बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कथा : मनमायाको हाकिम

कथा : मनमायाको हाकिम


  • शिशिर शर्मा ‘प्रदेज’
  • जेष्ठ ८ २०७८, शनिबार

हाकिम योजनाबद्ध मुडमा अगाडि बढ्दै थियो । कन्याभित्र रहेको ‘मनमाया’लाई आफ्नो काबुमा पार्नुथियो । जस्तो चाहन्छे त्यस्तै हुनु थियो उसलाई । कन्यामा हाकिमको ‘प्लिज नाई नभन ल’ शब्दबाणले रिसको पारो उकालो लागिरहेको थियो ।

कन्या आफैंमा राम्री थिई । उसो त साथीहरु उसलाई मनमाया भनेर बोलाउथे । ऊ नामजस्तै मनकी पनि उत्तिकै धनी थिई । कसैले केही मागे आफूसँग भएको चीज दिइहाल्थी । यतिसम्म कि साथीहरुले विश्वास गरेर मागे भने ‘मन’ पनि दिइहाल्ने !
राम्री कन्यालाई ‘मनमाया’ भनेर कसैले बोलाउदा डाहा गर्ने केटाहरु धेरै थिए सहरमा । डाहा नगरुन् पनि किन ? ऊ सजिलै विश्वास गरिहाल्थी र मन पनि दिइहाल्थी । उसको मन चोर्न खोज्ने केटाहरु धेरै थिए त्यो बजारमा ।
आफ्नो कामप्रतिका लगाव र मेहनतले नै कन्यालाई भविष्यप्रति विश्वास बढाएको थियो । परिश्रमलाई नै सफलताको कडी मान्थी ऊ । आफ्ना नजिकका इष्टमित्र र साथीभाइ जोसँग उसले अलि बढी संगत गरेकी थिई, ती सबैले उसलाई सिकाएका थिए, ‘मेहनतको फल मिठो हुन्छ ।’
हुन पनि हो पल्लोघरे बाबु र वल्लो घरका काका आफ्नै महेनतले ठूला मान्छे बनेका छन् । उसले जान्दजान्दै उनीहरुले प्रगति गरेका थिए । पल्लोघरे बाबुको दुःख उसले सबै थाहा नपाएपनि अरुबाट सुनेकी छे । वल्लो घरका काका त बिहानदेखि बेलुकासम्म काममा खटिरहेको अहिले पनि देखिरहन्छे ।
कन्याले कामप्रतिको लगाव उनीहरुबाटै सिकी । श्रमको मूल्य खोज्दै भौतारिने केटाहरुलाई उत्पादनमा लाग्न पल्लोघरे बाबु र वल्लो घरका काकाले दिएको सल्लाह उसको लागि पनि हो भन्ने कन्या आफैंले बुझी । अहिले कन्या आफैं श्रममा खटिने भएकी छ । उसको खटाई र कामप्रतिको मोह देखेर डाहा गर्नेहरु सहरतिर अलि बढी नै छन् ।
हुन त कन्या गाउँकी केटी हो । सहर झरेपछि पनि लामो समय ऊ गाउँकै रहनसहनमा बसी । सहर बजारको रमझमले छोएन । सादा जीवन उच्च विचारको आदर्शले पछ्याइरह्यो । बहकिनबाट ‘टिनएज’मा पनि बँची ।
कलेज जाने, कक्षाकोठामा गुरुहरुको कुरा राम्रोसँग ध्यान दिएर सुन्ने र पढ्ने उसको बानीको सर÷म्यामहरुले पनि खुब प्रशंसा गर्थे । कसैको पनि लहैलहै र बहकाउमा नलागी कन्याले क्याम्पस जीवन सकी । राम्रो श्रेणीमा कलेजका सवै कक्षा उत्तीर्ण गरी ।
कन्या अहिले सहरको एउटा अफिसमा जागिरे छ । अफिस समयमा जागिर खान जाने प्रमुख काम छ उसको । साँझ बिहानमा आमाबुवालाई सहयोग गर्नुपर्छ भन्ने पनि बुझेकी छ कन्याले । नजिकबाट चिनेको अफिसको हाकिम पनि उसको कामबाट प्रभावित भइरहेको थियो ।
