आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सबका प्रिय कार्ल मार्क्स

सबका प्रिय कार्ल मार्क्स


  • धनकुमारी सुनार
  • जेष्ठ २२ २०७८, शनिबार

प्रेम र युद्धमा सबथोक जायज हुन्छ भन्ने भाष्य प्रचलनमा छ । आफन्तजन वा प्रेमी–प्रेमिकाले आपसमा गर्ने प्रेममा तर्कको गुन्जाइस हुनसक्छ, नहुन पनि सक्छ । तर, अठारौं शताब्दीको पूर्वाद्र्धमा जन्मिएर पनि युगौंयुग बाँचिरहेका असाधारण क्षमता र योगदान भएका कार्ल माक्र्सलाई शर्तरहित प्रेम र श्रद्धा गर्नेहरूले यस्तो श्रद्धामय प्रेमबारे पुष्टि गर्नैपर्ने हुन्छ । अथवा, आलोचनाका विषय छन् भने पनि तर्कसंगत प्रस्तुत हुन सक्नुपर्छ ।
प्रश्न स्वाभाविक रूपमा उठ्छ, २ शताब्दी नाघिसक्दा पनि माक्र्सलाई मानिसहरूले किन श्रद्धा गर्छन् त ?
वर्तमान समयमै विश्वका अर्बौं मानिस मार्क्सले प्रतिपादन गरेका माक्र्सवादी दर्शनलाई मुक्तिको एक मात्र अस्त्र ठान्छन् । सर्वहारा वर्गका लाखौं मानिस माक्र्सवादको मूल मर्म ‘सर्वहारासँग मुक्तिको लडाइँमा गुमाउन केही हुँदैन, तर जित्नका लागि ऊसँग संसार हुन्छ’ भन्दै आहुति दिन तम्तयार थिए र अझै छन् ।
माक्र्सलाई यतिविघ्न श्रद्धा र प्रेम गर्नुका पछाडि केही विशिष्ट कारण अवश्य छन् । तर, माक्र्सलाई प्रेम गर्नु, श्रद्धा गर्नु वा उनले प्रतिपादन गरेको सिद्धान्तलाई अंगीकार गर्नु एउटा पक्ष हो भने माकर्सवादलाई आलोचनात्मक ढंगले हेर्नु, समयसान्दर्भिक थपघट गर्नु र आफ्नो मौलिकतामा प्रयोग गर्नु मार्क्सवादलाई सही बुझ्नु हो ।

माक्र्सवादः समाज विज्ञानको क्रान्तिकारी व्याख्या
माक्र्सवाद आर्थिक र राजनीतिक व्यवस्था मात्र नभई यसको दार्शनिक पक्ष पनि छ, जसले समाजको ऐतिहासिक भौतिकवादी कोणबाट व्याख्या गर्छ । साथै, समाज विकासको द्वन्द्वात्मक कोणबाट विश्लेषण गर्छ । माक्र्सवादले भन्छ, समाज वर्गीय छ, समाजमा एकथरिले श्रम नगरी अकुत सम्पत्ति कुम्ल्याएका छन् भने अर्कोथरि रातदिन खटेर पनि सर्वहारा बन्न बाध्य बनाइएका छन् ।
समाजमा हुने र नहुनेबीचको द्वन्द्व र अन्तरविरोध नै वर्ग संघर्ष हो । वर्गीय शोषणको जगमा टिकेको समाजको अन्त्य गर्दै सर्वहारा वर्गको अधिनायकत्वमा शासन व्यवस्था निर्माण गर्नु माक्र्सवादको अवधारणा हो ।
माक्र्सवाद अनुसार, प्राचीन कालदेखि वर्तमानसम्म अस्तित्वमा रहेको समाजको इतिहास वर्ग संघर्षको इतिहास हो । माक्र्सवादले शोषणमा आधारित सर्वत्र मौजुदा सामाजिक र राजनीतिक व्यवस्थाविरुद्ध हरेक क्रान्तिको समर्थन गर्छ (कम्युनिष्ट घोषणापत्र, १८४८) ।
