‘केवल मेरो कृति यार सम्मानित भएको हैन, नेपालकै सिंगो संस्मरण विद्या पुरस्कृत भएको आभाष भएको छ मलाई’, २०७४ सालको पद्यश्री साहित्य पुरस्कार समारोहमा लेखक नयनराज पाण्डेले माथिको वाक्य भनेका थिए । हो, त्यही पुरस्कृत संस्करण यारको चर्चा गर्दैछु, आज ।
यार । अर्थात दोस्ती । मित्रबन्धु । जीवन आफैंमा यात्रा हो । यस यात्राको अनेक घुम्तीहरु भेटिन्छन् कैयौं साथीहरु । कोही मन खाने त कोही दिमाग खाने । कोही भेटिन्छन्, त कोही छुटिन्छन् । कति सम्बन्ध जोडिन्छन् कति तोडिन्छन् । गुमनाम हराउनेहरु पनि छन् अनि बेहिसाब हृदयको अन्तरकुनामा डेरा जमाएर रहिरहने यारहरु पनि हुन्छन् । कोही नचाहँदा नचाहँदै टाढिन्छन्, त कोही चाहेर पनि आफ्नो हुन सक्दैनन् । यहीँ नै विशेषता हो, यारको ।
हो, त्यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टपक्क टिपेर पस्केका छन्,उनले । मित्र, उनीहरुको स्वभाव र व्यवहार मात्र हैन, उनीहरुको व्यक्तित्व, कर्म र जीवन जिउने सिद्धान्तको गहिरो छाप छोडिदिन्छन्, नउक्किने गरी । लेखकीय शैली उस्तै लोभलाग्दो । अनि उस्तै छन्–छोटा चोटिला वाक्यहरु ।
‘औला’ शीर्षकको कथाबाट सुरु भएर ‘पण्डित’मा अन्त्य भएको छ । यस्तै यस्तै २५ वटा चोटिला र रसिला संस्मरणहरु उनले समेटेका छन् । स्टोरी टेलिङको शैलीमा लेखिएको यस संस्मरण पढ्दा कथाहरु पढेको भान हुन्छ । उनले साथीहरुका सुन्दर र सुखद पलहरुको कुरामात्र लेखेका छैनन्, सँगै समेटेका छन् यारहरुसँग बिताएका कुरुप र दिक्क लाग्दा किस्साहरु । सम्बन्धको गरीमाको कुरा मात्र हैन, सम्बन्ध विच्छेद पछाडिका अफ्ठ्यारा पलहरु पनि सँगै उक्काएका छन् । त्यसैले त विशेष छ यो पुस्तक ।
उनको एउटा खुबी भनेकै उनले रोजेका शीर्षकहरु हुन् । उस्तै रसिला अनि क्याची । मन छुने खालका । कथाको सुरुवात गर्ने उनको शैली उस्तै प्रशंसा गर्न योग्य । कथा कसरी सुरुवात र अन्त्य हुन्छ, मेसोमेलो नै हुँदैन । कथाहरु छोटा छन् । तर रसिला । कतै कविता पढेको भान हुन्छ त कतै कथा नै । छोटाछोटा वाक्यहरुले उस्तै स्वाद थपिदिएको छ । हरेक कथाले अन्तिमसम्म मज्जाले तानिरहन्छ ।
उनी नेपालगन्जमा जन्मे, हुर्के र त्यहीँ पढे । त्यसैले धेरै नेपालगन्ज र तराईमा आधारित उनकै बाल्यकालका कथाहरु समावेश छन् यसमा । अनि बाल्यकालमा भेटिएका र छुटेका दोस्तीका कथा । तराईको मौलिक स्वाद भेटिन्छ । कति मिठा त कति तीता । कथाको पात्रसँगै त्यसबेला समाजमा विद्यमान समस्याहरु उजागर गरेका छन् उनले । ‘इजार’ शीर्षकका आशालाई बालविवाहको प्रतिनिधि पात्रका रुपमा उभ्याएका छन् । कसरी तराईमा त्यस समय सानैमा विवाह गरिने चलन हुन्छ, उनले लेखेका छन् । छालाको रंगकै आधारमा कसरी सिमाना र भन्सारमा विभेद हुन्छ, ‘मौन’ शीर्षकको कथामा पात्र गुब्बे मार्फत् उनले लेखेका छन् । मधेसी र पहाडियाबीचको खाडल त उतिबेलादेखि नै रहेछ,जुन अझै विद्यमान रहेको छ । त्यसबेला व्याप्त कमलरी प्रथा निर्मुल गर्नुको सट्टा मौलाउन लागी पर्ने च्याउसरी उम्रेका विभिन्न एनजियो र आइएनजीओ र त्यसमा लाग्ने समाजसेवी भनाउँदाहरुको कर्तुत उनले उतारेका छन् ।
लेखक बन्ने हुटहुटीले उनी राजधानी हानिएका थिए । समयसँगै उनी पत्रकार, रंगमञ्चकर्मी, निर्देशक, पटकथाकारको भूमिकामा देखिएका थिए । त्यसैले त्यस समयका रसिला, यादगार र रमाइला किस्साहरु यसमा अटाएका छन् । कथाहरुले कसरी मोड लिन्छन्, अनुमान गर्नै सकिँदैन । सस्पेन्स अनि सरप्राइज दुबै भेटिन्छन् कथामा । कतै मज्जाले रुवाउँछ त कतै धीतमरुन्जेल हसाउँछ । कतै घोतलिएर सोच्न बाध्य बनाउँछ । कथामा यो नभई यस्तो भैदिएको भए, मनमा धेरै पटक लागिरहन्छ । कति ठाउँको पात्रमाथि दया जाँगेर आउँछ त कतै यारप्रति सम्मानले ढक्क छाती फुलेर आउँछ ।
