यतिबेला पोखरा थिएटरमा चरणदास चोर नामक नाटक मञ्चन भइरहेको छ । चर्चित भारतीय नाट्य निर्देशक एवम् कलाकार हविव तनविरले सन् १९७५ मा यो नाटक लेखेका थिए । जसको नेपाली अनुवाद गरी अहिले मञ्चन भइरहेको छ । कोरोनाकालपछि मञ्चित नाटक र रंगमञ्चको सेरोफेरामा हामीले निर्देशक निश्चल विमलसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ– कुराकानीको सार संक्षेप ।
रेनेसा थ्रिएटर कोरोनापछि बनेको कलाकारको समूह हो ?
हो । कोरोनाको महामारी कम हुँदैछ । अब नाटकलाई अघि बढाउनुपर्छ भनेर हामी कलाकार साथिहरु भेला भयौँ र दैनिक खर्चबाट नै जोहो गरेर नाटक गर्ने भन्ने सोच बनायौँ । अनि रेनेसा थ्रिएटरको स्थापना भयो ।
रेनेसा थ्रिएटरको प्रस्तुति नाटक ‘चरणदास चोर’ कस्तो चलिरहेको छ ?
सुरु गर्ने बेला हामीले चरणदास चोर मात्र नभई अरु नाटकका समेत स्क्रीप्टहरु हे¥यौँ । यो नाटक नै किन रोज्याँै भने, नाटक हास्य व्यङ्ग्यमा आधारित छ ।संगसंगै नाटकमा धेरै संवेदनाहरु प्नि छन् । यसले दर्शकलाई कोरोना भुलाउन पनि मद्दत गर्छ । मेरो यो पहिलो निर्देशन भएकाले डर पनि धेरै नै थियो । जब हामीले मंसिर १ देखि सुरु ग¥यौँ तब दर्शकहरु आउन थाल्नुभयो ।उहाँहरुको माया र रेस्पोन्सले हामी यो नाटक राम्रो बनाएका रहेछौँ भन्नेमा विस्वस्त छौँ ।
चरणदास चोर कस्तो कथामा आधारित नाटक हो ?
यो एउटा इमान्दार चोरको कथामा आधारित नाटक हो । उसको धर्म नै चोर्नु हो । उसले कहिल्यै चोर्न छाड्दैन । उसको कर्म नै धर्म हो भन्ने छ । वास्तवमा उसले चोरेर गरीबलाई दान गर्छ ।
चरणदास नै किन ?
यो एक चर्चित नाटक हो । भारतका प्रख्यात नाट्य निर्देशक हविव तनविरले लेखेको नाटक हो । उहाँको रंगमञ्चमा ठूलो योग्दान छ । हाम्रो रेनेसाको अर्थ नै पुनः जागरण हो । त्यसैले पोखराको रंगमञ्चलाई फेरि उठाउनका लागि यो नाटक लिनुपर्छ र यो नाटक दर्शकलाई रुवाउन र हसाँउन एकदम अब्बल नाटक हो । र हामीलाई रंगमञ्च सिकाउने गुरुहरुको सरसल्लाहमा यो नाटक गरेका हौँ । दशर्कको मन जित्दै रंगमञ्चल चलायमान गराउन नै चरणदास चोर रोजेका हौँ ।
कोरोना महामारीले रंगमञ्चको क्षेत्रमा कस्तो प्रभाव पा¥यो ?
कोरोनाले त हामी रंगकर्म गर्नेहरु मात्र नभई हरेक क्षेत्रलाई प्रभाव पारेकै हो । यसमा अन्य क्षेत्रमा जस्तो हाम्रोमा पनि उस्तै प्रभाव पा¥यो । यो विषयमा त्यति धेरै भन्न पर्छजस्तो लाग्दैन् । सबैले भोगेकै हो । रंगमञ्चमा आउन नपाउँदा निस्सासिए जस्तो अनुभव गरिरहेका थियौँ ।
रंगमञ्चमा अहिलेको अवस्था कस्तो छ ?
पोखरामा कस्तो भयो भन्दा कलाकारहरुले मेहनत गर्छन् तर थिएटरसम्म कलाकार अलि आउन सकिरहेका छैनन् । अब यसलाई उठाउनुपर्छ भन्ने हिसाबले कोरोना कालमा मात्रै नभई कलाकारिता गरेरै मात्र बाच्न निकै गाह्रो छ । भविष्यमा कलाकारले अरु कुनै पेशा खोज्न नपरोस भन्ने पनि हाम्रो उदेश्य हो ।
कोरोनापछि पहिलो नाटक मञ्चन भइरहेको छ । रंगकर्मी कति छन् त ?
