झिसमिसेमा हो चहकिलो बत्ती चाहिने, अँध्यारोमा त सानै बत्तीले पनि उज्यालो देखिन्छ नि ! त्यस्तै झिसमिस र अध्यारोको बत्तीजस्तै सम्बन्धमा धेरै अवस्था र समझदारी हुँदा रहेछन् ।
जीवनमा आइरहने आवश्यकताहरुले कहिले कसलाई कहाँबाट भेटाऊँ र मेटाऊँ भइरहन्छ । अनि सम्बन्धहरु कसरी नयाँ मित्रता दिलाउने भनेर असाध्यै आत्तुर हुन्छन् । खुसी होस् कि दुःख, जे आइपर्दा पनि जिन्दगीको गोरेटामा नयाँ ठाउँ र मान्छेसँग सम्बन्ध जोडौं भन्ने भावनाले सताइरहने हुँदोरै’छ ।
मनभित्रै गुम्सिरहेका यस्तै भावनाले पुष्पामा पनि बाहिरी दुनियाँको जिन्दगीमा आइपरेका आवश्यकताहरुले शहर खोज्न थालेका थिए । साथी पाए नयाँ ठाउँ पनि गाउँजस्तै सजिलो हुनेछ भन्ने पुष्पाको सानो दिमागले सोचिरहेको थियो । नयाँ साथीको सहारामा गाउँले जीवनलाई सहज बनाउने आशामा सहर झरेकी थिई ऊ ।
नयाँ आशा र उमंगसहित कक्षा ७ मै स्कुल फेरेकी पुष्पाले बजार झरेसँगै नभन्दै छिट्टै नयाँ साथी फेला पारी । पारिपट्टिको गाउँबाट अलि पहिलै बजार झरेर सहरिया भइसकेकी ऋचा उसकोे नयाँ साथी बनी । कक्षा कोठामा भेटिएकी ऋचाले ‘तिमी मेरी मावली गाँउकी रे !’ भनेर पुष्पासँग चिनजान गरेकी थिई । स्कुल जीवनताका पुष्पा त्यति प्रभावशाली त थिइने । तर, कसैले आएर उसलाई खुशीले साथी बनाओस् भन्ने चाहना भने अवश्य राख्थी ।
ऋचा बजार झरेर सहरिया बनिसकेकी अनि संगत पनि टाठाबाठा साथीसँगैको थियो । यस्तोमा गाउँले जीवन र स्वभावकी लुरी पुष्पासँग सहरिया ऋचाको राम्रो मित्रता छिट्टै हुन पुग्यो मावली गाउँले सम्बन्धले । पुष्पामा मजाक बनाउन मिल्ने धेरै पाटाहरु थिए । ७ कक्षामा हुदाँ ऋचा पुष्पाको हाँसो बनाउने टोलीमा पर्थी । ८ कक्षा पुग्दा त ऋचा पुष्पाको बेन्चमा सँगै बस्ने साथी भएकी थिई । पुष्पा अन्तिम बेन्चमा बस्ने गर्थी ।
गणितमा कमजोर हुनाले लक्ष्मी मिसले उसलाई अगाडि बस्न लगाउनु भएको थियो । पहिलो बेन्चका टोलीमा पुष्पा सबैसँग नजिक थिई तर सबैको नजिकमा नि अझ बढी नजिकै एकजना हुन्छ नि ! हो, त्यस्तै थिई पुष्पाका लागि ऋचा ।
स्कुले जीवनमै उनीहरुको मित्रता धेरै गाढा हुँदै गयो । गहिरो सम्बन्धमा एसएलसी उत्तीर्णपछि भने दुवैलाई पढाइका विषयले फरक पा¥यो । स्कुले जीवनपछि उनीहरुको भेटघाट विरलै हुन्थ्यो । फुर्सद निकालेर घरमै पुगेर दिन कटाउँथे दुवै जनाले, तब झन नजिक भएका थिए एकआपसमा । अहिले उनीहरु मित्रताको एघारौं वर्षलाई विशेष रुपमा मनाउने समयमा आइपुगेका छन ।
ऋचाको बिहेपछि पुष्पा राजधानी छिरी । त्यसपछि भने उनीहरुको भेटघाट पातलियो । फोन सम्पर्र्क अनि पुष्पा आफ्नो घर आउनासाथ हुने भेटघाट र कुराकानीले भने उनीहरुको सम्बन्धको दूरीलाई बेपर्वाह गर्दै थिए । झिसमिसेमा हो चहकिलो बत्ती चाहिने, अँध्यारोमा त सानै बत्तीले पनि उज्यालो देखिन्छ नि ! त्यस्तै झिसमिस र अध्यारोको बत्तीजस्तै सम्बन्धमा धेरै अवस्था र समझदारी हुँदा रहेछन् ।
