहिले ममीसँग छु । प्रेमको बाधक जहाँ पनि परिवारनै भैदिन्छ ।
एक दिन दुई दिन गर्दैछ दिन बितिसकेछ । सन्ध्या बिना एक दिन पनि रहन सक्दिन जस्तो लाग्थ्यो तर मैले छ दिन एक्लै बिताएछुँ । एडप्टेसन नै रहेछ सब कुरा । धेरै भयंकर लागेका कुराहरु पनि सामान्य भएर जान्छन् तर पनि मनले नमान्ने रहेछ छिट्टै स्वीकार गर्न । जब सन्ध्या पोखरा गएकी थिई पुनर्योगको बिजोग भएको थियो ।
प्रेमिका धेरै राम्री भए खुब पिर पर्दोरहेछ । कतै कसैको आँखा पो लाग्ने हो की । उस्को पनि अन्तै ध्यान गयो भने । सन्ध्या सुन्दर मात्रै थिइन । बोलीमा पनि निकै मिठास् थियो । उ कसैसंग बोल्दा हाँस्दा पनि मनमा जलन भैहाल्ने यो कस्तो प्रेम ?
‘आज छ दिन भएछ तिमीसँग भेट नभएको । भोलि बिहान फर्किन्छु ।’ आज धेरै दिनमा सन्ध्याको फोनले मोबाइल बज्यो ।
‘तिम्लाई के ल्याइदिएर आउँ त पोखराबाट ?’
‘तिमी आए मलाई केहि पर्दैन ! मलाई मेरो सन्ध्या ल्याइदिएर आउँनु हैँ ।’ मेरो डिमान्ड अलिक फरक र धेरै महत्वपूर्ण थियो जिन्दगीभरिको लागि । म सन्ध्यालाई कहिल्यै पनि गुमाउन चाहन्न । ऊ मुस्कुराइ मात्रै । धेरै याद आएको छ भन्ने कुराको पुष्टि उ बोलीबाटै गरेकी थिई ।
‘अँह सुन ! मलाई यो छ दिनभरीको माया पोको पारेर ल्याईदिनु ।’ मेरा मागहरु बढ्दै थिए । उस्का पोखराका हर गल्लीदेखि ठाउँ ठाउँका तस्बिरहरु म्यासेन्जरभरि छरपस्ट पारेकी थिई । मलाई उस्का तस्बिरहरुले एक्लो हुनबाट बचाएका थिए ।
‘छ दिनको मात्र हैन म त जिन्दगीभरीको माया पोको पारेर दिन्छु ।’ म तिम्रै हुँ भनेर प्रमाणित गर्ने आधारहरु सँधै पेस गरिरहन्थी । उस्को र मेरो प्रेम कहिल्यै संशोधन भएन सधैं उस्तै छ ।
‘हुँदैन हुँदैन पुराई पुराई दिनुपर्छ । फेरि रित्तियो भने ?’ उस्को माया महभन्दा पनि मिठो थियो । मिठो चिज धेरै खान मन लाग्छ तर पाइदैन पुराएर खानु पर्ने ।
‘रित्तिदैन । तिम्रो लागि मेरो माया समुन्द्र जस्तै गहिरो छ ।’ प्रेमीहरु नचाहँदा नचाहँदै पनि भावनामा बहने गर्छन् । म हाँसेमात्रै । उसँग त मैले प्रेम मात्र गरेँ राजनीति गरिन यदि राजनीति गरेको भए आफ्नो बारेमा खुब सोच्दो हुँ उस्कै बारेमा बाहेक सोच्ने फुर्सद भएन रत माया पनि माग्नु पर्ने अवस्था छ ।
सँगै हुँदा भन्थेँ । ‘म तिम्रो कहाँ बसेको छु ।’
उ छाती देखाउँदै भन्थि ‘यहाँभित्र मनमा ।’
‘खै खै देखाउ त मेरो फोटोकपी कस्तो रहेछ ।’ उस्को छातीमै हात पुग्थ्यो । लाज मानेझैँ गर्थी सर्माउथी ।
‘बुद्दु यहाँ कहा देखाउनु मिल्छ तनि ।’ मेरो हात हटाइ हाली ।
‘मेरो फोटोकपी कतै पासपोर्ट साइजमा त छैन नि ?’
दुबै जनाको हाँसोले आकाश छोयो ।
‘नाइनाइ भन्ने केटीको बानी हो कर गरे पो खुरुक्क जानी हो ।’ मैले सन्ध्यालाई गिज्याई हाल्थेँ ।
सँगै बस्यो । मिठा मिठा सपना देख्यो । गफ ग¥यो । परिकल्पनाको संसारमै दगुर्यो । के यो माया हो ?
