उत्खनन् :
इतिहास । यो शब्द संस्कृतबाट आएको हो । यसको अर्थ हो निश्चित समय कालमा यो भएको थियो र हुन्थ्यो भन्ने लाग्छ । प्राचिनकालमा धर्तीमा मानव विकास कसरी भयो र उनीहरुको मेहनतबाट समाज कसरी बदलियो ? उनीहरुले गरेको मेहनतबाट मानिसको जीवनमा के परिवर्तन आयो भन्ने तथ्यहरु खुलाउँछ ।
४ करोड वर्षअघिको भौगर्भिक तथ्यहरु हेरौं न ! भारतीय प्रायद्वीप र युरेसियाका विशाल भूखण्ड जुधे । त्यसको चेपाईबाट महासागर हिमाली समुन्द्रमा परिणत भए । यी हिमालयको उत्पत्ति कसरी भयो ? यसको तथ्य नजिक पुग्दा भेटिन्छ, ‘तिब्बती सीमान्त पर्वतशृङ्खला समुद्रबाट उठेर अन्दाजी २ हजार मिटर अग्लो भई साङ्पो (ब्रह्मपुत्र) र गंगाको जलाधार क्षेत्र बन्न पुग्यो ।’
हरेक तथ्यहरुले के देखाउँछ भने सम्बन्धित ठाउँ र नाउँ कसरी विनिर्माण भयो ? भन्ने लामै उत्खनन्को अपरिहार्यता देखाउँछ । ‘सभ्यता’ कसरी विकास भयो भन्ने हरेक विषयमाथि हेरिने दार्शनिक दृष्टिकोणबाट प्रमाणित गर्ने कोशिस गरिन्छ । यस सम्बन्धी भौतिकवादी दार्शनमा विशेष दख्खल राख्ने वामपन्थी नेता मोहन वैद्य ‘किरण’ले ‘हिमाली दर्शन’मा गजबको तथ्य पेश गरेका छन् ।
‘वेदमा भौतिकवाद र आदर्शवाद’ शिर्षक दिएर वैद्यले भनेका छन्, ‘हिमाली उपमहाद्वीपमा वेदमा भौतिकवादका बीजाणु फेला पर्दछन् । वेदमा विद्यमान भौतिकवाद आद्य भौतिकवाद हो र यसप्रकारको भौतिकवादलाई प्राकृतिक भौतिकवादको रुपमा ग्रहण गर्नुपर्दछ । ऋग्वेदमा सृष्टिको पहिलो तत्त्वका रुपमा पानीलाई लिइएको छ ।
ऋग्वेदमा भनिएको छ :
आपो ह यद् बृहतीर्विश्वमायन्गर्भ दधाना जनजयन्तीरग्निम् ।
ततो देवानां समवर्ततासुरेकः सस्मै देवाय हविषा विधेम ।।
ऋग्वेद : १० । १२१ । ७ ।।
अर्थात्, सृष्टिका प्रारम्भमा आप् वा जलतत्त्वले सम्पूर्ण विश्व ढाकेको थियो । त्यसले गर्भधारण गरेर महान् अग्नि र आकाश आदि उत्पन्न भए । त्यसपछि देवतामध्ये अद्वितीय प्राण उत्पत्ति भयो । उनी को हुन् ? हामी हविद्वारा विधिपूर्वक उनैको अर्चना गर्दछौं । यहाँ आप् अर्थात् जललाई प्राथमिक स्थानमा राखिएको छ र जलबाट अग्नि, आकाश आदि उत्पत्ति भएको कुरा दर्शाइएको छ । यो स्वतःस्फूर्त भौतिकवादी चिन्तन हो ।’
उत्खनन्मा भेटिएका यस् तथ्यप्रति आ–आफ्ना धारणा छन् । ‘गण्डकी’ महाभारतमा बढी उल्लेख गरिएकाले लेखक तथा अध्येयता सौरभको दलिल छ, ‘गण्डकी यो नाम महाभारतको धेरै ठाउँमा आउँछ । आदिपर्व, सभापर्व, वनपर्व आदि । गण्डकीको उल्लेख गर्ने महाभारत लेखिएको समय इसापूर्व ६०० लाई मानिएको छ । तर गण्ड ऋषिबाट गण्डकी बनेको जानकारी दिने सुरुमा हिमवत्खण्ड हो । जसलाई अरुले पछ्याएका छन् ।’