सब्बल पक्षहरु :
नेपाली साहित्य फाटमा नियाल्ने हो भने संस्मरण विधामा आफ्नो महिमा, गुणगान गर्ने र मपाई प्रवृति बढी नै हावी भएको पाइन्छ । सबै दोष अरुलाई धुपारेर चोखो बन्न खोज्ने लेखकहरु भन्दा उनी केही हदसम्म परै छन् । उनले पात्रहरुका सब्बल र कमजोर पक्षलाई मात्र केलाएका छन्, निर्धक्क आफ्ना कमजोर पक्षहरुलाई समेत पस्केका छन् । अनि आत्मासाथ गरेका छन् गल्तीहरुलाई । कतै आफ्नो अह्म र घमण्डले गुम्न पुगेका मित्रहरुप्रति आत्मग्लानि पोखेका छन् त कतै आफैंलाई धिक्कारेका छन् । गतिला संस्मरणको खडेरी परिरहेको समयमा यसले केही हदसम्म पाठकको प्यास मेटाउन सक्छ ।
‘यारमा मैले मेरा मित्रहरका कमीकमजोरी खोतल्न खोजे । तर, भेटें आफैंभित्रका हजार कमजोरी । त्यसैले यो किताब मेरो आफ्नै वजन जोख्ने तराजु पनि हो । मेरो लम्बाइ, चौडाइ र उचाइ नाप्ने इन्चिटेप पनि हो,’ पुस्तकको अन्तिम पृष्ठमा उनले यसरी आफ्नो यथार्थततालाई स्वीकारेका छन् । यस स्वीकारोक्ति नै पुस्तकको अर्को सब्बल पक्ष मानिन्छ । जुन विषयमा प्राय संस्मरण लेख्ने लेखकहरु चुक्छन् ।
समाजमा दबिएका आवाजहरुको बुलन्द माध्यम लाग्छन् ,कुनै कथाहरु । त्यसैमध्ये ‘गुप्त’ कथा एक हो । तेस्रो लिंगी मानिसहरुप्रति गरिने व्यवहार र उनीहरु समाजको परिधिमा समावेश हुन नसक्दा कसरी आत्महत्याको मुखमा पुग्छन् भन्ने उनले लेखेका छन् । बहुविवाह, सुकुम्बासीका पीडा व्यथा समेत उनले मज्जाले खोतलेका छन् ।
हरेक कथाको अगाडि सचिनयोगल श्रेष्ठले कोरेका लोभलाग्दा स्केचहरुले कथालाई थप सुगन्ध थपेको छ । स्केचमार्फत सयौं शब्दमा लेखिएका घटनाहरुलाई न्याय दिएको झैं लाग्छ । यो अर्को प्रशंसा गर्नलायक पाटो रहेको छ यारको ।
कमजोरी पाटाहरु :
हरेक विषयका सबल र कमजोर पक्षहरु भइनै हाल्छन् । यार यसबाट अछुतो हुने कुरै भएन । उनले पात्रहरु मात्र पस्केका छैनन्, सँगै उठान गरेका छन् समाजका सामाजिक, राजनीतिक र आर्थिक पाटाहरु । तर कथाहरु यति छोटा छन् कि कति अपुरै जस्ता लाग्छन् । अझ केही मिहिनेत गरेर विषयवस्तुलाई मधेको भए अझ गज्जबका खुराकहरु बन्थे होलान् । चार पाँच पृष्ठमै सकिने कथाहरु अझ वृतान्तमा लेखिन सक्थ्यो होला । कति कथाहरु त नचाहँदा नचाहँदा अन्त्य भएको आभाष हुन्छ । मनको प्यास नै नमेटिने खालको । धीत नै नमर्ने खालको ।
अर्को कमजोरी पक्ष, उनले कति पात्रहरुका पुराना घटना क्रमहरुलाई मात्र पस्केका छन् । लेखकले अलि मिहिनेत गरेर पात्रहरुको वर्तमान अवस्थालाई पनि समावेश गर्न सकेको भए अझ सौन्दर्य थपिन्थ्यो होला कथाको । पात्रहरुलाई न्याय मिल्थ्यो होला । कतै लेखकले हतारो गरेको त हैन, भन्ने भाव हुन्छ ठाउँठाउँमा ।
कति कथाहरु उनले यस संस्मरणमा नराखे भएपनि हुने खालका छन् । जस्तै कृतघ्न । जबरजस्ती आफ्ना लेखक साथीको कथालाई समावेश गर्न मात्र यस कथालाई राखिएको जस्तो भाव हुन्छ ।
अन्त्यमा,
पढन् लायक संस्मरणहरुको खडेरी भइरहेको समयमा यसले नेपाली साहित्यमा केही राहत भने दिएको हो । करिब चार वर्ष अगाडि बजारमा आएको भएपनि यो अझै पनि उस्तै ताजा लाग्न सक्छ । आफ्ना बाल्यकालका तीतामीठा घटनाहरु सम्झाइदिन्छ कथाले । कतै त पात्रहरु स्वयं आफैं भएको अनुभूति पनि हुन्छ । केही न केही सिक्ने, बुझ्ने र समय व्यति तगर्ने माध्यम पक्कै यार बन्न सक्छ । नपढेका भए यो लकडाउनको समयमा एक पटक पढेकै जाति । दोहो¥याउँदा पनि केही फरक पर्दैन हैँ ! बाँकी पुस्तकमा ।




