शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

समृद्ध प्रदेशका लागि युवा स्वरोजगार, सम्भावना र चुनौती

समृद्ध प्रदेशका लागि युवा स्वरोजगार, सम्भावना र चुनौती

‘युवाहरू राजनीतिक परिवर्तनका प्रयोगशाला मात्र होइनन् बरु समृद्धिका संवाहक हुन् ।’


  • हरिप्रसाद शर्मा
  • भाद्र ८ २०७८, मंगलबार

निरन्तर रूपले बढ्दै गइरहेको वैदेशिक रोजगारको गन्तव्य समृद्ध प्रदेश÷समृद्ध नेपालको मूल बाटो हुनै सक्तैन । तत्कालीन अवस्थामा प्राप्त हुने विप्रेषण आप्रवाहले अर्थतन्त्र बलियो देखिएता पनि यो भित्रभित्रै मक्किएको हुन्छ ।

समृद्धि एक दार्शनिक अवधारणा हो । रोजगार भनेको उत्पादनका साधनले काम पाएको अवस्था हो । रोजगार आयआर्जन हुने कामको अवसर हो । मुलुक बाहिर गरिने रोजगारी बैदेशिक रोजगारी हो भने आफ्नो देशभित्र गरीने रोजगारी स्वेदेशी रोजगारी हो ।

स्वदेशी रोजगारमा पनि सबैभन्दा आत्मनिर्भर र स्वतन्त्रतापूर्वक जीवन बिताउने उपाय स्वरोजगार हो । विभिन्न उत्पादनमूलक कार्यमा युवाहरू जोडिएर आफ्नो आवश्यकता आफै पूरा गर्नतिर लाग्ने र आफ्नो खुट्टामा आफैं उभिन सक्ने अवस्था नै युवा स्वरोजगार हो ।
युवाहरूको सर्वांगिण विकास गरी स्वरोजगारोन्मुख बनाउन सके समृद्ध प्रदेश निर्माण गर्न सकिन्छ । युवाशक्ति नै समृद्धिको आधारस्तम्भ हो । यद्यपि, राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता हुन सकेको छैन । यो हाम्रा लागि ठूलो चुनौतीको विषय हो ।

पुँजीवादी अर्थ व्यवस्थाका आर्थिक सिद्धान्तहरू बजारमा प्रशस्त भेटिन्छन् । अर्थशास्त्री लेबिसको श्रमको असीमित पूर्तिको सिद्धान्तले अल्पविकसित तथा कम विकासशील देशका लुप्त तथा अदृश्य बेरोजगारी प्रतिभाहरू असीमित रूपले पूर्ति गरेर विकसित मुलुकको पुँजीवादी अर्थतन्त्र कसरी सुदृढ गर्न सकिन्छ भन्ने तर्क गर्छ ।

सन् १९५० को दशक पछि आएको ल्याटिन अमेरिकन विचारले अतिकम विकसित देशहरू विकसित देशको तुलनामा कसरी झन् परनिर्भर बन्दै जान्छन् भन्ने कुरा परनिर्भताको सिद्धान्तले स्पष्ट पारेको छ । विश्वपुँजीवादी विचारधाराका आर्थिक दृष्टिकोणहरू विश्वविद्यालय तिर पठनपाठन हुन थालेको निकै वर्ष बितिसक्दा पनि नेपालका ‘टेक्नोक्य्राट’हरूले पुँजीवादी सिद्धान्तहरूको परिमाणात्मक विश्लेषण गरी मुलुकको आर्थिक विकासको अवधारणामा देखिएको त्रुटिलाई बदल्ने अाँट गर्न नसक्नु एउटा ठूलो विडम्बना हो ।