जहाँ भाषा रहन्छ, त्यहाँ उसको इतिहास रहन्छ । भाषाको देहवसान भए स्वतः राष्ट्रको देहवसान हुन्छ । कुनै स्थाननामले त्यहाँको मानव सभ्यतासँग गाँसिन्छ । सभ्यतासँग गाँसिएका कला, साहित्य, संस्कृति, भाषा, भूगोल, ज्ञान, विज्ञान र परम्पराको इतिहास बोकेको हुन्छ । यही तथ्यहरुलाई औंल्याउँदै कृष्णप्रकाश श्रेष्ठले ‘स्थाननामकोश’मा पानीसँग जोडिएको सन्दर्भ औंल्याएका छन्ः
– मगर भाषा ‘दी’, (गण्डकी अञ्चल) ‘डी’ ः मादी, मोदी, मस्र्याङ्दी, मैदी, मल्याङ्दी, म्याग्दी, मर्दी, मिर्दी, सरादी, सुरौदी, सींदी, पौँदी, लब्दी, दोर्दी, ज्याग्दी, गुडी, कैलादी, हर्दी, क्वाङ्दी, चुँदी, याउँदी, स्याङ्खुदी, पार्दी, दरौंदी, रिडी ।
(‘रि’ अठार मगरातमा बोलिने खाम भाषा हो । त्यसको अर्थ पानी हुन्छ । ‘डी’ बाह्र मगरातमा बोलिने मगर भाषा हो । त्यसको अर्थ पनि पानी हो ।)
मध्यकालीन गण्डकी :
सिञ्जाको पूर्वी दिशातिर फर्कौं । खारी प्रदेशको मुकाम ताक्लाकोटमा बसेका राजा नागराजले सिंजापति धीरपाललाई पूर्वतिर पन्छाएर सीमा खाली गरेछन् । कारण सबै आम्दानीको स्रोत पूर्वतिर थियो । पूर्व भोट, भारत र पहाड ३ क्षेत्रलाई पायक पर्ने क्षेत्र सिञ्जादेखि पूर्व हो । भेरीपूर्वका राज्यहरुमा सबै मगर भुरेटाकुरे राजा थिए । भोटको नुन, उन र सुनको जोहका लागि मगर राजाहरु पालराज्यसँग लहसिए ।
व्यापारिक केन्द्र कसले नियन्त्रणमा राख्ने भनेर मुस्ताङ र जुम्लाबीच लामै गलफत्ती भयो । जुन गलपत्तीले सन् १७८९ मा जुम्लामाथि गोरखा राज्यले विजय प्राप्त ग¥यो । मध्यकालमा भोट जाने पाँच प्रमुख मार्गको नाका कालीगण्डकीको तटीय क्षेत्र हुन । ती प्रमुख नाका मध्ये बागलुङ, बेनी, राखू, तातोपानी, कुश्मा क्षेत्रहरु व्यापारिक केन्द्रका रुपमा स्थापित भए । व्यापारिक केन्द्र भएकाले तामा, फलाम, राडीपाखी, घ्यु बेचबिखनको हब बन्यो ती क्षेत्र ।
तामाखानीको भण्डार मानिने २४ राज्यमा पर्वत शक्तिशाली थियो । स्याङजा, कास्की र लम्जुङलाई गोरखा राज्यसँग लड्न पर्वतले सहयोग समेत गरेको थियो । पछि सन् १७८६ मा तीनतिरबाट हमला गरेर गोरखाले पर्वतलाई जित्यो र प्रशासनिक केन्द्र बागलुङलाई बनायो । त्यही कारण भोटको मुख्य नाका बेनी टक्सार र नुन डिपोहरुमा सीमित रह्यो ।
