तनहुँ/ भिमाद नगरपालिका१, हुक्कामा दसैंको दिनसम्म खुब चहलपहल थियो । गाउँका सबैजसो घरका सदस्यदसैं मनाउनलाई घर फर्किएका थिए । पढाइ, जागिर र सुखसयल खोज्दै बजार झरेकाहरु दसैं मनाउन गाउँ फर्किएका हुन् ।
अरुबेला सुनसान हुने गाउँकाहरघरमा सपरिवार भेला हुँदाको रौनकै बेग्लै थियो । तर, त्यो रौनक दसैं बिदाभएसँगै हराउँदै गयो । ‘छोरा बुहारी नातिनातिना दसैं मनाउन गाउँ आएका थिए । दसैं मनाएर फर्किसके,’ हुक्काका एकबहादुर झेडीमगर भन्छन्, ‘अहिले घरमा बुढाबुढीमात्रै छौं । उनीहरु हुदाँसम्म खुब रमाइलो थियो । अहिले घर शून्य भएको छ ।’विदेश भएका नआएपनि बजार झरेका परिवारका सबै सदस्य आएको उनले सुनाए ।
झेडीको घरमा मात्रै होइन यहाँका अधिकांश घरको कथा यस्तै हो । दसैं मनाउन आएका आफन्तजन फर्किएपछि गाउँघर सुनसान बनेका छन् । ‘छरछिमेक जताततै रमाइलो थियो । अब फेरि त्यस्तै चहलपहल र रमाइलो हुन त अर्को दसैं कुर्नुपर्छ,’ उनी भन्छन् । कहिलेकाहीं पूजाआजा हुँदा आफन्तसँग भेटघाटभए पनि गाउँका सबैजना भेट्नदसैं नै कुर्नुपर्ने उनले बताए ।
दसैं मनाउन आएका सबै जना फर्किएपछि अहिले गाउँ सुनसान भएको स्थानीय कल्पना केसीले बताइन् । ‘सबै घरमा दसैंमनाउन परिवार जुटेका थिए । दसैंको टीका लगाएपछिफर्कन थालेका हुन् । पूर्णिमाको दिनसम्म सबै फर्किए ।
अहिले पहिला जस्तै धेरै जसो घरमा बुढाबुढी एक्ला भएका छन्,’ उनले भनिन् ।
हुक्कात केबल प्रतिनिधिमुलक गाउँ हो । तनहुँका हरेक गाउँको अवस्था त्यस्तै छ । ग्रामीण भेगमा पर्ने अधिकांश गाउँदसैं सकिएसँगै रित्तिएका छन् । दसैं मनाउनलाई घटस्थापनाको दिनदेखि गाउँ उक्लनेको लर्को टीकाको दिन बिहानसम्म पनि थियो । मान्यजनको हातबाटटीका, आर्शिवाद थापेपछि गाउँ आएकाहरु फर्कन थाले । पूर्णिमाको दिनदसैं समापन भएसँग गाउँ सुनसान हुन थालेकोहो ।
ऋषिङ गाउँपालिका६, दुकुडाँडाकाका दानबहादुर आलेका अनुसार गाउँ फेरि एक्लिएको छ । गाउँमा अब बुढापाका मात्रै छन् । ‘दसैंमा गाउँका सबै आफन्तसँग भेटघाट हुन पाइयो । माहोल रमाइलो थियो । टीका थापेपछि फर्कनको क्रम सुरु भयो,’ उनले भने,‘हिजोसम्म फर्कनुपर्ने सबै फर्किसके । गाउँ फेरि एक्लिएको छ ।’
गाउँ छोडेकाहरु केही फेरि तिहारमा फर्कन्छन् । तर, त्यतिबेला दसैंमा जस्तो सबैजना गाउँ नआउने उनले बताए ।उनका अनुसार बर्सेनि गाउँ रित्तिँदै छ । गाउँको मायाले छोड्न नसक्नेहरु मात्रै गाउँमा बसेका छन् । गाउँमा सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको उचित प्रबन्ध भए गाँउ छोड्ने क्रम रोकिने आलेको विश्वास छ ।
बसाइँ झरेका, पढाइर रोजगारको शिलशिलामा शहर पसेका दसैंमा मान्यजनको हातबाट टीका र आर्शिवाद ग्रहण गर्नलाई गाउँ फर्कन्छन् । जिल्लाका ग्रामीण क्षेत्रबाट सदरमुकाम दमौली, दुलेगौँडा, खैरेनीटार, डुम्रे, आँबुखैरेनी, भिमादलगायतका बजार झरेका छन्् । यस्तै काठमाडौं, पोखरा र चितवनलगायत स्थानमा बसाइँ सरेका छन् ।
बजार गुल्जार हुँदा गाउँ निर्जन हँुदैछ । तनहुँका १० स्थानीयतहमध्ये ऋषिङ, घिरिङ, आँबुखैरेनी र देवघाट गाउँपालिका ग्रामीण भेगबाट बजार झर्ने प्रचलन अलिक बढी छ । अरु स्थानीय तहका ग्रामिण बस्ती पनि रित्तिँदै छन् । बुढापाकाले धानेका छन्, गाउँघर अनि खेतीपाती ।
२०७२ सालको विनाशकारी भूकम्पपछि शहर बजार पसेकाहरु धमाधम गाउँ फर्किएका थिए । त्यसपछि विश्वव्यापी रुपमा फैलिएकोकोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि सुरक्षित हुने भन्दै २०७६ को चैत दोस्रो साता पनि गाउँको फर्कनेलर्को थियो । त्यतिबेला फर्किएका केही त अब सहर नफर्कने प्रण गरेर गाउँमै बसेका छन् ।
दसैंको बेला बाहेक गाउँ फर्कनेको लर्को लागेको पछिल्लो दशकमा भुकम्प र कोरोनाबेला मात्रैहो । नत्र सहर झरेकाहरुको गाउँ फर्कने लर्को हरेक वर्ष दसैंको अगाडिमात्र हुन्छ । जब दसैं सकिन्छ फेरिफर्कन्छन् सहर बजार र गाउँ रित्तिन्छ, एक्लिन्छ ।





