शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालले स्वास्थ्य संरचना बलियो बनाउनुपर्छ : डब्लुएचओ प्रमुख साम्भाजीराव

नेपालले स्वास्थ्य संरचना बलियो बनाउनुपर्छ : डब्लुएचओ प्रमुख साम्भाजीराव


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १९ २०७८, बुधबार

भौतिक दूरी, मास्क, हातको सफाई, हावा सञ्चार अर्थात् भेन्टीलेसन, निगरानी, परीक्षण, सम्पर्क पहिचान, आइसोलेसन, क्वारेन्टिन र स्नेहपूर्ण स्याहार सुसारले संक्रमण रोक्न र जीवन बचाउन सहयोग गर्छन् । हामीले बिर्सनुहुन्न कि सही नीति हुनु भनेको समाधानको एउटा पक्ष मात्रै हो । अर्को पक्ष चाहीँ यसको पूर्ण कार्यान्वयन हो । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् ।

संक्रमण नियन्त्रणका लागि खोप महत्वपूर्ण तथा शक्तिशाली उपाय भएपनि खोपको तत्काल सुनिश्चिता र पहुँचमा नरहेकाले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उनको जोड छ । प्रस्तुत छ, विश्वभर कोभिड संक्रमण, रोकथाम तथा उपचारको वर्तमान अवस्था, खोपको पर्याप्तता, नेपालमा संक्रमण वृद्धिको दर तथा नियन्त्रणका लागि सरकारले चालेका कदमका बारेमा नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवसँग न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ता ।

अहिले विश्वमा फैलिएको संक्रमण कस्तो हो ?
विश्वस्तरमा हेर्दा यो चिन्ताजनक स्थिति हो । अर्कोतर्फ विश्वभर नै नयाँ नयाँ भेरियन्टको प्रभाव देखिएको छ । जुन तपाईंले सुन्नुभएकै होला । वर्षभरीको लकडाउन र नियन्त्रणको अन्य उपायपछि धेरै मान्छे भेला हुने ठाउँ खुल्न थाले भने खोपको वितरण पनि अपर्याप्त रह्यो । त्यसैले उल्लेख्य प्रगति हुँदाहुदै पनि संसारभरी विशेषतः दक्षिण पूर्वी एशिया र विकासशील राष्ट्रहरुमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन छ ।

नेपाल भारत जस्ता देश किन यसको मारमा पर्दैछन् । अरु देशले कसरी यसलाई नियन्त्रणमा लिए ?
राम्रो प्रश्न गर्नुभयो । जुनजुन देशले यसलाई निन्त्रण गरे वा महामारी नियन्त्रणमा केही प्रगति गरे तिनीहरुमा जनस्वास्थ्य सुरक्षा मापदण्डको मेहनतपूर्वक कार्यान्वयन भएको छ । आधारभूत रुपमा भन्नुपर्दा, फराकिलो पहुँच सहितको परीक्षण, घटना अनुसन्धान र सम्पर्क पहिचान र मानिसहरु सबै जनस्वास्थ्य तथा सामाजिक उपायहरु अवलम्बन गर्छन् भन्ने सुनिश्चित गरिएको थियो ।

राम्रो गर्ने देशहरुले वैैज्ञानिक प्रमाण र सबल तथ्यांकका आधारमा नीति निर्माणहरु अपनाएका छन् तर न्यून आय भएका देशहरु भन्दा उच्च आय भएका देशहरुको रोजाई अत्यन्तै फरक छ । बलियो स्वास्थ्य प्रणाली, स्वास्थ्य स्याहार तथा जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरु नै कोभिड १९का कारण उत्पन्न संकट चुलिँदा त्यसको सामना गर्न बढी सक्षम भए । अहिले देशहरुमा के बुझाई बढ्दो छ भने विगतको दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अपर्याप्त लगानीको प्रतिफल नै कोभिड १९ को संकटको रुपमा दुर्भाग्यवस देखापरेको छ । तर, यहाँ अवसरहरु पनि छन् ।कोभिड १९ विरुद्ध लड्दै गर्दा अब हामीले बलियो स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सवलिकरणबारे अत्यन्तै गम्भीर रुपमा सोच्नुपर्छ ।ताकि आगामी वर्षमा यस्ता महामारीहरुको प्रभावकारी समाधान गर्न सकियोस् ।