पँुजीवादी अर्थ व्यस्थाले जबर्जस्ती थोपरेको मानवीय आवश्यकतालाई कटौती गर्दै मुलुकको माटो सुहाउँदो अर्थतन्त्र निर्माण गर्न सक्नुपर्छ । युवा स्वरोजगार मुलुकले खोजेको आवश्यकताअनुसार विकासको अवधारणा हो र समृद्ध प्रदेशको मूख्य आधारशीला पनि हो ।
निरन्तर रूपले बढ्दै गइरहेको वैदेशिक रोजगारको गन्तव्य समृद्ध प्रदेश÷समृद्ध नेपालको मूल बाटो हुनै सक्तैन । तत्कालीन अवस्थामा प्राप्त हुने विप्रेषण आप्रवाहले अर्थतन्त्र बलियो देखिएता पनि यो भित्रभित्रै मख्खिएको हुन्छ । श्रम बजारमा पर्याप्त रोजगारका अवसर सिर्जना गर्न नसक्दा नेपाली श्रम र पसिना विदेशी भूमिमा जाने संस्कृति मौलाउदै गएको छ ।
स्वदेशको विकासमा चाहिँदो जनशक्तिको अभाव सिर्जना गरी निरन्तर रूपले बढ्दै गइरहेको प्रतिभा पलायनको कुचक्र तोड्न अब मुलुकभित्र स्वदेशी रोजगार तथा युवा स्वरोजगारका कार्यक्रमहरू आउनुपर्दछ । युवा स्वरोजगारलाई नै समृद्ध प्रदेशको आधार स्तम्भको रूपमा लिनुपर्दछ ।

युवाशक्ति भनेको मानव साधनको सक्रिय श्रमशक्ति हो । युवाभित्र मुलुकको भविष्य जोडिएको हुन्छ । युवाशक्ति राष्ट्र निर्माणको प्रमुख स्रोत हो । युवाहरू परिवर्तनका संवाहक हुन् । राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्मका नागरिकलाई युवा भनेर परिभाषित गरेको छ ।

युवाशक्तिलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदुत मानिन्छ । एकात्मक राज्य व्यवस्थाको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था निर्माण गर्नको लागि मात्र नभएर नेपाली राजनीतिको इतिहासमा हालसम्म भएका युगान्तकारी ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गर्नको लागि सबैखाले परिवर्तनमा युवाहरूको अर्थपूर्ण र निर्णायक भूमिका रहँदै आएको छ ।
युवा शक्तिको व्यवस्थापनले समग्र प्रदेशको अभ्युदय, उन्नति र समृद्धिलाई निर्देशित गर्ने भएकोले प्रदेशस्तरमा उपलब्ध युवाशक्तिलाई सशक्तीकरण र सुदृढीकरणका योजनाहरू बनाउदै शिक्षा, तालिम र जनजिविकालाई युवाशक्तिको सर्वांगिण विकाससँग जोडेर युवा स्वरोजगारोन्मूख अर्थतन्त्र निर्माण गरिनुपर्दछ । यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्दै मुलुकले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको महान अभियानलाई पूरा गर्न र समृद्ध प्रदेश निर्माण गर्न युवा स्वरोजगारको आवश्यक पर्दछ ।

सम्भावना
संघीय संरचनाअनुसार नेपालमा ७ प्रदेश छन् । सबै प्रदेशका आफ्नै समृद्धिका आधारहरू छन् । गण्डकी प्रदेश मध्य नेपालको दक्षिणमा भारतदेखि उत्तरमा चीनसम्म फैलिएको प्रदेश हो । देशको कुल भूभागको १४ प्रतिशत भू–भाग ओगटेको यस प्रदेशमा कुल जनसंख्याको ९ प्रतिशत जनसंख्या बसोबास गर्दछन् ।

