बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एक्लो पिपल

एक्लो पिपल


  • सुदीप सुवेदी
  • जेष्ठ १५ २०७८, शनिबार

खोई, आज पनि देखिन,
बा, तपाई साँच्चै
हराउनुभएको हो र ?
धेरै हप्ता बित्यो
बा, तपाईंले चौतारोको
डिल नटेकेको
मेरा पद छुँदै नघुमेको
मलाई साक्षी राखी
धेरैलाई उपदेश नदिएको
सधँैजसो दिउसो
घण्टौं मेरा फेदीमा
गीताका पाठ नसुनाएको
बाटोमा हिँडेकालाई नबोलाएको,
खैजँडी पिटेर हरि भजन नगाएको ।
खोई आज पनि देखिन
तपार्इं, ए ! बा,
साच्चैँ तपाईं हराउनुभएको हो र?
कालो छाता ओडेर, दौराको भेषमा
राधेश्यामको पछेउरी काधँमा
लौरो टेक्दै धमिला आँखा
देख्दै नदेख्दै, देख्दै नदेख्दै ।
दिनकै चौतारी नआई ,
सबैलाई जम्मा नगराई
मनले मानेन भन्नुहुन्थ्यो
हावा नचले पनि हल्लिने, पात
पिपल हो भन्नुहुन्थ्यो
मेरा पात पलाँउदा
तपार्इं मुस्कुराउनु हुन्थ्यो
मेरा गुण सबैलाई सुनाउनुहुन्थ्यो
म जस्ता अझ धेरै सार्ने भन्नुहुन्थ्यो
मलाई आफ्नै प्राणको
भुड्को मान्नुहुन्थ्यो ।
शनिबार ,हो यही शनिबार
मलाई चारैतिर ढुङ्गाले चिन्ने भन्नुहुन्थ्यो ।
खोई ? आज पनि देखिन त
बा, तपाईं साँच्चै हराउनुभएको हो र ?
म त एक्लो भए तपाईं नआएपछि,
हो ,साच्चै तपाई नआएपछि
मेरा पात सल्बलाछन् मुस्कुराउने मुहार छैन,
म शान्त रहन्छु ध्यान गर्ने मन छैन,
म अटल रहन्छु ,
मलाई जिस्काउने ज्यान छैन ।
ए ! बा के मेरो पवन थोरै भए र तिम्लाई  ?
के मेरो शितलता रोग भए र तिम्लाई  ?
कि सहरीया सिलिन्डरको भरमा बस्न थाल्यौ र ?
बा, खोई आज पनि देखिन त
साच्चै , तपाई हराउनुभएको हो र ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->