बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रहेनन् कवि एवं चलचित्रकर्मी चेतन कार्की

रहेनन् कवि एवं चलचित्रकर्मी चेतन कार्की


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २ २०७८, आइतबार

बागलुङ, २ जेठ – कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आईतवार निधन भएको छ । ८४ बर्षिय कार्कीको काठमाणडै निधन भएको परिवारले जनाएको छ । ८४ वर्षको उमेरमा पनि कार्की निकै ताजा र स्फूर्तिका साथ पाठकसमक्ष आफ्ना रचना लिएर प्रस्तुत हुन्थे । ज्येष्ठ नागरिक कार्कीको साहित्यिक रचनाकर्मको शुरुवात र प्रकाशन स्कूले जीवनमा भारतको देहरादूनमा हिन्दीमा कविता लेखेर भएको थियो । सन् १९५२ मा । स्याङ्जाको वाँटरी गाउँमा जन्मेका उनलाई आफ्ना लाहुरे पिताले ४ वर्षको उमेरमै दाजुसँग देहरादून लगेर गोर्खा मिलिट्री स्कूलमा भर्ना गरिदिएका थिए । उनी त्यतिवेला गोर्खा मिलिट्री स्कूलमा नौ कक्षामा पढ्थे ।
चेतनले कविता लेखे हिन्दी, नेपाली र उर्दूमा । उनका तीनै भाषामा कविता पुस्तक प्रकाशित छन् । जून निदाउन थाल्यो, माया प्रितिको चोखो कथा, (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) प्रकाशित छन् । साइट साउण्ड एण्ड पल्स पुस्तक पनि अंग्रेजीमा अन्य सह लेखकका साथ प्रकाशित छ ।
कार्कीका प्रकाशित उपन्यासहरुमा आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमून चर्चित छन् । आत्मा बेचेको छैन उपन्यासको पृष्ठभूमिमा उनको जीवन र उनले भोगेको परिवेश छ । देशको मायाले उनी लाहुरबाट फर्किए । तर, देशमा आएर उनले दुःख पाए । यस उपन्यासलाई त्यसको प्रतिक्रिया मान्दथे उनी ।

अविचुरी … प्रस्तुत छ ढोरपाटनले केही समय अघी कार्कीको बिषयमा तयार गरेको एउटा सामग्री ।

मर्दले आँटे नि वर्षदिन भन्छन्, आइमाइले आँटे एकछिन …

  • चेतन कार्की भन्छन्,‘उखानको भाकै मीठो’

    • बासुदेव मिश्र

 

