बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

केपी ओलीको सपना पूरा गराउने महासचिव मै हुँ : पृथ्वीसुब्बा गुरुङ

केपी ओलीको सपना पूरा गराउने महासचिव मै हुँ : पृथ्वीसुब्बा गुरुङ

अध्यक्ष मसँग असन्तुष्ट हुनुभयो होला तर उहाँले मलाई छोड्नुभएको छैन ।


  • अन्तरवार्ता
  • मंसिर ८ २०७८, बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हरेक मोर्चामा सघाउँदै आएका नेता हुन्, पृथ्वीसुब्बा गुरुङ । एमालेको केन्द्रीय सचिव तथा गण्डकीका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले १०औं अधिवेशनमा आफू महासचिवको योग्य दावेदार रहेको अध्यक्ष ओलीलाई जानकारी गराइसकेका छन् । आलोचनात्मक चेत भएका र आवश्यक पर्दा अध्यक्षको पनि आलोचना गर्नसक्ने तर संकटको बेला सतिसालजस्तै उभिने गुरुङ आफूलाई १० बुँदे सहमतिको प्रणेता दावी गर्छन् । प्रदेश सरकार संचालनमा अब्बल रहेका उनले आफूले निभाएको राजकीय भूमिकाको पनि मूल्याङ्कन हुनुपर्ने माग गरेका छन् । अशोक राईसहितका नेताहरुले एमाले छाड्दा उनले पार्टीभित्र रहेर जनजाति समूहलाई जोगाउने काम गरेका र ओलीलाई अध्यक्ष बनाउन ठूलो भूमिका खेलेका उनै गुरुङसँग एमाले १० औं महाधिवेशनको सेरोफेरोमा ढोरपाटनले गरेको कुराकानी – सम्पादक ।

एमाले विधान अधिवेशनको सन्देश के हो ?
एमालेले आयोजना गरेको प्रथम विधान महाधिवेशन ऐतिहासिक हो । एमालेले सधैँ सिर्जनात्मक काम गर्छ । विधान महाधिवेशनले नेतृत्व चयन गर्ने महाधिवेशन अलग र नीति र कार्यदिशा निर्धारण गर्ने महाधिवेशन अर्को गर्छ भन्ने सन्देश दिएको छ भने अर्कोतर्फ वरिष्ठ नेता माधव नेपाल एकीकृत समाजवादी पार्टी गठनसँगै बाहिरिएपछि एमाले कमजोर छ भन्ने सन्देश प्रवाहित भएको थियो । एमाले टुक्रिएको छैन, चोइिटिएको हो र एमालेको आन्तरिक जीवनमा त्यसले कुनै प्रभाव पारेको छैन ।अस्तव्यस्त भएको छैन । विधान महाधिवेशनमार्फत् एमालेका सदस्यहरु एमालेमै बरकरार छन् । यथावत् छ । कुनै पनि प्रवृत्ति र शक्तिले यसलाई टुक्र्याउन सक्दैन । आजको राजनीतिक कार्यदिशा निर्धारण भएको छ, विधि–विधान बनेको छ । अबको महाधिवेशनले त्यो विधानलाई कार्यान्वयन गर्ने एकीकृत नेतृत्वको चयन गर्छ ।

