
पोखरा, २८ वैशाख– उपचारको अभावमा कोरोना संक्रमितहरुले घर र बाटोमै ज्यान गुमाउन थालेका छन् । सोमबार लमजुङको मस्र्याङ्दी २ का एक ६५ वर्षीय पुरुषको थप उपचारको लागि पोखरा ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भयो । जिल्ला अस्पताल लमजुङमा शनिबार भर्ना भएका उनलाई अस्पतालले थप उपचारको लागि पोखरा सिफारिस गरेको थियो । लमजुङ अस्पतालमा आइसीयू र भेण्टिलेटरको अभाव छ । उता, तनहूँमा पनि एक वृद्धको अक्सिजन अभावले निधन भएको छ । यता, पोखरा–१३ का ८७ वर्षीय पुरुषको घरमै निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरानाबाट गण्डकी प्रदेशमा थप १३ जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएक अनुसार सोमबार लमजुङ र तनहूँमा १/१ जना,स्याङ्जाका ४ जना,कास्की,पर्वत र म्याग्दीका २ जनाको निधन भएको हो ।
स्याङजाको वालिङ १ की ६५ वर्षीया महिलाको पोखराको चरक मेमोरियलमा सोमबार र हरिनास ४ का ५५ वर्षीय पुरुषको मणिपाल अस्पतालमा आइतबार निधन भएको हो । यसैगरी स्याङ्जाकै फेदीखोला ९ की ६२ वर्षीय महिलाको आइतबार गण्डकी मेडिकल कलेजमा,गल्याङ नगरपालिका ३ का ८४ वर्षीय पुरुषको पनि आइतबार बेलुका पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।
पोखरा ७ का ६७ वर्षीय पुरुषको आइतबार मणिपालमा, पोखरा १३ का ८७ वर्षीय पुरुषको घरमै निधन भएको हो । म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय युवाको सोमबार बिहान गण्डकी मेडिकल कलेजमा र म्याग्दीको अन्नपूर्र्ण गाउँपालिकाका ७२ वर्षीय वृद्धको बेनी अस्पताल म्याग्दीमै आइतबार निधन भएको हो । पर्वतको कुश्मा नगरपालिका ४ का ६७ वर्षीय वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा सोमबार निधन भयो भने कुश्मा १ कै ४७ वर्षीय पुरुषको आइतबार धौलागिरी अस्पताल बागलुङमा निधन भएको छ । तनहुँको भानु १ का ६५ वर्षीय पुरुषको दमौली अस्पतालमा निधन भएको छ । उनको अक्सिजनको कमीले निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यता, रुपन्देही जिल्लाको बुटवल १ घर भई हाल पोखराको फिस्टेल अस्पतालमा उपचार गराइरहेका ३४ वर्षीय युवाको पनि सोमबार निधन भएको छ । गण्डकीका कोरोनाबाट हालसम्म २७६ जनाको निधन भइसकेको छ ।
संक्रमणको दर उक्लिँदै
गण्डकीमा पछिल्लो २४ घण्टामा थप ६५३ जनामा संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५हजार ५३३ पुगेको छ । तीमध्ये ५ हजार ४९६ जना होम आइसोलेसनमा छन् । यपछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा सोमबार २९८ जनामा संक्रमण पुष्टि हुँदा २ जना माछापुच्छे« गाउँपालिकाका छन् भने बाँकी पोखरा महानगरकै हुन् । यता,नवलपरासीमा ८६, स्याङ्जामा १५, बागलुङमा ५८, तनहूँमा २२, लमजुङमा २७,गोरखामा २२, पर्वतमा ५०, म्याग्दीमा ६३ तथा मुस्ताङ र मनाङमा १÷१ जना संक्रमित रहेका छन् ।