हेर मर्दले आँटे नि’ वर्ष दिन भन्छन्
आइमाइले आँटे नि’ एकै छिन
म धाउन लागेको दुई वर्ष पुग्यो नि
तिमीले आँट्ने कुन दिन रे
कान्छी हे कान्छी !
कान्छीकै हित बोलन ……….
कान्छी केही त बोलन हे, मनको कुरा खोलन
म मादल घनघन घनकाउँला तिमी जुरेली जस्तै नाचन
…………….
भोकलाई भोजन, निद्रालाई ओछ्यान पिरतिलाई डर छैन…
ठेट नेपाली उखानको झटारो र गेडा–गेडाले कुत्कुताहट ! सायद, अरु कुनै नेपाली गीतमा होला । ठेट नेपाली शब्दसँग उस्तै संगीतले यो गीत कालजयी मात्र हैन, नेपालीपनको मानक नै बनेको छ ।वरिष्ठ लोकगायक, संस्कृतिकर्मी चेतन कार्कीको शब्द, गोपाल योञ्जनको संगीत, अनि प्रकाश श्रेष्ठ र बिमला राईको स्वर रहेको यो गीतको कुरा उप्काउँदा चेतनले अरु धेरै कुरा सम्झे ।
‘ताल विकास’ को हाकिमे रवाफमा घोडा दौडाउन छाडेर उनी २०२५ सालतिर काठमाडौँ हानिए । लोकगीतप्रतिको मोह छँदै थियो । २०१७ साल देखि नै रंगमञ्च लेखन, व्यवस्थापन, निर्देशन र कला संयोजनको सीपले खारिएका थिए, उनी । सूचना विभागले ‘चेतना’ नामक फिल्म बनाउन लेखक, पटकथाकार मागेको थियो । उनी छानिए । काम गर्दै जाँदा त्यो फिल्मको नाम ‘परिवर्तन’ भयो । ‘परिवर्तन’ को पटकथा संवाद, गीत, लेखन, मुख्य सहायक निर्देशकको जिम्मेवारीले उनलाई चलचित्र क्षेत्रमा प्रवेश प्रवेश गरायो । उनी त्यतै भुल्न थाले ।
निर्देशक बिएस थापा बम्बईमा बस्थे । उनले राजा महेन्द्रको निम्तोमा ‘माइतिघर’ बनाइसकेका थिए । सिनेमाको संसारमा रमाएका चेतनले बिएस थापालाई नेपाल बोलाए, ‘कान्छी’ बनाउन । ‘कान्छी’को संवाद र गीत चेतनले नै लेखे । लामो समय पोखरा बसेका उनले फिल्ममार्फत् पोखराको सौन्दर्यको प्रचार पनि गरे । २०४१ सालमा बनेको फिल्ममा नारायणगोपाल र अरुणा लामाको स्वर, गोपाल योञ्जनको संगीत र चेतन कार्कीको गीतले चलचित्र संगीतमा मानक नै बनायो । फिल्मका सबै गीतहरुले राम्रै चर्चा पाए । ‘मैले भन्दा पनि गोपाल योञ्जनका कारण गीत चर्चित भए’, उनले भने, ‘मैले त फिल्मको सिच्युएसन अनुसारको गीत लेखेको हुँ ।’गाउँका भाका र उखान टुक्कालाई उनले फिल्मको कथासँग मिलाएका रे ! ‘गाउँघरमा यस्ता उखानहरु कति छन् कति’, उनले भने, ‘ती उखानहरुको भाका पनि मीठो। मर्म पनि मीठो ।’गीत नै हेरौँ न ! मर्द भनिने पुरुष महिलाको अगाडि कति निरिह छ? धाएर पाउँदैन, अधिकार महिलासँगै छ ।
०००
२२ कार्तिक १९९५ मा पिता जुद्धवीर कार्की र माता चन्द्रमायाँ कार्कीको कोखबाट जन्मिएका चेतन कार्की पिताको हात समाउँदै भारत पुगे, पढ्नको लागि । त्यो सन् १९४२ तिरको कुरा थियो । गोर्खाली सिपाही छोरालाई पढाउन अङ्ग्रेजहरुले स्कूल खोलेका थिए, गोर्खा मिलिटरी स्कूल। त्यहीँ पढे। जीव विज्ञानमा स्नातक र हिन्दी साहित्यमा एमए उत्तीर्ण गरे । देहरादुन गए पनि उनले स्याङ्जाली माटोको मोह भुलेनन् । गाउँमा सुनेका गीतहरु गुन्गुनाउन छाडेनन् । माछीले खा मलाई भन्छ, खान मन लाग्दैन पटक्कै, चनौटे जा मलाई भन्छ, जान मन लाग्दैन पटक्कै !
वरिष्ठ लोकगायक चेतन कार्कीले यो गीत आफू चार वर्षको हुँदा नै गाएका रे । दिदी र आमाले सुनाए अनुसार उनी सानैदेखि गाउनका सौखिन नै थिए रे ! सानैदेखि गीत गाउँथिस् भन्दै यी टुक्का सुनाउँदा मैले कसरी गाएँ होला भन्ने लाग्थ्यो रे कार्कीलाई ।