एकीकृत नेतृत्वको कुरा गर्नुभयो तर अध्यक्ष केपी ओलीले त बहुपद हैन, खल्तीबाट नेतृत्व चयनको बाटो खोल्नुभयो भनिन्छ नि !
त्यस्तो हैन । बहुमतमा जाने जुन निर्णय नै एउटा व्यक्तिमा अधिकार सीमित हुँदैन । बहुपदमा अध्यक्ष,उपाध्यक्ष,महासचिवसहितका पद हुन्छन् । जिम्मेवारी विभाजन हुन्छ । नेता त एउटा हुन्छ नि ! त्यसको नेतृत्व अध्यक्षले गर्ने हो । पार्टीको अध्यक्षले टिमको नेतृत्व गर्ने हो । परम्परागत कम्युुनिष्टमा चलेको सिद्धान्तजसतो के थियो भने, भन्दा सामूहिक नेतृत्व प्रणाली भन्ने तर सबै सदस्य महासचिव रहने । पार्टी संचालन महासचिवले गर्ने परम्परा थियो । महासचिवको नेतृत्व भन्ने तर पार्टी पोलिटब्यूरोले चलाउने । त्यो कुरा ५ औं महाधिवेशनमै तोडेको हो । सातौंमा त्यसलाई उठान गरिएको हो । आठौंमा व्यवस्थित भएको हो । अध्यक्षले घोषणा गर्ने कमिटी हैन कि हाउसले नै निर्वाचित गर्ने कमिटी गठन गर्ने थलोको रुपमा महाधिवेशनलाई स्थापित गर्दै लगेका छौं । अहिले पार्टीमा वरिष्ठ उपाध्यक्ष पनि सिर्जना भएको छ । वरिष्ठ उपाध्यक्ष स्वभाविक रुपले वेटिङ प्रेसिडेण्ट हो । दुबैलाई सहयोग गर्न सामूहिक सहयोग गर्न उपाध्यक्षहरु बनाइएको हो । त्यहाँबाट भोलिको नेतृत्व चयन गर्ने हो । महासचिवको व्यवस्थापकीय भूमिका रहन्छ । महासचिव पार्टी हेडक्वार्टरको मुख्य प्रशासक हो,महासचिव । पार्टीका २२ वटा जनसंगठनको व्यवस्थापन, भौगोलिक प्रदेश,उपत्यका, प्रवास कमिटीको कामको अनुगमन गर्ने र संयोजन गर्ने काम छ । उपाध्यक्षहरुले राजनीतिक रुपले अध्यक्षलाई सहयोग गर्ने र आफू नेतृत्वको लागि तयार हुने पनि हो ।

२०५४ र पछिल्लो विभाजन तपाईंले देख्नु र भोग्नु भएको छ । पछिल्लो विभाजनको कारक पार्टी अध्यक्ष केपी ओली नै हो भन्ने आरोप छ । उहाँलाई सर्वेसर्वा बनाउँदा पार्टी बलियो होला कि निरंकुश ?
हाम्रो पार्टीको विभाजन केपी ओलीले ग¥या हैन । केपी ओलीले पार्टीलाई एकतावद्ध बनाएर नेतृत्व गरिरहेको अवस्था छ ।माधव नेपालजीलाई पार्टीको अर्को अध्यक्ष बनाउन तयार हुनुभएको हैन, केपी ओली ?त्यो प्रस्ताव राख्ने मै थिएँ । पार्टीलाई एकतावद्ध बनाइराख्न पार्टीलाई एकतावद्ध बनाउनुपर्छ भन्ने प्रस्तावमा सूरुमा पार्टीभित्र छलफल भयो । सुरुमा अध्यक्षले स्वीकार गर्नुभएन । करिब डेढ हप्तापछिको छलफलमा पार्टी अध्यक्ष सहमत हुनुभयो । त्यो बेलाको कार्यदलको सदस्य कमरेड सुवास नेवाङ्ग र विष्णु पौडेललाई अर्को अध्यक्षको प्रस्तावसहित माधव नेपालकहाँ पठाउनुभयो । त्यो बेला माधव नेपालले ‘म पदको लागि लडेको मान्छे हैन, झलनाथलाई बनाउनुहोस्, मलाई हैन’भन्नुभयो । त्योभन्दा अगाडि मसँगको भेटमा माधव नेपालसँग मैले नै पार्टी एकता जोगाउने प्रस्ताव गरेको थिएँ । उहाँले मसँगको भेटमा पार्टी विभाजन जोगाउन फागुन २८ गतेदेखि भएका निर्णय फिर्ता लिनुपर्छ । त्यो बेला केपी ओली गुटको पक्षमा देखिएको हुनाले मिल्नसक्छ भन्नुभयो । दोस्रो २०७५ साल फागुन २ गतेबाट सुरु गरियो भने र तेस्रो पावर सेयरिङ हुनुपर्छ भन्नुभयो । मैले पार्टी अध्यक्षलाई त्यो कुरा राखेँ । पहिलो त पार्टी नै अदालतले विभाजन गरिसकेको थियो । अदालतले नै २०७७ फागुन २३ गतेपछिका निर्णय अदालतले खारेज गरेको थियो, पार्टीले त्यसलाई स्वीकारेकै थियो । दोस्रो कुरा, २०७५ फागुन २ को कुरा पनि स्वीकार गरेकै थियो । त्यसबेलाका जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षहरु नयाँ बनाएको अवस्थामा पुरानै अवस्थामा रहने तय भइसकेको थियो । अधिकार बाँडफाँडको कुरामा चाहिँ मैले २ वटा अध्यक्ष भएर चलाउने र महाधिवेशनमा जाने प्रस्ताव गरेँ । महाधिवेशनमा जो अध्यक्ष बने पनि सहमतिमा बन्ने वातावरण बनाऊँ भनेँ । त्यो कुरा पार्टीमा राखेँ । अध्यक्षलाई त्यो प्रस्ताव राखेँ । अध्यक्षलाई अलिकति र अर्को जनमतको दवाव पनि परोस् भनेर बाहिर पनि कुरा गरेँ । सुरुमा नभएपनि पछि अध्यक्षले प्रस्ताव स्वीकार गर्नुभयो । तर,त्यो कुरा माधव नेपालले स्वीकार्नु भएन । उहाँ नयाँ पार्टी बनाउन लाग्नुभयो । केपी ओलीले पेल्यो भन्ने आरोप जनता झुक्याउने कुरामात्रै हो । उहाँहरु एमाले टुक्र्याउने निश्चित मिसनमा हुनुहुन्थ्यो । त्यो त भन्ने कुरा थियो । एमालेलाई कमजोर बनाउने, एमालेका सरकारहरु गिराउने ग्राण्ड डिजाइनमा हुनुहुन्थ्यो ।उहाँहरुले त्यही गर्नुभयो ।