हाम्रो प्रेमको गाडी तिब्र गति दौडिरहेको छ । के सकुसल गन्तव्यमा पुग्ला त कुनै पनि दुर्घटनामा बिना ? बहकिने मनले नानाथरी कल्पना गरिरहन्छ ।
……..
बिहानै उठे भनौ या के भनौं । अचेल बानी बिग्रिएको छ । ओछ्यानमै व्युझिएर फेसबुक चलायो । फेसबुकलाई मैले चलाउन छाडिसकेँ फेसबुकले मलाई चलाउन थालिसकेको छ । पढाइतिरको ध्यान पुरै कटौती भईसकेको छ । जब धेरै मौलाउँछ नि अनि जे चिजले पनि उठीबास लगाउँछ रे ।
म पनि आज सन्ध्याको लागि व्यग्र प्रतिक्षामा थिए जसरी दिनले पनि साँझको गथ्र्यो । सन्ध्याले हिँडे भनेर पनि फोन गरिन । म आफैं गर्छु भनेर पनि किबोर्डमा धेरैचोटी अंकहरु थिचेँ तर कल गर्नै मनले मानेन् । मोबाइलले पनि आज सन्ध्याकै प्रेम खोज्यो मनले पनि नगदमै कारोबार गर्न खोज्यो । उस्को पोखराबाट छुटेपछिका हरेक पलका कनेक्सनको तार पनि काटिए जस्तै भयो । मनले सन्ध्याकै पहिलो फोन खोजिरह्यो । सायद उसले पनि यस्तै सोची होली पुनर्योगले नै फेरि जोडोस् भन्ने ठानी कि । मलाई सँधै तिनै मान्छेहरुसँग रिसाउन मन लाग्छ जस्ले मलाई फकाउने निश्चित छ । लाग्यो म रिसाउँदा फकाउने मान्छे सन्ध्या नै हो । त्यसैले त म सन्ध्यासँग रिसाएको छु भनौं या रिसाएको नाटक गर्दैछु । प्रेममा धेरै चाहनाहरु हुन्छन् जस्लाई देखाउने तरिका फरक फरक हुन्छन् ।
सुर्यले साँझलाई भेटाउन यति कुप्रि पर्योकी उ पर क्षितिजको डाँडोमै ठोकियो । मेरो मनले सन्ध्यालाई एक कल फोन गर्न पनि डरायो । प्रेममा इगो राख्नु हुँदैन रे ।
आज नै हो पहिलो दिन मैले उस्लाई फोन नगरेको र उस्ले पनि नगरेको । फोन मात्रै नगरेको हुँ फेसबुकमा त म्यासेजको लावालस्कर नै पठाएको थिए तर राती अबेरसम्म नै सिन भएन । ११ औं बजे त्यही नम्बरमा फोन गरेँ जुन नम्बरबाट सन्ध्या मुस्कुराई रहन्थी । मोबाइलको घण्टी नै बज्न पाएन । ‘तपाईंले डायल गर्नु भएको नम्बर स्वीच अफ गरिएको छ ।’ टेलिकमकी दिदी बोल्दै थिइन् ।
पछुतो लाग्यो सन्ध्यालाई फोन नगरेकोमा । बिहानै गर्नुपर्ने थियो । आँखाहरु आँफै भिज्लान् जस्ता भए । मननै तहसनहस भयो । कोठाको लाइट पनि निभाँए । मेरो मन र कोठा उस्तै उस्तै भयो । सन्ध्या आज मसँग खुब रिसाएको हुनुपर्छ । सन्ध्या काठमाडौ त आइपुगी नि ? उ ठिक त छ नि ? मनले पनि हुने नहुने सबैतिर सोचिसकेको थियो । बारम्बार फोन ट्राइ गरे । रातभरि निद्रा लागेन । बिहान हेर्दा मोबाइल चार्ज सकिएको थियो । रुममा बिजुली रहेनछ मोबाइल स्वीच अफ भयो । आज सन्ध्या जरुर कलेज आउँछे भन्ने लाग्यो तर अहँ उ कलेज पनि थिइन । न रुनु न हाँस्नु भनेको के हो मैले महसुस गर्दै थिएँ ।
सन्ध्याको बर्थ डे आउन एक दिन मात्र बाँकी थियो तर उस्को मोबाइल पनि मसँग बोलेको थिएन ।
एक वर्ष पहिले उस्को बर्थ डे कै दिन मैले सोधेँको थिएँ ।
‘सन्ध्या तिमीलाई एकदमै मन पर्ने चिज के हो ?’ उसले धेरैबेर सोचे जस्तो गर्दै जवाफ दिई ।
‘अंम्म्मम्म्म्म्म्…. तिमी !’
‘मैले को मान्छे मन पर्छ भन्या हो र के मन पर्छ पो भन्या नि ! तिम्रो लागि बर्थ डे गिफ्ट के दिँउ भनेर नि ?’