सप्तगण्डकीका सहायक नदीहरू, विश्वकै अग्लो स्थानमा रहेको ताल, विभिन्न हिमाल तथा हिमश्रृङ्खला, प्रसिद्ध धार्मिक तथा प्रमुख पर्यटकीय स्थलहरू, हिमालपारिका जिल्ला, वनजंगल लगायतका प्राकृतिक छटाहरूले यस प्रदेशलाई समृद्ध प्रदेशको रूपमा चिनाएका छन् । सरसफाइ तथा खानेपानीमा उच्च पहुँच रहेको यस प्रदेशमा पहाडबाट तराईतिर बग्ने रन उफ दी रिभरबाट विद्युत् उत्पादन गरी ह्वाइट गोल्ड आर्जन गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।
क्षेत्री, बाहुन, गुरूङ, मगर, थकाली, दुरालगाएतका जातिहरूको बसोबास रहेको यस प्रदेश प्राकृतिक रूपले समृद्ध हुँदाहुँदै पनि देशको कुल ग्राहस्थ उत्पादनमा यस प्रदेशबाट औद्योगिक क्षेत्रको योगदान निकै कमजोर हुनु दुर्भाग्यपूर्ण छ । त्यसका लागि प्रदेश सरकारले प्रदेशस्तरमा उपलब्ध हुने स्रोत साधनको उचित सदुपयोग गरि युवा स्वरोजागारमार्फत समृद्धि हासिल गर्न सकिने प्रबल सम्भावना छ ।

व्यापार संरक्षणवाद नीतिमा युवा स्वरोजगार

प्रदेश सरकारले व्यापार संरक्षणवादको नीति अपनाउँदै स्वदेश अर्थात् प्रदेशस्तरका साना, घरेलु तथा कुटिर उद्योगहरूको संरक्षण गर्ने र त्यस्ता उद्योग सञ्चालनको लागि विभिन्न सहुलियत तथा अनुदानमूलक कार्यक्रमहरू विस्तार गर्न सके बहुराष्ट्रिय कम्पनीको नियन्त्रण र चपेटामा परेर विस्थापित भएका साना, घरेलु तथा कुटिर उद्योगहरू ब्यूँझने अवसर पाउने छन् र स्थानीय स्तरका स्रोत र साधनको सदुपयोग हुन गई स्थानीय युवाहरू रोजगारी गर्ने मौका पाउनेछन् ।

पर्यटन प्रबद्र्धनमा युवा स्वरोजगार

प्राकृतिक स्रोत र साधनको अनुपम उपहारको रूपमा रहेको यस प्रदेशमा ति स्रोत र साधनहरूको सदुपयोग गर्दै पर्यटन प्रर्वद्धन नीति अवलम्बन गर्ने, पर्यटकहरूको सहजिकरणको लागि ‘ट्राभल्स एन्ड टुरिजम इन्डस्ट्री’ सञ्चालन गरी प्रदेशमा अवस्थित विभिन्न हिमाल, हिमश्रंखला, संरक्षण क्षेत्र, शिकार आरक्ष, नदी, ताल, पर्यटकीय स्थल, धार्मिक स्थल आदिबारे जानकारी गराउँदै पर्यटन पर्बद्धन गर्ने र विभिन्न पर्यटकीय स्थलहरू नजिकै व्यवस्थित रूपले होमस्टे सञ्चालन गर्नको लागि युवाहरूलाई विभिन्न शिक्षा तथा तालिम प्रदान गरी युवा स्वरोजगार कार्यक्रमलाई जोड्न सक्ने सम्भावना छ ।

शिक्षाको राष्ट्रिय लक्ष्यभित्र यूवा स्वरोजगार

श्रमप्रति सम्मान गर्ने, सकरात्मक सोच भएका, स्वरोजगारउन्मुख, उत्पादनमुखी, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक निर्माण गरिने शिक्षाको लक्ष्य रहेको छ । उक्त लक्ष्यलाई आत्मसाथ गर्दै प्रदेश सरकारलाई संविधानले दिएको अधिकारमार्फत प्रदेशस्तरबाट उक्त लक्ष्य पूरा गर्नको लागि उचित मार्गदर्शन दिँदै युवाहरूलाई स्वरोजगारमूलक कार्यमा जोड्ने खालका नीति निर्माण तय गरि कार्यान्वयन गर्न सकिने अर्को सम्भावना रहेको छ ।