गुर्जाखानी : ‘उहीले छन्त्यालहरुको बसोबास भएको क्षेत्रलाई तल्लो २२ खानी गुल्मी जिल्लाको लेक) र उपल्लो २२ खानी (प्राणाखानीदेखि उत्तर–पूर्वका म्याग्दी र मुस्ताङका खानीहरु) गरी २ भागमा बाँडिएको पाइन्छ । यहाँका आदिवासी छन्त्याल जनजातिको प्रमुख व्यवसाय खानी खन्नु नै भएकाले उनीहरु बस्ने विभिन्न गाउँहरुलाई ‘खानी’ पुचे नाम जोड्ने चलन थियो ।’ कृष्णप्रकाश श्रेष्ठः ‘स्थाननामकोश’ पृष्ठ–७६
श्रेष्ठले ‘प्राणाखानी’ भनि उल्लेख गरे पनि त्यसलाई पाण्डवहरुले खानी खाएको किंवदन्तीसँगै अहिले ‘पाण्डवखानी’ भनिन्छ । बागलुङ जिल्लाको गल्कोट नगरपालिकाभित्र उक्त स्थान पर्छ । श्रेष्ठको यो भनाईले पनि त्यस बखतको गण्डकीको वैभवलाई प्रष्ट पार्छ ।
‘१९७७÷७८ सालअघि ठोसे, बागलुङ, ढोर, सेखाम, प्युठानमा फलाम र तामा खानी चलेका थिए । बागलुङ र प्यूठानमा तामाको पैसाको टकारी हुन्थ्यो ।’ सरदार भीमबहादुर पाँडेः ‘त्यस बखतको नेपाल– राणाकालीन आखिरी तीन दशक’ पृष्ठ–८४ ।
सग्लो नेपाल बिनिर्माणको श्रेय जुन ढंगबाट पृथ्वीनारायण शाहले लिए । यद्यपि एकीकरण गर्नुअघि छुट्टै वैभव भएको गण्डकी स्थापित थियो । अहिलेसम्मका लिखत, भेटिएका प्रमाणले गण्डकी आफंैमा सम्पन्न छ । गण्डकीको इतिहास, ‘सभ्यता’, भाषा, संस्कृति, रहनसहन, समाज निर्माणले गण्डकीको जग बलियो बनाएको छ ।
तात्कालीन धौलागिरि अञ्चलबारे जनकविकेसरी धर्मराज थापाले भनेका छन्– ‘यस अञ्चलको उत्तरी भेकलाई नेपाली भोटेहरुको रजस्थल भन्दिएमा अत्युक्ति छैन । थकालीहरुको पनि यहाँ राम्रो बसोबास छ । एक किसिमले राडीपाखी र गलैँचा बुन्ने व्यवसायमा तल्लीन भएको यहाँको स्थितिलाई निहार्दा यो भेक घरेलु शिल्पकलाको एउटा सानो व्यावसायिक केन्द्र हो कि भन्ने भान पर्दछ ।’ ‘गण्डकीका सुसेली’– पृष्ठ–२३५ ।
इतिहासमा थाक सातसय अर्थात् मुस्ताङ सबै भन्दा अध्ययनको स्थल बनेको छ । सन् १८९९ मा एक जापानी भिक्षु लामा इकाई कावागुची थाकखोला र डोल्पा हुँदै तिब्बत जान भनी काठमाडौंबाट गोप्य रुपमा निस्केका थिए । तर, उनी चराङमा एक वर्षभन्दा बढी बसेको उल्लेख गरेका छन् । गण्डकी प्रदेशको प्राकृतिक सौन्र्दयताले उनलाई त्यसरी बस्न बाध्य पारेको थियो ।