कार्कीले जीवनको पोयो फुकाउँदै गर्दा ‘विश्वास’, ‘पहिलो प्रेम’, ‘परिर्वतन’ लगायत तीन दर्जन चलचित्रमा निर्देशनको अलावा कथा, पटकथा, संवाद, गीत लेखन, निर्माण व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दाको क्षणहरु पनि सम्झिए । सन् १९७६ र १९८० मा गरी दुई पटक अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्वको कुरा सुनाए। अनि काठमाडौँमा जागिर नपाएको प्रसङ्ग पनि उप्काए । जागिरका लागि शिक्षा मन्त्रालय पुगे । तत्कालिन शिक्षासचिव कुलशेखर शर्माले वचन त दिए । तर, मन्त्रिपरिषदका तत्कालिन अध्यक्षका भतिजा प्रविण गिरिको अगाडि उनको जोड चलेन । रेडियो नेपालको जागिर पनि ‘भ्वाइस अफ अमेरिका’ को नक्कल हो भन्ने आरोपले पाएनन् । फुटबल खेल्थे, तर पुलिसमा जागिर पाएनन् । बल्लतल्ल उनले मत्स्य विकासमा जागिर पाए। जागिरले नै जन्मठाउँ नजिकको पोखरा डोहो¥यायो।
०००
२०१८ सालतिर पोखरा बल्ल सहर बन्दै थियो । पोखरामा त्यो बेला ७ वटा मात्रै सरकारी जिप थिए। सेना, रत्नमन्दिर, बडाहाकिम (पछि अञ्चलाधीश), नगर विभागलगायतको जिप थियो। चेतनका अनुसार, आठौँ जिप भूमिसुधारको आयो। तर, मत्य विकास केन्द्र अन्तर्गतको ताल विकाससँग गाडी थिएन । घोडा चढ्नुमा कम्ता शान भने थिएन ! २४ वर्षको लक्का जवान अनि घोडा चढेर हिँड्ने हाकिम! गीत भनेपछि भुतुक्कै । शान त हुने नै भयो, उनीप्रति युवतीहरुको आकर्षण पनि चर्कै थियो । यही प्रसङ्ग जोड्दै म उनीसँग गफिन थालेँ ।‘मोजमज्जा पनि खुबै गर्नुभयो रे त?’
‘त्यो त कुरै नगरौँ । किनकि अहिले मेरो छेउमा श्रीमती छन्’, उनले भने, ‘त्यो बेला मलाई नबोलाएको कुनै फङ्सन नै हुँदैनथ्यो ।’ तीन रातसम्म गायव हुन्थे रे चेतन कार्की । उनी आफै भन्छन्,‘‘तरुनीहरुले मजेत्रो ओछ्याएर बाटो छेकेपछि कोदोको तेल खानै प¥यो । जति रात छिप्पिँदै जान्थ्यो, बत्ति धमिलो हुन्थ्यो, गीत चर्कँदै जान्थ्यो ।’उनी २०१८ सालदेखि २०२५ सालसम्म ताल विकासको हाकिम भएर पोखरा बसे । उनी पोखरा आउँदा अहिलेका जल्दाबल्दा साहित्यकार सरुभक्त कट्टु लगाएर हिँड्थे रे । कार्कीकै भाषामा भन्ने हो भने, अर्का कवि तीर्थ श्रेष्ठ बच्चै थिए ।
उनलाई पोखरा बस्दा बैदामका हर्कबहादुर अधिकारी र बुद्धिनाथ अधिकारीले लोकगीत सिकाए । कवि भूपि शेरचनसँग उनको संगत खुबै जम्यो । दुबै सौखिनले रमाइलो पनि खुबै गरे । कुनै शुक्रबार भने उनी अफिसपछि आफ्नो गाउँ स्याङ्जाको बाह्रटारी हानिन्थे ।‘बोलाउँदा ‘मेरो सानाकान्छा’ भनिने, तर नाताले काका पर्ने बेलबहादुर कार्कीले घर बस्दा लोकगीतको लत बसाल्नुभयो’, उनले भने, ‘स्याङ्जाकै सावित्री शाह र जुगेपानीका गोतामे बाउन भनिने केशवप्रसाद गौतमको ठाडोभाका पनि सुन्थेँ म ।’
गीत संगीतप्रतिको मोह त छँदैथियो, ताल विकासको हामिक भए पनि बढुवा नभएपछि मन भाँडियो । उनले जागिरलाई लात हाने र फेरि भाग्य अज्माउन काठमाडौँ हानिए । यो उनको जीवनको अनौठो मोड नै बनिदियो ।‘मान्छेले समयलाई डोहो¥याउने हैन, समयले नै मान्छेलाई डो¥याउँछ, मलाई जीवनमा केही पाइन भन्ने पछुतो छैन’ उनले सुनाए, ‘ठूलो पद पाइन भन्ने छैन, म मेरो कर्ममा सन्तुष्ट छु ।’ कुरैकुरामा उनले अतिततिर चिहाए ।
प्रकाश थापाले ‘कन्यादान’ फिल्म बनाउने सम्झौता गरेका रहेछन् । उनै थापाले एकदिन चेतन कार्कीकहाँ आएर भने, ‘गीत लेखिदिनुप¥यो ।’‘तिम्रो मनपर्ने गीतकारले लेखेनन् र ?’ चेतनले सोधे । प्रकाश थापाका प्रिय गीतकार किरण खरेल थिए ।‘किरण खरेलले भनेरै त म यहाँ आएको ! तपाईंले दुईवटा गीत लेखिदिनुप¥यो, एउटा तीजको, एउटा ठट्यौली’, थापाले भने । अनि जन्म्यो, तीजको लहर आयो बरिलै…।
अहिले यो गीत नबजेसम्म तीज आएको मानिँदैन । त्यसपछि आएका कुनै पनि गीतहरुमा यो गीतलाई बिर्साउने हिम्मत छैन । फिल्मको कथा अनुसार लेखिए पनि यो गीतले नेपालीपन बोकेको छ, नेपाली चेलीहरुको कथा र भावना बोकेको छ ।‘अहिले त यो गीत देहरादुनतिर पनि बज्दो रहेछ’, चेतनले सुनाए । गाउँको उखानलाई टपक्कै टिपेर बनेको हो रे यो गीत ।
छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछ चेली, आँसु समेटी, माइतीलाई छोडी यहाँ?

