पोखरा, २६ वैशाख– संयुक्त अधिराज्य बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको भन्दै नेपालसहित ३ राष्ट्रलाई ‘रेड जोन’मा राखेको छ । रेड जोनमा दर्ज गर्दै बेलायतले नेपालबाट हुने यात्रालाई समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरे । विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।
उक्त यात्रा प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागु हुने जनाइएको छ । रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।
यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले भने आफ्नो देशमा फर्कँदा क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान राखिएको छ । ‘कोही पनि पुनः लकडाउनमा फर्कन चाहँदैन,’ सेक्रेटरी सेपले पत्रकार सम्मेलनमा भनेका छन् ।