माक्र्सवादले समाजको सांस्कृतिक, साहित्यिक पक्षबाट विश्लेषण र व्याख्या मात्रै गर्दैन, यसले यथास्थितिमा भएको समाजलाई बदल्नुपर्छ भन्छ । माक्र्सवाद समाज विज्ञानको क्षेत्रमा मात्रै होइन, अर्थशास्त्र, राजनीति र दर्शनको क्षेत्रका लागि पनि अनिवार्य दर्शन हो । तसर्थ मार्क्सवादलाई समर्थकले त पढ्छ नै, यसको धुरन्धर विरोधीले पनि नपढी सुखै छैन ।

मुक्तिकामी व्यक्तित्व
कार्ल माक्र्सको व्यक्तित्वका अनेक पाटा छन् । दार्शनिक, अर्थशास्त्री, इतिहासकार, समाजशास्त्री, क्रान्तिकारी राजनीतिज्ञ, पत्रकार, कानूनी अध्येता लगायत उनका विविध परिचय छन् ।
मास्र्कको जन्म जर्मनीको प्रसा प्रदेश अन्तर्गत ट्रियर नगरको मध्यम वर्गीय परिवारमा ५ मे १८१८ मा भएको थियो । माक्र्सले २५ वर्षकै उमेरमा दर्शनमा विद्यावारिधि गरेका थिए । माक्र्सले चाहेका भए सहज र सम्पन्न जीवन बाँच्न सक्थ े। तर, संघर्षको कठिन बाटो रोजे । श्रमजीवी वर्गको मुक्ति र शोषक पूँजीवादीहरूविरुद्ध वैज्ञानिक समाजवादी क्रान्तिकारी अवधारणा अगाडि सारे बापत तत्कालीन प्रतिक्रियावादी जर्मनी, बेल्जियम र फ्रान्स सरकारबाट पटकपटक देश निकाला भए ।
लेखनमा प्रतिबन्ध, हिरासतको चक्कर र जीवनकालभर चरम आर्थिक अभाव भोगे । तर पनि, जीवनको उत्तरार्धसम्म नै सर्वहारा मुक्तिको पक्षमा बोलेर, लेखेर आफूले प्रतिपादन गरेको सिद्धान्तप्रति अडिग रहे । माक्र्सलाई वर्गीय मुक्तिको अडानमा अविचलित र निर्भीक रहन उनका अनन्य मित्र एवं दार्शनिक, माक्र्सवादका रक्षक फ्रेडरिक एंगेल्सले जीवनपर्यन्त सघाए ।
आफ्नो बैंसालु उमेरदेखि नै दर्शन, अर्थशास्त्र र राजनीतिको क्षेत्रमा तत्कालीन यथास्थितिवादी विचारभन्दा उन्नत र वैज्ञानिक विचारको पक्षधरता देखाएका माक्र्स क्रान्तिकारी विचारकै कारण तत्कालीन प्रतिक्रियावादी सरकारको कोपभाजनमा पनि परे। जर्मनी सरकारको विरोधमा उनले आफू सम्पादित पत्रिका (राइनिस जाइटुंग, सन् १८४२) मा लेखेकै कारण उक्त पत्रिकालाई जर्मनी सरकारले सन् १८४३ मा प्रतिबन्ध लगायो । जर्मनी सरकारको दमन र हस्तक्षेप बढ्दै गएपछि उनी जेनी माक्र्ससँग विवाह गरेर पेरिस निर्वासित भए ।
पेरिसमा २ वर्षजतिको बसाइमा समाजवादीहरूसँग संगठन निर्माण र विचार प्रवाहका कारण जर्मनी सरकारले फ्रान्स सरकारमाथि मार्क्सलाई देश निकाला गर्न दबाब दियो । जसका कारण माक्र्स सपरिवार सन् १८४५ मा बेल्जियमको ब्रसेल्स निर्वासित भए ।
