भर्खर बनेको विद्यालयको नयाँ भवन । बीचमा छ ,खाली ठाउँ । तर, मान्छे खचाखच भरिएका छन् । एक छेउमा ग्लोबल आइएमई बैंकका कर्मचारीहरु चेपाङका बैंक खाता खोल्न व्यस्त छन् । प्रायःका लागि जीवनमै पहिलो बैकं खाता हो, यो । त्यसैले उनीहरु हर्षित देखिन्छन् । अर्को छेउमा स्वास्थ्य शिविर चलिरहेको छ । भरतपुर अस्पताल र मितेरी फाउन्डेसनको संयुक्त आयोजनामा आयोजित शिविर हो, यो । बालबालिकाहरु लामवद्ध भएर उभिएका छन् । पालो आएपछि डाक्टरलाई आफ्ना समस्या सुनाउँछन् अनि औषधि लिएर बिदा हुन्छन् । शिक्षक–शिक्षिकाहरु भने व्यस्त छन् । उनीहरुले दुबै कार्यक्रममा सघाउनु परेको छ ।
यही माहोलमा दौडधूपमा गरी रहन्थे –एकजना व्यक्ति । कहिले पानीको पाइप मिलाउन शौचालय पुग्थे त कहिले कुर्ची टेबुल लिन अफिसमा । सबैसँग भलाकुसारी गर्न भ्याएकै थिए । गफसँगै मुस्कान पस्कने उनको बानी रहेछ । बोल्दाबोल्दै कति काम भ्याइसक्थे उनी, कसैलाई पत्तै हुन्थेन । धर्के सट र कालो पाइन्ट लगाएका उनी स्कूलका प्रधानाध्यापक हुन्भन्दा कमैलाई पत्यार लाग्दो हो । कुर्र्चिमा बसेर अर्कालाई काम अ¥याउने बानी छैन, उनको । त्यो काम आफैं फत्ते गर्छन् । यसैले त विशेष छन्, उनी ।
कान्दा चेपाङबस्तीमा अवस्थित छ एकमात्र विद्यालय– श्री कान्देश्वरी आधारभूत विद्यालय । यसैका प्रधानाध्यापक हुन् उनी । उनको नाम हो–बालकृष्ण थपलिया । अठार वर्षदेखि उनले यहाँ पढाइ रहेका छन् । कैयौंलाई ज्ञानको ज्योति बाँडिसकेका छन्, उनले । जीवनको उर्जाशील समय उनले अनकन्टार कान्दाको काखमा बिताए । कान्दाको माया यति प्रगाढ बन्यो कि उनी चाहेर पनि कान्दा छाड्न सक्दैनन् । विद्यार्थीहरुको माया, अभिभावकको साथ र सिंगो कान्दाको आत्मियता उनका लागि प्रिय छन् । कान्दालाई दिएजति समय न उनले परिवारलाई दिएका छन् न अरु कसैलाई नै । त्यसैले त कान्दामा उनी सबैका प्रिय छन् । सबैका प्रिय बालकृष्ण सर ।
अठार वर्ष अघिको त्यो समय ! देशमा माओवादीले सुरु गरेको सशस्त्र संघर्षले उग्र रुप लिएको थियो । २०५९ साल चैत महिनाको त्यो उखरमाउलो गर्मी । उनी आफ्नो दाइसँग पहिलो पटक भिरपाखा र डाँडाकाडा छिचोल्दै कान्दा उक्लेका थिए । हिडेर कान्दा पुग्न त्यो बेला दुईदिन लाग्यो । त्यसताका नेपालमा प्रौढ शिक्षाको लहर चलेको थियो । उनका दाइ त्यस भेगका प्रौढ शिक्षा व्यवस्थापन टोलीमा थिए । प्रौढ शिक्षा पढाउने शिक्षकका रुपमा दाइले उनलाई कान्दामा झिकाएका थिए । केही समयमै प्रौढ शिक्षाको कार्यक्रम सकियो । तर, उनको कान्दा बसाई सिद्धिएन । उनलाई लाग्यो, अब वृद्धवृद्धाहरुलाई हैन, ससाना बालबालिकालाई पढाउनुपर्छ । अनि मात्र कान्दाको मुहार फेरिन्छ । अनि सुरु भयो, उनको शिक्षण पेशाको यात्रा ।
