यस सहरमा ओहर–दोहर गर्ने आकृतिहरुमा
कविता खोजेर धेरैपल्ट निराश भएको छु भाइ !
तर सधैं मेरै जस्ता ती अनुहारहरु पनि
अल्झिरहेको पाएको छु दाल, भात, डुकुकै समस्यामा ।
मानौं हामीले बिर्सिसकेका छौं मानिस हुनुको अर्थ
र खटनभन्दा पनि हामी केही सोच्न सक्देनौं
कुनै घेरा नाघेर हामी कतै फड्कन सक्दैनौं
अनि यहाँ कविता कहाँ पाउनु भाइ ?
कविता त कतै भोकाएको ज्यामीको अनुहारमा होला
जो राजमार्गमा दिन–दिनभरी ढुङ्गा फोरिरहेको हुन्छ
अथवा कतै उनी लाहुरेको उदास अनुहारमा होला
जो आफ्ना बाल–बच्चा बिर्सेर रातभरि दर्बानी गरिरहेको हुन्छ
होइन भने, सारंगी रेटेर बह बिसाउने कुनै गाइनेको अनुहारमा होला
जो कुनै पर्यटकबाट पाँच पैसा पाउँदा पचास पल्ट निहुरिरहेको हुन्छ ।
तर, म एक बेफुर्सदी मान्छे – थोरै कवि बढी जागिरे
जसलाई कविता खोजिहिँड्ने फुर्सद नै छैन
अनि म कविता कहाँ पाऊ ?– के दिऊँ ?
बरु यस्तो लागिरहेछ यसबेला आफैंलाई
कुन म्युजियमको एक कुनामा थन्को लगाइदिऊँ
आफ्नै जिन्दगी
र लेबिल टाँसीदिऊँ ठूलाठूला अक्षरमा–
‘यो हरिभक्त कटुवाल हो
जो मृत्युको डरले सधैं भागिहिँड्छ
यो त्यही कटुवाल हो
जो स्वस्ती गरेर भए पनि
आफ्नो जागिर जोगाउनैमा तल्लिन छ ।’
लौ, त्यो राते खसी
लौ, त्यो तिखे गोरु
किन ति मतिर हेर्छन् मुख बाएर !
किन ति मलाई हेर्छन् ठाडो घाँटी लाएर !!
मेरो थाप्लामा यो त केश हो – घाँस होइन,
मेरो थाप्लामा यो त केश हो – पसल होइन ।
मुक्त
मुक्त त ढुंगा हुन्छ
न उसको दुख्ने मुटु हुन्छ
म देख्ने आँखा हुन्छ
कसैले पर्खाल लगाए पर्खाल बन्छ
सडक बनाए सडक बन्छ
सायद त्यसैले त्यसको पूजा हुन्छ
उ ईश्वर बन्छ ।
यो घाँटी पनि आजै खस–खसाएको ?
यो श्वास किन अड्की–अड्की चलेको ?
यो हावा – होइन, यो हावा किन बारुद–बारुद गनाएको ?
यो के भयो ?
खै, यो के यस्तो भयो !
यहाँ त बाँच्नै हम्मे परिसक्यो
सुख त् अब भाग्यमै कहाँ ?
मुख बाइरहेका हुन्छन् चिन्ताका अजिङ्गर सपनामा
मुख बाइरहेका हुन्छन् भोकका अजिङ्गर विपनामा ।
खाइसक्यो– खाइसक्यो मेरो मासु
लुछिसक्यो–लुछिसक्यो मेरो मासु
चिन्ता–भोकका अजिङ्गरले
पीर–मर्काको अजिङ्गरले
अस्तित्व मेरो केवल अब
हाड र छाला,
नसा र एक–दुई थोपा रगत
अनि हुरुक्क–हुरुक्क एक मुठी श्वास ।
कहाँ जाऊ ?
वनमा जाऊ–लगार्छन् वनका चितुवाले
घरमै बसुँ – घेर्छन् घरमा पालेकाले
चैनको त कुरै कहाँ ?
नीदको त कुरै कहाँ ?