ब्रसेल्स पुगे लगत्तै सन् १८४६ मा मार्क्सले एंगेल्ससँग मिलेर कम्युनिष्टहरूको संघ ‘कम्युनिष्ट करेस्पन्डेन्स कमिटी’ गठन गरे । र, पछि ‘जर्मन वर्कर्स सोसाइटी’ नामको संस्था गठन भयो । सन् १८४७ मा मार्क्स र एंगेल्सको अगुवाइमा कम्युनिष्ट लिग गठन भयो । यो लिगको दोस्रो कंग्रेस सम्मेलनले कम्युनिस्ट लिगको कार्यक्रम र सिद्धान्तको व्याख्या गर्दै घोषणापत्र तयार पार्ने जिम्मा मार्क्स र एंगेल्सलाई नै दियो । जुन घोषणापत्र संसारका श्रमजीवी वर्गका लागि मुक्तिको युगान्तकारी दस्ताबेज बन्यो ।
घोषणापत्र र माक्र्सबारे दार्शनिक एवं मार्क्सका प्रिय कमरेड फ्रेडरिक एंगेल्स भनेका छन् ‘माक्र्सप्रत् ियुरोप तथा अमेरिकाका सम्पूर्ण मजदुर वर्ग ऋणी छन् । घोषणापत्रको सुरूदेखि अन्त्यसम्म विद्यमान मूल चिन्तन विशुद्ध रूपमा माक्र्सकै हो । समाजका शोषित र उत्पीडित वर्गले आफूमाथिको उत्पीडन, शोषण अन्त्य नगरी शोषक वर्गबाट मुक्ति प्राप्त गर्दैनन् । र, यो मूल विचार मार्क्स र केवल मार्क्सले प्रस्तुत गरेका हुन् ।’ यस्तो उदार चित्त र विनम्रता सायद एंगेल्स जस्ता दार्शनिक र अध्येतामा मात्रै हुनसक्छ ।
माक्र्सवादको मूल मर्मलाई तोडमरोड गर्ने, सत्तामा जाने भ¥याङ बनाउने कथित कम्युनिष्टहरूको बिगबिगी नेपालसहित संसारभरि नै छ । हामीले नजिकबाट देखे÷भोगेका कथित कम्युनिष्टहरू आफ्नै नजिकका कमरेडहरूलाई सत्ता र पदका तुच्छ स्वार्थका लागि कोखामा छुरा घोप्न हरदम तम्तयार देखिन्छन् । जसले घोषणापत्रमा उल्लिखित मूल्यमान्यता अनुसार कम्युनिष्ट हुने हैसियत राख्दैनन् ।
माक्र्सवादको प्रयोग गरेर संसारका दर्जनभन्दा बढी देशले समाजवादी सत्ताको स्थापना गरेका छन्। समाजवादको स्थापनासँगै त्यसको प्रयोगमा कतिपय समस्या देखिएका छन्, जसको द्वन्द्वात्मक कोणबाट व्याख्या, विश्लेषण र पुनर्गठन गर्न फेरि पनि मार्क्सवादले नै हामीलाई निर्देशित गर्छ ।

सर्वकालिक कम्युनिष्ट घोषणापत्र
सन् १८४८ मा लेखिएको ४० पृष्ठको कम्युनिष्ट घोषणापत्र आज १७३ वर्षपछि पनि कम्युनिष्ट इतिहासको अद्वितीय कृति मानिन्छ । यसले संसारका श्रमजीवी र समाजवादीहरूका लागि पथप्रदर्शन गरिरहेको छ । घोषणापत्रको प्रकाशन लगत्तै युरोपका विभिन्न देशमा समाजवादी क्रान्तिको ज्वाला दन्कियो । माक्र्समाथि यूरोपको प्रतिक्रियावादी सरकारको दमन थप बढ्यो । पटकपटक उनी निर्वासित भए र आफ्नो जीवनको ३४ वर्ष लन्डनमै निर्वासनमा बिताए ।
