बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कथा: चङ्गाको पुच्छर

कथा: चङ्गाको पुच्छर


  • शिवप्रसाद पाण्डे
  • असार २६ २०७८, शनिबार

प्र. अ. सन्तधरले भनिरहेका थिए- हिजो एक दिन स्कूल नआउदा यस्तो भयो । दुई कक्षाको ग्रेड टिचिङ गर्ने सुनिल सरले हिजै म आउदिन भनेको भए म व्यवस्था गर्ने थिए । मिलेर पढाएको भए पनि हुन्थ्यो । म स्रोत केन्द्रको बैठकमा नगै भएन । सुनिल सरले प्रतिउत्तर दिए- मलाई त छोराले बिहान मात्र भन्यो ।
बोडिङमा चङ्गा बनाउने प्रतियोगिता रहेछ । चङ्गा बनाउने काम त शिक्षकको सहयोगमा भैसकेको रहेछ । चङ्गाको पुच्छर हाल्ने र रंग लगाउने काम अभिभावकले गर्नु पर्ने रहेछ । मैनाको पच्चीस हजार फि तिर्ने काठमाडौंको बोडिङ स्कूलमा यस्तै गरिदो रहेछ । प्रन्सिपल सरले हेरेर आएकाले यहाँ आयोजना गरेका रहेछन् । सबैका अभिभावक आएका थिए । यस्तोमा आफु नजादा बच्चालाई कस्तो असर पर्छ ? अघिपछि त ल्याउने र छोडने काम म्याडमले गर्छिन् । हिजो त गर्न जान्न पनि प-यो । यतै खेतमा काम गर्न आए पनि घर गएर कपडा फेरेर आउनु पर्ने रे । झुरे झाम्रे भएर गए त छोराछोरी नै रिसाउँछन् । ठूलै देशमा गएका बाबुका सन्तानहरु त परे।
एक जना वि. व्या. स. का सदस्य केहि रिसाएर भने – तपाईंको माहाभारत पछि भन्नु होला, सुनिल सर । त्यो बच्चा घाँस काटने भर्से साइलाले देखेर त बचायो । यसको जिम्मा हेड सरले लिनै पर्छ । एकजना शिक्षकले भने – आठवटा कक्षा चार जनाले कसरी हेर्ने ? तै शिशु कक्षा पिउन सरले ढोका थुनेर राखेर मात्र । अध्यक्षले सोधे – हाम्रोमा पन्ध्र जनाको दरबन्दी होइन र ? ”काहाँ पन्ध्र हुने सत्र हो । जिल्लाले दुई जना टाढाको स्कूलमा परेका महिला शिक्षक पनि काजमा पठाएको छ नि।” एक जनाले भने । ‘उहाँहरुको कुरै छोडौ, जिल्लाका हाकिमका आफ्नै मान्छे हुन ।’ कसैले भने । जम्मा भएका थोरैका छोराछोरी मात्र त्याहाँका विद्यार्थी थिए । एक जना अभिभावकले सोधे- अरु मास्टर मास्टर्नी किन नआएका रहेछन् ? हरि सरले भने- मेरो पनि आज घरमा अति आवश्यक काम थियो । तर आए । मैले थाहा पाएसम्म पदम सर बन महासंघको अधिवेशनमा हेटौडा जानु भएको छ । रुद्र सर आफ्नै मामाको घर सप्ताहमा गणेश बस्नु भएको छ क्या रे । बेदनिधि सर बुटवल सामान हाल्न जानु भएको छ । श्याम सर त गाउँका छवटा समितिमा हुनुहुन्छ । हिजो पानीको बैठक थियो । आज मोटर बाटोको छ भन्ने सुनेको छु । एक जना सदस्यले भने – मोटर बाटो पोहरै बनि सकेको होइन र ? । हरि सरले यस बारे प्रष्टाए – मोटर बाटो भत्कि रहन्छ के गर्ने ? अरु म्याडमहरुको बारे कि हेड सरलाई थाहा होला कि म्याडमहरुको कुरा म्याडमलाई वढी थाहा हुन्छ । पम्फा म्याडमलाई सोध्नु होस् न ।