हो यो कोरोना महामारीको २ वर्षपछिको पहिलो नाटक हो । हामी ३१ जनाको टिम छ ।
नेपथ्यदेखि लिएर स्टेजसम्म पुग्दा निकै धेरै कलाकार चाहिने थियो । पहिला त हामी आत्तिएका थियौँ । सोच्यौँ– पोखरामा कलाकारहरुको संख्या कमी छैन् । त्यसरी हामीले सुरु गरेका हौँ ।
पोखरामा कुन स्तरसम्मका कलाकार छन त ?
अहिले हामी यो नाटक गर्दै गर्दा काठमाडौंबाटसमेत दर्शक आएका छन् । पहिला हामी सधैँ नाटक हेर्न काठमाडौं गइरहँदा र अहिलेको नयाँ अनुभव के हो भन्दा काठमाडौंबाट साथीहरु नाटक हेर्न पोखरा आइरहेको अवस्था छ । रंगकर्म गरिरहनुभएकै साथीहरु समेत हेर्न आउनुभएको छ । नाटक मेहनतमै भरपर्ने कुरा रहेछ । यतिधेरै मेहनत गरेका छौँ कि, काठमाडौंको मञ्च समेत सहज लाग्छ । हिजोमात्र एकजना सरले भन्नुभयो– मलाई यो पोखरामा हेरेको नाटक जस्तो लागेन ।’ यसैले पनि हाम्रो स्तर अब्बल रहेछ भन्ने देखाएको छ । पोखराको रंगकर्मले पनि नेक्सट लेभल खोजिरहेको छ भन्ने देखियो ।
तर, मोफसलमा गरिने हरेक क्रियाकलापहरु सधैं पछि नै परेको अवस्था छ राज्यको सहयोग होस् अथवा अवसर यसमा तपाईँको विचार के छ ?
पक्कैपनि मोफसलमा काम गरिरहँदा केही पछाडी परेकै अवस्था हो नभएको होइन् । तर, मेरो व्यक्तिगत कुरा गर्नुपर्दा म कर्ममा विश्वास गर्छु । त्यो कारणले पनि चरणदास चोर हामी मञ्चन गरिरहेका छौँ । तपाईँ जे काम गर्नु हुन्छ, त्यो काम इमान्दारीपूर्वक गर्नुहोस्, त्यसको प्रतिफल आउँछ । एकदिन उचाई छुन सकिन्छ । हामी मोफसललाई नै राजधानी बनाउने गरी काम गर्नुपर्छ भन्नेमा म विस्वास राख्छु ।
चरणदास चोरमा निर्देशकदेखि नेपथ्यसम्म नयाँ हुनुहुन्छ । यसमा कस्तो अनुभव बटुल्नु भएको छ ?
निर्देशन मेरा लागि नयाँ चिज हो । कलाकार नयाँ पनि छन् । तर, जतिपनि समय मैले रंगमञ्चमा बिताएँ । यसैको फल आज निर्देशक बन्न पुगियो । खासमा मलाई निर्देशकमा आउँछु भन्ने थिएन । कलाकार बन्छु भन्ने नै थियो । कुनै पनि नशा खायो भने त्यसको असर तत्कालै देखिन्छ तर, स्याउ खायो भने असर देखिन पनि सक्छ÷नदेखिन पनि सक्छ । हाम्रालागि चरणदास चोर पनि स्याउ खाएजस्तै भएको थियो । के हुन्छ थाहा थिएन । सुरुमा हामी निकै त्रसित पनि भयौँ तर कडा मिहेनत भने गर्न छाडेनौँ । पहिलो पटक हो के हुन्छ भन्ने थियो । एकहप्ताको नतिजाले राम्रो बनाएको अनुभव गरिरहेको छु ।
रंगमञ्चमा कसरी जोडिनुभयो ?
रंगमञ्चमा आउँछु भन्ने पहिला थिएन् । सानैदेखि कस्तो थिएभन्दा कसैका लागि प्रेरणादायी बन्नुपर्छ भन्ने थियो । जब राजदरबार हत्याकाण्ड भया,े त्यतिबेला सिंगो देशका नागरिक रोएका थिए । त्यतिबेला हाम्रो राजेश हमाल चाहिँ निकै चर्चित हुनुहुन्थ्यो । ए ! कलाकार बन्यो भनेचाहि चिनिँदो रहेछ भन्ने लाग्यो र कलाकार बन्ने सोच आयो । अहिले आएर चिनिनु ठूलो कुरा होइन रहेछ म निश्चल विमल भनेर चिनिनु भन्दापनि कामले चिनिँदा त्यसको आनन्द बढी हुँदो रहेछ । त्यसरी सानैदेखि यता लाग्ने हुुटहुटी बढ्यो । खासमा त अझ फिल्म क्षेत्रमै अभिनय सिक्न भनेर निस्केको थिएँ, रंगमञ्चमा जोडिन पुगेँ । जब रंगमञ्चमा छिरmँे त्यसपछि यहाँबाट निस्किन मन लागेन ।
चरणदास चोर बनाइरहँदा खर्च चाहिँ कति भयो र कसरी उठाउनुभयो खर्च ?
