पोखरा/ डाक्टर वेतमान सिंह भण्डारी क्यानाडा बस्छन् । पोखराको लामाचौरमा जन्मे÷हुर्केका भण्डारी पछिल्लो पटक पोखरा आउँदा दंग परे । कारण थियो, फेरिएको सहर ।
सहर फेरिनु स्वभाविक प्रक्रिया हो,यहाँ त निर्माणमै विदेशीको नक्कल भएछ’,उनले भने,‘ घर बनाउँदा भौगोलिक अवस्था,मौलिकता, निर्माण सामग्रीको उपलब्धता सबै हेर्नुपर्ने हो,अन्धाधुन्ध नक्कल गरिएछ ।’ बिहान उठ्नासाथ घाम लाग्ने पोखरा,हिउँ पर्ने मनाङ–मुस्ताङ र पहाडी भेगमा बनाइने घरहरुको स्वरुप र संरचना नै फरकख हुनुपर्ने उनको तर्क थियो । लण्डनको अक्सफोर्ड विश्वविद्यालयदेखि पुराना सहरहरुको उदाहरण दिँदै उनले थपे,‘२ सय वर्षअघि बनेका ती संरचना सुन्दर मात्रै छैनन्, मौलिक र वातावरणमैत्री पनि छन् ।’ उनले भूकम्पपछिको पुनः निर्माणको क्रममा देशका विभिन्न ठाउँमा बनाइएका घरहरुको स्वरुपप्रति पनि चित्त दुखाए । गोरखाको लाप्राक र बारपाक क्षेत्रमा बनाइएका घरहरु त्यहाँको वातावरण, जनताको आवश्यकता र खर्चको दृष्टिले पनि उचित नभएको उनको भनाइ थियो ।
हो, २०७२ सालको भूकम्पको केन्द्र बारपाक र लाप्राक क्षेत्रमा नयाँ बस्ती बसालिएका छन् गैरआवासीय नेपाली संघले लाप्राकबासीको लागि गुम्सीपाखामा ५७३ वटा घर बनाइदियो । निर्माण संयोजक सोनाम लामाका अनुसार एकीकृत बस्ती बसाउन ५७ करोड ६६ लाख रुपैयाँ खर्च भयो । बस्तीको गएको वैशाखमा तामझामका साथ उद्घाटन गरियो । तर, जसको लागि घर बनाइयो, उनीहरु खुसी हुन सकेनन् । गाउँलेहरु थातथलो छाड्नु परेकोमा दुःखी त छँदै थिए, कुचुक्क परेको घरमा परिवारका सबै सदस्य नअटाउने अनि बस्तुभाउको लागि गोठ नहुँदा समस्या सिर्जना भयो । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले गाउँलेको समस्या नबुझेका हैनन् । माटोमा पसिना बगाएर बाँच्ने गाउँलेहरुको खेतबारी र गाइबस्तु एकातिर घर मात्रै अर्कोतिर भएको उनले बुझेका छन् । गाउँलेहरुले नयाँ बस्तीमा सर्न आनकानी गरेपछि एकीकृत उद्यमीहरुको बस्ती बनाउने सोच पालेका छन् ।
‘लाप्राक त उदाहरण मात्रै हो, गोरखामै भूकम्पपछि बनाइएका २ कोठे घरहरु पराल र खोसेला राख्ने ठाउँ बनेका छन्’,पुनःनिर्माणमै काम गरेका एक ओभरसियरले भने,‘घरसँग मन जोडिनुपर्छ, घरसँगै सानो करेसाबारी, जुठेल्नो सबै चाहिन्छ,मन नै नबस्ने घरमा को बस्छ ?’ गाउँकै ढुंगा,माटोलगायतका निर्माण सामग्री छाडेर महंगो सिमेण्ट,छड बोकाएर गाउँ उकाल्दा लागत बढेको तर घर प्रयोजनविहीन भएको उनले जिकिर गरे ।





