‘जिउन त सबै जिउँछन् तर, मान्छे यसरी जिउनु कि अरुका लागि प्रेरणाको स्रोत बनून् । अर्थात उनका पदचापहरु पछ्याउँदै सुनौलो भविष्यको सपना कोरुन ।’ ओशोको यो वाणी यमराज रसाइलीले आफ्नो जीवनमा जीवन्त भेट्थे । उनी केवल आफू मात्र बाँचेका थिएनन्, कैयौंलाई बाच्न प्रेरणा दिएका थिए । जीवनका उतारचढाव, संघर्षका खुडकिलाहरु र उनको आँट र हिम्मतको प्रशंसक को थिएनन् र ? उनलाई जो भेट्थे, फ्यान बन्थे । जीवनको ४३ औं वसन्तसम्म कैयौं उतारचढावहरुलाई जितेर अघिबढेका उनी आखिर कोरोनासँग हारे । वैशाख १७ गते बिहान ४ बजे अन्तिम पटक सास फेरे । अनि उनीसँगै बिलाए,उनका कैयौं सपनाहरु ।
यमलाल रसाइली । नेपालमा साइकल कुदाउनेहरु माँझ एक लोकप्रिय व्यक्ति । अझ भनौं एक प्रेरणादायी आइकन । उनका प्रेरणादायी कथा सुनेर साइकलमा एक्लै नेपालका कुनाकन्दराहरु घुम्नेहरु धेरै छन् । जीवनबाट हार मानिसकेकाहरुलाई फेरि बाँच्न प्रेरित गर्ने व्यक्ति थिए, उनी । ‘क्या ! गज्जबका मान्छे थिए है उनी, आँखैमा राखे पनि नबिझाउने खालका थिए,’ साइकलिस्ट तीर्थराज अवस्थी उनलाई यसरी सम्झन्छन्, ‘सन् २०१८ को ‘टुर दी पोखरा’ मा सहभागी हुन उनी पोखरा आएका थिए । एउटै खुट्टाले पनि कति मज्जाले साइकल कुदाउँथे । देख्नेहरु सबै ट्वा पर्थे । हामी सँगसँगै साइकल मात्र कुदाएनौं, सँगै मेरो कार्यक्षेत्र मनिपालको होस्टलमा सँगै क्वालिटी समय व्यतीत गरेका थियौं । उनले आफ्नो सपना सुनाएका थिए, सुदूर पश्चिममा साइकल पर्यटनको अवधारणा ल्याउने । हामी दुबै सुदूर पश्चिमका । सुदूर पश्चिम साइकल पर्यटन प्रवद्धनका लागि उदाएका एक आशाको किरण अब सधैंका लागि निभ्यो । उनको सपनालाई मूर्तरुप दिने जिम्मा हाम्रो काँधमा थपिएको छ ।’ उनको अभाव सधैं खट्किरहने छ । धेरैले उनलाई सम्झिरहेका छन् । अनि सम्झिरहनेछन् सदासदाका लागि ।
४३ वर्ष पहिले २०३४ सालमा पर्वतको मुडिकुवामा जन्मेका थिए, रसाइली । ६ सन्तानमध्ये तेस्रो थिए, उनी । उनी बाल्यकालमा एकदमै चञ्चले थिए । चार वर्षको हुँदा उनी साथीभाइसँग भैलो खेल्न गएका थिए । राति लडेर उनको दाहिने खुट्टामा चोट पुगेको थियो । समयसँगै खुट्टा सुनिदै गएपछि हिँड्न समेत भएको थिएन । अस्पतालसम्म पु¥याउने न पैसाले भ्याउथ्यो न समयले । गाउँकै मुखियाले झारफुक गरिदिए । वैद्यले जडीबुटी औषधि लगाएर खुट्टामा बाँसको काब्रो बेरिदिए । खुट्टा निको हुनुको सट्टा कुहिएर गनाउन थालेपछि बल्ल लुम्बिनी अस्पताल पुगे । त्यहाँबाट रिफर गरियो– पाल्पा मिसन अस्पतालमा । खुट्टा कुहिसकेको रहेछ । अन्ततः उनले दाहिने खुट्टा गुमाए । खुट्टा मात्र गुमाएका थिएनन् उनले, सँगै गुमाएका थिए बचपनका रमाइला पलहरु । अनि गुमे बुनेका कैयौं सपनाहरु । एउटा कथित दलित परिवार, त्यसमाथि अपांग छोरो । अपहेलना र तिरस्कारको पात्रहरु बने, सिंगो परिवारका सदस्यहरु । अपांगको ट्याग भिराइदिए, उनलाई । बाध्य भएर उनको परिवार कैलालीमा बसाइँ स¥यो ।
