तीव्र विकास र जलवायु परिवर्तनका कारण पछिल्ला समय हिमालहरु कालो देखिन थालेका छन् । यसले मानवीय जनजीवन र पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ । अर्कोतर्फ पदयात्रा मार्गहरु मासिँदा पर्यटकको बसाइ छोटिएको छ । पर्यटन क्षेत्रको अवस्था र भविष्यबारे नेपाल पर्वतारोहण संघ अध्यक्ष शेषकान्त शर्मासँग ढोरपाटन सहकर्मी विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश । -सम्पादक
तपाईँ पर्यटन क्षेत्रमा कहिले देखि लाग्नुभयो र कति भयो ?
पर्यटन क्षेत्रमा लागेको ३१ वर्ष भयो । म २०४७ सालमा पृथ्वीनारायण क्याम्पसमा विज्ञान पढ्दै थिए । ०४७ सालको अन्त्यबाट टे«किङ क्षेत्रमा भरियाको रुपमा प्रवेश गरेको हो । २०५५ सालबाट चाहिँ तालिम लिएर गाइडको काम गर्न थालेको हुँ । त्यसपछि निरन्तर रुपमा कार्यरत छु ।
विज्ञान पढेको मान्छे कसरी पदयात्रामा लाग्नुभयो त ?
त्यतिबेला पहाडबाट झरेका हामीहरुको आर्थिक स्रोत त्यति राम्रो थिएन् । अनि पोखरामा नै काम खोजेर पढ्नुपर्ने बाध्यता थियो । पोखराबाट प्रसस्त पर्यटकहरु घुम्न जाने गरेको देखिन्थ्यो । त्यपछि आफन्तहरुले उनीहरुसित गयो भने त राम्रो कमाइ हुन्छ भन्न थाले त्यसरी नै यतै लागियो । सुरुमा त बाध्यताले नै लागेको थिएँ । पछि व्यसाय नै मन परेर हिडियो ।
पहिलो पटक भरिया बनेर कहाँ जानुभयो त ?
पहिलो पटक त घान्दु्रक गएको हुँ । पोखराबाट हिडेरै गइयो । पहिलो दिन सुइखेत गएर बसियो । दोस्रो दिन पोथाना त्यसरी ८ दिनको घान्दु्रक टे«क गरियो ।
पहिलो अनुभव कस्तो रह्यो ?
जे भनेपनि क्याम्पस पढ्न आएको मान्छे । भारी बोकेर हिँड्दा गाह्रो नै भयो । गाउँमा दाउरा, घाँस र पराल त बोकियो तर त्यसरी ७–८ दिन नै लगातार भारी बोकेर हिँड्दा निकै थकान लाग्थ्यो । पैसा पाउँदा सबै बिर्सिन्थ्यो । बजारमा काम गर्दा महिनाको ८ सयसम्म दिन्थे तर त्यता एउटा टे«क जाँदा २–३ हजार रुपैँयासम्म पाउँथ्यौँ ।
भरियाबाट पथप्रदर्शक (गाइड) बन्दा कस्तो लाग्यो त ?
सुरुका दिनमा शारीरिक श्रम बढी गर्नुपथ्र्यो । भारी बोक्नु पथ्र्यो । पर्यटकको झोलाहरु नै । तर, अहिले भनेको आफूलाई चाहिने केही सामान मात्रै बोक्ने हो । अहिले अगुवाइ गरेर हिँड्छु । व्यवस्थापन गर्छु । निर्देशन दिन्छु । अहिले त सबैलाई काम गराउने हो । पर्यटकलाई सूचना दिने, पैसा बोक्ने जस्ता कामहरुमात्रै गर्ने हो । अहिले निकै आनन्द लाग्छ ।
यो क्षेत्रमा खुसी हुनुहुन्छ त ?