नेपालको अवस्था बारे विश्व स्वास्थ्य संगठनलाई पूर्व अनुमान थियो ?सरकारलाई सुझाव दिएको थियो ? कि सरकारले सुझाव नै लिएन ?
विश्व स्वास्थ्य संगठन आधारभूत रुपमा एउटा प्राविधिक निकाय हो ।हामी नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड १९ सँग सम्बन्धित विभिन्न क्षेत्र तथा विषयमा विश्वव्यापी प्रमाण तथा सुझाव उपलब्ध गराउँछौं । हामीले दिएको जानकारीलाई के गर्ने भन्ने कुरा सरकारले निर्णय गर्ने हो । यद्यपि, हामी सरकारले लागू गर्न सकोस् भनेर सुझावलाई नेपालका लागि सुहाउँदो बनाउने प्रयास गर्छौं । कोभिड १९ महामारीको सुरुवातदेखि नै हामीले नेपाल सरकारलाई सुझाव, मानवीय स्रोत र सामग्रीको सहयोग दिँदै आएका छौं । विश्व स्वास्थ्य संगठनले दिएका सुझावहरु सरकारका निर्देशिका, मार्गदर्शन, मापदण्ड तथा कार्यविधिका रुपमा परिणत भएका छन् ।

हामीले कोभिड १९ विरुद्धको लडाईंमा प्राप्त अध्यावधिक सूचना तथा वैज्ञानिक प्रमाणहरु सदैव सरकारलाई उपलब्ध गराएका छौं । किनकि रोग बढ्दै जाँदा नयाँ भेरियन्टहरु आइरहेका छन् ।अनि नयाँ प्रमाणहरु पनि। हामी तत्कालै तीनलाई सम्प्रेषण गर्छौं र सरोकारवालाहरुलाई यस विषयमा छलफल र निर्णय अगाडि बढाउनका लागि मनाउन हाम्रो शक्ति, विश्वसनीयता र भूमिकालाई प्रयोग गर्छौं । विश्व स्वास्थ्य संगठनका कर्मचारीहरु संघीय वा केन्द्रीय तहमा मात्रै नभएर प्रादेशिक तहमा पनि राखिएका छन् । जसले यस कठिन समयमा महत्वपूर्ण सहयोग उपलब्ध गराउँछन् । मुलतः विगत एक वर्षदेखि नेपालमा हामीले समग्र व्यवहारीक दृष्टिकोण अपनाएका छौं ।

हामीले संक्रमण फैलिन नदिनका लागि अख्तियार गरेको नीति ठीक छ? कि अझै फरक नीति लिनुपथ्र्यो ?
हामीसँग जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरु छन् । जस्तै घटना अनुसन्धान, सम्पर्क पहिचान, जोखिममा रहेकाहरुको क्वारेन्टिन तथा संक्रमित तथा विरामीहरुको आइसोलेसन। संक्रमणको विस्तार रोक्न वा कम गर्न मास्क लगाउने, हातको सफाई गर्ने तथा भौतिक दूरी कायम गर्ने उपाय पनि छन् । उपचारका लागि अक्सिजन र डेक्सामेथाजोन पनि छन्। कोभिड १९ को रोकथामका लागि विभिन्न सुरक्षित तथा प्रभावकारी खोपहरु पनि छन् ।

अब हामीले गर्नुपर्ने जरुरी काम भनेको यीनमा पहुँच विस्तार गर्नु, संक्रमण रोक्नु र जीवन बचाउनु हो । खोप एक महत्वपूर्ण तथा शक्तिशाली उपाय हो तर एउटामात्र उपाय होइन । भौतिक दूरी, मास्क, हातको सफाई, हावा सञ्चार अर्थात् भेन्टीलेसन, निगरानी, परीक्षण, सम्पर्क पहिचान, आइसोलेसन, क्वारेन्टिन र स्नेहपूर्ण स्याहार सुसारले संक्रमण रोक्न र जीवन बचाउन सहयोग गर्छन् । हामीले बिर्सनुहुन्न कि सही नीति हुनु भनेको समाधानको एउटा पक्ष मात्रै हो । अर्को पक्ष चाहीँ यसको पूर्ण कार्यान्वयन हो ।

