‘यतिबेला मेरा रहर र सपना घट्दै गएका छन् । पूरा भएर होइन, पूरा गर्न नसकेर । अनि बाध्यता बढेको छ, जुन पूरा गर्नैपर्छ मैले । आमाको माया कहिल्यै पूरा पाइनँ । मेरो भरोसा पनि दिन सकिनँ । अभाव र दुःखको जिन्दगी नै हाम्रो जीवन भयो ।’
*****
ऊ गाउँको केटो । लामो समय घास दाउरामा नै बित्यो । दिउँसो स्कुल, बिहान बेलुका घरायसी कामकाज यस्तै थियो दैनिकी । स्कुल बिदाको दिन घाँस दाउरा उसको साप्ताहिक रुटिन थियो ।
निम्न मध्यम वर्गीय परिवारमा जन्मिनु नै उसका लागि दुःखको यात्रा थियो । सानै उमेरमा उसले दुःख गर्न सिक्यो । दुःख अर्थात घरायसी र बाहिरी काममा आमालाई सहयोग । हुन त आमाको दुःखमा सहयोग गर्नु उसको कर्तव्य पनि थियो । सानैमा ऊमा आएको कामप्रतिको मोह पनि अचम्मैको थियो । दिउँसो स्कुल जाँदा पनि आमाकै बारे सोचिरहेको हुन्थ्यो ।
आमा पनि उसलाई औधी माया गर्थिन् । स्कुलबाट आइपुग्दा नपुग्दै मिठोचोखो अर्नी (खाजा) उसका लागि तयार हुन्थ्यो । ऊ भने अर्नी खाएर आमाको काममा सहयोग गर्न निस्किहाल्थ्यो ।
ऊ अर्थात् साने ! आमाले उसलाई मायाले यही नामले बोलाउने गर्दथिन् । पढ्नमा पनि तेजिलो सानेलाई स्कुलमा मास्टरहरुले धेरै माया गर्दथे । सरहरुबाट माया पाउने काम उसले अर्काे पनि गथ्र्याे । स्कुल नजिकै सानेको घर थियो । सरहरुलाई खाजा पकाउन परे, ऊ घरमै गएर पकाएर लिएर आउँथ्यो । उबेलाको समय । स्कुलमा खाजा खाने त सोच्न पनि सकिँदैन्थ्यो ।
त्योबेलाको रारा चाउचाउ सबैको मुखमुखमा झुण्डिएको तयारी अर्नी थियो । चाउचाउ खान मनलागे सरहरुले सानेलाई सम्झिहाल्थे । सरहरुले बोलाएकी साने पनि हाजिर भइहाल्थ्यो । उसलाई आमाले पनि असाध्यै माया गर्ने भएकाले सरको आदेश लिएर जाँदा कुनै रोकतोक हुँदैन्थ्यो ।
मौसमअनुसारको खाजा खाने सानेका स्कुलका सरहरुलाई सानेको घरको राम्रै साथ थियो । बिस्कुटसँग चिया खान होस् कि काक्रोसँग नुनखुर्सानी होस् सानेको नाम आइहाल्थ्यो । २÷३ महिनामा सरहरुको सल्लाहमा हलुवा खाँदा पनि सानेकी आमाले पकाउन सक्थिन् । कष्ठकासाथ जीवन धान्नपर्नुे अवस्थामा पनि सानेका आमाछोरा बेलामौकामा मिठोमसिनो खान पाएकै थिए । स्कुल नजिक हुँदा र सरहरुको मन आउँदा बिहान बेलुकाको भान्सामा नभएपनि दिउँसो अर्नीमा मुखको स्वाद लिन पाएका थिए, आमाछोराले ।
आफूले पाएको राजनीतिक चेतनालाई समाज परिवर्तनको बाटोमा हिँडाउन पनि घच्घचाइरहेको थियो उसको विवेकले ।
*****
सरहरुको माया र आमाको मेहनतमा सानेले राम्रोसँग पढ्ने अवसर पनि पायो । दिउँसो स्कुल, बिहान बेलुका आमाको काममा सहयोग गर्दा पनि ऊ स्कुलमा राम्रै अंकसाथ उत्तीर्ण हुन्थ्यो । रातमा ऊ निगालाका सिठाको उजेलोमा होमवर्क गथ्र्याे । सरहरुले पढेर आउन भनेको पाठ दोहो¥याएर पढ्थ्यो । त्यसैले पनि ऊ कक्षामा तेज थियो ।