नयाँ ठाउँ तर समस्या पुरानै । ठाउँ सर्दैमा समस्याहरु कहाँ पर सर्थे र ? आखिर जताततै छुवाछुत, विभेद र अपांगहरुप्रतिको व्यवहार उस्तै थियो । उनी बैशाखी टेकेर दाँैडदा छिमेकीका बाँधेका बाख्राहरु डराएर उफ्रन्थे । ‘एउटै खुट्टा हुँदा त यति उधुम मच्चाउँछ, दुइटै सक्ला खुट्टाहरु भए यसले कति दुःख दिँदो हो,’ छिमेकीको यो तीतो वचनले उनको मन नमज्जाले दुख्थ्यो । घरमा गएर आमालाई सबै सुनाउँथे तर आमा पनि के गर्न सक्थिन् र ? घुमाउरो अफ्ठ्यारा बाटो भएर हिँड्न भनेर सुझाव दिनबाहेक ! यस्तै अफ्ठ्यारा गोरेटोहरु छिचोल्दै उनी अघि बढ्दै गए ।
विद्यालयमा उनी सधैं हाँसोको पात्रा बन्थे । पढाइमा औसत विद्यार्थी भएपनि उनमा पढाइ र विद्यालयप्रति वितृष्णा भाव जागेर आयो । अनि ८ कक्षा पढ्दापढ्दै विद्यालय जानै छोडिदिए, बाध्यताले । घरमै तयारी गरेर भएपनि २०५५ सालमा प्राइभेटबाट एसएलसी उत्र्तीण गरे । अनि, पूरा गरे आफ्नो पढ्ने धोको ।
धनगढीमा थियो, नेपाल अपांग संघको शाखा । त्यही सिलाइबुनाइको प्रशिक्षण लिए उनले । अन्ततः उनी प्रशिक्षक बने अनि धनगढीमै डेरा लिएर सिलाइबुनाई गर्न थाले । बिदामा घर आउजाउ गर्थे । बाँकी समय धनगढीमै । एकपल्ट उनी घर फर्कँदा उनलाई सहचालकले दुव्र्यवहार गरेर बसबाट बाहिर धकेलिदिए । कारवाहीको माग गर्दै प्रशासन कार्यालयमा उजुरी हाले । उल्टै उनलाई पो दोषी ठहराइयो । अनि उनले दृढ संकल्प गरे, साइकल सिक्ने । आफ्नै साधनमा ओहोरदोहोर गर्ने । तर, यो पनि कहाँ त्यति सजिलो थियो र ? कसले दिन्थ्यो र उनलाई साइकल ? दाइ घरमा नहुँदा कसैले थाहा नपाउने गरी साइकल सिक्न थाले । एकपल्ट लडे, दुई पल्ट लडे अनि कैयौंपल्ट । तर उनले हार मानेनन् । साइकलको देब्रे पाउदानी घुमाउँदा दाहिने पाउदानी माथि आउथ्यो तर त्यसलाई नघुमाएसम्म साइकल अगाडि कहाँ बढ्थ्यो र ? अनि फु¥यो नयाँ आइडिया । चप्पल नै साइकलको पाउदानीमा बाँधे अनि साइकल कुदाउँदा केही सहज भयो । कैयौं पटकको प्रयासले उनी आखिर साइकलमै ४० कि.मी ओहोरदोहार गर्न सक्ने भए । अनि सुरु भयो उनको साइकल प्रेम ।
बाध्यताले सुरु भएको साइकल प्रेम बिस्तारै बृहत बन्दै गयो । टाढिनेहरु नजिकिदै गए । घृणा गर्नेहरु माया गर्न थाले । अनि उनमा विस्तारै अपांगहरुका हकहितका लागि आवाज उठाउने इच्छा पलायो । अनि माध्यम बन्यो, साइकलयात्रा । तर यो आफैंमा चुनौतिको विषय थियो । देश द्धन्दग्रस्त कठीन समयमा गुज्रिरहेको थियो । चुनौतिमाझ नै उनी देश दौडाहामा निस्किए । पुरानो साइकल निकाले । क्यारियरमा झोला बाँधे । त्यसमाथि ठूलो साइकलको पम्प । अनि त्यसैमा कसे, नक्कली सहायक खुट्टा । मनमा साहस र आँट बटुलेर २०५६ फाल्गुन २६ गते यात्रा सुरु गरे । २ महिना १८ दिन लगाएर ३१ जिल्लाहरु एउटै खुट्टाले टेकेनन् मात्र, यात्रा क्रममा उनीजस्तै अपांगहरुलाई भेटेरै हौसला पनि दिन्थे ।
