‘आमैले सोध्लिन् नि खै छोरो भन्लिन्…’
एकताका यो गीत खुबै चर्चित बन्यो । चर्चित मात्रै बनेन्,जनजनको जिब्रोमै झुण्डियो । सार्वजनिक सभा समारोहमा होस् या पाखा पखेरामा सबैले यही गीत घन्कियो । परदेशिएका आमाहरु गीत सुनेर भक्कानिए । परदेशिहरु पनि कम्ता
निचोरिएनन् एक्लै एक्लै …
हुन त यो गीतको लोकप्रियता अझै घटेको छैन । छोरो पर्खी बसेकी आमा अझैं पनि यो गीत तर्सिन्छिन् ।
कतै अनर्थ त भएन ?
परदेशिनु हाम्रो रहर थिएन । बाध्यता हो । अझैपनि बाध्यताको जालो तोडिएको त कहाँ छ र ! त्यसैले त परेदेशिको यो व्यथाले सबैलाई छुन्छ । अहिलेको डिजिटल प्लाटफर्ममा पनि यो गीतलाई उत्तिकै रुचाइएको छ ।
०००
झलकमान गन्धर्व नेपाली सांगीतिक क्षेत्रका यस्ता नक्षत्र हुन् । जसलाई चाहेर पनि कसैले छुटाउन सक्दैन । नेपाली सांगीतिक क्षेत्र हिजो र आजलाई पर्गेल्दा झलकमानको नाम आइहाल्छ । नेपाली लोकसंगीतलाई जुरुक्कै बोकेर हिंड्ने योद्धा पो हुन त, झलकमान ।
शब्द, लय र स्वरको समिश्रण मात्र हैन गीत–संगीत, यसले सँगै बोकेको हुन्छ– मानिसहरुको सुख दुखका कथा व्यथाहरु ।अझ भनौं, यसले कुनै समय कालखण्डको नै प्रतिनिधित्वसमेत गर्छ । कुनै लय वा छन्द मिलाएर गुन्गुनाउँदा यसले गीत संगीतको विशाल फाँटमा नयाँ गोरेटो नै कोरिदिन सक्छ । त्यही बाटो पछ्याउँदै कैयौं श्रष्टाहरु गीत संगीतको राजमार्गमा निस्किन्छन् । अनि बन्न सक्छ– एउटा छुट्टै ब्रान्ड । अर्को शब्दमा भनौं, एउटा ट्रेन्ड नै बन्न सक्छ ।
गीत संगीतको उर्वरभूमि गण्डकीले धेरै ताराहरु जन्माएको छ । झलकमानपछि उनकै बाटो पछ्याउदै धर्मराज थापा, जीवन शर्मा, भेँडीखर्के साइँलो, हरिदेवी कोइरालाहुँदै पछिल्लो पुस्तासम्म आइपुग्दा बागलुङे प्रकाश सपुत हिँडेका छन् । नचिन्ने सायदै कोही छ !
