कोरोना महामारीका कारण यतिबेला भीडभाड गर्न मनाही छ । कोरोना महामारीका कारण सिनेमा हलदेखि खेल मैदानसम्म लामो समयदेखि बन्द छन् । कोरोना महामारीले सिनेमा हल र त्यसलाई पारेको प्रभावबारे पोखरामा हल सञ्चालन गर्दै आएका व्यवसायी निकेश द्वासँग ढोरपाटनकर्मी विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश ।
कोरोना महामारीले सिनेमा हल बन्द भएको २ वर्ष बितिसक्यो । कर्मचारी कसरी चलेका छन् ?
२ वर्षसम्म त चल्दै चलेन । हाम्रो पहिलो दायित्व भनेकै कर्मचारीलाई कसरी सेवा दिन सक्छौ भन्ने नै हो । अलिअलि कम्पनीको बचत र अलिअलि जोहो गरेर ५० प्रतिशतदेखि ४० प्रतिशतसम्म तलब दिएर टिकिरहेको छ ।
सिनेमा हलको व्यवसाय सञ्चालनमा कहिलेदेखि ल्याउनुभयो ?
मिडटाउन सिनेमाज मात्र त सञ्चालनमा ल्याएको ७ सेप्टेम्बर २०१७ मा हो । अहिले एनिभर्सरी मनाउने समय हो तर, कम्पनीको त्यो अवस्था छैन अहिले ।
यो व्यवसाय हाम्रो पारिवारिक व्यवसाय नै हो । लगभग ३५ वर्ष अघि मेरो हजुरबुबा जितप्रसाद द्वा ले कालिका चलचित्र मन्दिर बुटबलबाट सुरु गर्नुभयो । पोखरामा सोही समयमा विन्ध्यवासीनी चलचित्र घर सञ्चालनमा ल्याउनुभयो । सोही समय देखि नै यही क्षेत्रमा छौँ हामी ।
लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ । कतिवटा हल छन् ?
हाम्रो ७ वटा हल छन् । हाम्रो परिवारको व्यवसाय भनेकै यही नै हो । पोखरामा ६ वटा र बुटवलमा १ वटा हल सञ्चालन गरिरहेका छौं ।
हलतर्फ ठूलो लगानी देखियो महामारीको समयमा कस्तो अनुभव भयो ?
अब, यो क्षेत्रमा लामो समय काम गरेको भएर । हुन त एउटा हलबाट दुई वटा र त्यसबाट तीन हुँदै यहाँसम्म पुगेका हौं । यो समयमा धेरैकुराहरु परिवर्तन भए । प्रविधिदेखि लिएर लगानीसम्म परिवर्तन भयो ।
यो भन्दा अघि हामीलाई गाह्रो भनेको संकटकालको समयमा थियो । जनयुद्ध चलिरहेको अवस्थामा भन्दापनि नराम्रो परिस्थिति अहिले आयो । मुख्य कुरा त खोलेपछि के हुन्छ भन्दापनि कहिले खुल्छ भन्ने कुरा थाहा नहुँदा समस्या परेको छ । पहिले एक हप्ता भन्यो पछि एक महिना गर्दा गर्दै २ वर्ष नै वित्यो । अनुभव पक्कैपनि राम्रो भने भएन ।
संकटकालमा भन्दा नराम्रो परिस्थिति कसरी हुन पुग्यो अहिले ?
मचाहिँ त्यतिबेला पूर्ण रुपमा यो क्षेत्रमा लागि परिसकेको अवस्था थिएन । हाम्रो पारिवारिक व्यवसाय भएको कारण भान्छा कोठादेखि आगनसम्म यहि कुरा हुन्थ्यो । त्यतिबेला हल खुल्न पाइन्थ्यो कहीँ कतै बम पड्क्यो रे भन्ने सुन्नामा आए । तर, आम्दानी भइरहेकै थियो । सबैभन्दा नराम्रो व्यवसायका दिनपनि १५ हजार रुपैयाँसम्मको व्यापार भएको थियो । अहिले शुन्यमा छौं ।
राज्यले हलक्षेत्र अझै खुलाउन सकिरहेको छैन यस्तै रह्यो भने हल नै पलायन हुने त होइन ?
नेपालमा हरेक ठाउँमा हलहरु बन्द भइराखेको देखिरहेका छौं त्यो स्थिति नहोला भन्न पनि सकिदैन् । ऐनिहासिक हलहरु जय नेपाल, कुमारीहरु त बन्द भइसके पूर्व तर्फपनि बन्द हुने अवस्थामा पुगेको छ भन्ने सुन्नामा आएको छ । यस्मा राज्यको मात्रपनि दोष छैन् । कोरोना रोक्नका लागि पुरै मानवजातिकै प्रयास भइराखेको छ ।
राज्यले मात्र केहीगर्न सक्तैन । तर, राज्यले के चाहिँगर्न सक्छ भने अहिले सञ्चालन नहुँदा समेत हामीले भाडा तिर्न बाध्य भइरहेका छौं । त्यता तर्फ ध्यान दिए हुन्थ्यो । तिर्न पर्ने रकम घटेको छ ब्याजरद घटेको छ त्यसले राहत भएको छैन केही हदसम्म मिनाहा गर्ने प्रावधान ल्याउन प¥यो ।
कोरोना अझै कति लम्बिने हो थाहा छैन । सधैँ निषेधाज्ञा अनुसार नै बस्न सम्भव छ त ?