समयसँगै उनी सबै माझ परिचित हुँदै गए । साइकलमै टुर दी पोखरा, टुर दी लुम्बिनी, मकवानपुर राइड, काठमाडौं कोरा राइडलगायत विभिन्न कार्यक्रममा सहभागी मात्र भएनन्, विभिन्न संघसंस्थाबाट सिकेर कैलालीलाई पनि साइकल सिटी बनाउने परिकल्पना गरेका थिए । सबैलाई साइकल चलाउन हौसाउँथे । विस्तारै सपनाहरु अंकुराउन थालेका थिए ।
अनि देशमा कोरोना कहरको लहर फैलियो । उनी लम्की बजारमै मुनलाइट टेलरिङमा सिलाइबुनाइ गर्थे । पहिला त चार पाँच जनालाई पनि रोजगार दिएका थिए । तर समय सधैं एकनास कहाँ हुन्छ र ? पछि उनले आफैंले मात्र सञ्चालन गरे । फुर्सदमा साइकलको पाउदानी चलाउँथे । अनि दिनभर लुगा सिउने कलको मेसिन घुमाउँथे । जेनतेन दिन गुज्रिरहेको थियो । छोरा छोरी विद्यालयमा पढिरहेका थिए । कोरोना तीव्र गतिमा फैलिएसँगै देशैभर सरकारले चैत ११ बाट लकडाउन घोषणा ग¥यो । सारा देश ठप्प भयो । उनको पसल पनि बन्द भयो । कैयौं महिना उनको कल चलेन । बिहानबेलुका छाक टार्न धौ–धौ भयो । तर, हार मानेका थिएनन् उनले । घरमै कपडाको मास्क बनाएर कैयौंलाई बाडे । सँगै बाडे प्रेमका भावनाहरु ।
चुनौतिमाझ अर्को चुनौति थपियो । आमालाई पत्थरी देखियो । कोरोना कहरमाझ राजधानी पु¥याउँदाको आर्थिक र मानसिक बोझ उठाउन त्यति सहज थिएन । आमाको अप्रेशन सफल भयो । अनि कैलाली फर्किइन्, आमा । आमा तङ्ग्रिदै गइन् । सँगै समय तङ्ग्रिदै गयो । परिस्थिति सामान्य बन्दै गयो । दिनचर्या पुरानै लयमा फर्किदै थियो । अनि उनी फर्किएका थिए, आफ्नो काममा ।
वर्ष २०७८ सँगै नयाँ भेरियन्टको दोस्रो कोरोना लहर नेपालमा पनि देखियो । वैशाख ५ गते उनमा कोरोनाको लक्षहरु देखिए । दुईपछि कोरोना पुष्टि पनि भयो । अनि उनी सेती अञ्चल अस्पतालमा भर्ना भए । तीनदिनपछि अक्सिजनको मात्रा कमी देखिएपछि अक्सिजन दिइयो । तर अवस्था झन् झन् जटिल बन्दै गयो । १२ गते आइसियुमा उनलाई सारियो । १५ गते भेन्टिलेटरमा राखियो । त्यसको दुई दिनपछि शुक्रबार बिहानै उनले संसार छाडे । अनि अस्ताए सधैंसधैंका लागि ।
उनीसँगै उनका सपनाहरु विलिन भए । विश्व प्याराओलम्पिक साइकल प्रतियोगितामा भाग लिएर नेपालको झण्डा फरफराउने उनको सपना थियो । आज हैन २०१८ तिरै देखेका थिए, यो सपना । यसको लागि ट्रेनिङ हुन्थ्यो भारतमा । खर्च नै दस बाह्र लाख लाग्थ्यो । उनको काबु बाहिरको कुरा थियो यो । उनले सहयोगको याचनाका लागि कैयौं अफिसका ढोकाहरु ढक्ढक्याए । साइकल संघलाई आफ्नो योजना सुनाए तर सबैले उनलाई भोलि–भोलि भन्दै वर्षौं झुलाए । अब त कहिल्यै पूरा नहुने भयो उनको सपना ।
प्रेरणाका धरोहर उनीसँगै ढल्यो । नेपालले एक साहसी साइकलिस्ट मात्र गुमाएन, सँगै एक प्रेरणादायी पात्र गुमायो । नेपाल साइकल परिवारमा सधैं उनको अभाव खट्किरहेछ । उनका सपनाहरु साकार पार्न सबै एकजुट भएर लाग्नुपर्छ । सबैको मन हृदयमा उनी रहिरहनेछन् । अलबिदा यमलाल दाई ।