गीत संगीतको साधना गरेर सिंगो प्रदेश सिञ्चित गर्ने श्रष्टाहरुका लागि कोख बनेको छ–गण्डकी भूमि । विभिन्न कालखण्डमा यस प्रदेशको मात्र नभई सिंगो नेपालले नै गर्व गर्न लायक श्रष्टा यहाँ जन्मिए । उनीहरुका रचनाहरु जन्मिएका छन्–गण्डकीमा । अझ भनौं, एउटा छुट्टै ट्रेन्ड सेट गराएका छन् ।
नेपाली लोक संगीतका धरोहर स्वर्गीय झलकमान गन्धर्वका गीतका गहिराई नापेर सकिन्न । त्यसबेलाको रुढीवादी सामाजिक प्रणाली, विभेद् र चरम अभाव, गरीबीले उनलाई बाल्यकालमा नराम्ररी पिरोलेको थियो । किताबी ज्ञानले त्यति सिकाएन,उनलाई । जति सारंगीले सिकायो । संघर्षका सिँढीहरु उक्लदै उनी गामठाम, लेकबेंसी, भञ्ज्याङ अनि चौतारीमा सारंगी बजाउँदै पुगे । अनि, लय र भाका मिलाएर सुनाउँथे, आममानिसको जनजीवन, सुखदुःख, मायापिरती तथा वीरता र राष्ट्रियताका गाथा र कथाहरु ।
रेडियो नेपालमा मात्र उनका २ सय भन्दा बढी गीतहरु रेकर्ड भएका छन् । तर, विडम्बना ! मात्र दर्जन जति अहिले सुरक्षित छन् । बाँकी हराएर गए ।
नेपाली लोकगीत संगीतको भण्डारमा झलकमान महासागर नै हुन् । उनको योगदान तौलेर सकिन्न । न सरकारले मुल्यांकन ग¥यो न देशले नै । उनको कालजयी ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ बोलेको गीतको लोकप्रियता हेरेर थाहा हुन्छ । उनको लोकप्रियताको उचाई ।
०००
भ्mलकमानका समकालीन धर्मराज थापाको सांगीतिक स्थान पनि उतिकै उच्च छ । ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बज खैंजडी झम्केर नाच मुजुरा,’ सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पामाथि धर्मराज थापाले बनाएको गीत होस् याउनैले गाएको ‘हरियो डाँडामाथि हलो जोत्ने साथी, हह तारे हह हह माले हह’ जनजिब्रोमा सधैं ताजा बनेर गडिरहेको छ । हरेक बर्खामा अहिलेको पुस्ताले कुनै गीत गुनगुनाउँछ भने त्यो हो ‘हरियो डाँडामाथि हलो जोत्ने साथी ।’
तेन्जिङ शेर्पाले हिमाल चढेपछि तिनताका शेर्पाको साहसको चर्चा नेपालभर चुलिएको थियो रे ! हो, उनै पोखराको बाटुलेचौरमा जन्मेका थापाले देशका गौरव तेन्जिङमाथि नै गीत बनाइदिए ।
उनले अरु पनि थुप्रै कालजयी गीतहरु गाएका छन् । नेपाली लोक संगीतको फाँटलाई विशाल बनाएर अस्ताएका थापालाई नेपालीले त्यसै सम्झिएका होइनन् । गीतका शब्द शब्दमा नेपाली भावनालाई एक हदसम्म एकतामा उन्ने जमर्को उनको गीतमा छ ।
त्यसै राजा महेन्द्रले ‘जनकवि केशरी’ को पदवीबाट उनलाई सम्मानित गरेका होइनन् । थरीथरी नेपाल लोकलयहरुको ज्ञान बटुलेर आफ्नो मधुर कण्ठले गाएका धर्मराज नेपाली जनमानसको हृदयको अन्तरकुना छामे । मनको भित्री कुनामा नमेटिने गरी भिजे। एक युगका प्रतिनिधि पात्र हुन्–जनकेशरी अर्थात धर्मराज थापा । उनलाई नेपाली लोक संगीतले अझै पनि बिर्सेको त कहाँ छ र!
लमजुङे ठाडाभाकाका शिरोमणिहुन् –स्वर्गीयदीर्घराज अधिकारी । दीर्घराज त उनको जन्मको नाम नेपाली लोकसंगीतले उनलाई भेडीखर्के साइँलाको नामले चिन्छ । १९६० को दशकमा लमजुङका पञ्चेसुब्बा गुरुङ र देउबहादुर दुराले सुरु गरेका थिए– ठाडा भाका । यसैको फाँट विशाल बनाउन भेडीखर्के साइलाले जीवन लगाए । आजको दिनमा पनि नेपालको लोक संगीतको क्षेत्रमा ठाडा भाकाको महत्व अग्लो छ । उनकै बाटो पछ्याउँदै केही औंलामा गन्न सकिने ठाडा भाकाका सर्जकहरु जन्मिए । मृत्यु नियम हो । उनी हामी माझ छैनन् ।र, पनि गण्डकी भूमिले मात्र होइन, सिंगो लोकसंगीत पारखीले उनलाई सम्झिन्छन् ।
जनवादी गायक जीवन शर्माको ‘सिमली छाँयामा बसी भरिया लामो सास फेरेको’ बोलको गीतको लोकप्रियता अझैं पनि घटेको छैन । ५० को दशकमा गाएको गीत झण्डै ३० वर्षपछि पनि उत्तिकै लोकप्रिय छ । श्रीमती बितिसकेका र छोराछोरी विदेशिएका एक भरियासँग०४७ सालमा भेट्दा उनले रचेको गीत थिए रे !