पाँच कक्षासम्मको पढाइ सानेले घर नजिकको स्कुलमा सक्यो । निमावि तहका पढाइ घरबाट अलि टाढा जानुपथ्र्यो । आमाले उसलाई दुःखै गरेर पढाइन् । सानेको मेहनत र कक्षामा उसको लगावले त्यहाँ पनि शिक्षकहरु उसँग नजिकै भए । हुन पनि हो, राम्रो पढ्ने र आफूहरुले भनेको मान्ने विद्यार्थीलाई सरहरुले सधैं माया गरेकै हुन्छन् । निमावि तहको पढाइसक्दा साने स्कुलभरि नै अनुशासित विद्यार्थीको रुपमा कहलियो । जेहेन्दार र नियमित हाजिर हुने विद्यार्थीको पुरस्कार पनि उसैले पायो । यसले सानेमा पढाइप्रतिको रुचि बढ्दै गयो ।
माध्यमिक तहको पढाइका लागि भने उसले घर छाड्नु पर्ने भयो । किनकी घरबाट स्कुल पुगेर फर्किन सकिने थिएन । अहिलेजस्तो गाउँगाउँमा माध्यमिक विद्यालय थिएनन् । ४÷५ गाउँको बीचमा एउटा माध्यमिक विद्यालय हुन्थ्यो । कलेज पढ्न त सदरमुकाम नै पुग्नुपथ्र्याे ।
आफू घरमा एक्लै बसेर सानेलाई टाढा पढ्न पठाउने मन आमाको थिएन । आमालाई छाडेर एक रात पनि अन्त कतै गएको थिएन साने पनि । ‘अरुको लाख आमाको काख’ भन्छन्, सानेलाई पनि त्यस्तै भएको थियो । उसका ईष्टमित्रले उनीहरुको घरमा बस्न र घुम्न जामभन्दा पनि उ गएको थिएन । जान उसलाई मन नलागेको त होइन, तर आमाको मायाले छाड्न सकेको थिएन । आमाछोराको मायामा अरु घुस्न सक्ने त कुरा पनि भएन ।
रातमा ऊ निगालाका सिठाको उजेलोमा होमवर्क गथ्र्याे । सरहरुले पढेर आउन भनेको पाठ दोहो¥याएर पढ्थ्यो । त्यसैले पनि ऊ कक्षामा तेज थियो ।*****
भन्छन् नि मान्छे परिस्थितिको दास हो । हो त्यस्तै भयो साने र उसको आमालाई पनि । सानेलाई राम्रोसँग पढाउनु पर्छ भन्ने सल्लाह मास्टरहरुले दिएकै थिए आमालाई । जेहेन्दार, तीक्ष्ण खुबी र पढाइप्रतिको लगनशीलताले सवैलाई लोभ्याएकै थियो । हुन पनि हो, उसँग पढ्ने अरु धेरै साथीभाइभन्दा साने पढाइमा अब्बल र तेज थियो । सबैको आँखा ऊ प्रति नै थियो ।
वरपरकाले पनि साने ठूलो भएपछि राम्रै मान्छे बन्छ भन्ने गर्थे । आफूले जेनतेन दुःखकष्ट गरेर भएपनि सानेलाई पढाउनु पर्छ भन्ने मनमा आएको थियो आमालाई पनि । बाबाको राम्रो हेरचाह नपाएको सानेले मौका पाएमा राम्रै गर्न सक्छ भन्ने आमालाई मनैदेखि लागेको थियो । छोराको मेहनती स्वभाव साच्चिकै अरुले डाहा गर्ने थियो ।
मनमा धेरै कुरा खेलाएर बसेकी आमाले सानेलाई माध्यमिक तहको पढाइका लागि पठाउने नै भइन् । झोलाभरि अन्नपानी र कापीकलम मिलाएर पठाइन् उनले । बसाइँ सरेजस्तै गरी अँध्यारो मुहार र अमिलो मुख बनाउँदै हिँड्यो साने घरबाट अलि टाढै अर्कै गाउँमा । जहाँ उसका लागि अलग्गै संसार थियो । साथीभाइ, सर म्यामहरु सबै नयाँ थिए । अर्काको घरमा बास बस्नु पर्दाको पीडा त उसलाई थियो नै ।
फरक ठाउँ, फरक गाउँ र फरक साथीसंगीसँगै उसले माध्यमिक तहको पढाइ पनि सक्यो । त्यहाँ उसले पढाइमात्रै सकेनन्, नयाँ नयाँ ज्ञान र जानकारी पनि लियो । आमाका दुःख, मर्म र पीडाबारे सामाजिक चेतना भ¥यो । माध्यमिक विद्यालयलाई त उसले जीवनका लागि भविष्यको गोरेटो बनाउने राजनीतिक चेत लिने ठाउँ पनि बनायो ।