विभाजनको पहिलो पीडा भोग्न तपाईं नै अभिषप्त हुनुभयो । गण्डकीमा तपाईंको सरकार रहेन तर तपाईं त विभाजनपछि पनि एमाले बलियो छ भन्दै पो हुनुहुन्छ !
सामान्य मान्छेको आँखाले हेर्दा, माधव नेपाल र झलनाथ खनाल दुईजना पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीले छाडेपछि कमजोर देख्नु स्वभाविक हो । तर,उहाँहरु जानुभयो, टाउको छँदैछ, कपाल झरेको हो । उहाँहरुले जुन भूमिका निर्वाह गर्नुभयो, न सिद्धान्तमा न नीतिमा विवाद थियो,त्यस्तोमा नयाँ पार्टी बनाउने आवश्यकता कहाँ छ ? उहाँहरु छुट्टिएर गएको पार्टी कार्यकर्ताले रुचाएनन् । सुरुमा हाम्रा सदस्य ३ लाखजति भएको अनुमान थियो । बीचमा हामीले सदस्य कति छाँै भन्ने हेरनौं ।महाधिवेशन हुने भएपछि हामीले सदस्यको ढोका खोल्यौँ । अहिले पार्टीको ९ लाख सदस्य छन् । जति तल गयो,त्यति नै कम कार्यकर्ता विभाजनको पक्षमा लागे । बढीमा ५० हजारजति कार्यकर्ता उता जाने अनुमान थियो,त्यस्तो भएन ।तल्लो कमिटीमा २÷४ जना गए । प्रदेश कमिटीका केही गए ।केन्द्रीय कमिटीमा,त्यहाँ सांसदहरु थिए । मन्त्री खान ¥याल काढेर बसेका लोभीपापी थिए,उनीहरु गएका हुन् । पदलोलुपहरु मात्रै उता गएका हुन् ।