यो संक्रमण कहिलेसम्म रहला ? यसको फैलावटको अवस्था हेर्दा मानवसभ्यता नै सखाप हुने देखिन्छ ।
महामारीको रोकथाम सुनिश्चित गर्नका लागि हामीले भाइरस संक्रमणको श्रृंखला तोड्नु पर्छ । त्यसका लागि हामीले जनस्वास्थ्य व्यवहारका नयाँ मूल्य मान्यताको पालना गर्नुपर्छ ।त्यसैले अगाडिको बाटो सहज त छैन किन कि हामी विश्वव्यापी आपुर्ति श्रृंखला अन्र्तगत नै काम गर्दैछौं । जहाँ धेरै प्रकारका निर्भरताहरु छन् । तर संक्रमण दर डरलाग्दो हुँदा हुँदै पनि हामीले निको हुने दर पनि बिर्सनु हुँदैन । जसले हामीलाई आशा दिन्छ । हाल नेपालमा करिब ८३ प्रतिशत मानिस निको भएका छन् ।
हालसालै संक्रमितको संख्यामा तीब्र वृद्धि हुँदा निको हुने दर घटेको अनि सक्रिय संक्रमितको संख्या बढेको देखिन्छ तर पनि आशावादी हुने कारण के छ भने २ सय ७५ भन्दा बढी खोपहरु विकास हुँदैछन् । जसमध्ये ९१ को चिकित्सकीय परिचालन सुरु भइसक्यो र विश्व स्वास्थ्य संगठन अनि सदस्य राष्ट्रका कडा नियामक निकायहरुले ती मध्ये कतिलाई आपतकालिन प्रयोगका लागि बाटो खोलिदिइसके । विकास प्रक्रियाको चरणमा रहेका यी खोपहरुले विभिन्न प्रकारका खोपका विधि र प्रविधि अपनाएका छन् । यी मध्ये केही निष्कृय बनाइएका पूर्ण भाइरस, इनएक्टीभिटेट होल भाइरस र भाइरल भिक्टर जस्ता पुराना अनि एमआरएनए र डीएनए जस्ता पहिलोचोटी प्रयोग भएका नयाँ प्रविधि छन् । यीनले धेरै किसिमका सुरक्षित तथा प्रभावकारी खोप पाउने हाम्रो सम्भावनालाई बढाएका छन् ।

नेपाल जस्ता देशले सहज रुपमा खोप पाउन किन सकिरहेका छैनन ?
खोपको पर्याप्त उत्पादन राष्ट्रिय सहकार्यमा भर पर्छ । सर्वप्रथम त म के बताउन चाहन्छु भने खोप विकासको इतिहासमा कुनै पनि रोगको खोप यति छिटो विकास भएको छैन । त्यसैले अनुसन्धान, उत्पादन क्षमता, खरिद तथा ढुवानी प्रक्रियामा लगानी गर्न सम्पूर्ण विश्व एकीकृत हुने हो भने अभूतपूर्व तिब्रता हासिल गर्न सकिन्छ । कोभिड १९ त एउटा उदाहरण मात्रै हो । सरकारहरुबाट तत्कालै महत्वपूर्ण राजनीतिक तथा आर्थिक प्रतिवद्धता चाहिन्छ ।