प्रस्तावनासहित चार खण्डमा लेखिएको कम्युनिष्ट घोषणापत्र संसारका करोडौं मानिसले पढ्ने लोकप्रिय दस्ताबेज बन्यो। पीडक पूँजीवादीहरूका लागि विस्फोटक विचारसहितको घोषणापत्रले व्यक्तिको निजी सम्पत्तिको अन्त्य र समुदाय अर्थात् श्रमजीवीहरूको सम्पत्तिमा स्वामित्वको कुरा उठायो ।
घोषणापत्रबारे मानवशास्त्री डेभिड हार्भे भन्छन्, ‘कम्युनिष्ट घोषणापत्र सार्वकालिक छ, किनकि यसले इतिहास महान् व्यक्तिहरूको देन तथा ईश्वरीय इच्छाको आधारमा बनेको होइन, बरु यो त समाजका विभिन्न समूह र वर्गको निरन्तर अन्तरद्वन्द्व र संघर्षबाट बन्छ र यसको आधार आर्थिक हुन्छ भन्छ ।’
यूरोपमा सन् १८७० देखि १९१० सम्म कम्युनिष्ट घोषणापत्रको सयौं संस्करण छापियो भने ३० वटा भाषामा अनुवाद भयो ।
माक्र्स र एंगेल्सको अर्को महत्वपूर्ण ग्रन्थ पूँजी (१८६७–१९०५) हो। यस ग्रन्थमा लेखकद्वयले अतिरिक्त मूल्यको सिद्धान्त अनुसार पूँजीको निर्माण कसरी हुन्छ, र पूँजी लगाएर कसरी नाफा कमाउन सकिन्छ भन्ने विश्लेषण गरेका छन् । तर, सामाजिक श्रमशक्तिबाट आर्जन भएको उत्पादनको नाफा कसरी पूँजीपतिहरूले एक्लै कुम्ल्याउँछन् भनेर पनि प्रष्ट पारेका छन् ।
अन्त्यमा, वर्तमान विश्वमा पूँजीवादको आवरणभित्र श्रमिक, महिला र उत्पीडित जनता शोषण र अत्याचारले त्राहिमाम् भइरहँदा माक्र्सवादको अध्ययन र यसको वैज्ञानिक प्रयोगको महत्त्व झन् बढेको छ ।
माक्र्सवादी दर्शनलाई विफल साबित गर्न एकाध प्रयोगलाई उदाहरण बनाएर सत्तोसराप गर्ने कथित लोकतान्त्रिक धाराका बुज्रकहरू छिमेकी भारतमा गएको सात दशकदेखिको विकृत संसदीय लोकतन्त्रको आवरणमा रहेको पूँजीवादी अभ्यासलाई भने निर्लज्ज मौन समर्थन गर्छन् । नेपालमै विगत करीब ३० वर्षको दलाल पूँजीवादी संसदीय व्यवस्थाको आलोकमा मौलाएको तमाम विकृतिलाई लोकतान्त्रिक व्यवस्थाको निर्विकल्प शासनका रूपमा अर्थ्याउन गर्व गर्ने मतमा पनि कमी आएको छैन ।
मार्क्सवाद र व्यक्ति मार्क्समा पनि अन्य दर्शन र व्यक्तिमा जस्तै अनेक सीमितता हुनसक्छन् । तर, त्यसलाई विश्लेषण गर्न निःसन्देह मार्क्सवादकै द्वन्द्वात्मक सिद्धान्तले अगुवाइ गर्छ । तसर्थ जबसम्म संसारमा वर्गीय शोषणरूपी समाज अस्तित्वमा रहन्छ, तबसम्म मार्क्सवादको औचित्य रहनेछ। र, माकर्सवाद जीवित रहुन्जेल कार्ल माक्र्स पनि मानव सम्झनामा रहिरहनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->