बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा गुञ्जिने एउटा मखमली आवाज !

पोखरामा गुञ्जिने एउटा मखमली आवाज !


  • सन्तोष बस्याल
  • असार ५ २०७८, शनिबार

नेपाली गीत संगीतमा दार्जिलिङको प्रभावलाई नजरअन्दाज गर्न सकिँदैन÷मिल्दैन । खासगरी अम्मर गुरुङले जुन कालखण्डमा ‘नौलाख तारा उदाए..’ सृजना गरे, त्यसले सिंगो नेपाली गीत संगीतलाई नयाँ मोड दियो ।

म अम्बर हुँ तिमी धर्ती
लाखौं चाहेपनि
हाम्रो मिलन कहिल्यै नहोला… भन्ने गीतमार्फत् उनले जुन धार समाते, त्यसले नेपाली संगीतको मानक नै परिवर्तन गरिदियो । जनकविकेशरी मास्टर मित्रसेनदेखि धर्मराज थापाहरुले समाएको लोकलयमा आधारित नेपाली गीतको ‘युटर्न’कालान्तरमा नेपाली गीत संगीतको मूलधार बन्न पुग्यो । खर्साङ रेडियो र रेडियो नेपालको स्थापनापछि यी गीतहरु मान्छेको ओठमा झुण्डिन थाले । अम्वर गुरुङ काठमाडौं आएपछि दार्जिलिङका थुप्रै संगीत साधकहरुले काठमाडौंलाई कर्मक्षेत्र बनाए । साहित्यकार प्रकाश सायमीको भनाई सापट लिने हो भने, कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, अरूणा लामा, दिलमाया खातीहरुले नेपाली गीत संगीतमा प्राण भरिदिए । दार्जिलिङबाट भाग्य अज्माउन नेपाल आउने क्रमपनि त्यहीँबाट सुरु भयो । यो उपक्रम अहिले पनि जारी छ । र, पोखराको हकमा जसुदा थापा उदाहरण हुन् ।
आजभन्दा २४ वर्षअघि अजुदा थापा (४३) संगीतकै शिलशिलामा पोखरा प्रवेश गरिन् । २०३४ साल फागुन १८ गते दार्जलिङको सुखेपोखरीमा जन्मिएकी उनी एक सांगीतिक टोलीसहित पोखरा आएकी थिइन् । पोखरामा राम्रो भए काम गर्ने, नभए घुमेर फर्किने उनको योजना थियो ।
सानै उमेरमा बुबा–आमा गुमाएकी अजुदाले १० कक्षा दार्जलिङकै स्कूलबाट पास गरिन् । तीन दाजुभाइकी एक्ली बहिनी उनले दाइकै सहारामा स्कूल पढ्ने मौका पाइन् । घरमा हँुदा होस् या स्कूलमा होस, जति बेला पनि उनी गीत गुनगनाई रहन्थिन् । उनी भन्छिन्, ‘दार्जलिङमा गीत संगीत भनेपछि सबै पागल हुन्छन् । सायद त्यही भएर होला, गीत गाउने भनेपछि साह्रै रमाइलो लाग्थो ।’
उनले कक्षा ८ मा हुँदा पहिलोपटक ‘तु सायर हे‘’ बोलको हिन्दी गीत गाएकी थिइन् । जसले स्कूलमा सबैको मन जित्यो । दार्जलिङमा हिन्दी गीत धेरै सुनिने हुँदा उनले हिन्दी गीत नै बढी गाउने गर्थिन् । नेपाल आएपछि भने उनले चलचित्र ‘युग देखि युगसम्म‘’ को ‘तीनपाते डाँडा काटेर‘’ बोलको गीत गुन्गुनाएकी थिइन् ।
सानैदेखि गायन क्षेत्रमा रुचि भएपनि यसरी पेशा बनाउँछु भनेर अजुदाले कहिल्यै सोचेकी थिइनन् । गाउँदै गीत–संगीतको बारेमा बुझँदै गर्दा उनी यो क्षेत्रमा यसरी घुलमिल भइन् कि, आफैलाई पत्तो छैन । आज उनी यही पेशामा रमाएकी छन् । भन्छिन्, ‘अब त म संगीतबिना अधुरो छु । जीवनको अन्तिम पथसम्म योबाहेक अरु विकल्प छैन ।’
अजुदा संगीत नै सिकेर यस क्षेत्रमा आएकी भने होइनन् । अनुभव र परिवेशले उनलाई गायिका बनायो । पोखरा आइसकेपछि एक हप्ताजति लाक्पा लामासँग संगीत सिकिन् उनी भन्छिन्, ‘कुनै कुरा सिक्ने भन्दापनि आफूमा इच्छाशक्ति हुन आवश्यक पर्ने रहेछ । सायद, यही भएर अहिलेसम्म टिक्न सकिरहेकी छु ।’