दुई कक्षालाई पढाउने शिक्षक नभएकाले सबै विद्यार्थी खोलामा पौडन गएका रहेछन् । ती मध्ये एक जनालाई खोलाले बगाएको रहेछ । एक जनाले संजोगवश देख्दा बाचेका रहेछन् । त्यसै विषयलाई लिएर त्यो दिनको भद्रगोल बैठक भएको रहेछ । त्याहाँ सयौ मानिस जम्मा भएका थिए । प्र अ हटाउने उपयुक्त मौकाको रुपमा त्यस घटनालाई उपयोग गर्न खोजिएको थियो । प्र अ शैक्षिक विकास गर्न नबिनतम् योजनाहरु ल्याउने सुरमा थिए । घोकन्ते पढाइलाई निरुत्साहन गर्न चाहेका थिए । धनात्मक अनुशासन, अतिरिक्त क्रियाकलाप,परियोजना कार्य, सृजनासिलता जस्ता कार्यहरुलाई मुर्तरुप दिन खोजिएको थियो । शिक्षकहरुको नियमितता, शिक्षकलाई प्रविधिसंग जोडने काम, शिक्षणको परंपरागत पध्दतिलाई रुपान्तरण गर्न प्र अ ले प्रस्ताव ल्याउदै थिए | यस कार्यमा उनलाई केवल दुई जना शिक्षकको सहयोग र समर्थन थियो । त्यतिखेरको शिक्षकहरुको चर्को असहमती विध्दुतिय हाजिरी मेसिन राख्ने बारेको थियो । वि व्या समितिका अध्यक्षलाई यो कुरा मन परे पनि बोल्ने पक्षमा देखिएका थिएनन् किनभने उनलाई वाड अध्यक्षदेखि विव्यासको अध्यक्ष बनाउन वर्षको वढीमा एक सय दिन विद्यालय आउने संघ संगठनका शिक्षकको हात थियो ।
एक जना चल्तापुर्जा व्याक्तिले भने- जति रसी बाटे पनि गाँठो एउटै हुन्छ । सन्त सरको ठाउँमा हरि सरलाई एच एम बनाउनु प-यो । भुल्ने समय छैन । पम्फा म्याडमले भनिन् – योग्यता र स्थायीको हिसाबले प्र अ मैले पाउनु पर्ने हो | एक जना सदस्यले प्रतिकार गर्दै भने – लोकल चाहियो नि लोकल ! मुख्य कुराचाहिँ मिल्नु प-यो । ती महिला शिक्षक केहि ठुलो स्वरले फेरि भनिन्- लोकल र क्यइलर थाहा छैन । वाड मात्र फरक हो । तर स्कूलबाट सबभन्दा नजीक मेरै घर पर्छ । एक जना नेता स्तरका व्यक्तिले निचोडको शैलीमा भने- गाह्रो नमान्नु होस, भोलिसम्ममा राजिखुसीले प्र अ बाट राजिनामा दिनुहोस् । नत्र —-। अध्यक्षले तलमाथि टाउको हल्लाए ।
सबै बाहिर निस्कि सकेका थिए । प्र अ र दुई जना शिक्षक मात्र अफिसमा थिए । एक जनाले भने- राम्रो गर्ने त जमानै छैन । सन्तधरले भने- अब हामी पनि जागिर खाउँ । यो चङ्गाको पुच्छर र राजनीतिदेखि विभिन्नका पुच्छर नचुडिदा सम्म हुने यस्तै हो । त्यसपछि तिनीहरु मलिन भावले केहि क्षण एक अर्कोको मुखमा हेराहेर गरि रहे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->