‘तिमी जे दिन्छौ नि त्यहि मन पर्छ मलाई !’ मेरो मन राख्दै सन्ध्या मुस्कुराएकी थिई । मलाई जे मन पथ्र्याे ऊ त्यही मन पराउँथी ।
ब्लु जिन्स र टिसर्टमा सन्ध्या खुब राम्री देखिन्थी । उसको लागि गिफ्ट जस्तै गरी प्याकिङ गरे । हातमा गिफ्ट बोकेर उस्कै घर जाने मन थियो तर मलाई उस्को घर कालिकास्थान हो भन्ने मात्रै थाहा थियो । आज सन्ध्या कहाँ छे अत्तोपत्तो थिएन ।
‘प्रेमिकाले प्रेमीलाई एकै दिनमा भुल्न सक्छन् र ? यदि भुलेकै भए पनि त मलाई एक चोटि सोध्नु त पथ्र्यो ।’ आफैंसँग आँफैले प्रश्न गरेँ ।
‘के मलाई प्रेम गर्दा सन्ध्याले सोधेकी थिइ र ? अहँ सोधेकी थिइन । अब छोड्दा चाँहि किन सोध्नु पर्यो नि ।’ आँफैले आँफैलाई हकाँरे ।
बर्थ डेको कुरा छोडौं । चार दिन बितिसक्दा पनि उस्को सम्पर्क थिएन । सोचेँ जस्तोसुकै परिस्थितिमा पनि त फोन गर्न सकिन्थ्यो । साँच्चै उस्ले मलाई बिर्सेकै हुनु पर्छ । उस्ले मलाई सम्झिन भने म पनि किन उस्लाई सम्झी रहनु । मस्तिष्कले मनलाई भुल्न दबाब दिइरहेकै थियो । यस्ता केटी कति भेटिन्छन् कति । मनले मान्दैन सन्ध्या नै त भेटिन्न नि । उ जहाँ गए पनि कुरीरहनु पर्ने, बिर्से पनि सम्झिरहनु पर्ने यो कस्तो प्रेम ।
पाँचौं दिन मात्रै सन्ध्याले फोन अन गरी ।
……….
मैले फोन गरेँ तर फोन उठेन । लाग्यो बेक्कारमा फोन गरेछु । मनले पनि बल्ल खाइस् भनेर गिज्यायो । अब सन्ध्यालाई फोन नगर्ने प्रतिबद्धता जाहेर गरेँ । बिर्सिएकालाई सम्झिन भन्दा पनि बिर्सन पीडादायक हुदोरहेछ । उस्का नखिचिएका तस्बिरहरु आँखाभरि छरिएर बसेका छन् । कति गह्रौं भएर आउँछन् र आँशु छचल्किन्छ ।
फोनको रिङ टोन सँगसँगै मेरो धड्कन पनि जोडजोडले बज्न थाल्यो । सन्ध्याको नम्बर मेरो मोवाइलको स्क्रिनमा देखा प¥यो । सधैं जसो उस्को फोनमा मेरो उत्सुकता थिएन । फोन नउठाउ जस्तो लाग्यो । प्रेम मात्रै यस्तो वस्तु हो जस्लाई कसैले पनि हराउन सक्दैन । जो पनि प्रेमको अगाडि घुँडा टेक्न बाध्य हुन्छ । तोडिएको मनलाई भित्र भित्रै जोडजाड पाँरे । जोड्दाखेरि रगत आएन आँशु मात्र आयो । साँच्चै सन्ध्या उस्तै बनेर मनमा बसी । मायाको छेउमा बसेपछि सबै वातावरण नै प्रेमिल बन्छ । सन्ध्याको फोनले पनि मेरो मनमा क्यटालिस्टको काम गर्यो । अन्तिम घन्टीमा फोन उठाएँ ।
‘तिमी बेलुकी मसँग भेटन है ! रत्नपार्क पुलमा ।’ सन्ध्याले कुनैपनि भुमिका निभाइन । सन्चो बिसन्चो पनि सोधिन ।
निन्याउरो पारामै ‘हस् !’ भने ।
भर्खरै जोडिएको मन सिसा जस्तै फुट्यो । उस्को स्वरबाट यस्तो लाग्यो उ मलाई अन्तिम पटक भेट्न बोलाउदै छे । वरपर वातावरण प्रेमिल लागेन भर्खरै मात्र मौसम फेरियो धुम्म बादल लागेको जस्तो उराठलाग्दो । सन्ध्यासँग भेट हुन मन लागेन । भेटेर भर्खरै छुटेजस्तो लाग्यो ।
साँझका बत्तिहरु पुरै बाटो वरिपरि बलेका थिए तर मलाई पुरै अध्यारो लाग्यो । मनले केहि पनि महसुस गरेन पुरै निष्क्रिय थिए म । सबै दिन र रातलाई साँझले जोड्ने छ तर तर सन्ध्याले मलाई जोड्ने छैन । पुनर्योगको पुनः योग नहुन पनि सक्छ ।