कुनैपनि नाटक गर्दा हामी पहिला नै खर्च चाहिँ यति भनेर निक्र्यौल गर्न सक्दैनँौ । तर, चरणदास चोरका लागि हामी साथिहरुले कतिकति सक्छौँ उठाएरै सुरु गरेका हौँ । भन्ने बेलामा हामीले २ लाख ५ हजार रुपैँया जम्मा ग¥यौँ । त्यो रकमले हामीले प्रोडक्सन खर्च पु¥याउनुपर्ने बाध्यता थियो । तर, पनि त्योभन्दा माथि नै पुग्यौँ । दर्शकहरुको साथ सहयोगले अर्को नाटकका लागिपनि नरोकिने अवस्था सिर्जना भएको छ । पोखरामा रंगमञ्च जुर्मुराउँदै छ ।
भनेको, चरणदास चोरले तपाईँहरुको लगानी उठाइसक्यो ?
हजुर खुसी छौँ । लगानी उठ्ने आशा त पलाइसक्यो ।
दर्शकको उपस्थिति कस्तो छ ?
दर्शकको उपस्थिति पछिल्लो समय अलि बढेको छ । जति पनि दर्शक आएर हेरिदिनुभयो,उहाँहरुले हामीलाई अर्को नाटक गर्ने हौसला दिनुभएको छ । माहोल बढिरहेको छ । अहिलेसम्म ६ सय बढी दर्शक आउनुभएको छ ।
चरणदास चोरबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
अपेक्षा भन्नेकुरा त्यस्तै हो । कर्म गर फलको आस नगर भन्ने छ तर हामीचाहिँ अहिले दर्शकको आश गरिरहेका छौँ ।
रंगमञ्चमा अझैँ पनि त्यति दर्शक आउन सकिरहेका छैनन् रंगमञ्चबारे आम दर्शकले बुझ्न नसकेको वा बुझाउन नसकिएको हो ?
यो बुझाइको बारेमा के छ भन्दा, सबैको आ–आफ्नो बुझाइ हो । तपाईँले यो प्रश्न गरिरहँदा म चाहिँ के भन्छु भने फिल्म सबैले हेर्छौँ, फिल्ममा मनोरञ्जन हुन्छ । रंगमञ्चमा पनि मनोरञ्जन हुन्छ । धेरै दर्श कहरु एकपटक पनि नाटक घरमा छिरेका छैनन् । तपाईँहरु एक पटक नाटकघरमा छिर्नुहोस् ,त्यसपछि हामीले निमन्त्रणा गर्नै पर्दैन् । आफै आउनुहुन्छ ।
नाटकघरमै दर्शक किन आउने ?
यस्तो छ फिल्म भनेको रेकर्डेड हो । नाटक घर भनेको प्रत्यक्ष व्यक्तिले नै गर्ने हो । हामी एकै परिवेशमा रहेर समाज जस्तो छ त्यसैमा रहन्छाँै । हामीलाई कहिँपनि बिगार्ने छुट हुँदैन । फिल्म बनाउँदा जसरी एकपटक बिग्रिन्छ भने अर्कोसट लिन पाइन्छ यहाँ त्यसो हुँदैन । वास्तवमै यो निकै कठीन हो र उत्तिकै अब्बल पनि । फिल्ममा हामी हेर्न जाने दर्शक हौँ तर नाटक हेर्न जाने सबै कलाकार हुन् । त्यहाँ तपाईँ जुन स्थानमा बस्नु भएको छ त्यही तपाईँको कलाकारको पाटो हो ।
अन्त्यमा दर्शकलाई के भन्न चाहनुहुन्छ ?
दर्शक हाम्रा लागि भगवान हुन् । त्यतिमात्र होइन् रंगमञ्चमा हेर्न आउने दर्सक पनि कलाकार नै हुन् । थ्रिएटरसम्म आइदिनुस् । एकपटक अवलोकन गरिदिनुस । अर्कोपटक फेरि आफै आउनुहुनेछ ।





