तिम्रो हातमा छ लाठी ।
कम्मरमा छ बन्दुक ।
खुट्टामा छ बुटजुत्ता ।
त्यही जुत्ताको तलुवामुनि
सदियौँदेखि कुल्चिएका छौ तिमीले –
मेरो अस्तित्व ।
लाठी तिम्रै,
बन्दुक तिम्रै,
हतकडी तिम्रै,
न्यायालय तिम्रो,
सत्ता पनि तिम्रै,
म त केवल एक भोट न हुँ ।
म त केवल एक सास न हुँ ।
मलाई थाहा छ
मेरो सास जत्तिखेरै जान सक्छ ।
म कतै झडपहरूमा मारिन सक्छु ।
ग्याङलिडर बताइन सक्छु ।
वा ड्रगडिलर ।
वा कुनै आतंककारी ।
म, जत्तिबेलै मारिन सक्छु ।
मेरो सास – तिम्रो लागि – मात्र एक गोली न हो ।
धन्न हावाको रङ हुँदैन र मात्रै,
नत्र त तिमीले
मेरो सासको रङ पनि कालै देख्थ्यौ होला ।
हेर त ः कालै छ – सडकको रङ पनि ।
र अहिले त्यो सडकभरि छन् कालै खुट्टाहरू ।
उचालिरहेछन् आफ्ना कालै मुट्ठीहरू ।
इन्कलाब – जिन्दावाद ।
(बृहत नागरिक आन्दोलनले शुक्रबार स्वास्थ्य क्षेत्र सुधारका लागि बालुवाटार अगाडि गरेको प्रदर्शनमा कवि कार्कीले यो कविता वाचन गर्दागर्दै पक्राउ परेका थिए । उनीसहित लेखक सञ्जीव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत पक्राउ परेका थिए ।)