‘थाकखोला धेरै पहिलेदेखि नै महत्वपूर्ण व्यापारिक मार्ग रहेको हुनुपर्छ । तर, लिखित रुपमा यहाँको व्यापारको विवरण अठारौँ शताब्दीको मध्यतिरदेखि मात्र र खासगरी सन् १८५५–५६ को नेपाल तिब्बत युद्धपछि मात्र उपलब्ध हुन्छ । एउटा भन्सार अड्डा दानामा सन् १८६२ मा स्थापित भएको थियो । सन् १८६९ देखि भन्सारको ठेक्का कोबाङका एक जना बलवीर धिमचनले लिए । यो ठेक्का छोटो अवधिका लागि स्थानीय गौचन परिवारले र लम्जुङका लामिछानेले पाए पनि पछि आफूलाई शेरचन नामाकरण गरेर धिमचनका परिवारले नै सन् १९२८ मा नुनको ठेक्का नतोडिएसम्म पाइरहे ।’ डा. हर्क गुरुङः ‘मैले देखेको नेपाल¬’ पृष्ठ–१६४ ।
०००
सम्बन्ध गण्डकी :
सायद नजिकैबाट अग्लो हिम शिखर पछाडि राखेर सजिलै ‘सेल्फी’ तस्वीर खिच्न सकिन्छ भने त्यो माछापुछ«े हिमाल हो । जुन गण्डकी प्रदेशको राजधानी पोखरा उपत्यकाबाटै सहजै देख्न सकिन्छ ।
एक अध्ययनले के देखाउँछ भने सामाजिक सञ्जालहरुमा सबैभन्दा बढी हिमालको दृष्य देखिने र खिचिएको माछापुछ«े हो । जो कोहीको सहजै तस्वीर लिन सकिने प्रकृतिले नै वातावरण मिलाइदिएको छ ।
गण्डकी प्रदेश मुलुककै मध्य भाग । मध्यविन्दु नवलपुर हो । दक्षिण मध्यविन्दुदेखि उत्तर थोरङ्ला जोड्ने भौगोलिक सामरिक लेखाजोखाको हिसाबले मध्य भाग गण्डकी । पहिले आञ्चलिक ठाडो पानीढलो विकास शैली होस् वा अहिले प्रादेशिक ‘मध्यपहाडी’ तेस्रो विकासे अवधारणाभित्र गण्डकीलाई भूगोलले साथ दिएको छ । हरेक कालखण्डमा गण्डकीको अध्ययन र यहाँको सस्कृति, भेषभुषा, व्यापारले महत्व राखेको तथ्यहरु भेटिन्छन् ।
विकासको गतिलाई हेर्दा गण्डकी प्रदेशको राजधानी पोखरा गजबको छ । हिमालपार व्यापारिक केन्द्रको भण्डारण पोखरा उहिलेदेखि थियो । पोखरामा गाडी भन्दा पहिले जहाज पुग्यो । विक्रम सम्बत् २००८ सालमा हवाइजाहज, २०१३ जीप र २०१७ मा बल्ल गोरु गाडा ।
नेपालको १४ हजार किलोमिटर पैदल यात्रा गर्ने वैज्ञानिक हुन् स्वीस नागरिक टोनी हेगन । पोखराको वर्णन उनले यसरी गरेका छन्, ‘पोखरा क्षेत्रको प्राकृतिक दृश्यमा अत्यन्त ठूलो विरोधाभाष पाइन्छ । संसारमा कहीं पनि ८ हजार मिटरभन्दा उच्च पर्वतशिखरहरुलाई बीचमा कुनै पर्वतश्रेणीद्वारा नछेकीकन यति नजिकै र उष्ण होचो प्रदेशबाट देख्न सकिँदैन । समस्त संसारमा पोखरा निश्चय पनि अत्यन्त मनोहक स्थान हो ।’
भौगर्भिक हिसाबले तिब्बती पठार जसरी मास्तिर उठ्यो त्यसरी नै पानीको प्रवाह दक्षिणतिर बढी बग्यो । यद्यपि तिब्बती पठारको उचाईसँगै व्यापारिक सम्बन्धहरु तिब्बत र नेपालबीच कायम भएका छन् । एउटा गजबको संयोग के भयो भने सन् १९६० को दशकमा १ लाख तिब्बती शरणार्थीहरु नेपाल र भारतमा बसोबास गर्न आए । हावा पानी र धार्मिक हिसाबले शरणार्थीहरुको बसोबास स्वभाविक रुपमा उत्तरी भागमै बस्न थाले ।
