गतवर्ष नै हामी गण्डकी प्रदेशकै महिला र पुरुष टिम बनाउन चाहन्थ्यौँ तर गण्डकीको महिला टिम नभएकाले महिला टिम खेलाउन असक्षम रह्याँै ।
कोरोनाको तेस्रो लहरको सन्त्रास छ । सन्त्रासकै बीच पोखरामा छोटो समयमै निकै लोकप्रिय भएको टाइगरकप आमन्त्रित राष्ट्रिय महिला÷पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण चलिरहेको छ । एकातिर राज्यले २५ जनाभन्दा बढी हुनेगरी भिडभाड, मेला महोत्सव नगर्नू भन्ने निर्देशन गरेको छ । अर्कोतिर सयौँ दर्शक यो प्रतियोगिता हेर्न तँछाडछाड गरिरहेका छन् । गण्डकीको सर्वाधिक लोकप्रिय भलिबल खेलप्रति दर्शकको मोह,कोभिड सन्त्रास र जारी सरकारी निर्देशन पालना गर्नुपर्ने बाध्यतालाई केन्द्रमा राख्दै हामीले आयोजक टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्मालाई सुरुमा सोध्यौं– सोमबारेखि सुरु भएको दोस्रो संस्करणको टाइगरकप भलिबल प्रतियोगिता कस्तो चलिरहेको छ ?
गण्डकी प्रदेशको पर्यटकीय नगर पोखरामा टाइगर गु्रपको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता गरिरहेका छांै । गण्डकी प्रदेशको मुख्यमन्त्रीज्यूबाट दोस्रो संस्करणको प्रतियोगिता उद्घाटन भएको छ । कोभिड महामारीले विश्व जगत नै थलापारिरहेको अवस्थामा खेलकुदलाई व्यवस्थित गर्नुपर्छ खेलाडीलाई हौसला दिनुपर्छ भनेर प्रतियोगिता सुरु गरिएको हो ।
दोस्रो संस्करणको सुरुआत पनि राम्रो भएको छ । पहिलोजस्तै हामी दोस्रो संस्करणको दोस्रो दिनसम्म निकै हर्षित छौं ।
पहिलो संस्करणमा सोचेभन्दा बढी सफलता रह्यो,दोस्रोमा ?
तपाईँले भनेको कुरा एकदमै सत्य हो । पहिलो संस्करणमा हामीले सोचेको भन्दा धेरै सफलता हात पारेका थियौँ । सत्य भन्नुपर्दा,पहिलो संस्करण आयोजना गर्दा हामी विश्वस्त थिएनौँ ।कोभिडको त्रास ! के होला भन्ने अन्योल थियो ।तर, सहयोगी दातादेखि दर्शकसम्मको साथ र सहयोगले सफलता मिल्यो । यसपटक पहिलोभन्दा केही फरक गर्ने लक्ष्यका साथ प्रतियोगितामा २ टिम थपेका छौं । जहाँ भारतीय र श्रीलंकका राम्रा खेलाडीहरुको सहभागिता रहेको छ । त्यसैले पनि पहिलो भन्दा अझ बढी सफलता मिल्छ भन्ने देखिएको छ ।
२ टिम थपिँदा विदेशी खेलाडी आएका छन् । उनीहरुलाई कसरी ल्याइयो ?
वास्तवमा यो अलि कठीन काम नै रहेछ । कठीन पनि कोरोना महामारीका कारणले भन्ने हाम्रो बुझाइ छ । भर्खरैमात्र एसियन सेन्ट्रलजोन भलिबल खेलेका खेलाडी ल्याएका छौँ । गतवर्ष नै हामी गण्डकी प्रदेशकै महिला र पुरुष टिम बनाउन चाहन्थ्यौँ तर गण्डकीको महिला टिम नभएकाले महिला टिम खेलाउन असक्षम रह्याँै । यसपटक आयोजकको टिम बनायौँ । जहाँ ३ श्रीलंकन खेलाडी समावेश भएका छन् । त्यो बाहेक अन्य सबै गण्डकी प्रदेशकै बहिनीहरु हुनुहुन्छ । नेपाल भलिबल संघको समन्वयमा विदेशी खेलाडी ल्याउन सफल भएका हाँै ।
यो पूर्वनिर्धारित कार्यक्रम हो तर राज्यले मेला/महोत्सव तथा भिडभाड गर्न रोक एवं २५ जनाभन्दा बढी भेला नहुन भनेको छ !
२०१९ बाट सुरु भएको कोरोना अहिले २०२२ सम्म पनि निर्मूल हुन सकेन । नेपाल मात्रै होइन विश्व नै अछुतो छैन । ६ महिना अघिदेखि नै मिति तय भएको र थुप्रो लगानी भएकाले प्रतियागिता रोक्न असमर्थ रह्यौँ । कार्यक्रम सफल बनाउन सबै क्षेत्रको सहयोग छ । राज्यले भनेझै हामी स्वास्थ्य मापदण्ड पालना गर्ने मास्क,स्यानिटाइजर लगाउने काम गराइरहेका छौँ । बारम्बार दर्शकहरुलाई सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरिरहेका छौँ । वास्तवमा गण्डकी प्रदेश भाग्यमानी प्रदेश हो । किनकि, ७ प्रदेशमध्ये यो नै पहिलो प्रदेश हो, जहाँ सबैजसोले कोरोनाविरुद्धको खोप लगाइसकेका छन । खेल हेर्न आउने सबै दर्शकले खोप लगाएका छन भन्ने मैले विश्वास लिएको छु । र, सबै दर्शकलाई कोरोनाबाट आफै जोगिनुहोस् भनेर हजुरहरुमार्फत् नै आग्रह गर्न चाहन्छु ।
तर, प्रतियोगितामा त त्यस्तो देखिँदैन । सामाजिक दूरी त !