यो क्षेत्रमा निकै खुसी छु । यही क्षेत्रका कारण म लगभग सबै हिमाली जिल्लाहरुमा त पुगेको छु । देशका ७७ मध्ये ६८ जिल्ला घुमेको छु । केही ठाउँबाहेक सबैजसो जिल्लामा हिँडेरै पुगेको छु । अरुले त्यही क्षेत्र घुम्न जाँदा पैसा तिर्नुपर्छ भने हामी घुम्न जादा उल्टै पैसा पाउँछौँ ।
तपाईँ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष पनि हुनुहुन्छ पर्वतारोही गाइडका लागि चुनौति र समस्या के छन् ?
नेपाल पर्वतारोहण संघ भनेकै पर्यटकलाई हिमाल चढाउने,टे«किङ लैजाने व्यवसायीहरुको संस्था हो । हामीले प्रतिनिधित्व गर्ने नै व्यवसायीहरुको हो । सबैभन्दा चुनौती त हामीसँग दक्ष जनशक्ति नै छैन् । अझ त्यसमा पनि गण्डकी प्रदेशका हिमाल चढ्न आउने पर्यटक त निकै नै न्यून रहेका छैन् । अधिकांश पर्यटकलाई शेर्पाहरुले सोलुखुम्बुलगायतका जिल्लामा नै लाने गर्दछन् । यो हाम्रा लागि चुनौतिपनि हो समस्या पनि हो । सगरमाथा क्षेत्रका हिमाल धेरै चढ्ेका छन् । हाम्रा क्षेत्रका हिमाल चढ्ने कम छन् । आखिर विश्व प्रसिद्ध हिमाल मात्र नभइ हिमाल आरोहणकै इतिहास त हाम्रै प्रदेशले बोकेको छ तर त्यतातिर प्रचार प्रसारको कमी भयो । नेपाल पवर्तारोहण संघको दायित्व भनेकै प्रदेशका हिमचुलीहरुको प्रर्वद्धन गर्नु रहेको छ । राम्रोसँग विदेशीलाई लिएर हिँड्न सक्ने गाइडको निकै कमी छ । राम्रोसंग हिमाल चढाएर सकुशल फिर्ता ल्याउन सक्ने गाइड यहि प्रदेशमै हुनप¥यो ।
प्रदेशमै दक्ष जनशक्ति उत्पादन गर्न के गर्नुपर्छ त ?
दक्ष जनशक्ति उत्पादन गर्न जस्तै नेपाल टे«किङ एसोसिएसनले बढीभन्दा बढी टे«किङ गाइडको उत्पादन गर्छ भने हामी नेपाल पवर्तारोही संघले पनि आरोही गाइड उत्पादन गर्नुपर्छ । जसका लागि विभिन्न किसिमका सूचनाहरु निकाल्ने अनि तालिमहरुको व्यवस्थापन गर्ने गरेमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । यसका लागि रक क्लाइम्बिङ, हिमाल चढ्ने तथा प्राथमिक उपचार सम्बन्धि तालिमका लागि बजेट छुट्टिनु पर्दछ । सरकारले पनि विभिन्न गोष्ठी गरेर रकम फाल्नुभन्दा वा बेकारको खर्च गर्नुभन्दा हामीलाई दिनुहोस् । रकम पनि त बढी खर्च हुन्छ । त्यसैले हामीलाई खर्च दिए हामी हिमाल चढाउँछौँ । तालिम दिन्छौँ । तालिमका कार्यक्रमहरु ल्याउन आवश्यक छ ।
गण्डकी प्रदेशमा साहसिक खेलहरुको सम्भावना चाहिँ कस्तो रहेको छ त ?
गण्डकीमा साहसिक खेलको प्रचुर सम्भावनाहरु रहेका छन् । यहाँ एक मात्रै साहसिक खेल होइन धेरै साहसिक खेलहरु खेल्न सकिन्छ । तपाइँको रक क्लाइम्बिङदेखि लिएर आइस क्लाइमिङ, आइस स्केटिङ, माउन्टेन बाइक, ¥याफ्टिङ जस्ता अनेकौ खेलहरुको विकास गर्न सक्छौ ।
विकासले गर्दा हामीले हाम्रो आर्थिक सम्मुनतको आधारलाई त गमाउँदै गएका छैनौँ नि ?