अफिस न हो, सधै एकैकिसिमले कहाँ चल्छ र ? अफिसको हाकिम न हो, उसको पनि त केही स्वार्थ लुकेको होला ! अरु बालमतलव, कन्या आफ्नो काममा व्यस्त छे ।
‘आज अफिसको काम अलि बढी छ, सकेर मात्रै जानुपर्छ है कन्या,’ हाकिमले आदेशात्मक अनुरोध ग¥यो । हुँदैन भन्न सकिन । तर, काम सक्न कतिबेर लाग्छ ? ऊ दुविधामा परी । कामको चाप बढी नै थियो । सुरु गरेको काम सक्नलाई मात्रै पनि उसलाई ४, ५ घन्टा लाग्थ्यो कम्तीमा ।
कार्यालयको समय सकियो । सबै गए आ–आफ्नै घरतिर । अब बाँकी रहे कन्या र उसका हाकिममात्रै ।
वास्तवमा हाकिम यही समयको पर्खाइमा थियो । उसले कन्यालाई काममा भन्दा पनि उसँग नजिक हुन राखेका थियो यो पटक । कन्याको रुपरंग र मायालु बानीले हाकिम भित्रभित्रै लोभिएको थियो । ऊप्रति एकतर्फी आकर्षित भएको थियो ।
हाकिमले कन्यालाई काममा एकाग्र हुनै दिएन । अफिसबाट सबै हिँडेको जानकारी पाउँनासाथ कन्याको नजिकै पुगिहाल्यो । अरु गएनगएको जानकारी लिन त उसको टेबुलमा सिसी क्यामेरा नै काफी थियो ।
कन्या काममा ध्यानमग्न छ । तर, उसको दिमागमा अनेक कुरा खेलिरहेका छन् ।
‘मनमाया’ कस्तो भइरहेको छ काम ? नजिकै पुगेर हाकिमले मायालु स्वरमा भन्यो ।
मनमाया ! यो शब्दले कन्या अलमलमा परी । नपरुस् पनि किन ? आजसम्म त्यो अफिसमा उसलाई यो शब्दले कसैले बोलाएकै थिएनन् । मनमाया भनेर बोलाउने सहरमा केही केटाहरु मात्रै छन् भन्ने सोचेकी थिइ उसले । तर आज आफ्नै हाकिमको मुखबाट ‘मनमाया’ सुन्दै छे ऊ । ऊ दोधारमा परी, अरु नै कसैले पो बोलायो कि ?
कन्या सोचाइमा परेको देखेर हाकिम पनि असमाज्स्यमा प¥यो । त्यहाँ एकछिन मौनतामात्रै चल्यो । दुवै मौन रहे ।
‘मनमाया’ मौनतालाई तोड्दै हाकिमले नै फेरि संकेत ग¥यो उसलाई । अब भने ‘कन्फर्म’ भई – नाम पुकारेर हाकिमले नै बोलाएका रहेछन् ।
‘सर ! हजुर, यो के भन्दै हुनुहुन्छ ?’ कन्याको आश्चर्यवाचक शब्द भुइँमा खस्न नपाउँदै हाकिमले जवाफ फर्काइहाल्यो, ‘सुनिनौ र मायालु ! मैले मनमायालाई बोलाएको ?’
मायालु ! मनमाया ! कन्याको होस्हवासै उड्यो । छांगाबाट खसेजस्तै भई । के बोल्ने के नबोल्ने मौनतामा नै रही ।
मनमाया सहरमा धेरै केटाहरुले बोलाएको नाम हो उसको । तर, मायालु पहिलो पटक सुन्दै छे ऊ । एकैछिन दिमाग घुमाइ र सोचमग्न भई । उसको भित्री मनले भन्यो, ‘हाकिमले मलाई आज अफिसको कामका लागि राखेको होइन पक्कै । यसमा केही खोट छ, केही स्वार्र्थी मगज छ ऊसँग ।’
फेरि पनि मौनता तोड्ने पालो हाकिमकै आयो । किनकी कन्याको दिलदिमाग खल्बलाउनु नै थियो आज उसले । कन्याको खल्बलिएको दिमागबाट आफ्नो स्वार्थ पूरा गर्नु थियो ।
हाकिम कन्याको छेवैंमा गयो र कपाल सुम्सुमाउदै भन्यो ‘प्रिय, म तिमीबाट आशक्ति भएँ, कसरी यति धेरै प्रभावित भएँ ? थाहा छैन । प्लिज नाइँ नभन ल ?’