हामीले सामाजिक दूरी कायम गराउन नसकेकै हो । दर्शक छिर्ने गेटमा हामीले नै मास्क राखेका छौँ । त्यहाँबाट प्रवेश गर्नेलाई स्यानिटाइजर पनि लगाएका छौँ । हिजोमात्र गण्डकी प्रदेशका मुख्यमन्त्रीज्युले स्वास्थ्य मापदण्ड कायम गराउन दिनुभएको सुझावलाई कार्यान्वनयमा ल्याएका छौँ ।
दर्शक विना वा निश्चित दर्शक राखेर प्रतियोगिता खेलाएको भए के बिग्रन्थ्यो र ? आयोजकले त दर्शकको सुरक्षामा भन्दापनि आम्दानी हुने बाटो मात्रै हेरेको जस्तो देखियो नि !
गण्डकी प्रदेश भलिबलको उर्वर प्रदेशको रुपमा चिनिन्छ । प्रदेशका खेलाडी हरेक विभागमा छन् । अब यो खेलकुदको कुरा गर्दा पोखरामा जत्तिको दर्शक अन्यत्र हुँदैनन् । हामीले बाहिर खेलाउने भएकाले र इन्डोर गेम नभएकाले दर्शक रोक्न सक्दैनौँ । कि खेल नै बन्द गराउन प¥यो होइन भने खेलाडीको खेल हेर्न दर्शक आउँछन नै ।
गण्डकी भलिबलको उर्वर भूमि भनिरहँदा यहाँ महिला टिम पनि छैन त !
अत्यन्तै राम्रो प्रश्न गर्नुभयो । हाम्रो प्रदेशका महिला खेलाडी नभएको होइन खेलाडी छन् तर प्रदेशले अर्थात् तत्कालीन पश्चिमाञ्चल भलिबल संघले खेलाडीको संरक्षण गर्न नसकेको हो । हाम्रै प्रदेशका ४ जना महिला खेलाडी त अहिले राष्ट्रिय टिममा छन् । तर। निकै दुःख लाग्दो कुरा हो हामीसँग प्रदेशको टिम नै छैन ।
म पनि नेपाल भलिबलको केन्द्रीय सल्लाहकार र पूर्वखेलाडी भएको हैसियतले भन्दा साँच्चै खेलाडीका लागि हामीले केही गर्न सकेका छैनौँ । खेलाडीलाई अन्य क्लबले राख्न नसकेको कारण विभागीय क्लबमा जाने गर्छन । हामी दोस्रो संस्करणमा आइरहँदा टिम बनाउन सकिरहेका छैनौँ । वास्तवमा अब प्रदेश सरकारले खेलकुदमा केही गर्नैपर्छ । खेलाडीको भविष्यप्रति उत्तरदायी हुनैपर्छ । अनिमात्र प्रदेशको आफ्नै टिम हुन्छ । खेलाडीको आम्दानी नै छैन अनि कहाँबाट टिक्छन खेलाडी ? टिममा बसे जीवन चल्दैन त्यसैले कोही विभागतिर गए कोही विदेशतिर गए ।हामीले झै अन्य संघले पनि यसरी राष्ट्रियस्तरको खेलहरु गरिरहने र सरकारले विद्यालयस्तरमा पुगेर तालिमको व्यवस्था गर्ने हो भने खेलाडीको अभाव हुँदैन । यो खेलमात्र होइन, अन्य खेलको पनि उही चाल हो । अझ यो त देशको राष्ट्रिय खेल हो । राष्ट्रिय खेल नै संरक्षणमा छैन । यो त गाउँदेखि सहरसम्म लोकप्रिय भएका कारण स्थानीयले स्वस्फूर्त रुपमा आयोजना गरेको कारण धानिएको खेल हो ।
तपाईंहरुले खेलसँगै बाघ संरक्षण अभियानमा पनि थालेको हो र ?
हो । हाम्रो गु्रपको नाम नै टाइगर हो । यो विभिन्न क्षेत्रका व्यक्तिहरु मिलेर बनेको क्लब हो । क्लबमा ३८ जना फरक –फरक क्षेत्रका व्यक्ति छौँ । हाम्रो मुख्य उदेश्य भनेकै खेलकुदको विकास गर्ने र सामाजिक कार्य गर्ने भन्ने नै विधानमा लेखिएको छ । तर,पछिल्लो समय हामी राज्यले समेत उठान गर्दै आइरहेको कुरा बाघको संरक्षणमा पनि काम गर्ने तयारी गरिरहेका छौँ । को–कोसँग समन्वय÷सहकार्य गर्नुपर्ने हो? हाम्रो क्षमताले भ्याससम्म संस्थामा लिखितम गरेरै यो क्षेत्रमा लाग्ने योजना बनाइरहेका छौँ ।