उनी कान्दा पाइला टेक्नु एक वर्ष अघिमात्र खुलेको थियो– कान्देश्वरी आधारभूत विद्यालय । विद्यालय पनि नाम मात्रको । केवल थियो त सानो खरको झुपडी । न बस्न कुर्चि र टेबुल थियो, न लेख्ने र पढ्ने सामग्री नै । मुस्किलले आफ्ना नाम भन्न सक्थे केटाकेटीहरु । उनीहरु घरबाटै बस्नलाई फलेक वा बोरा ल्याएर आउँथे । भर्ना हुनेको संख्या १ सय ५० भन्दा बढी भएपनि विद्यालय आउनेका संख्या बीस–तीसमा सीमित हुन्थ्यो । विद्यालय आउन न पोसाक हुन्थ्यो, न खाने केही कुरा नै । भोको पेट र नांगो शरीर शिक्षाको बाधक थियो ।
त्यस विद्यालयमा उनी अनुदान कोटामा पढाउन थाले । प्रधानाध्यापक, शिक्षक वा पियन जे भनेपनि उनी नै थिए । अझ भनौं, विद्यालयको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । उनी सम्झन्छन्, त्यो पहिलो तलब । मासिक जम्मा पन्ध्र सय ।
द्वन्द्वकालको त्यो समय । कान्दा गाउँमाथि नै माओवादीको क्याम्प थियो । तर, माओवादी पक्षबाट राम्रै साथ पाएको उनी सम्झन्छन् । जब द्वन्द्वकाल अन्त्य भयो, तब तत्कालीन लोथर गाविसले विद्यालयमा दरबन्दीमा एक शिक्षक राख्यो । विस्तारै जिल्ला शिक्षा कार्यालयलगायत विभिन्न सरकारी संस्थाहरुको पहलमा पाँच कक्षासम्म पढाई हुन सुरुवात भयो । केही हदसम्म शिक्षाको गुणस्तर बढ्यो तर पाँच कक्षापछि अन्यन्त्र गएर पढ्न सम्भव थिएन उनीहरुलाई । त्यसैले पढाई निरन्तरता गर्नु अर्को चुनौति बनेर आयो ।
२०६७ जेठ महिना । जंगली विषालु च्याउ खाएर चेपाङको एक परिवारका आठ जनाले ज्यान गुमाएका थिए । यहीँ कारुणिक घटना सम्झदै उनी भन्छन्, ‘विषालु च्याउ अन्जानमा खाएका थिएनन् उनीहरुले । रहरले हैन, बाध्यताले । केही नपाएर भोकै मर्नुभन्दा केही खाएरै मर्नु निको भन्ठानेर सबै परिवारले च्याउ खाएका थिए । गाउँमै तीन जनाले ज्यान गुमाइसकेका थिए । बाँकीलाई हामी सबै मिलेर अस्पताल पु¥यायौं तर धेरै ढिलो भइसकेछ । भौगोलिक विकटता अभिशाप बनेर आयो । कसैलाई बचाउन सकेनौं । लामो समय यस घटनाले मलाई नराम्ररी चिमोटिरहेको थियो ।’
जब यो घटना घट्यो, तब चितवनका पत्रकारहरु एकल सिलवाल, प्रतिमा सिलवाल र रमेशकुमार पौडेल रिपोर्टिङका लागि कान्दा पुगेका थिए । अनि बाहिरियो कान्दाको कारुणिक यर्थाथता । भौगोलिक विकटता, शिक्षा स्वास्थ्यको अभाव, समस्या नै समस्याको थलो हो कान्दा । त्यहाँ पुगेका सबैलाई नमज्जाले रुवायो कान्दाले । त्यही वर्ष चैतमा मितेरी फाउन्डेसन संस्थाको जन्म भयो । नामै मितेरी, संस्थापक अध्यक्षहरु थिए, मितद्वय एकल सिलवाल र रविन्द्र सिंह बानिँया । मिसन कान्दा, ‘नाना र खाना’ पहिलो कार्यक्रम बन्यो । सहयोगी हातहरु बढ्न थाले । क्रमशः विभिन्न कार्यक्रमहरु कान्दामा आए । पाँच कक्षाको पढाई सकिएपछि करिब ३५ जना बालबालिकालाई चितवनका विभिन्न ठाउँमा र काठमाडौंमा समेत पढाउने व्यवस्था संस्थाले गर्दै आयो । यो आफैंमा चुनौतिको विषय बन्यो । कान्दामै निम्न माध्यमिक तहसम्म पढाउन पाए ? सबैको यही इच्छा थियो ।