सेतो सुन भित्र युवास्वरोजगार

हिमाल तथा पहाडबाट तराई तिर निरन्तर रूपले बगेर जाने रन अफ दी रिभरबाट प्रचुर मात्रामा विद्युत् उत्पादन गरि उक्त आयोजनाको निर्माणमा युवा स्वरोजगारलाई जोड्न सकिन्छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका कोषहरू प्रदेश सरकारले परिचालन गरी आफ्नै स्वतन्त्र लगानीमा सुक्ष्म तथा मझौला प्रकृतिको विद्युत् उत्पादन गर्न सकिने र त्यसको लागि स्वदेशी रोजगारको सिर्जना गर्न सकिने र विभिन्न ठाउँहरूमा जलयातायात समेत सञ्चालन गरी युवालाई रोजगार दिन सकिने अर्को सम्भावना हो ।

समृद्धिका साधनभित्र युवा स्वरोजगार

कृषि, जल, जमिन, जडिबुटी र जंगल र युवा समृद्ध प्रदेशका मुख्य आधार स्तम्भ हुन् । यी उपलब्ध स्रोत र साधनको सदुपयोगको लागि युवापरिचालन गर्न सके आत्मनिर्भर प्रदेश निर्माण गर्न सकिन्छ । पहाडी क्षेत्रमा फलफूल खेती । हिमाली क्षेत्रमा पशुपालन लगायत विभिन्न भु–भागहरूमा मत्स्यपालन गर्न सकिन्छ । कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायिकरण गरी ‘एक घर एक कृषि’, ‘एक युवा एक रोजगार’ लगाएतका कार्यक्रम मार्फत् समृद्ध प्रदेश निर्माण गर्न सकिने अर्को सम्भावना हो ।

संविधान, सरकार, योजना र दिगो विकासभित्र युवा स्वरोजगार

नेपालको संविधानले प्रदेश सरकारलाई प्रदान गरेको अधिकारलाई सदुपयोग गर्दै, मौलिक हकहरू कार्यान्वयनमा रोजगारलाई जोड्दै जाने । १५ औं पञ्चवर्षीय योजना र दीगो विकासका लक्ष्यहरूले परिकल्पना गरेको परिमाणात्मक लक्ष्यलाई हासिल गर्ने दीर्घकालीन योजना सहित संघीय सरकारले अगाडि सारेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लगायतका लोकप्रिय, जनमूखी र युवाकेन्द्रित कार्यक्रमको सवल पक्षहरूलाई अनुसरण गर्दै प्रदेशको नीति तथा कार्यक्रममा प्रदेश प्रमुख तथा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमलाई जोडेर स्वरोजगारउन्मूख समृद्ध प्रदेश विस्तार गर्न सकिने अर्को सम्भावना रहेको छ ।

चुनौती

हरेक अवसरसँग चुनौती पनि गाँसिएको हुन्छ । विश्वमा फैलिदै गएको पुँजीवादको चरम शोषण, भूमण्डलीकरणले सिर्जना गरेको आयात तथा उपभोगमुखी अर्थतन्त्र र बहुराष्ट्रिय कम्पनीको चपेटाले थिलोथिलो परेको मुलुक भित्रका साना, घरेलु तथा कुटिर उद्योगहरू लगाएतका कारणले निरन्तर परनिर्भर बन्दै गएको मुलुकको अर्थतन्त्र र उक्त परनिर्भरताले सिर्जना गरेको वैदेशिक रोजगारको गन्तव्य नै समृद्ध प्रदेश निर्माणको मुख्य बाधक तत्व हो ।

त्यतिमात्र नभएर गुणस्तरीय रोजगारमूलक शिक्षाको अभाव, व्यवसायिक सीप र प्रविधिमा न्यून पहुँच, उद्यमशील वातावरणको अभाव, सूचना सञ्चार प्रविधिको न्यून ज्ञान तथा सामाजिक विभेद र यतिखेर विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण संकुचित बन्दै गइरहेको अर्थतन्त्रले सम्बोधन गर्न नसक्ने गरि आकाशिएको बेरोजगारी लगायतका चुनौतीहरू युवा स्वरोजगारको मूख्य चुनौतीहरू हुन् ।