उनीहरु २ को हप्ता दिनको फरकमा हुने कुराकानीले एकदिन अनौंठो स्वरुप लियो । एकदिन अगाडी सामान्य कुराकानी भएको थियो तर भोलिपल्ट पुष्पाले ऋचालाई फोन गरी, उठेन् । पर्सिपल्ट दुई¬¬–तीन पटक फोन गर्दा नि नउठेपछि पुष्पा भने विस्मातमा परी । पुष्पाले दिनको १५÷२० पटकसम्म फोन गरी । तर, पनि उसले उठाइन ।
पुष्पाले उस्की आमालाई फोन गर्दा ऋचासँग सामान्य कुराकानी भएको र केही पनि नभनेको बताइन् । आमाको कुराले पुष्पाको मनमा अचम्मको पहिरो जान थाल्यो । आँखाले पानी निकालेर उसलाई जिस्काउन थाले । पुष्पाको मनले ऋचा यसरी रिसाउनुको कारण खोज्न थाल्यो तर केही भेट्न सकेन । समयसँगै उनीहरुबीच सहरको सम्बन्ध कति कमजोर भएछ, पुष्पा सोचमग्न भई ।
उसले दिमाग घुमाई, कतै मैले केही दिनअघि या विगतमा केही गल्ती गरें कि ? तर सम्झन सकिन । सोची – ‘हाम्रो मित्रतामा नसोचेको घाउ लागेछ । घाउ त दुख्ने नै रहेछ । सानो उचेरा गए पनि दुख्ने, टाका लगाउनु पर्ने भए पनि दुख्ने !’ पुरानो हँुदै जाँदा ज्यानको घाउमा खाटो बस्ने रै’छ । तर, मनको घाउले घरिघरि मनलाई बासी मोहीजस्तै अमिलो बनाउँदो रहेछ । शरीरको चोटको झिंगा धपाउनु धेरै सजिलो हुने रैछ । तर, गलत बुझाइले मनमा भन्केको झिंगा कसले धपाइदिओस ?
झिंगा भन्किँदासम्म सम्बन्ध उम्किसकेको हुँदो रै’छ । भावनामा बग्यो पुष्पाको मन, हामी कसरी ऋचाले जसरी झिगांलाई फर्किन ठेस लाग्ला भनेर मन कुहिन दिने रै’छौं । धन्न सम्बन्धको जिउदाें सिनो एक÷दुई जनालाई मात्र गनाँउछ र पो ! नत्र यो सम्बन्धको शहर माछा बजारजस्तो हुन्थ्यो होला !
असोजको पहिलो हप्ताबाट नउठेको फोन पछिका कारण थाहा पाउने अवसर बनेर दशैं आयो । पुष्पा दशै मनाउन घर गई । ऋचासँग दशैमै भेट्नु थियो उसलाई । तर उसको घरसम्म पुग्न सकिन । तिहारमा भने धेरै आशा लिएर ऋचाको माइतीमा गई, उसलाई भेट्न । ऋचा रिसाउनुको कारण बुझ्न । पुष्पाले भेटी उसलाई । धेरै पटक सोधी – ‘किन बोलेकी छैनस, मैले के गरे ? नबोल्ने नै होस भने पनि मलाई किन यस्तो गर्दैछेस यति मात्र भनिदे । गल्ती थाहा नपाई यसरी सजाय दिने जस्तो गिरेको हाम्रो सम्बन्ध त हैन ?’
पुष्पाले हरसम्भव प्रयास गरी तर उसले मुखसम्म हेरिन् । २ घण्टाको बसाइँमा तोते बोली पनि बोल्न नसक्ने उसकी छोरीसँग एक्लै खेली पुष्पा । अरु नै के के बोलेर बसिरही ऊ । उसको एकमात्र जवाफ आयो – ‘छोड तँसँग कुरा गर्नु छैन ।’ अँध्यारो मन बनाउदै पुष्पा आफ्ना सबै प्रश्न त्यही छाडेर आँशुका साथ निस्की ।
घरबाट निस्के पनि उसको दिलदिमाग र सोचाइबाट ऋचा निस्किन सकिन । ‘मेरो जीवनमा केही भए मैले भन्ने तलाइँ नै हो । तँलाई नभने त म बस्नै सक्दिन’ उसका सबै कुरा झूठ रहेछन् । साँचो हुन्थे त उसले मेरैबारे मलाई नै किन भनिन ? सायद अरु कुनै प्रिय मित्र पाएर म बोझ बनिसकिछु । दिमागमा यिनै कुरा केलाउदै गई – ‘म त यो मित्रताबाट साँझमा विद्युतीय बत्ती आएपछि निभाइने मैनबत्ती जस्तै निभाइएँ ।’
पुष्पाले कोरोना महामारी पहिला पनि मास्क लगाउँथी । त्यसैले रुन्चे अनुहार त बाटोमा छोपियो । तर आँखाले छोपिने केही पाइन उसले । घर फर्कंदा स्कुलको बाटो भइजानु पर्ने, बाटोमा सबैले चिन्थे । पुष्पालाई आँशुको रुपमा आफ्नो अस्तित्व र संस्कारको तमाशा बाटो मै देखाउन मन थिएन । बिदाको समय अनि स्कुलको नयाँ भवन बनाउदै गरेकाले उसको ऋचासँग सम्बन्ध गाँसिएको स्कुल खुल्लै थियो ।