सिमाविहीन ती शरणार्थीहरुका लागि निश्चय नै नेपाल बासका लागि सहज भए पनि उत्पादनका लागि अनुकुल थिएन । त्यस बखत श्री ५ को सरकारले तिब्बती शरणार्थीहरुका निम्ति ‘कृषि पुनर्वासको निम्ति ढोरपाटनमा व्यवस्था गर्ने’ भनि नीति लियो । सोही अनुसार ढोरपाटन उपत्यकामा शरणार्थीको बासका लागि व्यवस्था मिलाइयो । त्यसपछि ती शरणार्थीहरुले एकाएका रचनात्मक काम गरे ।
‘केही प्रारम्भिक कठिनाइँ भए तापनि ढोरपाटनको कृषि पुनर्वासको योजनाले सन्तोषप्रद प्रगति ग¥यो । सन् १९७६ को शरद ऋतुमा म त्यस ठाउँमा गएको थिएँ । त्यहाँ बनेका ठूलाठूला घरहरु, स्कुल र गुम्वाहरु देख्दा एउटा सम्पन्न स्थलको झल्को मिल्थ्यो । जाउलाखेलको गलैँचा बुन्ने केन्द्रमा तालिम लिएका तिब्बती शरणार्थी माहिलाहरुले बाह्य सहयोगबिना आफ्नै बलबुतामा ढोरपाटनमा एउटा गलैंचा कारखाना खोलेका थिए । मैले नेपाल अधिराज्यभरकै सबैभन्दा उत्कृष्ट नमुना गलैँचा त्यहीँ देख्न पाएँ ।’ टोनी हेगनः ‘नेपालको चिनारी’ पृष्ठ–१०१ ।
ढोरपाटनमा उत्पादन भएका शरणार्थीहरुको ती शिल्पीले अन्ततः अन्तर्राष्ट्रिय बजार लियो । नेपालको गलैचामा नाम रह्यो । शिल्पी ती शरणार्थी थिए ।
मधेसतिर औंलो उन्मलनसँगै बुटवलसम्म नुन सहजता भएकाले पानीढलोको हिसाबले केन्द्र बटौली (बुटवल) बन्यो । पूर्वको केन्द्र बन्दीपुर बन्यो । कमाइका लागि भर्ती हुने र कामका लागि भारत जाने लर्कोको नाका गोरखपुर बन्यो । सीमावर्ती क्षेत्रसम्म भारतको सडकले छोयो । माल सामान सस्तो बन्दै गयो । विस्तारै भोटको व्यापार नुन, सुन, राडीपाखी महंगा भए । बटौली सहज बन्दै गयो ।
‘तिनाउ नदीको पश्चिमपट्टि तराई र पहाडको दोसाँधमा उत्तर–दक्षिण लम्पसार परेको बटौलीको बजार पहाड र तराईको सेतु थियो । भारतलाई अङ्ग्रेजहरुले एउटै राज्यमा सङ्गठित गर्नुभन्दा पहिले नै अवध राज्यसँगको व्यापारिक सम्पर्क–सूत्र रहेको थियो बटौली । पछि गएर गण्डकी र लुम्बिनी भेकमा सफारी नुनले भोटे नुनलाई पनि यसै ठाउँमा विस्थापित गरेको थियो ।’ झलक सुवेदीः ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा गोरखा भर्तीको नालीबेली’ पृष्ठ–२१
०००
भोलिको गण्डकीः