रत्नपार्क पुलमाथि मान्छेहरूको चहलपहल देख्दा लाग्थ्यो मेला लागेको छ । पुलको एउटा छेउमा ह्वाइट टिसर्ट र ब्लक जिन्समा जो थिई त्यो सन्ध्या नै थिई मैले अनुमान लगाउन बेर गरिन । मैले उस्लाई अनुमान लगाउनु खासै नौलो कुरा थिएन । एकोहोरो सडकतिर हेरिरहेकी थिई । म छेउमा पुगेर उसको अनुहारमा हेँरे उसको टाउकोमा चोट लागेजस्तो देखिन्थ्यो । उ बिरामी देखिन्थी । मन झस्किएँ झैँ भयो ।
आँखामा आँखा जुधेपछि सन्ध्याले आँखा भिजाईहाली । एक शब्द पनि बोलिन । नजिकै आएर बेस्सरी अंगालो मारेर रुन थाली । हरेकले प्रेम कसरी ब्यक्त गर्छन् थाहा छैन तर आज उसको प्रेम आँशु भएर ब्यक्त भयो ।
उ कहिले फर्की पोखराबाट यो कुरा मैले सोधिन । सोँधे त केबल स्वास्थ्यको बारेमा ।
‘किन ! के भयो तिम्लाई तिमी ठिक त छौ नि ?’
‘म ठिक छु ! आफ्नो किन यस्तो हालत बनाएको ?’ सन्ध्याका आँशु रोकिएका थिएनन् । उ मलाई कति प्रेम गर्छे जोखिरहनु पर्दैन बेला बेलामा आँफै देखाउँछे ।
मैले सन्ध्यालाई प्रेम गरे र त्यो भन्दा बढी शंका गरेँ ।
‘तिम्लाई केहि त पक्कै भएको छ ?’ मेरा आँखाहरु पनि रसाएका थिए ।
‘पोखरा बसाइको अन्तिम दिन राती अधेँरोमा होटलको रेलिङबाट लडेर बेहोस् भएछु ! त्यसपछि मलाई केहि थाहा पाइन आँखा खोल्दा काठमाडौ मोडेल अस्पतालमा थिएँ । ‘उस्ले आफ्नो टाउको म तिर फर्काइ । सन्ध्याको टाउकोमा गम्भीर चोट लागेको रहेछ ।
‘यति ठुलो घटना मलाई किन भनिनौ । किन मेरो रेस्पोन्स दिइनौ ।’ मेरो आँखाहरुले पनि उसैलाई प्रश्न गरिरहेका थिए । सम्पर्क घट्दै जाँदा प्रेममा पनि शंका बढेर जान्छ ।
‘मेरो कारण नै तिमी एकदमै पीडामा छट्पटिने छौ । मलाई दुख्दा तिम्लाई पीडा हुन्छ यो पनि मलाई थाहा थियो । म मेरो मनलाई पीडा दिन सक्छु तर तिम्लाई दिन सक्दिन । कसरी सम्झाउन सक्थे म तिम्रो मुटुमा घाउ लागेको छ भनेर ?’ उस्ले कति आँशु खसाली मलाई थाहा छैन तर मेरा आँखाबाट पुरै आँशु रित्ताइ दिई ।
म बोल्नै सकिन आवाज रोकियो केवल मुटुको धड्कन मात्रै धड्कियो । साँझ ढल्किदै थियो तर सन्ध्या जवान हुँदै थिई ।
केहिबेर चुपचाप रह्यौँ । आँखामा आँसु हटेर कौतुहलता बढ्यो । सन्ध्याको ओठमा पनि मुस्कानको फुल फुल्यो ।
बल्ल मेरी सन्ध्यासँग भेटेको आभाष दिलाई ।
‘अनि मेरो बर्थ डे गिफ्ट खै त ?’ मन्द मुस्कान छर्दै मेरो हात समाती ।
‘गिफ्ट त म दिउँला मलाई पोखराबाट खै के ल्यायौ ?’ उ अलमलमा परि ।
मैले उस्को बर्थ डे गिफ्ट उदारोमा दिन चाहन्न थेँ । त्यसैले त उस्को नजिकै गएँ उस्का कोमल ओठमा मेरा ओठले सहिछाप गरिदिएँ । ओठले नम्र बनेर स्विकार गरे । उस्का आँखाहरु केहि लजाएका थिए ।
हरेक साँझ भयानक रातमा परिणत भए तर मेरी सन्ध्या उस्तै छे सुन्दर; नम्र, कोमल अति नै प्रिय । माथिबाट नै बनाएर पठाएका हुनुपर्छ यो सुन्दर जोडी सन्ध्या र पुनर्योगको ।