बस्ने ठाउँसम्म कतै छैन
अडिने ठाउँसम्म कतै छैन
चिल्छन् कमिला, रोटे, सातचोटेले
चुस्छ : उपियाँ, उडुस, लामखुट्टेले ।
लौ, मैले घरलाई घरसम्म भन्न पाइन
ऊ दलिन र भ¥याङबाट मुसाको लस्कर
ति त आहार खोज्न निस्केका होलान् पक्कै !
ए यी त मेरा कान हुन् – रोटीका टुक्रा नठान !
ए यो त मेरो नाक हो – रोटीको टुक्रा नठान !
होइन, त्यो कुनाबाट म्याउँले मतिर के हेरेको ?
होइन, त्यो ढोकाबाट कुकुरले मतिर किन हेरेको ?
लै ! तिनका पनि पेट दावा लागेको छ
लौ ! ती पनि दाँत कट–कटाइरहेछन्
हेर, यहाँ म छु – तिम्रो मालिक
मलाई चिन्न सकेनौ र ?
यो के देखिरहेको छु आज मैले
खै, आँगनमा रोपेको मखमली ?
के भए – इन्द्रकमल, चाँप, जाई, चमेली ?
के भए – मैले बढाएका ती फूलहरु ?
लौ, त्यो राते खसी
लौ, त्यो तिखे गोरु
किन ती मतिर हेर्छन् मुख बाएर !
किन ती मलाई हेर्छन् ठाडो घाँटी लाएर !!
मेरो थाप्लामा यो त केश हो – घाँस होइन,
मेरो थाप्लामा यो त केश हो – पसल होइन ।
खै, आज किन बास्दिन त्यो रातो भाले ?
खै, आज किन घुर्दैन त्यो कौडे भाले ?
लौ ! ती पनि मतिर हेर्दैछन्
लौ ! ती पनि मलाई नै घेर्दैछन्
ए, यी त मेरा आँखा हुन् – मकैका गेडा नसम्झ !
ए,यी त मेरा आँखा हुन् – तोरीका गेडा नसम्झ !
यी त् मेरा आँखा हुन्, – आँखा
तिमीहरुलाई देख्ने आँखा – भवितव्यलाई नदेख्ने आँखा !
यो घाँटी पनि आजै खस–खसाएको ?
यो श्वास किन अड्की–अड्की चलेको ?
यो हावा – होइन, यो हावा किन बारुद–बारुद गनाएको ?
गुहार ! गुहार !! बचाऊ ! बचाऊ !!
धुरिए धुरिए – कमिला ! रोटे !!
चुसिएँ चुसिएँ – उडुस ! लामखुट्टे !!
रगतको गति नै बन्द भयो मेरो !
नसाको गरि नै बन्द भयो मेरो !!
ए, लग्यो ! लग्यो !!
रातो भालेले मेरो दायाँ आँखो लग्यो !
कौडे भालेले मेरो बायाँ आँखो लग्यो !!
मुसाले मेरो कान लग्यो !
मुसाले मेरो नाक लग्यो !!
मैले देख्न छोडे – मैले सुन्न छोडे !
लै म त कामै नलाग्ने भइसकें !!
छोडिदे यो मेरो मलमली केश – ए राते !
छोडिदे यो मेरो मखमली जुल्फी – ए तिखे !!
जा, म खुइलो भैइसकें
जा, म बुच्चो भइसकें !!
बस, अब ढुक्क भयो
बस, अब सन्चो भयो ।
यो, के फेरि ?
चितुवा,ब्वाँसा, चिल र गिद्ध !
लुछिएँ लुछिएँ छाला खै मेरो ?
अब यो हड्डीमात्र म कसरी बाँचू ?
हो, अब त म हड्डीमात्र बाँकी रहें,
अब त म कङ्कालमात्र बाँकी रहें,
तर, बाँकी नै खै कहाँ रहें ?
कुकुरले मेरो नलीहाड लग्यो !
लग्यो, लग्यो, कुकुरले मेरो कङ्काल लग्यो !!
लौ म त निख्रिएँ,
लौ म त शुन्य भएँ !!
यो के भयो ? यो के भयो ?
(यो जिन्दगी ! खै के जिन्दगीबाट)