हो । हामीले ठूलो रकम गुमाएका छौँ । पहिलो २१–२२ दिनसम्मको हुने पदयात्रा अहिले एक हप्ताको पनि हुँदैन । अब आफैँ सोच्नुस कति फरक हुन्छ । पर्यटक एक दिन आएर अर्को दिन फर्कियो भने कसरी आर्थिक वृद्धि हुन सक्छ ? जति लामो बसाइ भयो उति नै बढी आम्दानी हुन्छ ।
हामीले के भनेका छौँ भने सडकका कारण पर्यटकहरु जाने गन्तव्यहरु मासिदैँ गएका छन् । थोरङ पास २१ दिनको यात्रा हुन्थ्यो । लमजुङको वेसीसहरबाट गएर मनाङको थोरङपास गरेर मुक्तिनाथجतातोपानी घोरेपानीहुँदै नयाँ पुलमा आएर सिध्याउँदा लामो समय लाग्छ ।अहिले मनाङमा गाडी पुगेको छ । मुक्तिनाथमा गाडी पुगेको छ जसले गर्दा एक हप्तापनि लाग्दैन घुम्न । ५–६ दिनमै थोरङपास गर्न सकिन्छ । मुस्ताङको ट्रेकिङ पनि एक हप्ता बढिको हुन्थ्यो अहिले त्यसो छैन् । अब हामी गाइडहरुले भनेर सरकारले सुन्दैनन् । चाहेर पनि हामीले विकासका लहरलाई रोक्न सक्दैनौ ।
अबको विकास पर्यटकी पदयात्रा मासेर गर्ने गरेको देखिन्छ अब यसरी नै विकास गर्न दिने हो ?
दिगो आर्थिक उन्नति पर्यटकबाटै हुने हो तर नेपाल सरकारको आँखामा पर्यटनबाट आर्थिक उन्नति हुन्छ भन्ने देखिएन् । भएका पदमार्गहरु मासिए । घोडा–खच्चड तथा हामी हिड्ने बाटोमा अब धुवा फाल्दै धुलो उडाउँदै ध्वनी प्रदुषण गर्दै गाडी गुड्न थाले । यो पनि आजको मुख्य समस्या हो । सरकारले यसबारे दिगो रुपमा सोच्न जरुरी छ । हाम्रो मागले हुने हो भनेत विश्व चर्चित पदमार्ग मास्नै नहुने हो । मनाङकै कुरा गरौ सानो जनसंख्या भएको क्षेत्रमा अरबौको सडक के काम बरु सहुलियत रुपमा हेलिकप्टर राखिदिएर पदमार्ग राखे त आम्दानी हुन्थ्यो नि । यस्ता समस्या धेरै छन् देशमा । मनाङका बासिन्दाले टे«किङ रुटहुदाँ मनग्य पैसा कमाए । अहिले त केही होटलहरुले मात्रै कमाए होलान् तर स्थानीय समूदायका मानिसहरुले रोजगार समेत पाउन छाडिसके । परम्परागत टे«किङ चल्दा सम्मुनत थियो आज त्यस्तो छैन् । अव्यवस्थित विकासका कारण अहिले मनाङ ध्वस्त भयो । मुस्ताङपनि उस्तै छ । प्राकृतिक प्रकोपले कस्तो अवस्थामा पु¥यायो त्यो प्रत्यक्ष सबैले देखेकै छ ।
भनेको विकासका कारण विनाश भएको र जुन रुपमा पर्यटकबाट कमाइन्थ्यो त्योमा ह्रास आएको भन्ने हो ?
त्यो नै हो नि । पहिलो विदेशीले २१ दिनमा छाड्ने पैसा अब सात दिनमै घुमेर सक्छन् भने कति ह्रास भयो सोच्नुस त । मानौ एउटा पर्यटकले दिनकै १ हजार रुपैँया खर्च गर्छ कताको २१ दिनको खर्च अनि कताको ७ दिनको !