भित्र गई, आफ्नै कक्षामा पसेर मन बुझ्ने गरी रोई अनि आखाँको पानी सकिएपछि निस्की । ऋचाको माइती घरमा भेटपछि पुष्पाले थाहा पाई, मित्रताको अन्त्य भैसकेछ । ११ वर्षको घनिष्ट साथी सधैंलाई छुटेको कुरा घर, समाज र साथीभाइसँग भन्न पनि लाज लाग्यो पुष्पालाई । हामी त यस्ताउस्ता अरु जस्ता हैनम् भनेर उनीहरुले गरेको घमण्डले आज यहाँ आएर नमिठो स्वाद चाखेको थियो ।
ऋचाले पुष्पालाई आफ्नो मित्रताको अनौंठो ११ वर्ष सम्झिँदा आँखा ओेभानो नरहोस् भन्ने उत्कृष्ट उपहार दिएकी छे । मित्रताको उपहार लिएर छतमा बसेकी छ पुष्पा । रातले ११ बजाइसकेछ । रातमा के नै देखिन्छ र ? अँध्यारै देख्ने न हो । त्यै पनि हेरिरहेछे उसले ।
आफूलाई एक्लै सोच्ने त्यो अध्यारोसंँग बसेर अध्यारोलाई नै जिस्काइरहेकी छे । रातको कालो पर्दामा आँसुलाई दर्शक बनाएर आपm्नो जीवनका अति प्रिय यादहरुको असफल चलचित्र हेर्दैछे । सोच्दैछ उसले – २ व्यक्तिबीचको आत्मीयताको जालोमा मायाको फूलमात्र अड्किने भने यी उराठ लाग्दा विछोड किन हुँदाहुन र है ? म सबैभन्दा राम्रो छु भनेर घमन्ड गराउन सक्ने यी झिंगाबाट सम्बन्धको सिनो बनाएर चिनो छोड्ने चलन आएछ । मलाई हाम्रो सम्बन्ध अति प्यारो थियो । तर उसलाई रहेनछ । यसले आफ्नो गल्ती थाहा पाओस् । माफी मागोस । गल्ती सुधारोस भन्ने कुरामा उसलाई किन कर लागेन । यति कुराको पनि महत्व नराख्ने मित्रता उसले अहिलेसम्म किन निभाई ? आफैंलाई नै घरिघरि प्रश्न गर्छे पुष्पा ।
त्यो सबै भएपछि पनि पुष्पाले फोन र मेसेज गर्ने कामलाई रोक्न भने सकिन । जवाफ पाउने आशामा केही दिनको फरक राखेर फोन गरिराखी । पुष्पालाई अतितले झस्काइरह्यो । ऋचाले भने उसरी नै वेवास्ता गर्दै गई । फागुनमा ऋचाको जन्मदिनको दिन । आज अन्तिम पटक गर्छु भनेर नयाँ नम्बरबाट फोन गरी पुष्पाले । नयाँ नम्बरबाट आएको फोन भने उठाई ऋचाले तर बोली चिनेपछि राखिदिई ।
दिनभरि हरेक कुराको माध्यम बनाएर सुनिएको आवाज अहिले एक सेकेन्ड सुन्न पनि नमिठो हुन लागेछ ऋचालाई । यस्तै सोच्दै दिन कटाइरहेकी छे पुष्पा । २ वर्ष यसरी नै बितिसके । तर, पुष्पाले अझै पनि आफ्ना प्रश्नको जवाफ पाएकी छैन ।
पुष्पा भित्रभित्रै गुनगुनाउछे, ‘नगरेको गल्ती सच्याउने भीख माग्दा पनि मैलै पाइनँ । ११ वर्षको मित्रता मलाई प्रश्न मात्र दिएर अस्तायो । मैले जसरी उसले कोही गुमाउनु नपरोस् । आफूलाई परिवारसरह लाग्ने कुनै पनि सम्बन्धबाट माया पाउन नसकेपनि यस्तो घृणित दुव्र्यहार सहनु नपरोस ।’
क्षणभरमै उसको मन २ वर्ष पुरानै घाउमा जान्छ । चकचके भएर हैन, बिर्सन नसकेर । उसको नजरमा उही ७ कक्षामा मजाक बनाउन मिल्ने पुष्पा नै भई । पहिले पुष्पाको पहिरन, हाउभाउमा हाँसो बन्थ्यो । अहिले साथीको सम्बन्ध निभाउने कलामा ऋचाले पुष्पा बाहेक सबैसँग मजाक बनाउँदैछे । ०००
(शर्मा मेडिकल ल्याबोरेटरी टेक्नोलोजीको स्नातक तहकी विद्यार्थी हुन् ।)