अनि जोडियो– लक्ष्मी फाउन्डेसन । यसका संस्थापक अध्यक्ष थिए, विष्णु गौतम । एकल सिलवालबाट कान्दाको कारुणिक वास्तविकता उनले पनि थाहा पाए । अनि फाउन्डेसनको ध्यान कान्दातिर तानियो । लक्ष्मी फाउण्डेशनले कान्दामै खाना, बस्नसहितको छात्रावास बनाउने योजना ल्यायो । नभन्दै २०७२ सालबाट करिब सय जना विद्यार्थीहरुलाई खाना बस्नसहितको छात्राबास बन्यो । ‘छात्राबास बनेसँगै शिक्षामा धेरै आमुल परिवर्तनहरु भए,’ उनी सम्झन्छन्, ‘एक त घर आउ जाउ गर्ने समय बचत भयो, अर्को पठनपाठनका लागि पर्याप्त समय मिल्यो । पढाई सँगसँगै विद्यार्थीहरु अन्य विविध विधामा निखारिदै गए ।’
दुबै संस्थाबाट थप शिक्षकशिक्षिकाको व्यवस्था विद्यालयमा भयो । विद्यार्थीहरु पाँच पढेर अन्त जान परेनन् । गाउँमै कक्षा ७ सम्म पढाई भयो । हालसम्म १८ वर्षको समयावधिमा ९ जना शिक्षकशिक्षिकाहरु यहीँ विद्यालयबाट स्थायी भइसके । उनले कहिल्यै यसको लोभलालच गरेनन् । उनी अझै अनुदान कोटाबाटै सेवा दिइरहेका छन् । कुन दिन यो कोटा अन्त्य हुन्छ र उनको जागिर खोसिन्छ, त्यो निश्चित छैन । जागिर गुम्ला, तर कान्दाबासीको माया र प्रेम गुम्नेवाला छैन । यसैमा सन्तुष्ट छन् उनी । १८ वर्षको यो लामो समयमा उनलाई धेरै ठाउँबाट धेरै अफरहरु नआएका हैनन् । राम्रो तलब र सेवासुविधाले उनलाई तानेन । कान्दाको माया र प्रेमले अन्त विकर्षण हुन त के सोच्न समेत सक्दैनन्,उनी । कान्दा उनको लागि शिक्षण थलो मात्र रहेन अब, घर, परिवार अनि सिंगो संसारजस्तै ।
परिवारबाट यति टाढा यति लामो समय बस्दाको अनुभव उनी यसरी पस्कन्छन्, ‘२०६६ मा म वैवाहिक सम्बन्धमा बाधिएको थिएँ । अहिले त छोरा र छोरी ठूल्ठूला भइसकेका छन् । घर त विद्यालय बिदा हुँदामात्र आउने जाने गर्छु । बढी समय त यतै हुन्छु । टाढाको बाटो, आउजाउ गर्न पनि मुस्किल । उता तीन जना परिवार, यता सिंगो गाउँ नै परिवार । चटक्कै कान्दा छाडेर घर जान पनि मनले कहाँ मन मान्छ र ?’ परिवार नै यता ल्याउने पनि नसोचेका हैनन् उनले, तर समय र परिस्थिति सबै कहाँ मिल्छ र ? फेरि उनलाई भुराभुरीसहितको परिवार कार्यक्षेत्रमै लगेर सरकारी सेवाहरुको दुरुपयोग गरिरहेका कैयौं उदाहरण देखिरहेका छन् । यसबाट पन्छिन पनि उनले परिवार कान्दामा ल्याएका छैनन् ।
अनकन्टार गाउँमा शिक्षा क्रान्तिमा लागिरहेका एक जनाको साथमा को नै हुन्छन् र ? सुरुमा त उनको परिवार पनि यसको विपक्षमा थिए । राम्रो स्थायी जागिर खाओस्, आफ्नो र परिवारको भविष्य सुनिश्चित होस्, कसका बुबाआमाले चाहँदैनन् र ? उनका बुबालाई पनि सुरुमा छोरा कान्दामा लागिपरेको त्यति निको लाग्थेन । जब केही वर्षअघि उनले बुबालाई कान्दा ल्याएर यर्थाथ देखाए, तब छोराको यतिका वर्षको त्याग, बलिदानले बुबाको मुहार मुस्कानले भरिएको उनी सम्झन्छन् । यतिका वर्ष आफ्नै श्रीमतीलाई कान्दा एकपटक भनेपनि ल्याउने उनको सपना भने अझै पूरा हुन सकेको छैन ।