०५४ सालमा तपाईं वैकल्पिक पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । तपाईंले थुप्रै कार्यकर्ता फर्काएर पार्टी जोगाउनु भएको थियो, अहिले र त्यो बेलाको फरक के हो ?
त्यतिखेर डरलाग्दो थियो ,त्यो बेला विभाजन नै हो, अहिले चोइटिएको हो । त्यो बेला नेपालभर ३५ जिल्ला कमिटीमा मालेको बहुमत थियो । त्यो बेला भूमिगत कार्यकर्ता भएकामध्ये प्रेमनारायण पौडेलमात्रै यता रहेका थिए । अरु सबै मालेमा गएका । विद्यार्थी र शिक्षक राजनीतिबाट आएका नेताहरुमा म, सोमनाथ प्यासी,तुलबहाुदर गुरुङ,खगराज अधिकारीमात्रै एमालेमा रह्यौँ । हामीले बिस्तारै मेयर,उपमेयरसहित सबैलाई पुरानै घरमा फर्काएको हो । म त्यो बेला वैकल्पिक केन्द्रीय सदस्यले धानेको धानेको गण्डकी प्रदेश हो । सातौं महाधिवेशनसम्म आइपुग्दा पुरानै अवस्थामा फर्काएको हो । अहिले त बाङ्गाटिङ्गा मान्छे चोइटिएका हुन् ।

तपाईं एकीकृत र ठूलो कम्युनिष्ट पार्टीको सपना देख्ने मान्छे, तर तपाईंको सपना किन सार्थक हुँदैन भन्या ?
मैले भनेको सबै लागू हुने भए म अध्यक्ष भइहाल्थेँ । २०७४ सालको स्थानीय निर्वाचनमा देशैभर कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुँदा गण्डकीमा तपाईंले वाम गठबन्धन बनाएँ । त्यो बेला इन्चार्ज किरण गुरुङ हुनुहुन्थ्यो । मैले त्यो बेलामा माओवादीका नेता र जिल्ला इञ्चार्जसँग छलफल गरेकै हो । केन्द्रको कुरा छाडौं, राम्रो काम तलबाट गर्दापनि हुन्छ भन्ने प्रस्ताव गरेँ । लमजुङमै मै थिएँ, तनहुँमा पनि सम्झौता भयो तर त्यो बेला हाम्रै पार्टीमा रहनु भएका प्रतापलाल श्रेष्ठले केदार सिग्देलले माओवादीसँग गरेको सम्झौता कार्यान्वयन गर्न दिनुभएन । स्याङ्जामा पनि सम्झौता भएको हो, एउटा पक्षले दिएन । पर्वतमा पनि त्यस्तै भयो । बागलुङमा सबै वाम एकै ठाउँ गरेको हो ।गोरखामा माओवादीले नै अहंकार देखाएको हो । त्यो अभियानलाई पछि पार्टीले पच्छ्यायो । वाम एकता भयो । प्रदेश सरकारको बेला पनि मैले कमरेड प्रचण्डसँग त्यही प्रस्ताव राखेको थिएँ । सके सर्वदलीय सरकार बनाऊँ, नभए १८ महिना बाँकी छ । कि १० महिना तपाईँहरु मुख्यमन्त्री बन्नुहोस्, म ८ महिना हुन्छु भनेको हो । उहाँहरुले सरकार बनाउन चाहेको भए म सरकारबाट बाहिर हुन्छु पनि भनेको हो । माथिको हस्तक्षेपको कारण सम्भव भएन ।

अर्को प्रसङ्ग अब १० औं महाधिवेशनमा नयाँ भूमिका खोज्नुपर्ने होला । मुख्यमन्त्रीको भूमिकाबाट च्यूत भएपछि तपाईं जाने कहाँ हो ?
मैले पार्टी अध्यक्षलाई के भनेको छु भने,अमेरिका संसारभरका युवाको सपनाको देश भएजस्तै एमाले अमेरिकाजस्तै छ । सबै पार्टीबाट यही पार्टीमा युवाहरु आइरहेका छन् । देशभक्तिपूर्ण पार्टी एमाले हो, त्यसको नेतृत्व एउटा देशभक्त व्यक्तिले गरिरहेको छ । एउटा स्पष्ट रोडम्याप बोकेको पार्टी एमाले नै हो । अरुहरुको त काले–काले मिलेर खाऊँ भालेजस्तो छ । माओवादी अन्यौलतामा छ । माधव नेपालको के कुरा गर्ने ? त्यो सकिने पार्टी हो । उहाँले बदला लिनुभयो । बदलाको राजनीति चल्दैन ।