आफुले झेलिरहेको व्यवस्था, त्यसबाट पाएको सास्ती, मुक्तिको बाटोबारे पनि ज्ञान पायो । त्यहाँ उसको संगत माथिल्लो तहमा पढ्ने दाजुहरुसँग भयो । उसको पढाइमा भएको प्रगति र कक्षामा प्राप्त गरेको अघिल्लो स्थानले दाजुहरु उसलाई खोज्दै आए । दाजुहरुको संगतले उसले थाहाँ पायो दाजुहरु त विद्यार्थी संगठनका नेताहरु पो रहेछन् ! उनीहरुले व्यवस्था विरोधी संघर्षका कुराहरु पनि सिकाए ।
दुःखका साथ अगाडि बढेको क्याम्पस जीवनमा एक दिन उमाथि थप ब्रजपात आइलाग्यो । कसैले उसलाई सुनायो – अब ऊ टुहुरो भयो ।
*****
राजनीतिक चेतनासँगै पढाइमा पनि अब्बल थियो ऊ । माध्यमिक विद्यालयको पढाइ पनि पहिलो श्रेणीमा नै उत्तीर्ण ग¥यो सानेले । स्कुल तहको खुड्किलो पार गरेकाले उसलाई समाजले पनि पताउन सक्ने भयो । आमाको विश्वास पनि बढ्दै गयो अब ।
शुक्रबार घर पुग्ने, शनिबार दिनभर आमाको काममा सहयोग गर्ने र आइतबार स्कुल जाने गरेर साप्ताहिक ड्युटी पूरा गरेको सानेले माध्यमिक तहको पढाइ सक्ने समयसम्म आमालाई झन् बढी खुशी बनाएको थियो । आमाप्रतिको स्नेहसँगै सानेले विस्तारै आप्mनो जिम्मेवारी पनि थपिएको महसुस गर्दै गयो । उसको स्वभाव, जिम्मेवारी र आमाको कर्तव्यले उसको कलेज पढ्ने दिन आइहाले । अब भने ऊ गाउँभन्दा अलि टाढा सहरमा जानुपर्ने थियो । आमाबाट बिदा भयो र सहर छि¥यो साने ।
शहरको अलि फेरिएको जीवन उसको लागि फरक अनुभूति थियो । नयाँ नयाँ साथीभाइसँग हेलमेल हुनु, फरक वातावरणमा घुलमिल हुनु त थियो नै उसलाई । सफल मान्छे बन्ने सपनालाई पूरा गर्न मेहनत गर्नु पनि थियो । आफूले पाएको राजनीतिक चेतनालाई समाज परिवर्तनको बाटोमा हिँडाउन पनि घच्घचाइरहेको थियो उसको विवेकले । आमाको दुःखमा मल्हमपट्टी लगाउन थप शारीरिक श्रम गर्नुपर्ने अवस्थामा थियो ऊ । पढाइसँगै यी सबै काम अगाडि बढाउदै थियो उसले ।
दुःखी कर्मसंगै अगाडि बढेको क्याम्पस जीवनमा एक दिन उमाथि थप ब्रजपात आइलाग्यो । गाउँमा भएको आकस्मिक दुर्घट्ना कसैले उसलाई सुनायो– ‘अब ऊ टुहुरो भयो ।’ आँफैमाथि आइलागेको पिडादायी घट्ना सुन्दासाथ उ मुर्छित भयो ।
लामो समयपछि होश खुलेको सानेले आफ्नो डायरी खोज्यो । कापीकिताव यताउत्ता पल्टायो । सिरानको डायरी समायो । र, त्यसैमा भर्खर भर्खर राजनीतिक चेतना भरिएको दिमाग कुँद्न थाल्यो, ‘यतिबेला मेरा रहर र सपना घट्दै गएका छन् । पूरा भएर होइन, पूरा गर्न नसकेर । अनि बाध्यता बढेको छ, जुन पूरा गर्नैपर्छ मैले । आमाको माया कहिल्यै पूरा पाइनँ । मेरो भरोसा पनि दिन सकिनँ । अभाव र दुःखको जिन्दगी नै हाम्रो जीवन भयो । यतिखेर मसँग केवल आमाका यादहरु र उहाँका सपना मात्रै बाँकी छन् । पूरा गर्ने कोशिस त गर्नुछ तर सक्दिनँ । आमालाई सुख दिने मेरा सपना अब कहिल्यै पूरा हुने छैनन् । मलाई क्याम्पस पढ्न पठाउँदा नै बित्नु भएको हो मेरी आमा । अलबिदा आमा ! अलबिदा आमा !! आमा !!!’
२१ जेठ २०७८, काठमाडौं