अशिक्षा, गरिबी र वेरोजगारी

मुलुकमा गरिबी व्याप्त छ । अदृश्य तथा लुप्त वेरोजगारी अर्को चुनौती हो । नेपालमा १६–४० वर्षको जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३ प्रतिशत छ । बर्षेनि ४ लाख ५० हजार श्रमशक्ति श्रमबजारमा प्रवेश गर्छन् ।
श्रम बजारमा श्रमिकको माग र आपूर्तिबीच सन्तुलन हुन सकिरहेको छैन । १५ औँ पञ्चवर्षीय योजनाले १५–२४ वर्षको साक्षरता ९९ प्रतिशत पु¥याउने, १५ वर्ष माथिको श्रम सहभागिता ४८.५ प्रतिशत पु¥याउने, बेरोजगारी दर ६ प्रतिशतमा झार्ने, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ५० प्रतिशत पु¥याउने लगायतका परिमाणात्मक लक्ष्यहरूलाई जोडेर समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन योजना समेत अगाडि सारेको छ । प्रदेश स्तरबाट उक्त लक्ष्य हासील गर्न निकै ठुलो चुनौती छ ।

गुणस्तरीय, रोजगारमूलक तथा व्यवसायिक शिक्षाको अभाव

मुलुकमा गुणस्तरीय शिक्षाको अभाव छ । युवाहरू रोजगारमूलक शिक्षा तथा व्यवसायिक सीप र प्रविधिसँग जोडिन सकेका छैनन् । नेपालको शिक्षा प्रणाली लर्ड मेकाउले मोडलमा आधारित छ । यो शिक्षा प्रणालीले युवाहरूलाई उत्पादनसँग जोड्न सकिरहेको छैन । चाकरीवाज उत्पादन गर्ने शिक्षा प्रणालीको रूपमा रहेको वर्तमान पश्चिमेली शिक्षा व्यवस्था खारेज गरि नेपालको पूर्वीय दर्शनमा आधारीत मौलिक प्रवृत्ति झल्कने खालको गुणस्तरीय, रोजगारमूलक तथा व्यवसायिक रूपको शिक्षा प्रणाली लागु गर्न ठुलो चुनौती रहेको छ । त्यति मात्र नभएर, अन्तराष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न नसकिनु, विभिन्न ज्ञान तथा सीपमूलक कार्यक्रमलाई अद्यावाधिक र स्तरीय गराउन नसकिनु, श्रम पुँजी र प्रविधिमा बहुसंख्यक युवाहरूको पहुँच कम हुने भएकोले युवाहरूलाई जोडेर स्वरोजगार प्रबद्र्धन गर्ने सम्भावना न्यून हुनु अर्को ठूलो चुनौती हो ।

लगानीमैत्री वातावरणको अभाव र उच्च वर्गीय खाडल

नेपालीको सीमान्त उपभोग प्रवृत्ति उच्च छ । बचत न्यून छ । बचत नै न्यून भएपछि पूँजी निर्माण हुने कुरै भएन । केही मात्रामा भित्रिएको बैदेशिक लगानी पनि दाताको अभिष्ट पूरा गर्ने स्रोत मात्र बन्न पुगेको छ । उद्यमशील वातावरण निर्माण गर्न नसक्नु एउटा चुनौति हो । गिनी गुणांक उच्च रहेको छ ।

यसले आम्दानी र सम्पत्ति माथिको स्वामित्व केही निश्चित व्यक्तिहरूको हातमा रहेको छ भन्ने जनाउँछ । हुने खाने र हुँदा खानेबीचको वर्गीय खाडल न्यून गरि सामाजिक न्यायमा आधारित समतामूलक र सम्मुन्नत समाज निर्माण गर्ने गरी युवास्वरोजगारको कार्यक्रम विस्तार गर्नु निकै ठूलो चुनौती रहेको छ ।