तपाईं लामो समय हिमाली क्षेत्रमै विताएको मान्छे । तीब्र विकाससँगै जलवायुमा समेत निकै असर पुगेको छ । जलवायु परिवर्तनले हिमालहरुमा कस्तो प्रभाव परेको छ त ?
निकै राम्रो प्रश्न गर्नुभयो । आज विश्वको ठूलो समस्या जलबायु परिवर्तन नै हो । हामीले प्रकृतिको विनास बढि गरिरहेका छौ जताततै विनाश गरिरहेका छौँ । यसको तथ्याङक त विज्ञले नै दिन सक्लान् तर अनुभवमा हेर्दा चाहिँ पहिला टे«किङ जादा जुनरुपमा बाटोमा हिउँ देखिन्थ्यो त्यो अहिले देखिदैन । ३० वर्ष अघि म अन्नपूर्ण बेसक्याम्प जादाँ देखेको वेसक्याम्प र अहिलेको वेस क्याम्प फरक छन् । त्यतिबेला त्यहाँ देखि हिउँको तह र हिमनदीको तह अहिले ५ सय मिटर जतिनै माथि सरिसकेको छ । सबै डाडाँ नै कालो देखिन्छ । १२ महिना नै हुने हिउँ अहिले देखिदैन । पोहोर हामी मध्यहिउँदमा हिमाल चढ्न जादा ६ हजार मिटर अग्लो हिमालमा जबकी ५ हजार मिटरदेखि नै हिउँ हुनपर्ने हो । ६ हजारमा समेत हिउँ छैन कालो डाँडा भइसक्यो । दर्जनौ हिमछहरा पनि सुके । पानीका मुल पनि सुके ।
|
पछिल्ला समय हिमालहरुमा पनि निकै फोहोर देखिन थालेका छन् । यो समस्या कत्तिको छ ?
हामीकहाँ अहिले आन्तरिक पर्यटक बढिरहेका छन् । यो राम्रो पक्ष हो तर, नेपालीले खान जानेका छन् तर सफा गर्न जान्दैनन् । जहाँ पायो त्यहीँ फाल्छन् । त्यसले गर्दा पनि यस्तो समस्या आउने गरेको छ । हिमाल जाँदा लगाइएका टेन्टहरु आउँदा त्यसै फालिदिने जस्ता यावत कारणहरु छन् । यसका लागि राज्यले गम्भिर भएर सोच्न पर्ने देखिएको छ । त्यतिमात्रै होइन् अहिले आन्तरिक पर्यटक जादाँ बढी होहल्ला पनि भएको छ । हामी शान्तसंग बस्न नै सक्दैनौँ । यसले गर्दा अन्य विदेशी पर्यटकलाई समेत बढी असर गरेको देखिन्छ ।
अब पर्यटनका लागि राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ त ?
म विशेष गरी हिमाल आरोहण क्षेत्रको व्यक्ति भएकाले सरकारले हिमाली क्षेत्र आर्थिक सम्मुनतको आधार हो भन्ने बुझ्न जरुरी छ र सोही अनुसारको विकास हुनुपर्दछ । लोकप्रियताका लागि विकास गरेर देशको अर्थतन्त्र डुबाएर केहि काम छैन् । पर्यटन क्षेत्रमा लगानीको वृद्धि हुनुपदर्छ र परम्परागत पदमार्गहरु यथावत हुनै पर्छ जुन कुरा राज्यले मात्रै गर्न सक्छ । राज्य हिमाली क्षेत्र र पर्यटकीय क्षेत्रका बारेमा राम्रो संग बुझेर बहस गर्दै प्रचार प्रसारमा जोड दिनुपर्छ । अब नयाँ गन्तव्यको पनि खोजी गरेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजना अघि बढाउनुपर्छ ।