गण्डकी प्रदेशभित्र ‘नवलपरासी पूर्व’ अल्पकालीन नाम पाएको कान्छो जिल्ला नवलपुर । कुल ११ जिल्ला मध्ये कास्की, लमजुङ, गोरखा, तनहूँ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, मुस्ताङ र बागलुङ छ । यस प्रदेशमा एक महानगरपालिका, २५ नगरपालिका, ५९ गाउँपालिका । गण्डकी प्रदेश बारे यसअघिको वार्षिक विशेषांकमा थप प्रष्ट्याइएको छ ।
२१ हजार ५ सय ४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेश । नेपालको कुल क्षेत्रफलको १४ दशमलव ६६ प्रतिशत स्थान ओगटेको छ । उत्तरी छिमेकी राष्ट्र«« चिनको तिब्बत र दक्षिणमा भारतको बिहारसम्म सीमा जोडिएको छ । यो प्रदेश पूर्वमा प्रदेश ३, पश्चिममा प्रदेश ५ र कर्णाली प्रदेशसँग सीमाना जोडिएको छ । गण्डकी प्रदेशमा कुल जनसंख्या २४ लाख १३ हजार ९ सय ७ रहेको छ । जसमध्ये महिला १३ लाख १२ हजार ९ सय ४९ र पुरुष ११ लाख ९ सय ५८ जना रहेका छन् ।
पछिल्लो पटक सबै भन्दा प्रिय शब्द हो ‘समृृद्धि’ । गण्डकी प्रदेशको वस्तुगत स्थिति हेर्दा अबको गन्तव्य भनेको समृद्धि नै हो । वस्तुगत रुपले सरसर्ती हेर्दा विकासको उच्चतम विन्दु हो समृद्धि । यद्यपि यसको मापन भौतिक संरचनागत विकासले मात्र पूरा गर्दैन ।
भौतिक रुपले विकास गर्ने परिवेशसँगै चेतनामा विकासको अनिवार्यता हुन्छ । समृद्धि मापनका मुख्य आधार भनेका सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक, चेतनासँगै प्राप्त गर्ने अधिकारहरूको समुच्च स्वरुप नै समृृद्धि हो ।
विकासको उच्च रुप सम्बृद्धि पुष्टिका लागि आर्थिक, राजनीतिक र विकासमा समान पहूँचको अनिवार्यता चाहिन्छ । समृद्धिको यात्रा तय गर्न विगतको सिंहालोकन, कमजोरीबाट पाठ, सफलतालाई बलियोसँग आत्मसात गर्नुपर्ने आवश्यक हुन्छ ।
यतिखेर ‘गतिशील गण्डकी’ मा ‘गण्डकी हिजो, आज र भोलि’को प्रस्तावना यसैको मर्मका लागि दलिल पेश गरिएको हो । पुरानैमा पुर्नरागमन गरौं भन्ने होइन, त्यसको संरक्षण र पहिचान गराऔं भन्ने हो । अहिले यही ठिक छ, यथास्थितिमा बसौं भनिएको होइन । तर, सुदूर यात्राका लागि हिड्ने राजमार्ग र भोली सम्बृद्ध गण्डकीको कल्पना गरौं भन्ने हो ।
अन्तमा माक्र्सवादीहरुले चेतना कसरी विकास हुन्छ भनि प्रयोग गर्ने एउटा भनाइ सापटी लिन्छुः
‘माकुराले जुलाहाकोसँग मिल्दोजुल्दो कार्य सञ्चालन गर्दछ । माहुरीले आफ्ना कक्षहरुको निर्माणद्वारा वास्तुविद्लाई लज्जित तुल्याउँछन् । तर, जुन कुराले एउटा निकृष्टतम् वास्तुविद्लाई सर्वोत्तम माहुरीहरुभन्दा भिन्न तुल्याउँछ । त्यो के हो भने वास्तुविद्ले संरचनालाई यथार्थतामा ठड्याउनुअघि कल्पनामा उभ्याउँछ ।’