युवामैत्री नेतृत्वको अभाव र राजनीतिक नैराश्यता र नेतृत्वप्रतिको अविश्वास

प्रदेशमा उपलब्ध जनशक्तिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार अनुकुल ज्ञान, सीप प्रदान गरि रोजगारीका अवसर जुटाउनु प्रदेश तथा राज्यको प्रमूख दायित्व हो । राज्य÷प्रदेशको नीति निर्माण र निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता हुन सकिरहेको छैन । स्वदेशी स्वरोजगारमा युवामैत्री नेतृत्व चयन गर्न नसक्नु एउटा ठुलो चुनौती बनेको छ । नेतृत्वले युवाहरूलाई राजनीतिक कारखानाको भर्तिकेन्द्र बनाउन खोज्नु एउटा दुर्भाग्य हो भने आफ्नो नेतृत्वलाई देवत्वकरण गर्दै, आफुमाथि लादिएको दासत्वकरणको शिरोधार्य गर्न खोज्ने र नेतृत्वले गल्ती गर्दा पनि यो गलत हो भन्न नसक्ने दासी चरित्र केही युवापंक्तिभित्र मौलाउँदै जानु सांस्कृतिक बिचलनको पराकाष्ठा हो । नेतृत्वपंक्ति र युवापंक्ति दुबैको लागि यो निकै ठुलो चुनौति बनेको छ ।

निष्कर्ष

मुलुक यतिखेर कोरोना महामारीसँग लडिरहेको छ । भाइरसको संक्रमण नियन्त्रणमा छैन । सरकार सामाजिक, राजनीतिक लगाएतका विविध झमेलामा अल्झिएको छ । प्रदेश सरकार समेत राजनीतिक परिवर्तनको प्रसव पिडामा छटपटाइरहेको छ ।
लामो संघर्षबाट आर्जन गरिएको ऐतिहासिक राजनीतिक उपलब्धिहरू कतै प्रतिगमनको शिकार बन्ने त होइनन् भन्ने आशंका उब्जिन थालेका छन् । वितेका १ दशकमा व्यवस्था फेरियो तर अवस्था फेरिएन । पात्र फेरियो तर परिवेश फेरिएन । नीति बदलियो तर नैतिकता बदलिएन । राजनीतिक नेतृत्वले गरेका गल्तीहरू अक्षम्य हुँदा आम युवाहरूमा राजनीतिक नैराश्यता बढ्दै गइरहेको छ ।

राजनीतिक स्वेस्छाचारीता, दलीय मतिभ्रष्टता भ्रष्ट्राचार मौलाउँदै जाँदा संघयीता माथि नै औंला उठिरहेको छ । यसको लागि पनि प्रदेश सरकारले युवामैत्री नेतृत्व सहित युवा स्वरोजगारको अवसर सिर्जना गर्नुपर्दछ । युवाहरूको सक्रिय सहभागितामा प्राप्त उपलब्धिहरूको जगेर्ना गर्दै, राजनीतिक, सामाजिक शैक्षिक तथा प्राविधिक रूपले युवाहरूलाई स्वरोजगार उन्मुख बनाउन सके प्राप्त युगान्तकारी उपलब्धिको जगेर्ना गर्न सकिन्छ ।

एक वर्षे विकास र योजनाको लागि बिउ रोपौं । दश वर्षे योजनाको लागि रूख रोपौं र दीर्घकालीन योजना निर्माण गर्ने हो भने शिक्षामा लगानी गरौं, मानवको विकास गरौं भन्ने प्रसिद्ध चिनिया भनाइलाई आत्मसात् गर्दै युवाहरूलाई अब एक छाक भोजन हैन जीवन जीउने उपायहरू अवलम्बन गर्न जरूरी छ । तिमी मलाई युवाको एक नयाँ पुस्ता देऊ, म संसार बदल्ने प्रयत्न गर्नेछु भन्ने लेनिनको यो प्रसिद्ध भनाइलाई नेतृत्वले आत्मसाथ गरोस् । शुभकामना !
शर्मा मालिका मावि बागलुङको अर्थशास्त्र विषयका शिक्षक हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->