तपाईंको भूमिकाको कुरा गरेको मैले ?
अध्यक्षलाई मैले एमालेलाई संकीर्णताको आधारमा हैन, एजेण्डाको आधारमा, माक्र्सवादी दृष्टिकोणबाट सुदृढ बनाउन मेरो भूमिका देखेको छु भन्ने कुरा राखेको छु । एमालेबाट बाहिर जान खोज्नेहरुलाई रोक्ने कुरा होस्, सहमतिको कुरा होस् वा अहिले पनि १० बुँदे सहमति गर्ने कामको सुरुवात मैले नै गरेको हो । योगेशजीसँग भेट भएसँगै पार्टी अध्यक्ष ओली र माधव नेपाल भेट्ने वातावरण बन्यो । कार्यदल बन्यो । १० बुँदे सहमति कायम भयो । सहमति कार्यान्वयन गरेपछि १४ जना सांसदबाहेक अरु पार्टीमै रहने वातावरण बन्यो । पार्टी बाँकी रह्यो । रौंमात्र झ¥यो । पार्टी एकतालाई बचाउन सहयोग गर्ने हिजोका माधव नेपाल समूहमा रहनुभएका साथीहरु,पार्टीका दोस्रो र तेस्रो पुस्ताका नेताहरुसँग समन्वयकारी भूमिका बरकरार राख्नको लागि पनि त्यो शक्ति पार्टीको फ्रण्ट लाइनमा आउनुपर्छ भन्ने मेरो कुरा हो । हाम्रो पार्टीभित्र पनि समस्या छन्, अरु अयोग्य भएकाले हामी योग्य देखिएको मात्रै हो,हामी माक्र्सवादी पार्टीको रुपमा अझै चल्न सकेका छैनौं ।अझै पनि संगठनमा अराजकवाद,व्यक्तिवाद,अवसरवाद हावी भा’छ, उदारवाद र संकीर्णतावाद अनि मनोगतवादलाई परास्त गर्न मसँग निश्चित योजना छ,भिजन छ । त्यही भएर यो संगठनको जिम्मा ( महासचिव) मैले पाउनुपर्छ भन्ने हो । दोस्रो कुरा,पार्टीभित्र देखा परेका विभिन्न प्रवृत्तिविरुद्ध मैले निरन्तर संघर्ष गरिरहेको छु । हेर्नुभएकै होला भनेको छु । अर्को कुरा, संगठन बनाएरमात्रै भएन । पार्टीमाथि एउटा युगीन दायित्व छ । देशलाई समृद्ध बनाउनु छ । २२ वर्षको अवधिमा चीनले अमेरिकालाई उछिनेर १ सय १३ ट्रिलियनको अर्थतन्त्र बनायो । यो समृद्धिको अभियानमा म तपाईंको उपयुक्त सहयोगी हुनसक्छु भनेको छु । केपी ओलीले नेतृत्व हस्तान्तरण गर्नु नै पर्छ । केपी ओलीको अनुपस्थितिमा उहाँकै सपना पूरा गराउन सक्ने २÷४ जना नेता तयार गरेर राख्नुहोस् भनेको छु । त्यो पृथ्वीसुब्बा हुनसक्ला, त्यो ईश्वर पोखरेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी हुनसक्ला । तयार बनाएर राख्नुपर्छ भनेको छु । नेतृत्व हस्तान्तरण सहज हुन्छ ।

अध्यक्षले के प्रतिक्रिया दिनुभयो त ?
उहाँले सुन्नुभयो । मेरो कुरा रुचिपूर्वक सुन्नुभयो ।

उहाँले टाउको हल्लाइदिएमात्रै पनि तपाईं महासचिव बन्न सक्नुहुन्छ । टाउको हल्लाउनुभयो कि भएन ?

व्यक्तिको कुरामात्रै हुँदैन । टिमको छलफल पनि हुन्छ ।, तर, उहाँले टिम बनाउने भएकाले कस्तो टिम बनाउने भन्ने उहाँको कुरा हो ।

पार्टीभित्र निर्वाचितमध्ये १२ जना पदाधिकारीले अर्को पद खोज्नु भएको छ । अध्यक्षलाई मिलाउन गाह्रो होला नि !