विद्यालय जान एक जोर लुगा नभएर विद्यार्थीहरु कैयौं थिए । कति त आलोपालो एउटै लुगा लगाएर विद्यालय पनि आउँथे । आजको मितिमा यो समस्या धेरै हटेको छ । हाल १ सय ३० भन्दा बढी बालबालिकाहरु विद्यालयमा पढ्छन् । सबै विद्यार्थीहरु छात्राबासमै बस्छन् । शिक्षकशिक्षिकाहरु बिहान बेलुका छात्राबासमै विद्यार्थीलाई पढाउँछन् । त्यही खान्छन्, अनि त्यही सुत्छन् । उनी पनि छात्राबासमै अटाएका छन् । सबैका मनमा अटाएका बालकृष्ण सर छात्राबासमा किन नअटाउनु ।
आज विद्यालयको मुहार फेरिएको छ । भौतिक संरचना मात्र हैन, शिक्षाको गुणस्तर पनि धेरै परिवर्तन भएको छ । सुविधा सम्पन्न आधुनिक भवनहरु बनेका छन् । सरकारी, गैरसरकारी लगायत विभिन्न संघसंस्थाको देन हो, यो । अहिले कक्षा ७ सम्म पढाई हुन्छ । कम्तीमा ८ सम्म बनाउन पाए, उनको सपना हो यो । यसका लागि खडकिने समस्या उही हो, शिक्षक शिक्षिकाको अभाव । सरकारबाट दुई जना शिक्षकको थप दरबन्दी खुलाए, धेरै राहत मिल्नेछ । उनी आशावादी छन् ।
१८ वर्षको कान्दा बसाइँमा तपाईले के पाउनुभयो भन्ने प्रश्नमा भावुक हुँदै उनले भने, ‘साच्चै भन्दा सुरुमा म रहरले भन्दा बाध्यताले कान्दा आएको थिएँ । पन्ध्र सय मासिक तलब त्यसताका ठूलै रकम थियो । आजको दिनमा पैसाले किन्न नसक्ने माया, आत्मिय र प्रेम पाएको छु । मैले के पाएँ भन्दापनि मैले कान्दाबासीलाई के दिन सकें भन्ने कुरा ठूलो हो । आफूसँग भएको ज्ञान बाड्न पाएँ । अहिले यहीँबाट पढेर गएका विद्यार्थीहरु विभिन्न पेशामा लागेको देख्दा खुसी लाग्छ । शिक्षा, स्वास्थ्य लगायत विविध पक्षमा धेरै परिवर्तन आएका छन् । कान्दाबासीलाई पहिलाको तुलनामा धेरै सुविधाहरु पाउन थालेका छन् । उनीहरु खुसी छन् र म त्यसैमा खुसी छु ।’
पहिला दिनभरि हिँडेर भण्डारा बजार पुगिन्थ्यो । अहिले मात्र केही घण्टा हिडेर गाडीमै सरर बजार पुग्न सकिन्छ । खानेपानी र स्वास्थ्य सुविधा केही सहज छ, अहिले । परिवर्तनको नाममा चेपाङको मौलिकता र अस्तित्व मेटिनु हुँदैन भन्ने उनको बुझाइ छ । मौलिक भाषा, संस्कृति र परम्परामा नै उनीहरुको अस्तित्व जोडिएको छ । त्यसलाई जोगाइ राख्नुपर्छ । आधुनिकताका नाममा मौलिकता बिर्सन पनि त भएन ।
अठार वर्ष कान्दाको काखमा उनी रमाए । भीर पाखा, डाँडापाखाको सुन्दरतामा हराएँ । गाउँलेको माया र प्रेममा घुलिए । कान्दा आफ्नै ठाउँ लाग्छ उनलाई, अनि कान्दाबासी आफ्नै परिवारजस्ता । चाहेर पनि उनी कान्दा छाडेर जान सक्दैनन् । एक न एक दिन कान्दा छाडेरै जानुपर्छ भन्ने सत्यताले उनको अनुहार मलिन बन्छ । मन कुडिएर आउँछ । साँच्चै सिंगो परिवारजस्तो गाउँ छाडेर उनी जान सक्लान् त ?
विद्यालयका लागि केही कार्यक्रमहरु ल्याउनुप¥यो, अफिस अफिस दौडने उनी नै हुन् । दिनरात, वर्खा गर्मी केही नभई कुदिरहेका छन् उनी, अबिरल । अहँ, थाकेका छैनन् उनका पाइलाहरु । अझ थप जोस, जाँगर र उत्साहसहित कान्दा रुपान्तरणमा लाग्ने दृढ संकल्प गरेका छन् उनले । यस्तै निःस्वार्थ र कर्तव्यनिष्ठ बालकृष्ण सरहरु कान्दाले पाइरहून् ।