आफूले गरेको कामबाट अजुदा सन्तुष्ट रहेको बताउँछिन् । ‘कलाकारिता क्षेत्र भनेको अरुलाई मनोरञ्जन गराउने क्षेत्र हो’, उनी भन्छिन्, ‘आफू जस्तोसुकै अवस्थामा भएपनि अरुलाई मनोरञ्जन गराउनु पर्छ ।’ लामो समय अजुदा पोखराको पुरानो रेष्टुरेण्ट ओपन हाउसमा आबद्ध रहिन् । पुराना हिन्दी–नेपाली गीत उनको आवाजबाट सुन्नेहरुको जमात पनि पोखरामा बाक्लो छ । कति आए कति गए तर उनको निरन्तरता र लगावले उनलाई यो स्थानमा टिकाइराखेको छ ।
अनभुवका आधारमा अजुदा भन्छिन,‘पहिला–पहिला रेष्टुरेण्ट तथा बारमा गाउने महिला कलाकारलाई गलत नजरले हेरिन्थ्यो । सकारात्मक दृष्टिले हेर्ने मानिसहरु कमै भेटिन्थे । त्यतिबेलाको सामाजिक परिवेश नै त्यस्तै थियो ।’ अहिले सांगीतिक क्षेत्रमा बिस्तारै परिवर्तन हुँदै गएको उनी पाउँछिन् । रेष्टुरेण्टमा गाउने महिला कलाकारहरुको अवस्था अहिले पहिलेजस्तो नभएको उनको अनुभव छ । हरेक किसिमले महिलालाई सहयोग गर्न थालिएको छ ।
धेरै अवसरहरु आएपनि समय दिन नपाउँदा महिलाहरु अझै अवसरबाट बञ्चित हुनुपरेको उनी बताउँछिन् । भन्छिन, ‘विवाह नगर्दा समाजको चिन्ता, विवाहपछि परिवारको चिन्ता र छोराछोरी भएपछि उनीहरुको चिन्ताले कलाकारितामा महिलाहरु खुम्चिनुपर्ने अवस्था छ ।’पहिला र अहिले गीत संंगीतमा पनि निकै फरक रहेको अजुदा सुनाउँछिन् । उनी भन्छिन्, ‘पहिला–पहिलाको गीतहरुमा छुट्टै मिठास हुने गथ्र्याे । पछिल्लो समय गीतसंगीतको बजार झनै साँघुरो हुदै गएको छ । चर्चाको हुटहुटीमा गीतको मौलिकता लाई बिर्सेका छौँ, हामी कलाकारले ।’
प्रविधिको विकाससँगै गीतसंगीतमा विकृति पनि आएको उनको बुझाइ छ । केही राम्रा गीतहरु पनि यो बीचमा सिर्जना भएको उनी बताउँछिन् ।‘चोली फाट्यो मखमल’, ‘कहाँ बाट आयौ तिमी’, ‘धौलागिरी अञ्चल‘’, ‘वनमा फूल्यो लालीगुँरास’, आहा रारा गोल्ड कप गीतलगायतका उनका थुप्रै चर्चित गीतहरु छन् । उनले नेपाली भाषामा मात्र नभई थकाली भाषाको गीतमा समेत आवाज दिएकी छन् ।
भजनबाट उनको गीतसंगीतको औपचारिक रेकर्डिङ सुरु भयो । ‘चौरीको गोठमा म जाँदा’ उनको तेस्रो रेकर्डिङ गीत हो जसलाई दर्शकस्रोताले खुबै मन पराएका थिए । हालसम्म अजुदाको आवाजमा करिब ९० बढी रेकर्ड भइसकेका छन् । यतिमात्र नभई उनीसँग थुप्रै स्टेज शोहरुको अनुभव छ ।
२२ वर्षदेखि पोखरामा निरन्तर संगीत संघर्षले उनलाई मेलोडी गायिकाको रुपमा परिचित गराएको छ । दार्जलिङकी अजुदा थापाको विवाहसमेत पोखरामा नै भयो । कन्दरा ब्याण्डका ड्रमर तथा संगीतकार सुनिल थापासँग उनको प्रेमविवाह भयो । संगीतबाटनै उनीहरुको जोडी जु¥यो । उनीहरुका एक छोरा र एक छोरी छन् ।संगीत क्षेत्रमा लागेर मात्र बाँच्न सकिने आधार निकै कम रहेको उनको अनुभव छ । भन्छिन्,‘अहिले एउटा गीत रेकर्ड गरेर मात्र हुँदैन, त्यहिअनुसार भिडियो चाहिन्छ । बजारमा आएपनि दर्शकले मन पराउनु हुन्छ, राम्रोसँग चल्छ भन्ने पनि छैन ।’
संगीतमा लाग्ने नयाँ पुस्तालाई संगीतको बारेमा राम्रो शिक्षा लिएर आउन उनको आग्रह छ । सिक्ने मौका अहिले नै हो । जति सकिन्छ संगीतका बारेमा सिकेर आउँदा सजिलो हुने उनले सुझाइन् । भविष्यको योजनाको के छ ?भनेर सोध्दा अजुदा भन्छिन्, ‘आफ्नै एउटा एल्बम निकाल्ने ठूलो योजना छ । त्यो समय मेरो जिन्दगीमा अविश्मरणीय क्षण हुनेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->