असाध्यै गाह्रो छ । तर, कुन पद कसलाई दिए राम्रो हुन्छ, कसलाई दिए न्याय हुन्छ भन्ने मुख्य कुरा हुन्छ । राजनीतिमा दुईवटा कुरा हुन्छ, एकथरी नेताको पार्टीमा चाहिएको बेला निर्मम बाटो देखाउन सक्ने,आलोचनात्मक चेत भएको व्यक्तिलाई लिएर हिँड्ने बानी हुन्छ । कसैको हुँदैन ।

तपाईँले पनि केपी ओलीको आलोचना गरेकै हो नि !
असन्तुष्ट हुनुभयो होला तर उहाँले मलाई छोड्नुभएको छैन । उहाँको विरोधीसँग,पार्टीभित्रको फरक मतको व्यक्तिलाई पनि उहाँले लिएर हिँड्नु भएको हो । प्रचण्डलाई,आफूभन्दा सानो पार्टीको व्यक्तिलाई पनि अध्यक्ष बनाएरै हिँडेको हो नि । उहाँको विशाल हृदय छ । पार्टीभित्र घनश्याम भुषाललाई,योगेश भट्टराईलाई बोलाएर मन्त्री बनाएकै हो नि ।

१० औं महाधिवेशनमा तपाईंको बटमलाइन के हो ?
सचिवमा बसेर काम गरेको छु । सचिवमा रहेर गलत काम गरेको छैन । सचिव त मेरो हातमै छ नि । त्यो गाह्रो कुरा भएन । संगठन विभाग प्रमुख भएर काम गरे । प्रदेश इन्चार्ज भएर काम गरेँ । प्रदेश सरकारको प्रमुख भएर काम गरेँ । सचिवभन्दा माथि उपमहासचिव,महासचिव, उपाध्यक्षमध्ये एक पाउनुपर्छ भन्ने मेरो दावी छ । वरिष्ठमा मैले दावा गरेको छैन ।

अर्को महाधिवेशनसम्म अध्यक्ष बन्न तपाईंलाई पनि उमेरले रोक्ने वातावरण बन्छ । तयारी कहाँसम्म पुग्ने छ ?
मैले महासचिव, उपमहासचिव, उपाध्यक्ष पाउनुपर्छ भनेर दावी गरेको छु । मैले पाउन पनि सक्छु, नपाउन पनि सक्छु । सबै कुरा पदको लागि गरिँदैन । म पार्टीको अध्यक्ष भएर काम गर्छु भन्ने सोच पालिएन भने मनैदेखि काम हुँदैन । मेरो आजभन्दा ५÷७ वर्षअघि अहिलेको पद पनि चिताएको थिइन । तर, कर्म गर्दै जाँदा प्राप्त हुन्छ ।

तपाईं गण्डकीको नेता हो । यहाँ आकांक्षी पनि धेरै छन् । उनीहरुलाई कसरी समायोजन गर्नुहुन्छ ?
गण्डकीमा एउटा सहमति बनेको छ । म अहिले सचिव छु । सचिवभन्दा माथिलो पदमा जाँदा गण्डकीबाट सचिवको पनि दावी रहन्छ । स्वभाविक रुपले किरण गुरुङ सिनियर नेता हो । खगराज अधिकारी अर्को दावेदार हो । त्यसपछि सफल महिला नेतृ पद्मा अर्याल,जगत विश्वकमा दलितको तर्फबाट बलियो दावेदार हो । अरु केन्द्रीय सदस्यमा पनि आकांक्षी धेरै हुनुहुन्छ ।

सहमतिमै टुंगिएला कि चुनाव ?
सहमतिमै टुंग्याउने भन्ने हो तर गाहो छ । पदाधिकारीमा सहमति भएपनि सदस्यमा चुनाव हनुसक्छ । तर, त्यो प्रतिष्पर्धा स्वच्छ हुन्छ ।