सम्भवत त सुरुमा ६ महिना गर्दा पनि बर्बाद नै हुन्छ जस्तो सोचेका थियौ । तर, विस्तारै विस्तारै बढ्दै गयो । अवस्थाले नै अन्योल बनायो । अहिलेसम्म अन्य श्रोतबाट भएपनि ल्याएर धानिरहेका छौं । धेरै धान्न नसकिएला । मिडटाउन सिनेमाज निमार्ण गर्दापनि हामीले लगानी ७ वर्षमा उठाउने सोच बनाएका थियौं ।
३ वर्षपनि नहुँदै कोरोनाले खत्तम बनाइसक्यो । अहिलेसम्म राहत पाउने अवस्था थियो तर कोभिडले निकै पछि धकेलिदिएको छ । २८ करोडको लगानी थियो उठाउन गाह्रो परिरहेको छ । सुरुका केहीवर्ष त पैसा थप्न परेपनि थप्ने भन्ने पक्षमा थियौ अब सकिँदैन । अब राज्यले पनि निषेधाज्ञालाई स्मार्ट कसरी गर्न सकिन्छ भन्ने सोच्न पर्छ नत्र हामीमात्र होइन सबै व्यवसाय ठप्प हुन्छन् ।
कोरोना महामारीको समयमा विकल्पमा डिजिट प्रविधि उदायो । यसले हल व्यवसायललाई प्रभाव त पार्ने होइन ?
योचाहिँ अहिलेको सबैभन्दा चर्चाको विषय बनिरहेको छ । हजुरले भनेजस्तै ओटिटि, नेटफ्लेक्स जस्ता प्ल्याटर्फमका कारण हल लोपहुन्छ भन्ने कुरा आइरहेका छन् । यो चाही २०१७ मा हल निमार्ण गर्नुभन्दा अघि हामीले छलफल गरिरहेका थियौं । हामीलाई अवसर कहाँ हुन्छ, थे्रट केहो भनेर । अहिले सबैले घरमै बसेर हेर्नसक्छन् ।
हामीलाई थाहा भएकै थियो अनलाइन प्ल्याटर्फम छ भन्ने कुरा तथापी नकरात्मक रुपमा हेरेनौ । इतिहासमा हेर्ने हो भनेपनि सोनिविटा म्याक्स देखि भिसिटि भिएचएस देखि लिएर डिभिडी भिसिडिज भन्यौ । फरक फरक प्रविधि आए । यतिमात्र होइन धनाढ्यहरुले त घरमै होम थ्रिएटर समेत बनाए ।
तर हलमा भनेको चलचित्र मात्रै बेच्ने होइन् यहाँ एउटा छुट्टै मज्जा हुन्छ । समय अनुसार परिमार्जन हुदैँ पूर्वाधार समेत सोही अनुसारको चाहिन्छ । जुन कुरालाई हामीले अगाँलेका छौ । ठुलो पर्दामा फ्लिम हेर्दै पपकर्नको स्वाद लिनुको मज्जा भनेको बेग्लै छ । यस्ले दर्शकलाई आनन्दित गराउँछ । यो एउटा प्याकेज एक्सपेरियन्स हो ।
त्यसैलेपनि यो लोप हुन्छ भन्ने मलाइ लाग्दैन तर, समय अनुसार हलपनि परिवर्तन चाहिँ हुनैपर्छ हामीले पनि केही कम्परमाइज गर्नपर्छ । हलमा आउने भनेको पोखराका ३ प्रतिशत मानिसमात्र हो । त्यही ३ प्रतिशत मानिसालई पनि हामीले छुट्टै आभास दिन भने जरुरी छ ।
हलले चलचित्र क्षेत्रलाई के फाइदा हुन्छ ?
हामी भनेको एउटा फेस हो । हामीले राम्रो क्वालिटिमा दिन सकेनौ भने नोक्सानी त हुन्छ नै ओभरअल इकोसिस्टममा नै असर गर्छ । स्क्रिप्ट लेख्ने देखि लिएर सहयोगीसम्मलाई जोडेको हुन्छ । रोजगारको अवसर सृर्जना हुन्छ त्यही नै हो ।
अबको समय भनेको चलचित्र चल्ने समय पनि हो, विशेष गरी चाडपर्वको समयमा राम्रो व्यापार गर्ने बेलामा हलसम्म चलचित्रलाई कसरी ल्याउन सकिन्छ ?
हो तपाईँले भने जस्तै दशै तिहार र विदाका दिन भनेको नै हल चल्ने दिन हो । चैतसम्म चलचित्रको डेडलाइन थियो । त्यसपछि अब चल्छ है भन्ने थियो कोरोनाले लग्यो । हाम्रो यो भनेको अत्यावश्यकमा पर्दैन ।
यहाँ आउने भनेको रिफरेसमेन्टका लागि हो, मनोरञ्जनका लागि हो । स्वास्थ्य मापदण्ड अपनाएरपनि गर्न सकिने स्थितिमा भने हुदैँन । किनकी लगानी ठुलो हुन्छ सोही अनुसार उठाउन सकिदैन् । कोरोना नियन्त्रण विना करिब करिब हल खोल्न सम्भव छैन् । तर, कोरोना विरुद्धको खोप लगाउँदा समेत कोरोना देखिएको छ । यस्का लागि राज्यले गम्भिर भएर सोच्न सके मात्र हामी नर्मल लाइफमा फर्किन सक्छौँ ।