कान्छीकै अर्को ठट्यौली गीत भने गोपालराज मैनाली र बसुन्धरा भुषालको चरित्र अनुसार कोरेका थिए रे उनले । ‘परिवर्तन’ मा उनले ४ वटा गण्डकी प्रदेशका गीत राखे । ‘बैनीको दया छ भने रोदीघर दाई नाचे नभने’ भन्ने गीत त्यही फिल्मको लागि लेखेका हुन् उनले ।
गीत रच्न माहिर उनी। समयचेत बोकेका उनी आफ्ना सबैजसो गीतमा माटोको सुगन्ध मिसाउँथे, गाउँले चेलीहरुको उच्छबाचहरु बोल्थे । त्यसैले उनले रचना गरेका ‘वर्षदिनको तीजमा बाबा लिन आएनन् ….. तिजको लहर आयो बरिलै… होस् या हा हा ..कलिलो तामालाई सोधे रामालाई… नै किन नहोस्, अहिलेसम्म जनजिब्रोमा झुण्डिएकै छ । तिम्ले त मलाई ‘सम्झिने छैनौ तर म आइदिउँला, रातिको बेला भएर भेला रोधी नि गाइदिउँला’ भन्दै रोदी तताउने आफ्नो यो गीत जनकवि केशरी धर्मराज थापाले केही शब्द परिमार्जन सहित गाएको स्मरण होस् या ‘हरियो भन्ने त्यो काँचो पात पहेंलो सुरती जुगै’ र ‘भरी नहुने भए के लाउनु पिरती’, ‘उँभो र हेर्दा त्यो कालीलेक उँधोलाई वन छैन उडिजाऊँ भने म पंछी हैन, बस्नलाई मन छैन’ बोलका गीतहरु नै किन नहुन्, चेतनको मौलिकताप्रति प्रेम झल्काउन काफी छन् ।
त्यसो त रसिक चेतन दावी गर्छन् ,‘मायाप्रितिका सबै गीत मेरा हुन् ।’कालजयी सिनेमा बनाएका चेतन अहिलेको पुस्तासँग उतिसारो सन्तुष्ट छैनन् । ‘अहिले त फिल्म बनाउन कथा नै चाहिन्न, डाइरेक्टरले स्टार्ट र कट भन्न जाने भइहाल्यो’ उनले भने, ‘त्यो बेला सबै कुरा जान्न पथ्र्यो र फिल्म पनि राम्रो बन्थ्यो । ’चेतन आफूलाई अहिले पनि लक्का जवान सम्झन्छन् । मौका परे मुखको स्वाद फेर्दै तरुनीहरुलाई जिस्क्याउन पनि भ्याउँछन् । भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान किताबलाई हिन्दी र अंग्रेजीमा अनुवाद गर्दै गरेका उनीसँग कुनै आग्रह र पूर्वाग्रह भने छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->