पार्टी बलियो बनाउन तपाईंको एजेण्डा के छन् त ?
कम्युुनिष्ट पार्टी माक्र्सवादी सिद्धान्त र अडानमा चल्नुपर्छ । एमालेमा त्यसमा केही कमजोर छ । लेनिनवादी संगठनात्मक ढाँचा भन्छौँ हामी तर पार्टी चलाउने सवालमा अलिकति उदाशीनता छ । लेनिनवादी संगठनात्मक ढाँचामा कमजोरी भएकै कारण पार्टीको संस्थापनविरुद्ध गतिविधि हुने, त्यस्ता प्रवृत्तिहरुलाई कारवाही नहुने परिस्थिति सिर्जना भएको छ । व्यक्ति कमिटीको मातहत रहने अथवा अल्पमत बहुमतको मातहत रहने भन्ने जुन सिद्धान्त छ । यो सिद्धान्तमा सम्झौता गरिएको देखिन्छ । एमालेबाट एउटा समूह बाहिरिनुको कारण यो हो । पार्टीको अनुशासन र केन्द्रीयताभित्र रहेर काम गर्नुपर्छ । अराजकता वा अल्टर डेमोक्रेसी हाम्रो गन्तव्य हुनुहुँदैन । उदारवाद पार्टीमा हावी भएको छ । हाम्रो पार्टीभित्र संकीर्णता बढेको छ । गाउँ र सहर, पुराना र नयाँबीच विभेद गर्ने प्रवृत्ति बढेको छ । जडता बढेको छ । गतिशील संसारमा बसेर जडता अपनाउन मिल्दैन । पार्टी गतिशील बनाउनुपर्छ । नेताले जे भन्यो त्यही ठीक हुन्छ भन्ने हुँदैन । मनोगतवादले नै पार्टीमा संकट आउँछ । नेतृत्वमा जाँदा यो प्रवृत्ति सुधार मेरो एजेण्डा हो ।

पार्टीभित्र अझै पनि असन्तुष्टि देखिन्छ नि !
१० बुँदे कार्यान्वयन गइसकेको छ । केही ठाउँमा प्राविधिक कारणले सम्झौता हुन नसकेको होला । पार्टीमा सबै आफूले भनेजस्तो हुँदैन । हिजो असहमति जनाउने तथा माओवादी केन्द्रबाट आएका साथीहरुले अब एमाले भएर सोच्नुपर्छ । समस्याको समाधान त्यसरी नै गर्नुपर्छ ।

पछिल्लो समयमा समावेशीताको मुद्दालाई एमालेले छाडेको हो ?
एमालेले छाडेको हो । समावेशीताको सिद्धान्तको बहस चलाउने पहिलो पार्टी नै एमाले हो । हाम्रो पार्टीमा संविधानले व्यवस्था गरेकोभन्दा पनि बढी समावेशीतालाई व्यवहारमा ल्याएको छ ।

जनजातिको ठूलो समूहले पार्टी छाड्दा तपाईंले त्यो मोर्चा सम्हाल्नु भयो ? त्यस आधारमा पनि तपाईंको मूल्याङ्कन हुनुपर्ने हैन र ?
पाटीले सोच्नुपर्छ मैले भन्ने विषय हैन । म आफू जनजातिबाट सचिवमा आएको हैन । म मेरो योग्यता र क्षमताले महासचिवको लागि काविल छु ।

मुख्यमन्त्रीको रुपमा तपाईंको सफल भूमिकाको मूल्याङ्कन गरिन्छ भन्ने लाग्छ ?
मैले अध्यक्षलाई भनेकै छु । तपाईंको छनौटको रिङभित्र पर्नुपर्छ भन्नेमा मेरो जोड छ । उदाहरणको लागि महासचिवको दावेदारी ४–५ जनाले गर्न सक्छन् । मैले अध्यक्षलाई म महासचिवमा उठ्न चाहन्छु भनेको हो, म भएँ भनेको छैन । संगठनमा कसले के ग¥यो, सरकारमा हुँदा के ग¥यो र पार्टीलाई एक बनाउन के ग¥यो भन्ने हेरिनुपर्छ भन्ने मेरो मान्यता हो । विचार र सिद्धान्त अनि संगठन परिचालन एवं राज्य संचालनको हिसाबले पनि प्रतिस्पर्धा हुनुप¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->