महामारीको अन्त्यका लागि सबैतिर सबैलाई खोप पु¥याउन बनाएको कोभ्याक्सलाई विभिन्न सरकारहरुबाट ठूलो लगानी आवश्यक हुन्छ । नेपाल जस्तो देशहरुमा खोपको सुनिश्चितताका लागि पनि यो आवश्यक छ । तर हामीले सम्झनुपर्छ कि सुरक्षित र प्रभावकारी खोपले मात्रै समस्या हल हुँदैन । आरटीपीसीआर र एन्टिजेन परीक्षण तथा तीब्र निदानका उपाय र जीवनदायी औषधि उपचारका उपाय पनि महामारी अन्त्य र विश्वभरका स्वास्थ्य लाभका लागि अत्यावश्यक छन्। ।यी जीवनदायी साधनहरु तब मात्र प्रभावकारी हुन्छन् जब सबै भन्दा जोखिममा रहेका अधिकांशका लागि समतापूर्ण ढंगले सबै देश एकैपटक यी उपलब्ध हुन्छन् ।

यसका लागि सवल स्वास्थ्य प्रणाली तथा सेवा सञ्चालन हुनुपर्छ । हालै देखिएका भेरियन्टहरु चिन्ताका विषय हुन् र तीनले सामुहिक कदमको महत्व दर्शाउँछन् । किन कि भाइरसलाई फैलिन दिँदा वा संक्रमणको श्रृंखला तोड्न नसक्दा नै म्युटेसन हुन्छ र भेरियन्ट उत्पत्ति हुन्छन् । त्यसैले विद्यमान जनस्वास्थ्यका उपाय लागू गर्दै खोप उत्पादन र वितरणमा सकेसम्म छिटो अगाडि बढाउँदै भाइरसलाई परास्त गर्नु महत्वपूर्ण छ । विश्वस्वास्थ्य संगठनले सक्रियतापूर्वक भनिरहेको छ कि हामीसँग अझै धेरै खोप उत्पादक हुनुपर्छ। तीनमा बौद्धिक सम्पत्तिको सवाल सम्बोधन गर्नुपर्छ ।

निषेधाज्ञा छ अहिले । यो बेला सरकारल गर्नुपर्ने अनिवार्य काम पनि गरेन भन्ने गुनासो आईरहेको छ । प्राथमिकताको आधारमा के के काम गर्नुपर्छ ?
यस कोभिड १९ महामारीका लागि संसारका कुनै पनि देश पर्याप्त मात्रामा तयार थिएन । यसको लागि तपाईले अहिले सिंगो संसारको स्थिति हेर्न सक्नुहुन्छ । त्यसमा पनि अल्पविकसित स्वास्थ्य प्रणाली भएका गरिब राष्ट्र««हरुमा यसको असर बढी रह्यो । हुन त कोभिड १९ बारे विज्ञानको विकास नि निरन्तर जारी छ। विगत १ वर्षमा क्षमता विकास र तयारीका लागि धेरै काम भएका छन् । तर दशकौंसम्म स्वास्थ्य प्रणालीमा लगानी गर्न हामीले गुमाएको अवसरको क्षतिपूर्ति यो छोटो समयमा नै हुन्छ भन्ने आशा गर्नु कठिन छ ।

अहिले धेरै भन्दा धेरै मानिसले महसुस गरेका छन् र मैले मन्त्री प्रधानमन्त्रीले पनि भनेको सुनेको छु कि, जीवन नै पहिलो प्राथमिकता हो । स्वास्थ्य नै पहिलो प्राथमिकता हो । कोभिड १९ को जटिलताका कारण सरकार र समाजका सबै क्षेत्र र तहको एकीकृत प्रतिकार्य आवश्यक छ ।
नेपाली जनताका लागि केही भन्न चाहनुहुन्छ ?
सम्झाउन चाहन्छु कि, हामी सबै अगाडि बढ्नुपर्छ । आफू र अन्यलाई सुरक्षित राख्ने आफ्नो व्यक्तिगत जिम्मेबारी पुरा गर्नुपर्छ । सबैलाई आग्रह गर्न चाहन्छु कि कृपया जनस्वास्थ्य निर्देशिका पालना गरौं। मास्क लगाऔं। बारम्बार हात धोऔं। भौतिक दूरी कायम गरौं र उपलब्ध हुनासाथ खोप लगाउन आनाकानी नगरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->