शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आत्मबल बढाउनु नै कोरोनाको अचुक औषधी

आत्मबल बढाउनु नै कोरोनाको अचुक औषधी


  • चन्द्रमा बिक
  • जेष्ठ १६ २०७८, आइतबार

यतिबेला हामी बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ को निकै भयावह र महामारीको अवस्थामा छौ । हाम्रा मनहरु त्रसित छन । दैनिकीहरु डर, भय, त्रास र आशंकामा ब्यतित भइरहेका छन । हामी नेपालीहरुको मात्र होइन बिश्वभरका सिंगो मानव समुदायहरुको मन मथिङगलमा तिनै डर, भय र सन्त्रासले कब्जा जमाईरहेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सिंगो बिश्वबाट अनवरत रुपमा प्रयासहरु भइरहेका छन । मान्छेहरु घरभित्र छन ।
बजारका गल्ली र चोकहरु सुनसान छन । हरेक मान्छेका नाक र मुखहरु माक्सले छोपिएका छन । हातहरु सेनिटाइजरले भिजिरहेका छन । सडकहरुमा एम्वुलेन्स र मालबाहक गाडीहरु मात्र गुडिरहेका छन । हस्पिटलका बेडहरु कोभिडका बिरामीहरुले भरिरहेका छन । अक्सिजनका अभावमा बिरामीहरु छट्पटाईरहेका छन । रेडियो एवम टेलिभिजनहरुमा दैनिक हजारौको संख्यामा संक्रमितहरुको संख्या थपिदै गएको र संयौको संख्यामा कोभिडका बिरामीहरुको मृत्यु भएका समाचारहरु बजिरहेका छन । साँच्चिकै हामी यतिवेला इतिहासकै निकै डरलाग्दो र भयाबहमय बिशम परिस्थितिमा आफ्ना जीवनहरु ब्यतित गरिरहेका छौ ।
के गाउँ, के शहर जताततै कोरोना भाइरसको डरलाग्दो चर्चा परिचर्चाको बिचमा दिनहरु ब्यतित गरिरहदा कहिले कोरोनाको अन्तिम दिन पुग्छ भनेर हामी पनि दिनहरु कुरेर बसेका थियौ । कोरोनाप्रतिको डर, जीवनप्रतिको निराशाको बिचमा राज्य पक्षबाट गरिएको रोकथाम र नियन्त्रणका प्रयासहरुले कहिकतै आशा र अभिलाशाहरु पनि मनमा पलाईरहेको थियो ।
हुन त म एक स्वास्थ्यकर्मी पनि हुँ । रोगी बिरामीहरुको सेवा हाम्रो पहिलो कर्तब्य हो । उनीहरुलाई उपचारसंगै थप हौसला प्रदान गरी जीवनप्रति थप आशा जगाउनु हाम्रो अर्को कर्तब्य पनि हो । तर यति डरलाग्दो, भयानक र जीवन नै समाप्त गर्ने खालको रोगको महामारीका कारण मन निकै आत्तिन्थ्यो । हामी पनि त मान्छे नै हौ, हाम्रो पनि मन हो । हाम्रो पनि त परिवार छ । त्यसैले मनमा डर त्रास हुनु स्वभाविक नै थियो । निकै सचेत भई सजकता र सावधानी अपनाउदै रोगी बिरामीहरुको सेवा र उपचार गरिरहेको थिए । तर एक दिन मलाई पनि कता कता कोभिड–१९ कोरोना भाईरसको लक्षणहरु देखा पर्न थाल्यो । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, खाना मिठो नहुने लगायतका लक्षणहरु मेरो शरीरमा देखा पर्न थाल्यो, जुन लक्षण कोरोना भाईरस कोभिड १९ को लक्षण थियो ।