भुइँमान्छेका दुःख,व्यथालाई मसिनो रुपमा केलाएर गीतमा उन्ने क्षमता बोकेका शर्माले विभिन्न कालखण्डमा गीतमार्फत् आवाजविहीनहरुका आवाज बुलन्द पारेका थिए । पञ्चायत कालमा होस् वा द्वन्द्वकालमा । राजतन्त्रमा होस् वा गणतन्त्रमा । उनी सत्ता पक्षलाई झकझकाउदै, आम मानिसममा जागरण ल्याउन निरन्तर लागिरहे ।गीतमार्फत् समाज सुधार्ने यत्न उनको सधै रही रह्यो । उनका साधनाका पाइलाहरु कहिल्यै रोकिएनन्। उमेरले ६ दशक पार गरिसकेका बागलुङ जन्मेका शर्मा जनवादी गायक उपनामले आम नेपालीहरुको ढुकढुकीमा बसेका छन् । बसिरहने छन् ।
तीज गीतको पर्यावाची जस्तै बनेकी पोखरेली लोक गायिका हरिदेवी कोइराला नचिन्ने त झन को होला । उनले व्यावसायिकताका लागि गीत गाइनन् । बरु, संस्कृतिको संरक्षण, मौलिकताको प्रवद्र्धन र सामाजिक वेथितिका विरुद्धमा सधैं आवाजहरु उठाइरहिन् । हरेदेवीका गीतले चेलीको वेदनालाई गीतमा यसरी उतारेका छन् कि, गीत सुन्ने जो कोहीलाई मन अमिलो बनाउँछ । पराई घरमा चेलीले भोगेका अनेक वेदनालाई उनको स्वरले यसरी करुणा थपिदिएको छ । मानौं, गीत सुन्ने श्रोतालाई नै त्यो समस्या परेको हो । सधै संस्कृति र मौलिकताको पक्षमा उभिएकी गायिका हरिदेवीको नाम नेपाली गीत संगीतको क्षेत्रमा कहिल्यै नअस्ताउने गरी लेखिइसकेको छ ।
पछिल्लो पुस्तामा लोकप्रिय छन् प्रकाश सपुत । जल्दोबल्दो गायकहरुमध्येका सपुत परम्परागत लोक संगीतमा नयाँ रस रंगहरु थपेर पछिल्लो पुस्तालाई लोक संगीतमा आकर्षण गर्ने कौशलता राख्छन्। उनको पछिल्लो गीतहरु ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’, आदिले त लोकसंगीतमा नयाँ ट्रेन्ड नै सेट गरिदियो । युवा पुस्ताले यी गीतहरु मन मात्र पराएनन्, सँगै लोक संगीतमा युवाहरुको मोहकेही हदसम्म थपिदियो ।
बागलुङका दुर्गेश थापालाई अहिलेको युवा पुस्ताले निकै मन पराइरहेको छ । विवाद आउनु फरक कुरा । फरक शैलीमा आएका थापालाई माथिल्लो पुस्ताले नस्वीकारेको सत्य हो । समयसमयमा विवादमा मुछिदै आइरहेका थापा मुलधारभन्दा फरक केही पस्कने कौशल राख्छन् ।
पृथ्वीनारायाण शाहले त्यसै भनेका होइन रहेछन्, ‘नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो ।’ अनेक भाषाभाषी जातजाति, चालचालन भित्रबाट संस्कृति बचाउने मात्रै होइन । हाँगो फैलाउने काम श्रष्टाले गरेका छन् । चिनाएका छन् । यसरी विभिन्न कालखण्डलाई नियाल्दा गण्डकी भूमि लोक संगीतमा विशाल उर्वर भूमि मान्न सकिन्छ । इतिहासले सम्झिरहने छन् –यी स्रष्टाहरुलाई ।