कन्यालाई अब भने सह्य भएन । हाकिमको हात धपार्दै भनी, ‘सर ! यस्तो बानी व्यवहार मन पर्दैन मलाई । लैजानुस् हजुरको हात उता ।’ आक्रोस मिश्रित स्वरमा उसले हाकिमलाई कर्के आखाँ लगाई ।
हाकिम योजनाबद्ध मुडमा अगाडि बढ्दै थियो । कन्याभित्र रहेको ‘मनमाया’लाई आफ्नो काबुमा पार्नुथियो । जस्तो चाहन्छे त्यस्तै हुनु थियो उसलाई ।
कन्यामा हाकिमको ‘प्लिज नाई नभन ल’ शब्दबाणले रिसको पारो उकालो लागिरहेको थियो । त्यै पनि रिसको पारोलाई कन्ट्रोल गर्दै भनी, ‘सर, हजुरबाट मैले यो खालको व्यवहारको आशा गरेकी थिइनँ । छड्नुस, म जान्छु ।’ कम्प्युटर बन्द गर्दै आफ्नो झोला मिलाउन थाली कन्याले ।
हाकिम आज उसँग पहिलो प्रयास गर्ने मुडमा थियो । सफल नभए अर्काे दिन सहज पर्खाइका लागि तयार थियो । त्यसैले कन्या झर्किंदा पनि ऊ शान्तै रह्यो । अनि नम्र भई कोटको पकेटबाट एउटा कागज कन्यालाई दिँदै भन्यो, ‘ल यो लिएर जाँउ तनि आज, अर्काे दिन गरौंला काम ।’
कन्यालाई हाकिमको अगाडि एकछिन पनि बस्नु थिएन, यो मुडमा । उसले दिएको कागज समाती र फन्किँदै निस्की अफिसबाट ।
क्षणभरमै कसरी घर पुगी पत्तै पाइन कन्याले । ढोका खोली र आफ्नै बेडमा पल्टी । अफिस र हाकिमको दृष्य दिमागभरी भनभन्ती घुम्न थाल्यो । चारैतिर दिमाग घुमाई, सोची किन यस्तो ग¥यो हाकिमले, उत्तर कतैबाट पनि पाउन सकिन ।
यत्तिकैमा दिमागले सम्झायो हाकिमले दिएको कागज । झोला खोली र कागज झिकेर पल्टाई । लेखिएको थियो,
प्रिय मनमाया,
मुटुभरीको माया अनि जीवनभरिको सम्झना तिमीलाई ।
तिम्लाई सम्झना छैन् होला, म त्यही बाबु हुँ, जो तिम्रो मन माग्न धेरै पटक सपनीमा आएको छु । विपनीमा नभेटेपनि सपनामा तिम्ले खोज्दै दिमाग खलवलाउने मै हुँ ।
प्रिय मायालु,
मेरो त यही जुनीमा तिम्लाई पाउने तपस्या छ । कसैगरी तिमी मानिन्यौ भने पनि अर्काे जुनी त म तिम्रै लागि र तिमी मेरै लागि जन्मिने निश्चितै छ । आशा छ, यही जुनी हाम्रो होस ।
उही तिम्रो
बाबु ।
हाकिमको कागजले कन्याको दिमाग फनफनी घुमायो । यता पल्टी, उत्ता पल्टी । बाल्यकाल सम्झी, यौवनकालका सपना बुझी । गाउँ र सहरका आफ्ना केटाहरुलाई पढी । बिहेका लागि आएका प्रस्तावहरु केलाई । कतै पनि हाकिमको व्यवहारसँग ‘म्याच’ खाने आकृति भेटिएन ।
अन्ततः कन्याले हाकिमलाई रिप्लाई गर्न दिमागमा ‘टेक्स’ तयार पारी, ‘सरी सर, म हजुरसँग होइन, भोलिबाट त्यो अफिसमा नआउने निर्णय गरें ।’ दिमागको शब्दलाई ‘टाइप’ गर्न मोबाइल खोज्दै थिई । संयोगवश फोनको घन्टी त्यही समयमा बज्यो । नियाली – फोन उही हाकिमकै थियो ।
४ जेठ २०७८ साँझ, काठमाडौं

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->