म निकै आत्तिए, मनमा धेरै कुराहरु खेल्न थाले । झन भन्दा झन डर लाग्न थाल्यो । अनि हतार हतार पिसिआर परीक्षण गर्न गए । नभन्दै दुइ तिन दिनपछि कोरोना पोजेटिभ पुष्टि भएको रिपोर्ट आयो । आफैमा स्वास्थ्यकर्मी भएर पनि यति धेरै सजकता र साबधानी अपनाउदा अपनाउदै पनि म कोरोना संक्रमित हुन पुगे ।
संक्रमित कहाँबाट र कसरी हुन पुगे अहिले त्यतातिर नजाऔ । संक्रमित भएर रोगसंग लड्नु र त्यसलाई जित्नु मेरो अव मुख्य कर्तब्य हुन पुग्यो । रोगको पिडा र आफ्नो स्वास्थ्यको समस्या एकातिर छ त्यो भन्दा बढी पिडा समाजले दिने पिडाले मनमा निकै चोट पुरायो । त्यतिवेला नेपालमा भरखर भरखर कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको थियो । त्यतिखेर एउटा स्वास्थ्यकर्मी र कोरोना संक्रमित ब्यक्तिहरुप्रति हेरिने दृष्टिकोण र गरिने ब्यवहार एकदमै साँघुरो थियो । त्यसको प्रत्यक्ष मारमा स्वयम म पनि परे । संक्रमित हँुदा बिरामीहरुलाई साँच्चिकै माया, स्नेह र हौसलाको आवस्यकता हँुदोरहेछ । संक्रमित भएको बेला बुझ्न सक्ने मान्छेको निकै खाँचो हुदोरहेछ । किन कि संक्रमित हुँदा जिन्दगीदेखि नै हार खाएर अव यत्ति नै हो भन्ने सम्म पुगिदोरहेछ । त्यतिबेला समाजका आफन्त, परिवारजन र आफ्नो मान्छेहरुबाट थप माया र हौसलाको निकै ठुलो खाँचो हुदोरहेछ ।
संक्रमितहरुलाई हेलाको दृष्टिकोणले हेर्ने, उनीहरुलाई छिछिदुरदुर गर्ने जस्ता कार्यले संक्रमितहरुमा नरकरात्मक र निराशाको भाव पलाउदो रहेछ । जसले कोरोनालाई जित्न होईन कोरोनाले जित्न सक्ने अवस्थाको सिर्जना हुन्छ । संक्रमित अवस्थामा आवस्यक औषधी सेवनसंगै झोलिलो, पोसिलो र शक्तियुक्त खाना खानु पर्दोरहेछ । जसले रोगसंग लड्न सक्ने प्रतिरक्षात्मक शक्तिको बृद्धि होस । त्यसैगरि गाउँघरमा प्रसस्ट पाईने लसुन, सिल्टीमुरको झोल, अदुवा, बेसार पानी, ज्वानोको झोल लगायतका जडिबुटीजन्य औषधीहरु प्रसस्त खानुपर्दो रहेछ । नियमित तातोपानी, बेसारपानी, तेजपत्ताको पानी सेवनले पनि निकै फाइदा पुराउदो रहेछ ।
संक्रमितहरुमा सधै सकरात्मक चिन्तन र सोंच हुनुपर्दोरहेछ । जीवनउपयोगी पुस्तक, सफल र आशाबादी उपन्यासहरुको अध्ययन गर्नुपर्दोरहेछ, जसले संक्रमितहरुमा सकरात्मक र आशा जगाईराखोस । आफन्त एवम साथीभाईहरुसंग प्रत्यक्ष वा फोनबार्ता हुँदा संक्रमितहरुलाई हौसला र आत्मबल बृद्धि हुने खालको कुराकानी हुनु पर्दोरहेछ । साथै सबैभन्दा महत्वपुर्ण पक्ष संक्रमितहरुले कोरोनालाई जित्छु, जित्न सक्छु भन्ने आत्मबिश्वासका साथ आत्मबल बढाउनु नै कोरोनाको अचुक औषधी रहेछ । मैले त्यसरी नै कोरोनालाई जिते ।
काठेखोला गाउँपालिका-४ तंग्राम, बागलुङ, हाल पोखरा 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->